काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा दिवस दुई दिने कार्यक्रमको रुपमा सम्पन्न गरेको छ। विशेषत: मातृभाषा राष्ट्रिय कविता महोत्सवको अवसरमा विभिन्न ४२ भाषाबाट जम्मा १ सय ५७ कविता प्राप्त भएको थियो, जसमा अपवादबाहेक सबै कवि उपस्थित भई आफ्नो कविता वाचनमा सहभागी हुनुहुन्थ्याे ।
कविता महोत्सव अघि, प्रज्ञा भवन कमलादीबाट सुरु भई घण्टाघर, रानीपोखरी, जमल हुँदै पुनः प्रज्ञा भवनसम्म विविध जातजातिका सांस्कृतिक झाँकीहरूको प्रदर्शन गरिएको थियो। झाँकीमा थारु, नेवा, मगर, लिम्बू, थामी, धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङ लगायतका समुदायका झाँकीहरू प्रस्तुत भएकाे थियाे ।
कार्यक्रममा कविता वाचन र झाँकी प्रदर्शनमा सहभागीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र कुलपति भुपाल राईले प्रमाणपत्र वितरण गर्नुभयो। समापन समारोहमा कुलपति राईले “सवै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान” भन्ने मूल नाराअनुरुप नेपालभरिको भाषिक धरोहर संरक्षणमा प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रमको स्वागत प्राज्ञ परिषद सदस्य त्रैलोक्यमान बनेपाली ‘अगिब’ले गर्नु भएको थियो भने सहजीकरण प्राज्ञ सभा सदस्य डा. कृष्णराज सर्वहारीले गर्नुभएको थियो। यसअघि शुक्रबार दुईवटा कार्यपत्र प्रस्तुति पनि कार्यक्रमअन्तर्गत प्रस्तुत गरिएको थियो।
यस प्रकार, कविता महोत्सव र सांस्कृतिक झाँकीका माध्यमबाट नेपाली मातृभाषा र सांस्कृतिक विविधता संरक्षणको महत्वलाई विशेषगरी प्रकाश पारिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

