रोल्पा । कवि तथा गजलकार डी.बी. मगर ‘स्वेद’को नयाँ गजल सङ्ग्रह ‘सफर’ रोल्पाको थबाङमा आयोजित ‘प्रगतिशील संगीत उत्सव–२०८३’का अवसरमा लोकार्पण गरिएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना, रोल्पा कला साहित्य प्रतिष्ठानको सह–आयोजना तथा स्थानीय तहहरूको सहयोगमा वैशाख १९ र २० गते सम्पन्न उत्सवका बीच उक्त कृति सार्वजनिक गरिएको हो ।
लोकार्पणपछि गजलकार स्वेदको व्यक्तित्व र कृतिबारे साहित्यकार तथा पत्रकार मौसम रोकाले समीक्षा प्रस्तुत गर्दै कृतिको वैचारिक र भावनात्मक पक्षमाथि प्रकाश पार्नुभयाे । यसअघि स्वेदका ‘एक यात्रा अनेक मोड’ (२०६८), ‘अङ्कुराए पल्लवी’ (२०६९), ‘हिमालको ओतमुनि’ (२०७०), ‘जर्मिसिउ पो’ (२०७२) र ‘दोन्थरा’ (२०७९) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँले निकट भविष्यमा मगर खाम भाषामा ‘सङ्गाति’ कविता सङ्ग्रह ल्याउने तयारी गरिरहनुभएकाे छ ।
कार्यक्रम कुश्मा महरा ‘प्रगति’को सभाअध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन जिवन प्रवेश रोका मगर ‘हिमाल’ले गर्नुभएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती रहनुभएको थियो । उत्सवमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, नगर प्रमुख सुरेन्द्र थापा घर्ती, विभिन्न गाउँपालिकाका अध्यक्षहरू, प्रगतिशील गायक जीवन शर्मा, साहित्यकार, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
दुई दिनसम्म चलेको उक्त उत्सवमा प्रगतिशील गीत–संगीत, कार्यपत्र प्रस्तुति तथा साहित्यिक बहसहरू आयोजना गरिनुका साथै स्थानीय सांस्कृतिक झाँकीहरूले कार्यक्रमलाई थप जीवन्त बनाएका थिए ।

