काठमाडौं । सामाजिक अभियन्ता प्रदीप परियारको पुस्तक ‘सियोधागो’ को लोकार्पण गरिएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त कृति सार्वजनिक गरिएको हो।
दलित अधिकारका क्षेत्रमा सक्रिय ‘दलित लाइभ्स म्याटर’ अभियानका अभियन्ता परियार समावेशी नेतृत्व, सहभागितामूलक सुशासन र उत्तरदायी समाज निर्माणका रणनीतिकारका रूपमा परिचित हुनुहुन्छ । विश्व आर्थिक मञ्चद्वारा सन् २०२० का ‘योङ ग्लोबल लिडर’ चयन हुनुभएकाे उहाँले नेपालको ‘युथ भिजन २०२५’ निर्माणमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकाे छ ।
‘सियोधागो’ पुस्तकमार्फत दक्षिण एशियामा करिब २६ करोड दलितहरूले सदियौँदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरुद्धको संघर्षलाई लेखकले आफ्नै अनुभवसँग गाँसेर प्रस्तुत गर्नुभएकाे छ । पुस्तकलाई उहाँले सीमान्तकृत जीवनका अनकहा सत्यहरूको दस्तावेजका रूपमा व्याख्या गर्नुभएकाे छ ।
“यो कृति आँसु, अन्याय र अपमानबीचबाट उठेको आशा र विद्रोहको स्वर हो,” परियारले भन्नुभयाे, “यो केवल पीडाको कथा होइन, चेतनाको आगो र अन्यायविरुद्धको उद्घोष हो ।”
नेपालका दुर्गम गाउँदेखि विश्व मञ्चसम्मको यात्रामा देखेका र भोगेका यथार्थ, युवाका जीवन्त अनुभूति, रुकुम सोती नरसंहार, बलात्कारपछि हत्या गरिएका छोरीहरूको पीडा तथा हिरासतमा सन्तान गुमाएका आमाहरूको संघर्ष पुस्तकमा समेटिएको लेखकले बताउनुभएकाे छ ।
सामाजिक रूपान्तरणको सन्देश बोकेको ‘सियोधागो’ समकालीन नेपाली समाजका जटिल यथार्थलाई उजागर गर्ने कृतिका रूपमा प्रस्तुत भएको छ ।

