काठमाडौँ । नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ अन्तर्गत दोस्रो दिन काठमाडौँमा आयोजित समारोहमा सम्मेलनको औपचारिक उद्घाटनसँगै एक बृहत् ग्रन्थ लोकार्पण गरिएको छ ।
समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिसहित सम्मेलनको उद्घाटन गर्दै नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको ग्रन्थ सार्वजनिक गर्नुभयो । उक्त ग्रन्थ नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको सम्पादनमा तयार पारिएको हो ।
समारोहमा बोल्दै प्रा. डा. त्रिपाठीले तीनदिने सम्मेलनकै क्रममा उच्च प्राज्ञिक खोजमूलक ग्रन्थ प्रकाशन हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले यसलाई “सुनमा सुगन्ध” जस्तै महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो ।
रोयल साइजमा ८ सय ७२ पृष्ठमा विस्तारित उक्त ग्रन्थमा नेपाल तथा भारतका विश्वविद्यालयसँग सम्बन्धित २५ वटा अनुसन्धानात्मक आलेख समावेश छन् । कृतिमा नेपाली भाषासाहित्यको पठनपाठन, पाठ्यक्रम विकास तथा अनुसन्धानको इतिहास र वर्तमान अवस्थाबारे विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ ।
नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. डा. वासुदेव त्रिपाठी, शिवगोपाल रिसाल, प्रा. डा. चूडामणि बन्धु, प्रा. डा. दयाराम श्रेष्ठ, प्रा. डा. दिवाकर प्रधान, प्रा. डा. कविता लामा, प्रा. केशव सुवेदी, सम्मेलन संयोजक प्रा. डा. महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा नइ एकेडेमी तथा नेपालका विश्वविद्यालयका दस्तावेजबारे डा. त्रिभुवन बरई र नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले आफ्ना धारणा राख्नुभएको थियो ।

