साहित्यपोस्ट-नपढी सुखै छैन...

केपी ओलीको त्यो विमान दुर्घटना, हरियो वनले जोगायो प्रधानमन्त्रीको ज्यान

केपी ओलीको त्यो विमान दुर्घटना, हरियो वनले जोगायो प्रधानमन्त्रीको ज्यान

 घटना वि.स. २०५२ साल, साउन २९ गतेको हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी, गृहमन्त्री केपी शर्मा ओली, एमाले नेता वामदेव गौतमलगायत नेपाल सरकारका उच्च अधिकारीहरू नेपाल आर्मीको हेलिकोप्टरबाट नेपालगञ्ज पुगेका थिए । फ्रेन्च हेलिकोप्टर PUMA बाट उहाँहरू पश्चिम नेपालको बबई नदीमा आएको भीषण बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा जानुभएको थियो । निरीक्षण पश्चात् काठमाडौं फर्कने क्रममा नेपालगञ्ज विमानस्थलबाट उडेको ५ मिनेटभित्रै उक्त हेलिकोप्टर साँझ ४ बजे २२ मिनेट जाँदा पाइलटले May Day May Day को उच्चारण गर्दै सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर क्याप्टेन के.बी. शाहीले उडाएका थिए । यही विमानको खोजीको क्रममा भए गरिएको प्रयास र त्यसमा मेरो साथी कमलसिंह लामासँगको सहजकर्ताको भूमिकाका बारेमा यो परिच्छेदमा आफ्नो स्मरण समेटेको छु ।

त्यतिबेला कमल सिंह लामा नेपालगञ्ज विमानस्थल प्रमुखका रुपमा कार्यरत थिए । कमल र मैले एकैसाथ एभिएसनको तालिम लिई एकै मितिमा सेवा प्रवेश गरेका थियौं । एउटै उडानबाट भैरहवा गई विमानस्थलमा हामीले सँगै काम पनि गरेका थियौं । त्यसपछि केही समय पोखरा र काठमाडौं विमानस्थलमा पनि हामीले सँगै काम गरेका थियौं । लामा र म एकआपसमा जहिल्यै भरपर्दो साथीका रुपमा रहेका थियौं । नेपालगञ्ज विमानस्थलबाट उडेको हेलिकोप्टर सम्पर्कविहीन भएपछि उनले सर्वप्रथम हवाई विभागमा सम्पर्क गरेछन्, प्राविधिक कारणले विभागमा सम्पर्क हुन नसकेपछि उनले मलाई फोन गरे । त्यतिबेला म त्रिभुवन विमानस्थलको प्रमुखको भूमिकामा थिएँ । उनको उदेश्य हेलिकोप्टर सम्पर्क विहिन भएको खबर हवाई विभागसम्म पुर्याउन मैले सहजीकरण गरिदिउन् भन्ने रहेको हुनुपर्दछ । उडान भरेको करीब ५ मिनेटसम्म पाइलट विमानस्थलको सम्पर्कमै थिए । त्यत्तिकैमा एक्कासि May Day May Day भन्दै गरेको पाइलटको बोली सुनियो । May Day भन्नाले एभिएशनको भाषामा Save Our Soul अर्थात ‘गम्भीर खतराको अवस्था वा जीवन रक्षाका लागि तत्कालै सहायताको आवश्यकता’ भन्ने बुझ्नुपर्ने हुन्छ । यहाँनिर पाइलटले दुईपटक मात्र 'मे डे’ भन्न भ्याएछन् । त्यसपछि विमानस्थलसँगको सम्पूर्ण सम्पर्क टुट्यो ।

देशकै प्रधानमन्त्री सवार विमान हराउनु सामान्य घटना थिएन । केही तलबितल परेको अवस्थामा पूरै देश र जनताको मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको समेत चासोको विषय हुन आउन्थ्यो । यो सबै बुझेको कमलले मलाई फोन गर्दा केही आत्तिएको महसुस गरेको थिएँ, जुन स्वभाविक पनि थियो । तर यस्तो आपत्कालीन अवस्थामा हाम्रो पेशाले हामीलाई अत्तालिने वा डराउने छुट दिँदैन । त्यसैले, आफ्नो साविकमा गरिआएको काम सहकर्मीलाई सुम्पिएर कमललाई सहजीकरण गर्नतिर लागेँ । सबैभन्दा पहिले उनलाई विमानस्थलमा मौजुदा रहेका विमान तथा हेलिकोप्टरहरूलाई यथा स्थानमा अलर्ट अवस्थामा राख्ने सल्लाह गर्यौं । यसको साथै आफैँले हवाई विभागसँग सम्पर्क गरी नेपालगञ्ज विमानस्थलमा रहेको हेलिकोप्टर Mi-17 लाई आवश्यकतानुसार परिचालन गर्न मौखिक अनुमति पनि मागेँ ।

त्यसबेला नेपालगञ्ज विमानस्थलमा तत्कालीन नेपाल एयरवेजको MI-17, 9N-ADD हेलिकोप्टर थियो जसको पाइलट एक रसियन थिए । सुदूरपश्चिममा बेलाबखत खाद्यान्न अभाव हुने हुँदा ढुवानीका लागि उक्त हेलिकोप्टर त्यस भेगमा सञ्चालन गर्ने गरिन्थ्यो । सूर्य पश्चिमतर्फ ढल्किसकेको समय भएकोले पाइलट त्यस दिनको काम सम्पन्न गरी हेलिकोप्टरलाई पार्किबमा थन्क्याएर आफू होटलतर्फ लागिसकेका रहेछन् । कमल र म निन्तर सम्पर्कमै थियौं । उनले पाइलट बस्ने होटलमा फोन गरे, पाइलट होटल पुग्न भ्याइसकेका थिएनन् । कमलले होटलकै कर्मचारीलाई पाइलट आइपुग्नासाथ तुरुन्त विमानस्थल फर्काइदिन अनुरोध गरेछन् ।

विमान दुर्घटनालाई संसारैभर नै अत्यन्त गम्भीर रूपमा लिइन्छ । दुर्घटनामा परेपछि विमानमा सवार यात्रुहरूको उद्दार प्राथमिकताका साथ गर्नुपर्ने हुन्छ । उद्दार कार्य जति छिटो गर्न सकिन्छ, त्यति नै छिटो र धेरै यात्रुहरूलाई बचाउने सम्भावना प्रवल रहन्छ । दुर्घटनामा परेपश्चात् विमान ठूलो क्षतिग्रस्त हुने हुँदा पनि तत्काल उद्दार गर्न सकिए मात्र बचाउन सकिन्छ । तर साधनस्रोतको अभावमा पनि हामी जतिसक्दो चाँडो उद्धार कार्यलाई अघि बढाउन लागिपरेका थियौं । त्यसमाथि विमानमा सवार मुलुककै उच्चपदस्थहरू रहेकाले पनि हाम्रो तनाव बढ्दै गइरहेको थियो । रसियन पाइलट होटलबाट फर्किएर पुनः विमानस्थल नआइपुगिन्जेल हामी दुबै निकै अधैर्य थियौं । त्यतिबेला हामीसँगको संवादमा नेपालगञ्जका सिडियो कीर्तिबहादुर चन्द, प्रहरी एसपी दीपेन्द्र विष्ट, डा. किड्वाईलगायत अन्य प्रहरी अधिकारीहरूको पनि उपस्थिति भइसकेको थियो ।

विमानका रसियन क्याप्टेन नेपालगञ्जको राँझा विमानस्थल आइपुगेपछि हराएको हेलिकोप्टरको खोजी कार्य शुरु भयो । उडानको ५ मिनेटभित्रै विमान हराएको हुँदा त्यसैलाई आधार मानी नेपालगञ्जबाट काठमाडौं आउने रुटलाई लक्षित गर्दै विमान खोजिनुपर्ने छलफलबाट निष्कर्ष निकालेका थियौं । तर एरियल भ्यूको माध्यमबाट हेर्दा पहिलो प्रयासमा कुनै संकेत फेला परेन । त्यसपछि फेरि पनि त्यही क्षेत्रमा खोज्ने काम भई नै रह्यो । त्यसै बमोजिम पाइलटलाई निरन्तर त्यही क्षेत्रको परिधिभित्र खोजिरहन कमलले निर्देशन दिएछन् । तर हाम्रो यो प्रयासबाट पनि कुनै संकेत मिलिरहेको थिएन ।

नेपालगञ्जबाट करीब १६ किलोमिटर पूर्वमा शमशेरगञ्ज नाउको गाउँमा रहेको प्रहरीको एउटा बीटमा विमान हराएको खबर पुगिसकेको थियो । त्यसैले हराएको हेलिकोप्टरको खोजीमा त्यहाँबाट पनि एउटा टोली निस्किसकेको रहेछ । अन्ततः त्यही प्रहरीको टोलीले नजिकैको जंगलमा दुर्घटनाग्रस्त विमान फेला पारेछ, हामीले पनि उहाँहरूबाटै तुरुन्तै खबर पायौं । प्रहरीबाट यो पनि थाहा भयो कि, विमानमा दुर्घटनामा कुनै मानवीय क्षति भएनछ । विमान दुर्घटना हुनु, त्यो पनि जंगलमा, तर कुनै मानवीय क्षति नहुनु – यो हवाई क्षेत्रका लागि सुखद् अनि दुर्लभ घटना थियो ।

विमान पत्ता लागेपछि, शुरुमा खोजी कार्यमा रहेको हेलिकोप्टर अवतरणका लागि लोकेसन पत्ता लगाउने काम भयो । लोकेसनको अनुमान त भयो तर जंगल क्षेत्र भएकाले ठ्याक्कै कहाँनिर हो भन्ने ठहर गर्न सकिएन । विमान दुर्घटना क्षेत्रमा ठूलाठूला रुखहरू भएको जंगलको भाग भएकाले पनि आकाशबाट देखिएन । संभावित दुर्घटनास्थलमा रहेका प्रहरीहरूसँग समन्वय गरी धुवाँको मुस्लोलाई लक्षित गरी दुर्घटनास्थल पत्ता लगाउने खोज प्रयास प्रहरीको मद्धतले सफल भयो । आगो बाल्दा विशेष सावधानी अपनाउनु पर्ने, विशेषगरी विमानको नजिकै आगो बाल्दा अर्को दुर्घटना निम्तिन सक्ने कुरालाई ध्यानमा राखी प्रहरीहरूलाई सुरक्षित ठाउँमा आगो बाल्न अनुरोध गर्यौं ।

अन्ततः उद्धारका लागि हेलिकोप्टर अवतरण गर्यो । प्रधानमन्त्री मनमोहन अधिकारी लगायत सबै घाइते अवस्थामा थिए । यस्तोमा सबैभन्दा पहिलो घाइतेहरूको उद्दार गरी अस्पताल पुर्याउनु आवश्यक थियो । कमललाई घाइतेलाई काठमाडौं नै पठाउने कि त्यहीको अस्पतालमा पुर्याउने भन्ने कुरामा अलमल भएको जस्तो मैले महसुस गरें । मैले उनलाई राती भैसकेको हुँदा नजिकै जुन अस्पताल छ, तत्काल त्यहाँ पुर्याउन हाम्रो सल्लाहपछि कमलले नजिकै आर्मीको क्याम्प भएको र त्यसको नजिकै अस्पताल रहेको बताए । दुर्घटनामा परेका सबैलाई राखेर हेलिकोप्टर आर्मी क्याम्पतर्फ लाग्यो । आर्मी क्याम्पबाटै सबैलाई अस्पताल पु¥याइयो । यसरी, पाइलटले साँझ ४ः२५ मा सहायता मागेकोमा त्यसको १ घण्टा ५० मिनेटभित्र साँझ ६ः१५ मा उद्धारक हेलिकोप्टर आर्मी क्याम्पमा अवतरण भएको थियो ।

भोलिपल्ट बिहान पाँचै बजे काठमाडौंबाट उडेको त्यसबखत सञ्चालनमा रहेको नेकोन एयरको एभ्रो विमानबाट सबै उच्च पदस्थलाई काठमाडौं ल्याइयो । त्यसै विमानमा प्रधानमन्त्री मनमोहनका सुपुत्र प्रकाश पनि यात्रुका रुपमा काठमाडौंबाट गएका थिए, र फर्किंदा बुबा मनमोहनका साथै फर्किएका थिए । उनको स्वभाव र व्यवहारमा संस्कारित व्यक्तित्व झल्किन्थ्यो । मसँगको आवश्यक समन्वयमा उनी यात्रुका रुपमा गएका थिए । उक्त विमान त्रिभुवन विमानस्थलमा बिहानको १० बजे अगाडि नै सकुशल अवतरण गरेको थियो । प्रधानमन्त्रीको ढाडमा चोट लागेकोले स्ट्रेचरमा राख्नु परेको थियो भने अरु उच्चपदस्थहरू आफैँ विमानबाट ओर्लनुभएको थियो ।

माथि नै पनि भनेँ – विमान दुर्घटना हुनु, तर कुनै मानवीय क्षति नहुनु हाम्रा लागि सुखद् तर दुर्लभ घटना थियो । पाइलट केबी शाहीले दुर्घटनाको सविस्तार वर्णन गरेपछि थाहा भयो – उडान भरेको ३–४ मिनेटमै इन्जिनले काम गर्न छोडेछ । थाहा पाउना साथ पाइलटले ‘मेडे मेडे’ भन्दै कन्ट्रोल टावरसामु सहायताको अपिल गरेछन् । तर उनी चिच्याउँदा चिच्याउँदै विमानले टावरसँगको सम्पर्क गुमाएछ र जमीनतर्फ खस्न थालेछ । पाइलटका अनुसार, उक्त दुर्घटनालाई बीभत्स हुनबाट मुख्यतः दुई कुराले बचायो । पहिलो, हेलिकोप्टर उडेको केही मिनेट मात्र भएकाले पूरा उचाइ लिइसकेको थिएन जसले गर्दा भुइँसँगको उचाई–दूरी कम हुन गयो । दोस्रो, बाक्लो जंगलमा रुखहरूको झ्याम्म परेको माथिल्लो भागमा हेलिकोप्टर खसेको कारणले सिधै भुइँमा जोडले बजारिन पाएन । विमान पहिलो झड्कामा रुखको हाँगामा बजारियो, र हाँगाबिँगाले हावामा कुसन्को काम मात्र गरेन, भुइँमा बजारिने गतिलाई पनि मन्द बनाइदियो, र भुँइमा सुस्त गतिमा झर्न पुग्यो ।

पाइलट क्याप्टेन केबी शाही शारीरिक रुपमा र मुखाकृतिबाट पनि घाइते देखिन्थे तर मानसिक रुपमा उनको जागरुकता र सजगतामा कुनै कमी आएको महसुस गरिएन । उनले कमललाई दुईपटकसम्म काठमाडौंमा सबैतिर खबर पुगे–नपुगेको सोधेका थिए । विमान दुर्घटनामा परी सक्त घाइते हुँदा पनि उनको जिम्मेवारी बोध र पेशाप्रतिको समर्पणलाई प्रदर्शित गर्दछ । उनको यो जिम्मेवारी र पेशाप्रतिको समर्पणलाई मेरो सलाम !

संयोग नै भन्नुपर्छ – ‘हरियो वन नेपालको धन’ ले पर्यावरणको संरक्षण मात्र होइन, त्यस दिन देशका प्रधानमन्त्री लगायत उच्च पदस्थको ज्यान पनि जोगायो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.