घटना वि.स. २०५२ साल, साउन २९ गतेको हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी, गृहमन्त्री केपी शर्मा ओली, एमाले नेता वामदेव गौतमलगायत नेपाल सरकारका उच्च अधिकारीहरू नेपाल आर्मीको हेलिकोप्टरबाट नेपालगञ्ज पुगेका थिए । फ्रेन्च हेलिकोप्टर PUMA बाट उहाँहरू पश्चिम नेपालको बबई नदीमा आएको भीषण बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा जानुभएको थियो । निरीक्षण पश्चात् काठमाडौं फर्कने क्रममा नेपालगञ्ज विमानस्थलबाट उडेको ५ मिनेटभित्रै उक्त हेलिकोप्टर साँझ ४ बजे २२ मिनेट जाँदा पाइलटले May Day May Day को उच्चारण गर्दै सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर क्याप्टेन के.बी. शाहीले उडाएका थिए । यही विमानको खोजीको क्रममा भए गरिएको प्रयास र त्यसमा मेरो साथी कमलसिंह लामासँगको सहजकर्ताको भूमिकाका बारेमा यो परिच्छेदमा आफ्नो स्मरण समेटेको छु ।
त्यतिबेला कमल सिंह लामा नेपालगञ्ज विमानस्थल प्रमुखका रुपमा कार्यरत थिए । कमल र मैले एकैसाथ एभिएसनको तालिम लिई एकै मितिमा सेवा प्रवेश गरेका थियौं । एउटै उडानबाट भैरहवा गई विमानस्थलमा हामीले सँगै काम पनि गरेका थियौं । त्यसपछि केही समय पोखरा र काठमाडौं विमानस्थलमा पनि हामीले सँगै काम गरेका थियौं । लामा र म एकआपसमा जहिल्यै भरपर्दो साथीका रुपमा रहेका थियौं । नेपालगञ्ज विमानस्थलबाट उडेको हेलिकोप्टर सम्पर्कविहीन भएपछि उनले सर्वप्रथम हवाई विभागमा सम्पर्क गरेछन्, प्राविधिक कारणले विभागमा सम्पर्क हुन नसकेपछि उनले मलाई फोन गरे । त्यतिबेला म त्रिभुवन विमानस्थलको प्रमुखको भूमिकामा थिएँ । उनको उदेश्य हेलिकोप्टर सम्पर्क विहिन भएको खबर हवाई विभागसम्म पुर्याउन मैले सहजीकरण गरिदिउन् भन्ने रहेको हुनुपर्दछ । उडान भरेको करीब ५ मिनेटसम्म पाइलट विमानस्थलको सम्पर्कमै थिए । त्यत्तिकैमा एक्कासि May Day May Day भन्दै गरेको पाइलटको बोली सुनियो । May Day भन्नाले एभिएशनको भाषामा Save Our Soul अर्थात ‘गम्भीर खतराको अवस्था वा जीवन रक्षाका लागि तत्कालै सहायताको आवश्यकता’ भन्ने बुझ्नुपर्ने हुन्छ । यहाँनिर पाइलटले दुईपटक मात्र 'मे डे’ भन्न भ्याएछन् । त्यसपछि विमानस्थलसँगको सम्पूर्ण सम्पर्क टुट्यो ।
देशकै प्रधानमन्त्री सवार विमान हराउनु सामान्य घटना थिएन । केही तलबितल परेको अवस्थामा पूरै देश र जनताको मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको समेत चासोको विषय हुन आउन्थ्यो । यो सबै बुझेको कमलले मलाई फोन गर्दा केही आत्तिएको महसुस गरेको थिएँ, जुन स्वभाविक पनि थियो । तर यस्तो आपत्कालीन अवस्थामा हाम्रो पेशाले हामीलाई अत्तालिने वा डराउने छुट दिँदैन । त्यसैले, आफ्नो साविकमा गरिआएको काम सहकर्मीलाई सुम्पिएर कमललाई सहजीकरण गर्नतिर लागेँ । सबैभन्दा पहिले उनलाई विमानस्थलमा मौजुदा रहेका विमान तथा हेलिकोप्टरहरूलाई यथा स्थानमा अलर्ट अवस्थामा राख्ने सल्लाह गर्यौं । यसको साथै आफैँले हवाई विभागसँग सम्पर्क गरी नेपालगञ्ज विमानस्थलमा रहेको हेलिकोप्टर Mi-17 लाई आवश्यकतानुसार परिचालन गर्न मौखिक अनुमति पनि मागेँ ।
त्यसबेला नेपालगञ्ज विमानस्थलमा तत्कालीन नेपाल एयरवेजको MI-17, 9N-ADD हेलिकोप्टर थियो जसको पाइलट एक रसियन थिए । सुदूरपश्चिममा बेलाबखत खाद्यान्न अभाव हुने हुँदा ढुवानीका लागि उक्त हेलिकोप्टर त्यस भेगमा सञ्चालन गर्ने गरिन्थ्यो । सूर्य पश्चिमतर्फ ढल्किसकेको समय भएकोले पाइलट त्यस दिनको काम सम्पन्न गरी हेलिकोप्टरलाई पार्किबमा थन्क्याएर आफू होटलतर्फ लागिसकेका रहेछन् । कमल र म निन्तर सम्पर्कमै थियौं । उनले पाइलट बस्ने होटलमा फोन गरे, पाइलट होटल पुग्न भ्याइसकेका थिएनन् । कमलले होटलकै कर्मचारीलाई पाइलट आइपुग्नासाथ तुरुन्त विमानस्थल फर्काइदिन अनुरोध गरेछन् ।
विमान दुर्घटनालाई संसारैभर नै अत्यन्त गम्भीर रूपमा लिइन्छ । दुर्घटनामा परेपछि विमानमा सवार यात्रुहरूको उद्दार प्राथमिकताका साथ गर्नुपर्ने हुन्छ । उद्दार कार्य जति छिटो गर्न सकिन्छ, त्यति नै छिटो र धेरै यात्रुहरूलाई बचाउने सम्भावना प्रवल रहन्छ । दुर्घटनामा परेपश्चात् विमान ठूलो क्षतिग्रस्त हुने हुँदा पनि तत्काल उद्दार गर्न सकिए मात्र बचाउन सकिन्छ । तर साधनस्रोतको अभावमा पनि हामी जतिसक्दो चाँडो उद्धार कार्यलाई अघि बढाउन लागिपरेका थियौं । त्यसमाथि विमानमा सवार मुलुककै उच्चपदस्थहरू रहेकाले पनि हाम्रो तनाव बढ्दै गइरहेको थियो । रसियन पाइलट होटलबाट फर्किएर पुनः विमानस्थल नआइपुगिन्जेल हामी दुबै निकै अधैर्य थियौं । त्यतिबेला हामीसँगको संवादमा नेपालगञ्जका सिडियो कीर्तिबहादुर चन्द, प्रहरी एसपी दीपेन्द्र विष्ट, डा. किड्वाईलगायत अन्य प्रहरी अधिकारीहरूको पनि उपस्थिति भइसकेको थियो ।
विमानका रसियन क्याप्टेन नेपालगञ्जको राँझा विमानस्थल आइपुगेपछि हराएको हेलिकोप्टरको खोजी कार्य शुरु भयो । उडानको ५ मिनेटभित्रै विमान हराएको हुँदा त्यसैलाई आधार मानी नेपालगञ्जबाट काठमाडौं आउने रुटलाई लक्षित गर्दै विमान खोजिनुपर्ने छलफलबाट निष्कर्ष निकालेका थियौं । तर एरियल भ्यूको माध्यमबाट हेर्दा पहिलो प्रयासमा कुनै संकेत फेला परेन । त्यसपछि फेरि पनि त्यही क्षेत्रमा खोज्ने काम भई नै रह्यो । त्यसै बमोजिम पाइलटलाई निरन्तर त्यही क्षेत्रको परिधिभित्र खोजिरहन कमलले निर्देशन दिएछन् । तर हाम्रो यो प्रयासबाट पनि कुनै संकेत मिलिरहेको थिएन ।
नेपालगञ्जबाट करीब १६ किलोमिटर पूर्वमा शमशेरगञ्ज नाउको गाउँमा रहेको प्रहरीको एउटा बीटमा विमान हराएको खबर पुगिसकेको थियो । त्यसैले हराएको हेलिकोप्टरको खोजीमा त्यहाँबाट पनि एउटा टोली निस्किसकेको रहेछ । अन्ततः त्यही प्रहरीको टोलीले नजिकैको जंगलमा दुर्घटनाग्रस्त विमान फेला पारेछ, हामीले पनि उहाँहरूबाटै तुरुन्तै खबर पायौं । प्रहरीबाट यो पनि थाहा भयो कि, विमानमा दुर्घटनामा कुनै मानवीय क्षति भएनछ । विमान दुर्घटना हुनु, त्यो पनि जंगलमा, तर कुनै मानवीय क्षति नहुनु – यो हवाई क्षेत्रका लागि सुखद् अनि दुर्लभ घटना थियो ।
विमान पत्ता लागेपछि, शुरुमा खोजी कार्यमा रहेको हेलिकोप्टर अवतरणका लागि लोकेसन पत्ता लगाउने काम भयो । लोकेसनको अनुमान त भयो तर जंगल क्षेत्र भएकाले ठ्याक्कै कहाँनिर हो भन्ने ठहर गर्न सकिएन । विमान दुर्घटना क्षेत्रमा ठूलाठूला रुखहरू भएको जंगलको भाग भएकाले पनि आकाशबाट देखिएन । संभावित दुर्घटनास्थलमा रहेका प्रहरीहरूसँग समन्वय गरी धुवाँको मुस्लोलाई लक्षित गरी दुर्घटनास्थल पत्ता लगाउने खोज प्रयास प्रहरीको मद्धतले सफल भयो । आगो बाल्दा विशेष सावधानी अपनाउनु पर्ने, विशेषगरी विमानको नजिकै आगो बाल्दा अर्को दुर्घटना निम्तिन सक्ने कुरालाई ध्यानमा राखी प्रहरीहरूलाई सुरक्षित ठाउँमा आगो बाल्न अनुरोध गर्यौं ।
अन्ततः उद्धारका लागि हेलिकोप्टर अवतरण गर्यो । प्रधानमन्त्री मनमोहन अधिकारी लगायत सबै घाइते अवस्थामा थिए । यस्तोमा सबैभन्दा पहिलो घाइतेहरूको उद्दार गरी अस्पताल पुर्याउनु आवश्यक थियो । कमललाई घाइतेलाई काठमाडौं नै पठाउने कि त्यहीको अस्पतालमा पुर्याउने भन्ने कुरामा अलमल भएको जस्तो मैले महसुस गरें । मैले उनलाई राती भैसकेको हुँदा नजिकै जुन अस्पताल छ, तत्काल त्यहाँ पुर्याउन हाम्रो सल्लाहपछि कमलले नजिकै आर्मीको क्याम्प भएको र त्यसको नजिकै अस्पताल रहेको बताए । दुर्घटनामा परेका सबैलाई राखेर हेलिकोप्टर आर्मी क्याम्पतर्फ लाग्यो । आर्मी क्याम्पबाटै सबैलाई अस्पताल पु¥याइयो । यसरी, पाइलटले साँझ ४ः२५ मा सहायता मागेकोमा त्यसको १ घण्टा ५० मिनेटभित्र साँझ ६ः१५ मा उद्धारक हेलिकोप्टर आर्मी क्याम्पमा अवतरण भएको थियो ।
भोलिपल्ट बिहान पाँचै बजे काठमाडौंबाट उडेको त्यसबखत सञ्चालनमा रहेको नेकोन एयरको एभ्रो विमानबाट सबै उच्च पदस्थलाई काठमाडौं ल्याइयो । त्यसै विमानमा प्रधानमन्त्री मनमोहनका सुपुत्र प्रकाश पनि यात्रुका रुपमा काठमाडौंबाट गएका थिए, र फर्किंदा बुबा मनमोहनका साथै फर्किएका थिए । उनको स्वभाव र व्यवहारमा संस्कारित व्यक्तित्व झल्किन्थ्यो । मसँगको आवश्यक समन्वयमा उनी यात्रुका रुपमा गएका थिए । उक्त विमान त्रिभुवन विमानस्थलमा बिहानको १० बजे अगाडि नै सकुशल अवतरण गरेको थियो । प्रधानमन्त्रीको ढाडमा चोट लागेकोले स्ट्रेचरमा राख्नु परेको थियो भने अरु उच्चपदस्थहरू आफैँ विमानबाट ओर्लनुभएको थियो ।
माथि नै पनि भनेँ – विमान दुर्घटना हुनु, तर कुनै मानवीय क्षति नहुनु हाम्रा लागि सुखद् तर दुर्लभ घटना थियो । पाइलट केबी शाहीले दुर्घटनाको सविस्तार वर्णन गरेपछि थाहा भयो – उडान भरेको ३–४ मिनेटमै इन्जिनले काम गर्न छोडेछ । थाहा पाउना साथ पाइलटले ‘मेडे मेडे’ भन्दै कन्ट्रोल टावरसामु सहायताको अपिल गरेछन् । तर उनी चिच्याउँदा चिच्याउँदै विमानले टावरसँगको सम्पर्क गुमाएछ र जमीनतर्फ खस्न थालेछ । पाइलटका अनुसार, उक्त दुर्घटनालाई बीभत्स हुनबाट मुख्यतः दुई कुराले बचायो । पहिलो, हेलिकोप्टर उडेको केही मिनेट मात्र भएकाले पूरा उचाइ लिइसकेको थिएन जसले गर्दा भुइँसँगको उचाई–दूरी कम हुन गयो । दोस्रो, बाक्लो जंगलमा रुखहरूको झ्याम्म परेको माथिल्लो भागमा हेलिकोप्टर खसेको कारणले सिधै भुइँमा जोडले बजारिन पाएन । विमान पहिलो झड्कामा रुखको हाँगामा बजारियो, र हाँगाबिँगाले हावामा कुसन्को काम मात्र गरेन, भुइँमा बजारिने गतिलाई पनि मन्द बनाइदियो, र भुँइमा सुस्त गतिमा झर्न पुग्यो ।
पाइलट क्याप्टेन केबी शाही शारीरिक रुपमा र मुखाकृतिबाट पनि घाइते देखिन्थे तर मानसिक रुपमा उनको जागरुकता र सजगतामा कुनै कमी आएको महसुस गरिएन । उनले कमललाई दुईपटकसम्म काठमाडौंमा सबैतिर खबर पुगे–नपुगेको सोधेका थिए । विमान दुर्घटनामा परी सक्त घाइते हुँदा पनि उनको जिम्मेवारी बोध र पेशाप्रतिको समर्पणलाई प्रदर्शित गर्दछ । उनको यो जिम्मेवारी र पेशाप्रतिको समर्पणलाई मेरो सलाम !
संयोग नै भन्नुपर्छ – ‘हरियो वन नेपालको धन’ ले पर्यावरणको संरक्षण मात्र होइन, त्यस दिन देशका प्रधानमन्त्री लगायत उच्च पदस्थको ज्यान पनि जोगायो ।


