साहित्यपोस्ट डट कम

दार्चुलामा ‘प्रज्ञा–नारी काव्य सङ्गोष्ठी’ भव्य रूपमा सम्पन्न

दार्चुलामा ‘प्रज्ञा–नारी काव्य सङ्गोष्ठी’ भव्य रूपमा सम्पन्न

दार्चुला । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘प्रज्ञा–नारी काव्य सङ्गोष्ठी, गायन, कार्यपत्र प्रस्तुति तथा पूरक व्याख्या’ कार्यक्रम दार्चुलाको खलङ्गामा पहिलोपटक सम्पन्न भएको छ।

प्रज्ञा प्रतिष्ठानको पद्य/काव्य विभागको आयोजना तथा ‘मानसखण्ड गुरुकुल’को सहआयोजनामा सम्पन्न कार्यक्रममा खलङ्गास्थित दार्चुला बहुमुखी क्याम्पसको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा महाकाली नगरपालिका, डिलासैनी गाउँपालिका, अपि हिमाल गाउँपालिका र राष्ट्रिय संरक्षण अभियानले सहयोग गरेकाे थियाे ।

कार्यक्रम उद्घाटन गर्दै कुलपति राईले ‘सबै भाषा, सबै ज्ञान : सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने मूलमन्त्रलाई व्यवहारमा उतार्दै दुर्गम क्षेत्रमा कार्यक्रम आयोजना गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले मातृभाषा, संस्कृति र स्थानीय ज्ञानको संरक्षण गर्दै प्राज्ञिक सचेतना गाउँ–गाउँसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशेष अतिथि तथा प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले यस्ता कार्यक्रमले सुदूरपश्चिमका प्रतिभालाई उजागर र प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्दै क्षेत्रीय पहिचान, संस्कृति र नारी सर्जकहरूको योगदानलाई उजागर गर्ने धारणा राख्नुभयो।

दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरसिंह चैसुर, अनिल पौडेल र महादेव बडुलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कञ्चनपुर, अछाम, डोटी, बैतडी, डडेलधुरा, दार्चुला र कैलालीका नारी कविहरूले नेपाली, डोट्याली, अछामी, बैतडेली लगायतका मातृभाषामा कविता वाचन गर्नुभएकाे थियाे ।

ट्याग: भूपाल राई
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.