– ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा’
– ‘इन्टु मिन्टु लन्डनमा, हाम्रो बाबु पल्टनमा’
– ‘सुन साइली, साइली परदेशबाट म आउँला चालिस कटेसी रमाउँला’
– ‘लौ बस्नुहोस् है, म ता जानुपर्यो, मेरो जीवनमा फेरि नयाँ एक पर्दा झर्यो ।
–हाम्रो क्याम्प उठ्यो जानै पर्यो विदा पाऊँ ।’
– ‘बसेका होलान सबै नेपाली
टिका र कानमा जमरा सिउरेर
आफु भने बस्दैछु प्रवासमा
गह भरि आशुँ झार्दै निहुरिएर’ ।
जस्ता गीत/कविता आदिमा हाम्रा सन्तानले ‘काम र माम’ का लागि स्वदेश र परदेशमा बेहोर्नु परेका संघर्षका कथा/व्याथा, जीवन भोगाइ, परदेशको एकाकीपन, विरह/वेदनाका भाव आदि पाइन्छ । समकालीन नेपाली साहित्यमा प्रवासी जीवनका सशक्त र मार्मिक कथाहरूको महत्त्व बढ्दो क्रममा छ । ‘कोइलाखाद’ उपन्यास यसै सन्दर्भमा एक महत्त्वपूर्ण कृति हो, जसले नेपाली समाजको आर्थिक र सामाजिक अवस्थालाई प्रतिविम्बित गर्दछ ।
श्याम सिंघक सामाजिक यथार्थवादी लेखक हुन् । नेपाली समाजका विभिन्न पक्षहरूलाई उनी आफ्ना उपन्यासका विषय बनाउँछन् । उनका प्रकाशित उपन्यासहरू हुन्– दलिता, रेमिट्याल्यान्ड र कोइलाखाद । सिंघक लिखित कोइलाखाद (२०२५) ३५४ पृष्ठको उपन्यास हो । प्रस्तुत उपन्यासलाई १ र २ गरी दुई भागमा बाँडिएको छ । भाग १ मा १३ अध्याय र भाग २ मा १७ अध्याय रहेको पाइन्छ ।
‘कोइलाखाद’ कथा भारतको पूर्वोत्तर क्षेत्रमा अवस्थित मेघालय राज्यको कोइलाखानीमा श्रम गर्ने नेपाली श्रमिकहरूको जीवनमा आधारित छ । श्रमिकहरूले भोगेका कष्ट, शोषण, सङ्घर्ष र विस्थापनको कथा उपन्यासको मूल स्वर बनेको छ । उपन्यासमा सन् १९७० देखि सन् २०१४ सम्मको कथा पाइन्छ ।
उपन्यासको मुख्य पात्र नेपालको कुनै एउटा गाउँका बीस वर्षीय लोचनबहादुर लिम्बू हुन् । उसलाई लाहुरे बन्ने ठूलो रहर छ तर उसले न त एसएलसी पास गर्नु नै सक्छ; न त ब्रिटिस आर्मी वा इन्डियन आर्मीमा भर्ति हुन नै सक्छ । यसैले विरक्तिएर घरमा आमा बाबुसहित आफ्नी पत्नी र दुई छोराछोरीलाई छोडी साथीसँग लागेर मेघालयको कोइलाखानी जान बाध्य बन्दछ । मेघालयको छेरूपी गाउँ आइपुगेर नरबहादुर सरदारको क्वारीमा कोइला खनन काम गर्न थाल्छ । लोचनको परिचय त्यहाँकै रुथ नामक खासी केटीसँग हुन्छ, दुवैले फुर्सदको समय सँगै बिताउँछन् । खासी समाजबाट विरोध हुँदाहुँदै पनि रुथको जोडले केही समय पश्चात यो परिचय विवाहमा परिणत हुन्छ । विवाहपछि लोचनले कोइलाखानीमा काम गर्न छोडेर रुथको घरमा नै बसेर खेतीपाती गर्ने र गाईवस्तु पाल्ने काम गर्न थाल्छ । समयको क्रम सँगसँगै लोचनको जीवन चल्दै जान्छ । लोचन दुई सन्तानको बाबु बन्छ । एकदिन लोचनको भाइ पनि साथीहरूको लहैमा लागेर त्यहाँ आइपुग्छ र दाजुलाई एकपल्ट गाउँ गएर आमाबाबु,भाउजु र नानीहरूलाई भेट्ने आग्रह गर्छ । घरको यादले लोचन चिन्तित बन्छ, यता रुथको मनमा पनि शान्ति छैन, कतै लोचन नेपाल गएर नफर्किने पो हो कि ? दुई महिनामा फर्कने बाचा गरेर लोचन नेपालमा आफ्नो गाउँ फर्कन्छ तर उमेर खाएका र बिमारी आमाबाबु अनि परिवारलाई चट्ट छोडेर मेघालय फर्कन सक्दैन, परिस्थिति र परिबन्दबाट निस्किएर सात वर्षपछि मात्र लोचन मेघालय फर्किन्छ र फेरि कोइलाखानीमा काम गर्न थाल्छ ।
यतिका दिनमा कोइलाखानीमा पनि धेरै परिवर्तन आइसकेको हुन्छ । उत्खनन कार्यमा बिजुलीको लाईन, क्रेन, गाडी, पम्प मसिन आदिको प्रयोग हुन थालेको छ, बजार व्यवस्था विकसित भएको छ, मानिसहरूले मोबाइलको प्रयोग गर्न थालेका छन् । यता रुथको जीवनले पनि कोल्टे फेरिसकेको हुन्छ । लोचन नआएको देखेर परिवार र समाजले रुथलाई विवाह गर्ने दबाव दिन थाल्छन् र चार वर्ष पछि उसले आफ्नै जातिको रिमी नामक व्यक्तिसँग बिहे गर्छे, तर लोचनलाई भुल्न सक्तिन । लोचनबाट जन्मेका छोरा छोरीलाई हस्टेलमा राखेर पढाउँछे,पतिसँग लागेर होटल चलाउँछे ।
सात वर्षपछि उनीहरूलाई सम्झेर लोचन आएको देखेर ऊ स्तब्ध बन्छे, लोचनप्रतिको उसको प्रेम मरेको हुँदैन; तर खासी समुदायमा बिहे गरिसके पछि आफ्नो अगिल्लो पतिसँगको सम्बन्धलाई अनैतिक मानिन्छ तर सन्तानमाथिको हक/अधिकार भने बाबुमा रहेको हुन्छ । रूथले एक दुईपल्ट लोचनलाई उसका छोराछोरीसँग भेट गराउँछे तर उनीहरूको रूखो व्यावहारले लोचन मर्महात बन्छ अनि त्यहाँबाट निकै टाडा गएर सिमेन्ट फ्याकट्रीमा काम गर्न थाल्छ । ढेड वर्षपछि लोचनले एकजना साथीबाट रूथको पति मरेको खबर थाह पाउँछ र रूथलाई मोबाईलबाट मेसेज गरेर समवेदना पठाउँछ । रूथले लोचनसँग भेटने इच्छा गर्छे र आफ्नो घरमा बोलाउँछे । अप्ठ्यारो मान्दै भए पनि रूथको घरमा लोचन जान्छ,रूथले अब सँगै बसेर नयाँ जीवनको सुरूवात गर्न चाहन्छे तर खासी समाज र उसका दाजुहरूले यो मान्दैनन् ,पूर्वपतिलाई आइन्दा घरमा ल्याउन नहुने नत्र रूथलाई सम्पूर्ण सम्पत्तिबाट वञ्चित गरेर गाउँ निकाला गर्ने अनि सम्पूर्ण सम्पत्ति, घर,जग्गा जमिनमा उसकै छोरी मायाको अधिकार हुने निर्णय समाजले गर्छ । रूथले मानवता विरुद्धको यस निर्णयलाई स्वीकार गर्दै आफ्नो जन्मथलो त्यागेर लोचनसँग अनजान गन्तव्य शहरतर्फ़ लाग्छे ।
लिम्बूको जीवन सङ्घर्षको कथा मार्फत लेखकले समग्र प्रवासी श्रमिकहरूको पीडा प्रस्तुत गरेका छन् । नेपाली युवाहरूको परदेशी जीवनको कठोर वास्तविकतालाई उपन्यासले उजागर गर्दछ । उपन्यासमा आफ्नो देश छोडेर विभिन्न कारणले परदेशिएका नरबहादुर सरदार, लीलासरदार, जग्गुलामा, नैनसिँह गुरुङ, रामकुमार, धनबहादुर राई चन्द्रे, हर्के, धर्मे, बम्बा, भक्ते, पन्थरे साइला, रनध्वज मगर, रामप्रसाद, धनपति बस्नेत, दले, किस्ने जस्ता अनेकौं पात्रहरू छन् अनि उनीहरूका कथा र ब्यथाले यस उपन्यासको कथावस्तुले विस्तार पाएको छ । राम्रो जीवनयापनको आशामा घर-परिवार छोडेर गएका यी युवाहरू कठोर श्रम, जोखिमपूर्ण वातावरण र असुरक्षित जीवन बाँच्न बाध्य हुन्छन् । उपन्यास लोचनको केवल व्यक्तिगत कथा मात्र नभई यसले हजारौं नेपाली युवाहरूको प्रतिनिधित्व गर्दछ ।
विश्लेषण –
(क) प्रवासी जीवन, पहिचान सङ्कट र विस्थापन: समाज र व्यक्तिको सम्बन्ध, पात्रको आन्तरिक द्वन्द्व अनि प्रवासले व्यक्तिको नैतिकता र पहिचानलाई कसरी परिवर्तन गर्छ ? भन्ने कुरो उपन्यासमा पाइन्छ । लोचन आधुनिक मानिसको प्रतिनिधि पात्र हो, जसमा द्वन्द्व, अस्थिरता र आत्मसङ्घर्ष स्पष्ट देखिन्छ । लोचनको द्वन्द्व आधुनिक मानिसको आत्मपहिचानको खोजसँग सम्बन्धित छ । उनको चरित्रलाई मनोवैज्ञानिक दृष्टिले हेर्दा ऊ पहिचान सङ्कट (identity crisis) बाट ग्रसित देखिन्छ । लोचन दुईवटा संस्कृतिबीच अल्झिएको पात्र हो । नेपालमा उसले लिम्बू पहिचान बोकेको छ भने मेघालयमा ऊ बाहिरबाट आएको व्यक्ति (outsider) को रूपमा देखिन्छ । रूथसँगको विवाहले उसलाई अझ बढी पहिचान संकटमा पार्छ । ऊ न पूर्ण रूपमा नेपाली समाजमा समाहित हुन सक्छ, न खसिया समाजमा । यस उपन्यासले प्रवासी जीवनको यथार्थ, एक्लोपन, असुरक्षा र सांस्कृतिक टकरावलाई देखाएको छ ।
(ख) अवैध कोइलाखानी: मेघालय राज्यका विभिन्न स्थानमा लामो समयदेखि अवैध कोइलाखानी संचालन भएको पाइन्छ । त्यहाँ काम गर्ने श्रमिकहरूमा स्वास्थ्य सम्बन्धी जोखिम, खतरनाक कार्य शैली ,सामाजिक सुरक्षाको कमी,धुलो ग्यास जस्ता हानीकारक पदार्थसँग सम्पर्क,खदान कार्यमा पटक हुने दुर्घटना, सुरक्षा उपकरणको कमी, न्यून ज्याला, बाल श्रमिकहरूको शोषण जस्ता समस्याहरू लछेप्रै देखिन्छन् ।
स्थानीयवासीलाई ती व्यावसायिक गतिविधिहरू “अवैध” रहेको जानकारी भए पनि अधिकांश नेपाली मजदुरहरूलाई त्यसबारे थाहा हुँदैन । मेघालय राज्यको भौगोलिक बनावटका कारणले यहाँका अवैध कोइलाखदानहरू सुरक्षित छैनन् । र्याट होल खनन (Rat hole mining ) कोइला निकाल्ने एउटा परम्पागत तर जोखिमपूर्ण तरिका हो । जमिनमुनि तीन/चार फिट गहिरो साँघुरा सुरुङहरू बनाइन्छ ।
त्यस्ता सुरुङमा कामदारहरू घुँडा टेकेर वा घस्रेर भित्र पस्छन् अनि छिनो, हम्बर, गैंती आदिका माध्यमले कोइला काटेर निकाल्छन् । यस्ता सुरुङमा बालबालिकालाई समेत काममा लगाइने गरिन्छ । आधुनिक मसिन प्रयोग गरेर खानी संचालन गर्न महँगो हुने भएकाले स्थानीय मानिसहरू अनि बाहिरबाट गएका सरदारहरूले र्याट होल खनन जस्तो अवैध तरिका प्रयोग गर्छन् । यसलाई मानव स्वास्थका निम्ति असुरक्षित र पर्यावरणका निम्ति हानिकारक मानेर भारतको राष्ट्रिय हरित न्यायाधिकरण (National Green Tribunal) ले १९१४मा र्याट होल माइनिङ (Rat hole mining )मा प्रतिबन्ध लगाएको थियो अनि सुप्रिम कोर्ट अफ् इन्डियाले पनि यसलाई समर्थन गरेको छ । शिलोङ टाइम्स, मेघालय टाइम्स, हाइल्यान्ड पोस्ट जस्ता पत्रिकामा यस्ता अवैध खानीहरूको विरोधमा नियमित समाचारहरू प्रकाशित हुनथालेका थिए । यस्ता अवैध खानीहरूमा काम गर्नु भनेको मृत्युको मुखमा काम गर्नु सरह हो ।
(ग) अन्तरसंस्कृति र पहिचानको द्वन्द्व
भारत विविधताको देश हो; यहाँ प्रत्येक जातिको संस्कृति र परम्परा फरक रहेको छ । भारतको उत्तरपूर्वी राज्य मेघालयमा बसोबासो गर्ने खासी जनजातिमा मातृवंशीय व्यवस्थामा परिवार चलेको पाइन्छ । यहाँ परिवार पिताले होइन, आमाले चलाउँछन् अनि घरको सम्पत्ति आमाबाट छोरीलाई हस्तान्तरण हुन्छ, छोराछोरीले आमाको थर राख्छन् । विवाहपछि बेहुला पनि बेहुलीको घरमा गएर बस्छन् । उनीहरूको समाजमा महिलालाई पुरुषभन्दा बढी अधिकार दिइएको हुन्छ ।
लोचन नेपाली समाजको र रूथ खसिया समुदायकी प्रतिनिधि पात्र हुन् । यी दुई फरक सांस्कृतिक पृष्ठभूमिबीचको विवाहले सांस्कृतिक भिन्नता, भाषा, परम्परा र जीवनशैलीबीचको द्वन्द्वलाई देखाउँछ । लोचनका लागि रूथको संस्कार र जीवनशैली नयाँ र अपरिचित हुन्छ भने रूथका लागि पनि लोचनको नेपाली पहिचान बुझ्न चुनौतीपूर्ण हुन्छ । लोचनको नेपालमा पत्नी र छोराछोरी हुँदाहुँदै पनि उसले मेघालयमा अर्को विवाह गर्नुले नैतिक र भावनात्मक द्वन्द्व सिर्जना गर्छ । उसले दुई जीवनबीच सन्तुलन कायम गर्न सक्दैन । रूथ पनि असुरक्षा र अस्थिरताको अवस्थामा रहन्छिन् । यसले अन्तर्जातीय विवाहसँगै आउने व्यक्तिगत जिम्मेवारी र नैतिक जटिलता देखाउँछ । लेखकले यस उपन्यासमा सामाजिक नियम, नियति, स्वतन्त्र इच्छा, मानवीय भावना, सामाजिक बन्धन, नैतिकता आदिलाई कथावस्तुको विस्तार सँगसँगै लिएर गएका छन् ।
यहाँ शब्दसंख्या घटाएर सम्पादन गरिएको छ:
(घ) गरिबी र श्रमको शोषण: कोइलाखाद उपन्यासमा लेखकले मेघालयका अवैध कोइलाखानीमा हुने गरिबी र शोषणलाई विभिन्न प्रसङ्गद्वारा मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । यही विषयमा आधारित सन् २०१६ को इन्टरनेशनल डकुमेन्ट्री अवार्ड विजेता फिल्म Fireflies in the Abyss मा पनि अवैध कोइलाखानीमा काम गर्ने नेपालीहरूको कथा समेटिएको छ, जसमा ११ वर्षीय सुरजको जीवनका माध्यमबाट श्रमिकहरूको कठोर जीवन चित्रण गरिएको छ । दुवै कृतिले समाजका सीमान्तकृत वर्गको पीडा, पहिचान संकट र अस्तित्वको सङ्घर्षलाई केन्द्रमा राखेका छन् ।
उपन्यासमा दुर्घटना, स्वास्थ्य समस्या र अकाल मृत्युजस्ता जोखिमहरू पनि प्रभावकारी ढङ्गले उठाइएका छन् । बालबालिकालाई समेत अत्यन्त कम ज्यालामा जोखिमपूर्ण काम गर्न बाध्य पारिने र दुर्घटना भए पनि प्रशासनलाई समयमा जानकारी नपुग्ने यथार्थले श्रमिकहरूको असुरक्षित अवस्थालाई उजागर गर्छ ।
(ङ) भाषाशैली: उपन्यासको भाषाशैली सरल, सहज र प्रभावकारी छ । सामाजिक यथार्थको नजिकको चित्रण र स्वाभाविक संवादहरूले उपन्यासलाई थप सजीव र प्रभावशाली बनाएका छन् । उपन्यासमा पाइने लामाछोटा संवादका केही उदाहरण:
मनलाई दाम्लो लगाएर किलामा बाँध्न त सकिन्न है ।
जन्म र मृत्यु त ईश्वरको खटन हो । मान्छेले के गर्न सक्छ र ?
जीवन दु:ख हो । केवल दु:ख । अरू सबै भ्रम हुन् ।
मान्छेको जुनी, कहाँको जन्म, कहाँको मरण । मान्छे त बाँचुन्जेल मात्रै । मरेपछि त माटो ।
नेपालमा गृहयुद्ध चर्केको थियो । गाउँ गाउँबाट मानिसहरू विस्थापित हुन थालेका थिए । ति मध्य केही कोइलाखाद पुगिरहेका थिए । उनीहरू भन्थे ‘द्वन्द्वले गर्दा गाउँमा बस्नै सकिएन । पैसा हुनेहरू पासपोर्ट बनाएर खाडी र मलेसियातिर लागिसके ; हामी पैसा नहुनेहरू कोइलाखानी आयौँ ।
“यहाँको जिन्दगी पनि जिन्दगी हो ? जङ्गलमा बसाइ छ । क्याम्पमा जीवन कटाउनु छ । कमायो, खायो । न बचत, न सुरक्षा । न आफ्नो भन्ने माटो छ, न कागतपत्र । काम गर्दा गर्दै मरेका दिन जग्गु डाँडामा गाड्यो, सकियो ”
यसबाहेक ‘यो’, ‘क्वाई’, ‘थो’, ‘बेई’,’ उरूङ’, ‘मोनोलिथ’, ‘डखार’ , ‘खनुक्पा’,’युखिगा’ जस्ता खासी भाषाका शब्दहरू,खासी भाषाको गीत अनि ‘क्वारी’, ‘झुल’, ‘बक्स कटिङ, ‘साइड कटिङ’,’झुम’ लेयर, जस्ता कोइला खदानसँग सम्बन्धित शब्दहरू पनि प्रसस्तै पाइन्छन् ।
निष्कर्ष:
कोइलाखाद एक सामाजिक यथार्थवादी उपन्यास हो, जसले लोचन बहादुर लिम्बूको चरित्रमार्फत प्रवास, पहिचान संकट र पारिवारिक विघटनको यथार्थ उजागर गर्छ । आर्थिक बाध्यताले युवाहरूलाई ज्यान जोखिममा राखेर काम गर्न बाध्य पार्छ । उपन्यासकार श्याम सिंघकका शब्दमा — ‘यो कल्पना होइन, श्रममा डुबेका हजारौँ नेपालीको जीवन गाथा हो ।‘

