मान्छेका आ–आफ्नै रुचि हुन्छन् । क्षमता हुन्छन् । रमाउने तरिका पनि आ–आफ्नै हुन्छन् । कतिपय रुचिहरू परिवर्तनशील हुन्छन् । उमेरजन्य हुन्छन् । समयअनुसार परिवर्तन भइरहन्छन् । कतिपय रुचिहरू जन्मजात हुन्छन् । जस्तोसुकै परिस्थितिमा पनि लत बनेर बसेका हुन्छन् । न छोड्न सकिन्छ, न त फाल्न नै ।
लत भन्ने शब्द आफैँमा नकारात्मक शब्द भने होइन तापनि यसलाई खराब आदतका रूपमा सोच्ने चलन यथावतै छ । कतिपय लतलाई कसैले खराब भन्छ भने त्यो पनि स्वीकार्य नै छ । जुन लतले स्वास्थ्य र समाजलाई घाटा गर्दैन त्यस्तो लतले कहिल्यै नछोडिदिए हुन्थ्यो भन्ने लागिरहन्छ मलाई पनि ।
लत बसेकाहरूलाई थाहा छ, चियाको लत रक्सीले मेटाउन सक्दैन । खेलको लत लेखनले मेटाउन सक्दैन । साइकलमा हुइँकिने बानी परेकाहरू घोडाचढीमा रमाउन सक्दैनन् । कतिले भन्छन् ‘उमेरले नेटो काटी सक्यो, अझ पनि कति मरिहत्ते गरेको ? ऐस आरामले खान, पिउन, रमाउन छोडेर किन होला दुःख बेसाएको ? किन तनाव झेलेको ?” कहिलेकाहीँ हाँसो उठ्छ मलाई । देखाउनका लागि कसले तनाव झेल्छ र ? कसैले भन्दैमा आफ्नो रुचिलाई मार्न कसले पो सक्छ र ? नलेख, नपढ भनेर लेख्न र पढ्न छोड्न कहाँ सकिन्छ र ?
यस्तै खालका कुराहरू मैले मेरा बारेमा धेरैले भनेको सुनेको छु । आज जसको प्रसङ्गमा लेख्दैछु उनको बारेमा पनि भनेको सुनेको छु । यो पनि ठीकै छ । जसले जे देख्छ त्यही भन्छ । जे जान्दछ त्यही गर्दछ । जसरी सोच्यो त्यसरी नै अभिव्यक्त हुने । जिन्दगी आ–आफ्नै हो । कार्यशैली आ–आफ्नै हुन्छन् । रुचि र क्षमता पनि आ–आफ्नै खालका हुन्छन् । सबैको लत उस्तै हुँदैन । एकै किसिमको रुचि भएको भए यो संसार यति सुन्दर कहाँ हुन्थ्यो र ? यस्ता कुराहरू सहज रूपमा लिनुपर्छ भन्ने लाग्दछ मलाई । हरेकले आफ्नो तरिकाले सोच्न नपाउने कुरा पनि त भएन नि हैन र ?
मैले रुचि र लतका कुरा गरिरहेको थिएँ । आज भने मैले मेरो रुचिका कुरा गरिरहेको छैन । आफ्नै लतको विषय कोट्याउन खोजिरहेको छैन । मलाई धैरैले सोधिरहने, सहयात्रीका रुपमा हेरिएका, मेरै साथीको विषयमा चर्चा गर्न मन लागेको छ । त्यो साथी, जसको चर्चा छुट्यो भने मेरो जीवनको एक महत्त्वपूर्ण हिस्सा छुटेको सम्झन्छु म पनि । साहित्यिक इतिहास नै अपाङ्ग भएको अनुभूति गर्दछु । उनका बारेमा बोल्दा आफ्नै बारेमा बोलेको महसुस गर्दछु ।
चालिसको दशकमा खुब रेडियो सुनिन्थ्यो । शनिबार विशेष लाग्दथ्यो । रेडियो नेपालबाट बज्ने ‘अनुरोध सङ्गीत’, ‘इन्द्रेणी’, ‘इन्द्रधनुष’ जस्ता कार्यक्रमा अनुरोध गर्नेहरूको लिष्ट बनाएर बसिन्थ्यो । को, कहाँ र के भन्ने चासो खुब हुन्थ्यो । नाम टिपिन्थ्यो पत्रमित्र बनाइन्थ्यो । ती साथी जोसँग रेडियोमा अनुरोध गर्दा होस् वा हवाइ पत्रिकामा भावनाहरू पोख्दा, गजल अभियान चलाउँदा होस् वा साहित्यिक पत्रकारिता गर्दा । साहित्यिक संस्था खोल्दा होस् वा समाजका बारेमा बोल्दा सँगै हातेमालो गरेका साथीको प्रसङ्गमा आज म केन्द्रित छु ।
शायद अनुमान गरिसक्नुभयो होला । नजिकबाट महसुस गर्नेहरूले त नाम नै भनिसक्नुभएको हुनुपर्छ । धेरैले जे सोचिरहनु भएको छ, ठीक सोचिरहनु भएको छ । हो, आज मैले हिमाललका कुरा गर्दैछु । हिमलाललाई ‘हिमाल’ भन्न मन पराउँछु म । हिमलाल उर्फ हिमाल । हिमाल किन भनेको भन्नु होला ? उनको स्वभाव नै हिमालको जस्तो छ । चट्टानी अडान । कुनै कुरामा लागेपछि लाग्यो लाग्यो । “हिमाल, को हिमाल ?” हो, हो त्यही हिमाल । अटल अमर हिमाल । हुरी, बतास, चिसो, तातो कुनै कुराको पर्वाह नगर्ने हिमालको । नछट्पटिने र नअल्मलिने हिमालको । हिमाल भन्ने बित्तिकै सेतो सुन्दर हिउँ सम्झनु भएको होला है ? हिमाल हुने रहर धेरैलाई हुन्छ । तपाईंलाई पनि भयो होला ? हिमाल हुन कम्ता गाह्रो होला ? हिमालको उचाइको प्रशंसा कसले पो गर्दैन र ? हिमाल चढ्ने रहर नपालेको आजसम्म को नै जन्मेको होला र ? मलाई त्यस्तो लाग्दैन ।
तपाईं अलमलमा परे जस्तो लागेको छ । अलमलमा पर्न जरुरी छैन । म तपाईंले कल्पना गरेको विषयभन्दा एक इन्च पनि पर छैन । मैले चर्चा गर्न खोजेको र तपाईंले कल्पना गरेको विषय एउटै हो । तपाईंको सोचाइ र मेरो बोलाइ एउटै विषयको वरिपरि घुमिरहेको छ । कुमालेको चक्र घुमे जस्तो । हो, मैले हिमालकै कुरा गरिरहेको छु । आफ्नो अडान र कर्ममा कटिबद्ध रहने हिमाल । फेरि तपाईंलाई रिस उठ्यो होला ! शायद सोच्दै पनि हुनुहुन्छ “किन माकुराको जालो जस्तो चुरो कुरो फनफनी घुमाउनु परेको होला ? हिमाल, पहाड र तराई भन्दै आलटाल गर्न किन खोजेको होला ? भन्न खोजेको कुरा त फटाफट भन्नु नि ।” होइन होइन पटक्कै होइन । मैले कुरा घुमाउन खोजेकै छैन । ठीक छ नि त हजुरकै कुरा मानें । हिमालको प्रसङ्गले चुरो कुरो आएन भने सागरकै कुरा गरौँला । ‘सागर’ यो त झन जटिल विषय लाग्छ मलाई । हिमालको उचाई त नापिसके मानिसले, सागरको गहिराइको त अनुमान मात्रै गरिएको छ । हिमालको उचाइ समातेर सागरको गहिराई छिचोल्न खोज्नु कम चानचुने कुरा होइन । हिमाल पनि हुन पाए, सागर पनि हुन पाए कस्तो गज्जब हुन्थ्यो होला है ?
म मेरा साथीकै प्रसङ्गमा छु । उनैको कुरा गर्ने मुडमा छु । ‘साथीको कुरा बटारेर कहिले हिमालतिर कहिले सागरतिर दौडियो’ भनेर दोष लगाउनु भएको होला ? तपाईंले गरेको दोषारोपण सोह्रै आना ठीक छ । किनकि म हिमाल तथा सागरमा नै केन्द्रित छु । हिमाल भने पनि सागर भने पनि कुरो एउटै हो । “कुरो एउटै हो । कसरी एउटै हो ? कहाँको हिमाल ? अनि कहाँको सागर ?” हो, तपाईंले ठीक भन्नु भयो । हिमाल र सागर फरक फरक नाम हुन् । फरकफरक विशेषता छन् दुवैका । दुरीको हिसाबले पनि सबैभन्दा टाढा । विशेषता पनि कता हो कता ? एउटा तरल, अर्को ठोस । एउटाको आफ्नै आकार छ, अर्को आकारविहिन । एउटा सधैँ उस्तै, अर्को समय समयमा परिवर्तन भइरहने । सोझो अर्थमा दुवैलाई कसरी एउटै देख्न सकिन्छ ? एउटै नदेखिनु हजुरको समस्या हुँदै होइन ।
तर मैले समातेको विषय सागर भए पनि, हिमाल भए पनि एउटै हो । दुवै नामले एउटै कर्म गरिरहेका छन् । अझ सोझै भनौं हिमलाल जसलाई ‘हिमाल’ भन्न मन पराउँछु म, उनी र सागर एउटै व्यक्ति हुन् । अब भने पक्कै प्रष्ट हुनु भयो । मैले तिनै साथीको कुरा गरेको हुँ उनी हिमाल पनि हुन् सागर पनि हुन् । हिमलाल गैरे उर्फ सागर गैरे । हिमलाल गैरे किन सागर गैरे बने ? मेरो मनमा प्रश्न उब्जिएको थियो । शायद तपाईंको मनमा पनि जिज्ञासा उब्जिएको हुनुपर्छ ।
कति रहरले काम गर्छन्, कति लहडले । मैले शुरुमा नै प्रसङ्ग कोट्याएको थिएँ रुचिको । नाम फेर्ने रुचिले हिमलाललाई सागर बनायो । कुनै बेला थियो उमेर सच्चाउने । नाम परिवर्तन गर्ने । कक्षा नौमा पढ्दै गर्दा कक्षा आठमा पढ्दाका आधासरो साथीहरूका नाम अर्कै हुन्थे । यो रहर ममा पनि थियो । कक्षा नौमा पढ्दा नाम परिवर्तन नगरे पनि कहिले एम.डि.‘निर्दोष’, त कहिले ‘एम.एन.सर’का नामले परिचय गरियो साथीहरूसँग । यो नाम क्याम्पस पढ्दा समेत प्रयोगमा आयो । एउटै पत्रिकामा असली नाम, लहड र रहरमा लेखिएका फरकफरक नामहरूबाट रचनाहरू समेत छापियो । वि.सं.२०५९ मा एम.डि. निर्दोषका नामबाट विमोचन पत्रिकामा जिज्ञासा र रङ्गमञ्चमा एउटा लेख छापियो । साथीहरूले फोटो देखेर मात्रै विश्वास गरे । साथीहरूको सुझाव शिरोधार्य गरी एम.डि. ‘निर्दोष’ र ‘एम.एन.सर’लाई सधैँका लागि बिदा दिएको थिएँ मैले ।
सागरको कुरा गर्न बसेको म मेरै कुरामा अल्मलिएछु । आफ्ना कुरा गर्न थालेपछि संसार बिर्सिने मानिसहरू खोज्न धेरै टाढा जानु पर्दैन । यसलाई मानवीय गुण भन्ने गरेको छु मैले । म पनि आखिर मान्छे न हुँ । अँ, साथीको कुरा गर्दै थिएँ । हिमलाल गैरेले सागर गैरेलाई ब्राण्ड बनाएर हिँडिरहेका छन् । हिँडिरहेका छन् पनि के भन्नु ? दौडिरहेको देख्छु म । उनी दौडन मन पराउने मान्छे हुन् । मिर्मिरे बिहानदेखि गोधूलि साँझसम्म दौडिरहन्छन् । कहिले शरीर दौडाउँछन्, कहिले मन । बिहानी दौडाई साइकलबाट शुरु हुन्छ उनको । चियाका सौखिन उनी साइकल मच्चाउँदै चिया पिउन ग्रामिण बस्तीहरूमा पुग्छन् । व्यावसाय सँगसँगै लेखाइ र पढाइलाई पनि दौडाइरहन्छन् निरन्तर । साँझ फेरि साइकल दौडाउँदै चिया पसलमा पुग्छन् उनी । कहिलेकाहीँ थपीथपी चिया पिउँछन् । साहित्यिक गतिविधिमा गफ्फिन्छन् अबेरसम्म । आलटाल गर्ने मान्छे मन पर्दैन उनलाई । समयको वेगलाई पछ्याउन खोज्ने उनलाई किनारामा बसेर हेर्नेहरूले अनौठो मान्छन् र फरक देख्छन् । आम मानिसभन्दा लेखक तथा दार्शनिक फरक हुन्छन् त्यसै भनिएको त कहाँ हो र ? उनी लेखक त हुन् नै, दार्शनिक जस्तो पनि लाग्छ मलाई । त्यसैले पनि फरक देखिएका होलान् धेरैको नजरमा ।
दैनिक पचास कि.मि. जति साइकल मच्चाउँदै नेपालगञ्ज पढ्न पुग्थे उनी । साइकलका त सौखिन नै हुन् उनी । “दिनभर साइकल चलाउन पाए, साइकल चलाउँदै बस्तीहरू छिचोल्न पाए कति आनन्द हुन्थ्यो ?” बेलाबखत भनेको सुनेको छु मैले । उनी पहिलोपटक नेपालगञ्जमा भेटिएका थिए । यो पचासको उत्तरार्धतिरको कुरा थियो । रेडियोमा सुनिरहेको र पत्रिकामा पढिरहेको नाम भएकाले पहिलो पटक भेट्दा पनि नयाँ लागेनन् उनी । पूर्णिमा पत्रिकाको लागि अन्तर्वाता लिन बासस्थान खोज्दै पुगेका रहेछन् मकहाँ । निकै सरल लागेको थियो मलाई पहिलो भेटमा नै । लेखाइ त झन् अचम्मै मीठो लाग्थ्यो । राम्रा गजल लेख्थे तर अब यो इतिहास जस्तै भएको छ उनैका लागि पनि । लेखहरू लेख्न थालेपछि गजल हराउँदै गए उनका । इतिहास विषयमा स्नातकोत्तरमा ‘क्याम्पस टप’ भए पछि अन्तर्राष्ट्रिय विषयमा ऐतिहासिक विषयवस्तु समातेर थुप्रै लेखहरू लेखे उनले । छोटो समयमा नै स्तम्भकारका रूपमा परिचय बनाउन सफल भए ।
कोहलपुरमा बसेर साहित्यिक कर्म गरिरहेका थिए सागर । साठीको दशकदेखि छिमेकी बन्ने मौका मिल्यो मलाई । रुचि मिल्यो । दुवैजना अक्षरको खेती गर्न मन पराउँथ्यौँ । अझ भनौं, दुवैको लत मिल्यो । मिलेसम्म दसौँपटक चिया पिउँदै गफ्फिने स्वभाव मिल्यो । उनले प्रकाशन गर्दै आएको पूर्णिमा पत्रिकाका दर्जनौँ अङ्क सहकार्यमा प्रकाशित गरियो । साहित्यिक संस्था ‘हाम्रो पूर्णिमा’ स्थापना र दर्जनौँ कार्यक्रमहरू सहकार्यमा नै सम्पन्न गरियो । पछिपछि एकसँग अर्काको बारेमा सोध्नेहरूको सङख्या बढ्न थाल्यो । शायद हाम्रो सहयात्राले यहाँसम्म पुर्याएको हुनुपर्छ ।
सागर अलि फरक स्वभावका छन् । सानो कुराले छुन्छ उनलाई । साहित्यमा पनि उनको विचार फरक लाग्छ । यही फरकपन नै खासमा उनको चिनारी हो । यही परिचय मनपर्छ मलाई । उनीसँग सयौं लेखहरू सङ्कलित थिए र छन् पनि तर लामो समयसम्म कुनै कृति प्रकाशित गरेनन् उनले । साहित्य लेखनमा समर्पित भएको तीन दशक पुगिसक्दा पनि कुनै कृति निकाल्ने जागर देखाएनन् उनले । प्रायः लेखकहरू कृति प्रकाशनमा हतारिन्छन् । सागर, सागर जस्तै शान्त बनिरहे । कृति प्रकाशनको प्रसङ्ग कोट्याउँदा हाँसेर टारिदिन्थे उनी ।
कोभिड–१९ का कारण देशमा लकडाउन भयो । व्यवसायहरूमा शिथिलता आयो । सागरको रफ्तार लेखनमा केन्द्रित भयो । लकडाउनपछि सागरको साहित्यिक जीवनमा ‘टर्निङ प्वाइन्ट’का रूपमा देखा पर्यो । यही समयमा उनको ‘लकडाउन’ नामक निबन्धहरूको सङ्ग्रह प्रकाशित भयो । उनी कृतिकार भए । यो कृतिले राम्रै चर्चा पायो र उनलाई उत्साहित बनायो ।
लकडाउन प्रकाशन गर्न सागरलाई हिमाल चढ्न जत्तिकै कठिन भयो । जब उनले पहिलो पटक कृति प्रकाशनको सफल आरोहण गरे, त्यसपछि उनलाई पटकपटक कृति प्रकाशनको यात्रा गर्ने रहरले कुत्कुताइरह्यो । उनी कृति प्रकाशनको यात्रामा दौडिरहेका छन् । दौडिरहेका छन् पनि के भन्नु ? अब त उडिरहेका छन् भन्दा पनि फरक नपर्ला । कृतिहरू फटाफट प्रकाशित हुन थालेका छन् । देश विदेश उडेका नियात्राहरू पनि एकपछि अर्को गर्दै प्रकाशित हुन थालेकाले पनि उनी साहित्यमा हिँडिरहेका मात्रै होइन उडिरहेका छन् भन्न पो मन लाग्छ ।
सागरको ‘बलइगाउँदेखि बाकुसम्म’ नामक नियात्रा कृति साहित्यिक क्षेत्रमा धेरैले रुचाए । यो कृति लकडाउन प्रकाशन भएको अर्को वर्ष नै प्रकाशित भएको थियो । तेस्रो कृतिका रूपमा उनले ‘मोहोर’ उपन्यास प्रकाशित गरे । पहाड र तराईको परिवेश समातेर लेखिएको यो उपन्यासले ‘सामान्य मानिसहरूका पनि रोचक कथाहरू हुन्छन्, अलिखित ऐतिहासिक घटनाहरू हुन्छन्’ भन्ने कुरा प्रमाणित गरिदियो । दाम र नाम दुवै दिन सफल भएका सागर गैरेका ‘लकडाउन’, ‘बलइगाउँदेखि बाकुसम्म’ र ‘मोहोर’पछि भर्खरै मात्रै ‘एउटा अल्बाट्रस प्रशान्त महासागरदेखि काला सागरसम्म’ नामक नियात्रा बजारमा आइपुगेको छ । विमोचन हुनुपूर्व नै यो कृतिको बजारहल्ला राम्रै चलेको छ ।
‘अल्बाट्रस’ बजारमा आइसकेपछि उनीसँग भेट भयो । एक प्रसङ्गमा उनले पाण्डुलिपि देखाउँदै भने, “अब म कोहलपुरको इतिहास बोकेको कृति प्रकाशित गर्छु ।” मैले सोचेँ सागरमा लेखनको लत त बसेको थियो नै अब त कृति प्रकाशन गर्ने लत पनि बसिसकेछ । उनको कोहलपुरको साहित्यिक इतिहासपछि भुइँ मान्छेहरूका कथा समेटेर तयार पारिएको कथा सङ्ग्रह पाइपलाइनमा बसेको रहेछ । यो पनि खुशीकै कुरा हो । ‘मूल फुट्न मात्रै हो समय लाग्ने, जब मूल फुट्छ त्यसपछि पानी रोकिँदैन’ भने जस्तै भएको छ सागर गैरेको साहित्यिक कृति प्रकाशनको श्रृङ्खला । यो श्रृङ्खला दौडिरहोस् यसरी नै । उनीभित्र सिङ्गो सागर नै छ अक्षर, शब्द विषय र लेखनको । उनले लेख्नेहरूलाई हौसला दिन्छन् । बोलेरै हिम्मत जुटाइदिन्छन् । साहित्यमा रुचि जगाउन सक्ने क्षमता छ उनमा । आफ्नो गाउँ समाजलाई परिचित गराउन उनले गरेको यो प्रयासलाई भविष्यले मूल्याङ्कन गर्ने नै छ ।
उनी लेख्न बसेपछि घण्टौँ लेख्न सक्छन् । प्रायः ‘ट्याब’लाई काउन्टरको छेवैमा राख्छन् । पसलमा ग्राहक नहुने बित्तिकै उनका औंला त्यही ट्याबको स्क्रिनमा घुम्न थाल्छन् । उनलाई लेख्न कुनै खास विषयवस्तु चाहिँदैन । सामान्य विषयवस्तुलाई उनले लेखेर खास बनाइदिन्छन् । उनले लेखेका सामाजिक सञ्जालका स्ट्याटस् हुन् या लेख, सबैमा सबैले जानेका विषयवस्तुलाई जलप लगाएर टल्काउँदै नयाँ बनाइदिन्छन् । उनका लेखहरू यति सरल हुन्छन् कि आम मानिस सबैले आफ्नो विषयवस्तु सम्झेर पढ्छन् र महसुस गर्छन् । साइकलमा सामान बेच्न हिँडेका तरकारीवाला, कवाडीवाला, फलफूलवाला वा ठेलावाला । जो भएपनि मौका मिल्नासाथ कुरा गर्न छुटाउँदैनन् । कुराले मन छोए फोटो खिच्छन् । सामाजिक सञ्जालमा हाल्छन् । कहिले लेख बनाउँछन्, कहिले कथामा समेट्छन् मनको भाव जोडेर ।
उनले लेख्ने मात्र होइन घण्टौं एउटै आसनमा बसेर अध्ययन गर्न सक्छन् । पढेका कुरा हत्तपत्त बिर्संदैनन् उनी । कसैसँग कुरा गर्न र प्रसङ्गअनुसार बोल्न परे पुस्तकको नाम र लेखकसहित बोल्छन् । इतिहास, राजनीति, दर्शन र अन्तर्राष्ट्रिय समाचार सबैमा उत्तिकै चासो छ उनको । नेपाली, अंग्रेजी, हिन्दी, थारु लगायतका धेरै भाषा जानेका उनी सबैसँग समान व्यवहार गर्दछन् ।
कामलाई महत्त्व दिने सागरले कहिलेकाहीँ अनौठो स्वभाव देखाउँछन् । उनी अरूभन्दा फरक छन् । यो प्रसङ्ग माथि पनि उठाइसकेको छु । कहिलेकाहीँ चिया पिउँदा पिउँदै कुनै काम परे साथी पनि बिर्सन्छन् । जुरुक्क उठेर फटाफट हिँडिहाल्छन् । यो उनको व्यक्तिगत स्वभाव हो । कर्ममा विश्वास गर्ने सागरले ‘साथी सबैभन्दा माथि’ भन्ने विचारलाई भने सधैं आत्मसात गर्दै आएको पाइन्छ । हिमलालबाट सागर बनेका गैरेजीको साहित्यिक यात्राले पटकपटक हिमाल आरोहण गरोस् शुभकामना !

