काठमाडौं । प्रा.डा. अजय रिसालद्वारा लिखित ‘मनका कथा’ पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानमा लोकार्पण गरिएको छ ।
भाषाविद् बलदेव अधिकारी ‘गाउँले’को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रा. नन्दिता शर्मा, डा. अनन्त अधिकारी, लेखक प्रा.डा. अजय रिसाल तथा प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो ।
मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषय समेटिएको पुस्तकमा २९ वटा लेख समावेश छन् । पुस्तकमा नेपाली समाजमा मानसिक स्वास्थ्यलाई प्रभावित गर्ने प्रमुख समस्या, उदासीनता (डिप्रेसन), द्विध्रुवीय मनोदशा (बाइपोलार डिसअर्डर), लागूपदार्थ दुव्र्यसन, तनाव, हिंसा, दीर्घरोग, किशोर तथा युवावर्गको मानसिक अवस्था, निद्रा, शङ्का, आत्महत्याको प्रवृत्ति, कार्यस्थल, शिक्षकलगायत समकालीन मानसिक स्वास्थ्यका विविध पक्षलाई समेटिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बलदेव अधिकारी ‘गाउँले’ले पुस्तक प्रत्येक परिवार र अभिभावकका लागि उपयोगी रहेको बताउनुभयो । डा. अनन्त अधिकारीले मानसिक स्वास्थ्यबारे जान्न र बुझ्न चाहने पाठकका लागि पुस्तक उपयोगी हुने धारणा राख्नुभयो ।
प्रा. नन्दिता शर्माले मनोविज्ञानको क्षेत्रमा पुस्तक महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीका लागि समेत उपयोगी हुने बताउनुभयो ।
लेखक प्रा.डा. अजय रिसालले पुस्तक सबै पाठकका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । शिखा बुक्सद्वारा प्रकाशित ‘मनका कथा’को मूल्य ६७५ रुपैयाँ राखिएको छ ।

