पोखरा । साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने माग पोखराबाट उठाइएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा सहभागीहरूले यस्तो माग गर्नुभएकाे हाे ।
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले प्रस्तुत गरेको अवधारणापत्रमा कुनै पनि साङ्गीतिक प्रस्तुति, रियालिटी सो वा प्रतियोगितामा तीनै पक्षको योगदान बराबरी हुने भएकाले एक–अर्काको नाम अनिवार्य रूपमा उच्चारण गर्ने परम्परा विकास गर्नुपर्नेमा जोड दिइएको छ । साथै नृत्य प्रस्तुति वा कार्यक्रम सञ्चालनका क्रममा पनि उद्घोषकले गीतसँग सम्बन्धित स्रष्टाहरूको नाम उल्लेख गर्नुपर्ने माग गरिएको छ ।
अवधारणापत्रमा गीतको समीक्षा गर्दा शब्द र भावनाको सम्मान गर्न, अपाच्य शब्द प्रयोग नगर्न, रोयल्टी सम्बन्धित स्रष्टाको खातामा उपलब्ध गराउन, प्रतिलिपि अधिकारको संरक्षण गर्न तथा प्रविधिको सदुपयोगमार्फत स्रष्टाको अस्तित्व जोगाउनुपर्ने सुझाव पनि समेटिएका छन् ।
कार्यक्रममा सरुभक्तले सञ्चारमाध्यमलाई स्रष्टाको नाम उच्चारण गर्ने विषयमा सचेत हुन आग्रह गर्दै रोयल्टी व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताउनुभयाे । लोकगायिका हरिदेवी कोइरालाले आफ्ना गीत अरूको नाममा प्रयोग हुने र प्रस्तुति दिँदा नाम नलिइने अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयाे ।
यसैगरी रमेश श्रेष्ठले स्रष्टाको पहिचानको लडाइँमा उनीहरूकै जित हुनुपर्ने धारणा राखे भने सङ्गीत प्रशिक्षक नवराज बरालले गीतकार, सङ्गीतकार र गायक/गायिकाबीच समन्वय आवश्यक रहेको बताउनुभयाे । सूर्य खड्का ‘बिखर्ची’ले एक–अर्काको अस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिनुभयाे ।
गायक कर्णदासले देश–विदेशका कार्यक्रममा पनि स्रष्टाहरूको नाम उच्चारण गर्नुपर्ने बताउनुभयाे भने रामभक्त जोजिजूले अवधारणापत्र कार्यान्वयनमा जोड दिनुभयाे । गायक विनोद बानियाँले प्रविधिसँग सहकार्य गरेर सबै स्रष्टालाई न्याय दिनुपर्ने धारणा राख्नुभयाे ।
कार्यक्रममा देवेन्द्र केसी ‘देवु’ र ताराबहादुर गुरुङलगायतले अवधारणापत्रका बुँदाहरू सान्दर्भिक रहेको बताउनुभयाे । सोही अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो विमोचन गरिएको थियो भने २४ जना नयाँ आजीवन सदस्यलाई सदस्यता वितरण गरिएको थियो ।
कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष लाल कार्की ‘अञ्जान’को स्वागत तथा सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा सम्पन्न भएको थियो ।

