पोखरा । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालले स्रष्टा स्वागत, संस्थागत सम्बन्ध विस्तार तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–बेलघारीस्थित प्रतिष्ठानको अनुष्टुप सभाहलमा सोमबार आयोजित कार्यक्रममा स्रष्टा समाज नेपालका पदाधिकारी तथा सदस्यहरूको टोलीलाई स्वागत गरिएको थियो ।
साहित्यिक अवलोकन भ्रमणका क्रममा पोखरा आएका उक्त टोलीको सम्मानमा कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि स्रष्टा समाज नेपालका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भाषा–साहित्यको समुन्नति र विशेषतः छन्द–कविताको विकासमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयाे । उहाँले दुवै संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा छन्दनायक माधव वियोगीले आफूले सञ्चालन गर्नुभएकाे ‘छन्द बचाऊँ अभियान–२०५३’ र ‘महाकाव्य लेखन अभियान–२०६०’बारे चर्चा गर्दै ती अभियानले नेपाली साहित्यमा पारेको प्रभावबारे धारणा राख्नुभयाे । उहाँले गद्य कविताको विरोधी नभएको तर लय र अनुप्रासविहीन लेखनलाई कविता मान्ने प्रवृत्तिप्रति असहमति जनाउनुभयाे ।
यसैगरी, स्रष्टा समाज नेपालका संरक्षक पवन आलोकले साहित्यिक यात्रामा भोगेका संघर्ष स्मरण गर्दै पोखराका स्रष्टाहरूले प्रतिष्ठानलाई स्थापित गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभयाे ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठी र स्रष्टा समाजका महासचिव प्रकाश घायलले संस्थागत इतिहास र वर्तमान गतिविधिबारे जानकारी गराउनुभएकाे थियाे । साथै जानुका पौडेल, शिव त्रिपाठी, मधु पाठक, छन्दिक त्रिपाठी, दिलु पौडेल, चन्द्रावती वाग्ले र चेतनपथ माधव लगायत स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गर्नुभएकाे थियाे ।
प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शिव त्रिपाठीले गर्नुभएकाे थियाे ।

