साहित्यपोस्ट डट कम

पोखरा : प्राञ्जल यादहरूको एक प्रहेलिका

पोखरा : प्राञ्जल यादहरूको एक प्रहेलिका

श्रीमतीको जागिरको पदस्थापना पोखरामा हुने भयो । पोखरा गएपछि काठमाडौंमा बन्दै गरेका संघर्षका गोरेटा विस्मृतिको धुलाले पुरिने संशय थियो । सम्बन्धका धागा समयान्तरको मैलोले मक्किने डर थियो । तथापि, समयको पदचापलाई हृदयंगम गर्दै सोही दिशातर्फ जीवन यात्रालाई डोर्याउनु हाम्रो तत्कालीन आवश्यकता थियो । फलस्वरुप केही खुशी त केही सन्तापका किनारामा ठोक्किँदै हामी पोखरा भूगोलमा पाइला टेक्न पुग्यौँ, २०६९ वैशाखमा ।

यसरी, अलि लामै तर अनिश्चित समयका लागि पोखरा जाने संयोग जुरेको थियो । त्यो एउटा संयोगले अन्य केही संयोगहरूको जन्म भयो । जिन्दगी भन्नु संयोगहरूकै गठजोड न रहेछ आखिर ! पोखरा जानुभन्दा अघि सोच्थेँ, पोखराका युवाहरू घरको छतमा बसेर चिया पिउँदै हातमा गितार बोकेर गीत गुन्गुनाइरहेका हुन्छन् होला । सरुभक्तहरू हातमा पागलबस्ती बोकेर कुनै चोक चौतारामा साहित्यिक विमर्श गरिरहेका भेटिन्छन् होला । तीर्थ श्रेष्ठहरू लाहुरे फूलसँग नाम फेर्ने विषयमा गम्भीर वार्तालीन अवस्थामा भेटिन्छन् होला । दुर्गा बरालहरू फेवातालको किनारमा बसेर माछापुछ्रेको रंगरूप हेर्दै मुस्कुराइरहेका भेटिन्छन् होला । तर यी सबै काल्पनिकताहरू कल्पनाकै साँघुरो घेराभित्र बस्ने स्वैरकाल्पनिक उडान न थिए ।

श्रीमतीको जागिरको फेरो समाउँदै पोखरा आइपुगेपछि केहीदिनसम्म त पुतली पछि दौडिएको बालकझैँ घरी यता त घरी उता गर्दै बित्यो । त्यसपछि आउँदा केही महिनासम्म जागिर खोज्ने धुनमा रत्तिँदै र बत्तिँदै पोखराका चोक र अनाम गल्लीहरू चहारेँ । पोखराको भूगोल र माटोमा आफ्नो अस्तित्वको जरा गाड्न मिल्ने उर्वर सम्भावनाको खोजी गरेँ । फेरि संयोगले नै भन्नुपर्छ सैनिक आवासीय महाविद्यालयमा जागिरे हुने अर्को चक्रको पुनरावृत्ति भयो । लाग्यो, अब भने जीवनले राम्रै स्थायित्व पायो । हाम्रो परिवारको सानो संसार बसाउन गुँड बनाउने हाँगो भेट्टायो । भविष्यका बारेमा अतिशय सोचेर नदीले चट्टान खियाएझैँ दिमागले उमेर खियाइरहनु परेन भन्ने कुरामा ढुक्क भयौँ ।

कार्यस्थल थियो महेन्द्रपुलकै पूर्वी सिमाना फूलबारी ब्यारेक । महाविद्यालयको फराकिलो चौघेरामा आवास व्यवस्थापन गरिदियो स्कुलले । स्कुल परिसरबाट हेर्दा उत्तरतिर चमचम चम्किरहने माछापुछ्रे, धौलागिरी र अन्नपूर्णका स्निग्ध अनुहार देखेर मेरो मन आह्लादको अग्लो धुरीबाट सुरेली खेलिरहन्थ्यो । चिसो सिरेटोको पङ्खाले जस्तोसुकै अवसाद या सन्तापका रापहरूलाई शान्त बनाउन सघाउँथ्यो । जति हेरे पनि आँखा नथाक्ने, जति हिमाली सौन्दर्यको प्याला पिएपनि तृप्त नहुने कस्तो अद्भूत र दुर्लभ संयोगको साक्षी बस्न पाइयो जिन्दगीमा, सम्झेर मनका गहिरा खोँचतिर उल्लासको सेती सुसाइरहन्थ्यो । तराईको भूमि टेकी, देखी हुर्किएको मलाई यस्तो भूस्वर्गको अविछिन्न रसापानले मनमा बेग्लै भावधाराको प्रस्फुटन भयो । यस्तो ठाउँमा बस्ने जस्तोसुकै कलाविहीन पाषण पनि कलाचेतले चैतन्य हुँदो हो । सौन्दर्यबोधले अविभूत हुँदो हो । मेरो शुष्कप्राय: भइसकेको हृदयमा अलिअलि भए पनि काव्य प्रवाह ज्योतिर्मय हुने संकेत देखियो ।

नेपाली सेनाले व्यवस्थापन र संचालन गरेको महाविद्यालय उत्कृष्टताको अनुपम दृष्टान्त थियो । सफा र चिटिक्क परेको महाविद्यालय परिसरमा उभिँदा यस संस्थासँग आबद्ध मान्छे म पनि हुँ भन्ने गौरवानुभूतिले मन उत्फुल्लिन्थ्यो । नसामा रक्त प्रवाहको तीव्रताले शरीरका रौँ ठाडा हुन्थे । पङ्क्तिबद्ध कमिलाझैँ अनुशासित विद्यार्थी । मालीले काँटछाँट र स्याहार गरेका रूखझैँ शिक्षक कर्मचारीहरू । समय तालिकाका फर्माभित्र ढालिएका कार्यक्रमहरू । यी सबै कुराको कुशल संयोजन र व्यवस्थापनबाट सञ्चालित थियो विद्यालयको चुस्त र दुरुस्त दैनिकी ।

महाविद्यालय काहूडाँडाको काखमा अवस्थित थियो । विशेषतः वर्षातको मौसममा झरी थामिएपछि त्यही आँगनबाट देखिने काहूँडाँडाको स्वप्निल सौन्दर्यको म अघ्घोर दिवाना भएँ । भुइँकुहिरोको रेसमी पर्दाभित्र अर्धमुदित दृश्यको बल्छीमा पर्न जोकोहीको मन अभिशप्त हुन्थ्यो । गाढा हरियो सारीमा सेतो पछ्यौरी ओढेर प्रेम आव्हान गरिरहेकी नवयौवनाझैँ लाग्थ्यो, काहूँ । जति हेरे पनि मनको अतृप्त घडा कहिल्यै नभरिने । कला परख गर्ने मेरो चेतनाको आँगनमा पहारिलो घाम पोखिन आइपुग्यो । त्यही आनन्दको न्यानोमा जीवन बिताइदिऊँ जस्तो । त्यही सुखको उभारमा जीवन बिसाइदिऊँ जस्तो । त्यसैले महाविद्यालयको बसाइँको अवधिमा हिउँदे दिनका उदासीभन्दा वैशालु वर्षातका दिनहरू उत्पातै प्रीतिकर लागे मलाई ।

महाविद्यालयबाट प्रदान गरिएका जिम्मेवारीलाई आफ्नो दक्षता र क्षमताका विभिन्न सोपानहरू उक्लिएर पूरा गर्ने कोसिस गरेँ । धेरै वर्ष त हाउस मास्टरको ड्राईभिङ सिटमा बसेँ । धेरै विद्यार्थीहरू पास आउट भएर गए । अहिलेसम्म त ती कहाँ, कता, जिन्दगीका कस्ता संघर्षका पहाड उक्लिरहेका होलान्, लेखाजोखा छैन । कहिले हाइकिङ, ट्रेकिङको उल्लासमय क्षण त कहिले क्याम्प फायरको न्यानोभित्र बिर्सिएका दुःख र केही असफलताका चिसोपान । पिकनिकदेखि भित्तेपत्रिका अनावरण सम्मका कार्यक्रममा विद्यार्थीहरूको सहभागीताले उत्साहको आकाश जुरुक्कै उचालिन्थे । अवसर पाए सो उमेर समूहका विद्यार्थीहरूले पनि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न सक्दा रहेछन् भन्ने अनेकन उदाहरण देखेँ । व्यावहारिक ज्ञानले मान्छेलाई कतिसम्म परिपक्व बनाउँदो रहेछ । ती सबै घट्नाक्रमहरू स्मृतिका सन्दुकभित्र बेस्कन गाँठा परेर बसेका छन् ।

पोखरामा जीवनका घामपानी छिचोलिरहँदा हाम्रो पारिवारिक खुशीको इन्द्रेणीमा एउटा उज्यालो रंग थपियो । त्यो उज्यालो रंगका रूपमा हाम्री छोरी आइन् । लाग्थ्यो, हामी रंगहरूको उत्सवमय क्षणमा थियौँ त्यतिबेला । बुवाआमा बर्दिबासबाट पोखरा आउनुभयो । महाविद्यालयका खुला आकाशमा हाम्री छोरी पनि जीवनका पखेटा फट्फटाँउँदै उड्न सक्ने भइन् । बुवाआमाले पोखराका चोक, गल्लीदेखि फराकिला फाँटहरू खुट्टाले नाप्नुभयो । अनुभवका आँखाले पर्गेल्नुभयो । यसरी पोखराको लौकिक भावभूमिमा हाम्रो पूर्ण पारिवारिक रथ एउटा मिठो लय पक्रेर हिँडिरह्यो ।

पोखराको प्रेमिल आलिङ्गनमा जीवनका केही हिउँद, वर्षातहरू बिते । माछापुछ्रेको शिरमा परेको हिमगुच्छा देखेर अकिञ्चन मनमा अनायास बेलगाम लहर उठ्थ्यो खुसीको । घरीघरी काल्पनिकी त्यो माछापुछ्रेको निधार चुम्न पुग्ने बादल हुन पुग्थ्यो । पोखरा आसपासका ठाउँभन्दा पोखराबाट देखिने माछापुछ्रेको सौन्दर्य तिक्खर र चित्ताकर्षक लाग्थ्यो । यति सुगम्य र सुललित भावभंगीमामा हिमालको दुर्लभ दर्शन गर्न पाईने शहर संसारमा बिरलै होलान् । त्यसैको अग्र लहरमा छ पोखरा ।

शारदीय आकाशमा हिमबैंसले उन्मत्त हिमशैलका ती टाकुराहरू देखेर कति मनहरू पग्लिँदै फेवा बने होलान् । कति रहरहरू उचालिँदै पञ्चासे बने होलान् । मेरो मन पनि के कम थियो र ? घरि फेवाझैँ तरल बन्थ्यो र घरि पञ्चासेझैँ अग्लिरहन्थ्यो । आनन्दको देउडामा जिन्दगीले स्वस्फूर्त ताल मिलाइरहेथ्यो । लाग्थ्यो, म मेरो मनमगन गन्तव्यको अन्तिम बिसौनीमा थिएँ । असीम सौन्दर्यबोधका कारण जीवनकै उन्नत वसन्तमा थिएँ । पानीरंगको शहर पोखरामा मैले जीवनकै विविध रंगहरू चिन्ने मौका पाएँ ।

माछापुछ्रेको शिरमा देखिने बाघको आकृति, अन्नपूर्णाको शिरमा अन्नचुलीझैँ देखिने हिमगिरी र गजाकार देखिने हिमालको पङ्क्ति देख्न, चिन्न यही पोखराले सिकाएको थियो । पोखरेली घामपानीसँग बसेको थियो नौरङ्गी डाँफेचरिकोझैँ प्रिती । काठमाडौँको धुलोमैलोमा संघर्षका केही अनाम डोबहरू छोडी आएका थियौँ । जति हिँड्यो उति साँघुरिने जब्बर बाटाहरू उतै बिसाएर आएका थियौँ । पोखरामा पदार्पण गरेपछि स्वान्त सुखायका डोरेटो फैलिँदै राजमार्गमा रुपान्तरित भयो र त्यहीँ गुड्न लाग्यो चल्तीका नाम गाडी भनेझैँ यायावरीय जिन्दगीको अप्रतिम समयचक्र ।

आवधिक छुट्टीपछि साथीहरूको जमघट र त्यहाँ पोखिने हार्दिकता मित्रवत सम्बन्धका न्याना घामझैँ लाग्थे । त्यसैको पहारमा जीवन सार्थकताको लालुपाते मुसुक्क हाँस्थ्यो । त्यसैको रंगमा जीवनका श्यामश्वेत रंगहरू मिसाएर रंङ्गिन बनाउने प्रयत्न गर्थें । महाविद्यालय परिसर हाम्रो साझा आँगन थियो । त्यहीँ हामी जागिरे मैदानमा कर्मशील हुन्थ्यौँ, सुखदुःखका उकाली ओराली गर्थ्यौँ । त्यही परिसरमा शिक्षक कर्मचारीका ससाना नानीहरू उफ्रिँदै उमेरका लिस्नोहरू उक्लिन्थे । कार्यक्षेत्रको शास्त्रीय घेरो नाघेर विभागीय जमघट हुन्थ्यो कहिलेकाहीँ । काम र अनुशासनको भारले केही भारी भएको मानसिकताको पल्ला स्वछन्दतातिर थोरै ढल्काउँथ्यौँ । अलिकति छचल्किन्थ्यौँ, थोरै पोखिन्थ्यौँ । केही हल्का र केही ताजा भएर कर्तव्य र जिम्मेवारीको मैदानमा सिपाहीझैँ उभिन्थ्यौँ । प्रायजसो हरेक दिन छुट्टीपश्चात् चियागफको कचहरी बस्थ्यो हाम्रो नियमित चिया अड्डामा । त्यहाँ पुग्नेहरू हामी केही नियमित मित्रमण्डलीहरू थियौँ । त्यो विचारहरूको ‘कोटेरी’ नै थियो । सम्बन्धको चौतारो थियो । चियासँगै समसामयिक राजनीतिदेखि दर्शनसम्मका गफका तुफान उठाउँथ्यौँ । कहिले कुनै योजनाका दाम्लो बाट्थ्यौँ । कहिले कुनै नौला विचार विमर्शका मदानी घुमाउँथ्यौँ ।

पोखराका धेरै वर्षहरू सैनिक महाविद्यालयका आँगनमा बिते । कहिले भृकुटी टोल त कहिले पृथ्वीचोकस्थित राबा बैङ्कको आवासगृहमा जीवनका स्वर्णिम कालखण्डहरू भुक्तान गरियो । सोही क्रममा गण्डकी क्षेत्रसँग सम्बन्धित भाषिक र साँस्कृतिक आञ्चलिकता थोरै भए पनि जान्न बुझ्न पायौँ । पोखराको हावापानीसँग जीवनको सुर ताल मिलाउन सिक्यौँ । पोखरा आसपासका भूगोलसँग आफ्ना कुमारी पैताला साटासाट गर्न पायौँ । आफन्त र आत्मीय जनहरूसँग सम्बन्धको गाँठो अझ कसिलो पार्न पायौँ ।

तर पछि एउटा यस्तो कालखण्ड आइपुग्यो कि श्रीमतीको सरुवा भएसँगै परिवार काठमाडौँबाट विराटनगर पुगिसकेका थिए । बुवाआमा घर फर्किसक्नुभएको थियो । म एक्लै भएँ पोखरामा । मेरो पोखरा बसाई अवधि तेल निख्रिएको धिप्रीझैँ धिपिकधिपिक गरिरहेको थियो । समयान्तरसँगै पोखरासँगको मेरो वैयक्तीक रसबसमा लगभग पूर्णविराम लाग्ने छनक देखियो । साढे दशवर्षे कालखण्डको उपसंहार आइपुग्यो । जीवनमा व्यावहारिक सन्तुलनको वासलात एकाएक बिग्रिन पुग्यो । यसका विविध कारण र अवस्थाहरू थिए ।

नजानिँदो गरी झाँगिएको स्थान र सम्बन्धको आत्मीयतालाई अनायसै इतिश्रीको वियोगान्त गीत गाउँदै हिँड्न मन किमार्थ थिएन । तर समय परिस्थितिले जीवनको आवश्यकतासँग नाता तोडेको अवस्था थियो । परिस्थिति आफू अनुकूल बनाउने न शिल्प थियो न कौशल नै थियो मसँग । अन्य उपायका झ्याल ढोका बन्द भएपछि पारिवारिक सल्लाह अनुसार जागिरबाट राजीनामा दिएँ । मानिस परिस्थितिको दास न रहेछ । पोखरा आउनु भन्नुको अन्तर्यमा आखिर जानू पनि त अन्तर्निहित नै थियो शायद । यो शास्वत सत्यसँग एकाकार नहुनुका कारण र अर्थ केही बाँकी हुने कुरै भएन । त्यसैले भन्दा भन्दै जाने दिन आइहाल्यो । जाने दिन मनमा बेग्लै किसिमका भावनात्मक तरङ्ग उठिरहेका थिए । मस्तिष्कमा विचारहरूको चक्रबात चलिरहेको थियो ।

बिदाइका क्रममा आफ्नो मन्तव्यको दैलो उघार्दै भनेको थिएँ, “साढे दश वर्ष भएको रूख आज यो उर्वर भूमिबाट उखेलिएर जाँदैछ । थाहा छैन यो बूढो बिरुवा अर्को माटोमा सर्छ या सर्दैन ।’’ तर बिदाइ कार्यक्रम समापनपश्चात् विभागका अग्रज नारायण सरले भन्नुभएको थियो, “सर तपाईं आफूलाई चानचुने रूख नठान्नुहोला । तपाईं सुपारीको बोट हो । सुपारीको रूखले एक दुईपल्ट ठाउँसारि नगरिकन राम्रो फल दिँदैन ।’’ सरको तर्कमा हार्दिकता र स्नेहको बेग्लै रुझान थियो । त्यही रुझानमा रुझ्दै आत्ममुल्याङ्कन गरिरहेँ पोखराको बसाई अवधिका आरोह अवरोहहरू । तय गर्न बाँकी रहेका जीवनका बाटाहरू समयले निर्धारण गर्ने नै थियो । तथापि पोखरा बसाईको आखिरी कालखण्डसम्म विभिन्न भूमिकामा रहेर सरसहयोग गर्नुहुने सम्पूर्ण सहृदयी स्वजनहरूलाई हृदयभरिको साधुवाद अर्पण गरेँ र बिदाबारी भएँ ।

पोखराबाट रात्रिबस चढेर फर्कंदै गर्दा साँझको छिपछिपे अँध्यारोबिच गाडीमा नारायण गोपालको गीत गुञ्जिरहेको थियो । त्यो धुनको रुन्कोमा मन बिसाउँदै अन्ततः पोखरा बसाईका केही तीतामिठा यादको पोको पारेर म आफ्नो गन्तव्य फर्किएँ ।

अहिले सोच्दा लाग्छ, म शायद सुखद शरद पर्खिबसेको वसन्तको पल्लवित पात रहेछु । समय यसरी प्रतिकूल भएर आइदियो कि व्याकुल भएर पर्खिरहेको शरद नआई अनायासै शिशिर आइदियो । पहेंलिएको पात, झार्नुको विकल्प थिएन । एउटा सिङ्गो रुखलाई एउटा पात झरिजानुले के नै पो फरक पर्न सक्थ्यो र ! फेरि पनि कालक्रमसँगै पलाएर आइहाल्छ । तर झरेको पात भने त्यही रूख सम्झेर उत्ताल सम्झनाको ऐंठनले आहत भैरहँदो रहेछ बेला-बेलामा । आफ्नो जिन्दगीको उर्वर समय त्यही रूखसँगको उत्कट सान्निध्यमा बिताएर पो हो कि !

घर चिन्न, घर छोड तर घर नबिर्स भन्ने महाकवि देवकोटाको कथनझैँ आज म पोखराको आत्मीय आँचलदेखि केही सप्को टाढा छु, तर पोखरा छोडिसकेपछि वास्तविक पोखरा चिन्न र बुझ्न थालेको महसुस भएको छ । पोखराको मोहनीमायाले बाँधिराखेको सम्झनाको रेसमी डोरो चटक्कै चुँडाल्न कहाँ पो सकिएला र ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.