काठमाडौं । साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको संयुक्त आयोजनामा कविद्वय पुरूषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’माथि परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा कुलप्रसाद कोइराला सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा समालोचक युवराज मैनाली, डा. ज्ञानु अधिकारी, घनेन्द्र ओझालगायत साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रमुख वक्ता कोइरालाले पिता–पुत्रको संयुक्त कृतिको प्रशंसा गर्दै सृजनशीलता पुस्तान्तरणको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो। सभापति लेकालीले पनि पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सिर्जनात्मक सहकार्यका रूपमा कृतिको महत्व औँल्याउँदै कविद्वयलाई बधाई दिनुभयो।
कार्यक्रममा कवि पुरूषोत्तम दाहालले कृतिको पृष्ठभूमिबारे चर्चा गर्दै आफ्ना कविता वाचन गर्नुभयो भने अनिमेष दाहालले पनि ‘वंशवृक्ष’बाट विभिन्न शीर्षकका कविता प्रस्तुत गर्नुभयो।
समालोचकहरूले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै यसको साहित्यिक महत्वबारे प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा अन्य साहित्यकारहरूले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे।
डालो रेष्टुरेन्ट, अनामनगरमा सम्पन्न उक्त कार्यक्रम गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो।

