साहित्यपोस्ट डट कम

फिदिममा साहित्यकारहरूको जमघट, रचना वाचन सम्पन्न

फिदिममा साहित्यकारहरूको जमघट, रचना वाचन सम्पन्न

माधव पोखरेल

फिदिम । प्रगतिशील लेखक सङ्घ नेपाल, कोशी प्रदेश कार्यसमितिको बैठक तथा प्रगतिशील लेखक सङ्घ (प्रलेस) पाँचथर जिल्ला समितिको आयोजनामा फिदिममा साहित्यकारहरूको जमघट तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार फिदिम बजारमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब तीन दर्जन साहित्यकारको सहभागिता रहेको थियो ।

प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा. देवी क्षेत्री दुलालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले प्रलेस २००९ सालमा श्यामप्रसाद शर्माले स्थापना गरेको पुरानो साहित्यिक संस्था भएको बताउनुभयो । उहाँले संस्थाले विगत ७५ वर्षदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न जिल्लामा सङ्गठन विस्तार गर्दै कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले पाँचथरको फिदिममा साहित्यकारहरू भेला भएर साहित्यिक कार्यक्रम आयोजना हुनु नगरपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो ।

तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष खड्गसुन्दर तुम्बाहाम्फेले भाषा, साहित्य, कला र संस्कृति समाजका प्राण भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको धारणा राख्नुभयो ।

प्रलेस पाँचथरका अध्यक्ष तथा गीतकार–गायक खड्ग बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य माया मिथु, राष्ट्रिय परिषद् सदस्य माधव पोखरेल ‘गोज्याङ्ग्रे’ तथा इलाम, तेह्रथुम र ताप्लेजुङलगायत जिल्लाका प्रलेस प्रतिनिधिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा तीन दर्जनभन्दा बढी साहित्यकारले कविता, गीत तथा अन्य साहित्यिक रचना वाचन गर्नुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.