पाँचथर। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा अन्तरक्रिया, कविगोष्ठी तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा विद्यार्थीहरूबीच प्रतियोगितात्मक कविता वाचन गराइएको थियो भने आमन्त्रित स्रष्टाहरूले पनि आफ्ना रचना प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा स्रष्टा सावित्रीदेवी गुरुङद्वारा लिखित ‘जीवनका भोगाइ र चुनौतीहरू’ शीर्षक कृतिको कुलपति राईले विमोचन गर्नुभयो। सो अवसरमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल तथा प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य हरिचन्द्र लावतीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले ज्ञान निर्माणको पहिलो आधार विद्यालय भएकाले शिक्षक, अभिभावक र विद्यार्थीलाई लक्षित गर्दै ‘विद्यालयमा कुलपति’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। प्रज्ञा–प्रतिष्ठानका गतिविधिलाई केन्द्रबाट बाहिर ल्याई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यले शृङ्खला सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो। विद्यार्थीलाई समाज, साहित्य र संस्कृति बुझाउन सके मात्र सभ्य र समुन्नत राष्ट्र निर्माण सम्भव हुने उहाँको धारणा थियो।
कविता वाचन प्रतियोगिताको नतिजा
प्रतियोगितामा सन्देश दुलाल प्रथम, सबिन तुम्सिङ द्वितीय र झरना अर्याल तृतीय भएका थिए भने कृतिना तुम्रोकले सान्त्वना स्थान प्राप्त गरिन्। कार्यक्रममा लक्ष्मी फुयाल, मदन पोखरेल, अनु भट्टराई, आशिका राई, डोल्मा तामाङ, प्रीति तुम्बापो, अनिला राई, मिरिम्सा राई, अन्जली तामाङ, समृद्धि काफ्ले, मिलन बयलकोटी र उत्सव बास्कोटालगायत विद्यार्थीहरूले विभिन्न विषयमा कविता वाचन गरेका थिए।
विद्यालयको परिचय
वि.सं. २००६ सालमा स्थापना भएको फिदिम माध्यमिक विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म करिब २ हजार एक सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिनुभयो। विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन तथा स्थानीय स्रष्टाबीच साहित्यिक जमघट गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।
कार्यक्रमका क्रममा कक्षा १२ मा इन्जिनियरिङ अध्ययनरत न्युमन बास्कोटाले बनाएको कुलपति राईको स्केच मायाको चिनोस्वरूप प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रकुमार नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक जीवनप्रसाद भण्डारीले गर्नुभएको थियो।

