· अहिले नेपाली जाति र नेपाली भाषा, साहित्य विश्व यात्रामा छन् । भाषा स्वयंमा संस्कृति भएकाले नेपाली संस्कृति विश्व आँगनमा उदाउँदो छ ।
· तपाईँसँग सहमत छु– खेतको आकार उसको माटोले होइन, उब्जनीले निर्धारण गर्छ । नेपालीले जहाँ जहाँ नेपालीत्वको खेती गरेर नेपाली फसल फलाइरहेका छन् त्यही खेत ठूलो नेपाल हो । हो, नेपाल सानो छैन ।
· तीन दिने व्यवस्थित कार्यक्रम, भारतका नौ र नेपालका १७ प्राध्यापकलाई जनही ५० हजार रुपियाँको पुरस्कार लगायत अन्य थप पुरस्कार, ८७२ पृष्ठको ग्रन्थ प्रकाशन, सो ग्रन्थ निःशुल्क वितरण गरेर नइ एकेडेमीले राष्ट्रिय दायित्व निर्वाह गरेको छ मानौँ ऊ वैकल्पिक सरकार हो ।
· भारतीय संविधानको ७१ औँ संशोधन (१९९२ अगष्ट २०) ले नेपालीलाई भारतको आधिकारिक भाषाको मान्यता दिएर संविधानको अनुसूची आठमा समावेश गरिएको निर्णय आमनेपाली र नेपालीभाषीका लागि सुखद् उपलब्धि हो तर……
नेपाली भाषाको विकास र विस्तार नेपाली राष्ट्रियता निर्माण प्रक्रियासँगै हुर्किएको पाइन्छ । मूलतः नेपाल एकीकरण, सम्पर्क भाषा, प्रशासनिक कामकाज, शिक्षा, साहित्यको विकास, आन्तरिक तथा बाह्य बसाइँसराइँ जस्ता कारण नेपाली भाषा साहित्यको विस्तार हुँदै आएको पाइन्छ ।
नेपाली भाषा साहित्यको विकासमा औपचारिक शिक्षा/शिक्षणको विशिष्ट योगदान छ । समयक्रम अनुसार नेपाली भाषाको प्रयोग व्यापक हुन थालेपछि यसको औपचारिक पढाइ हुन थाल्यो । शुरुमा अनौपचारिक पढाइ हुने नेपाली भाषा, साहित्यबारे क्रमशः औपचारिक पढाइको तहगत अध्ययन हुन थाल्यो । यस क्रममा भाषा, व्याकरण, साहित्य तथा भाषा विज्ञानको पढाइ हुँदै विश्वविद्यालयका विभिन्न तहमा नेपाली भाषा पुग्यो ।
दरबार हाइस्कुलपछि तत्कालीन प्रधानमन्त्री श्री ३ देवशमशेरका पालमा नेपालका विभिन्न क्षेत्रमा भाषा पाठशाला स्थापना गरिए जहाँ नेपाली भाषामा पढाइ हुन्थ्यो । जयपृथ्वीबहादुर सिंहले वि .सं. १९५८ पाशुपत छापाखानाबाट अक्षराङ्क शिक्षा, ज्ञानमाला, बालबोध (दुई भाग) व्यवहारमाला, भूगोलविद्या, स्रेस्ताबोध जस्ता पुस्तक प्रकाशन गर्नुभयो । यिनै पुस्तक नेपाली भाषाका प्रारम्भिक पाठ्यसामग्री, पाठ्यपुस्तक मात्र नभएर पाठ्यक्रम पनि थिए भन्न सकिन्छ ।
वि.सं. १९६८ मा भारतको इलाहवाद र १९७५ मा कलकत्ता विश्वविद्यालयले नेपाली विषयलाई ऐच्छिक विषयमा मान्यता दियो । त्रिचन्द्र कजेलमा विसं. १९७५ बाट प्रवीणता प्रमाणपत्र तहमा नेपालीको पढाइ हुन थाल्यो । १९९० मा नेपालबाट प्रवेशिका परीक्षामा नेपालीको पनि पढाइ हुन थाल्यो । वि.सं.२००४ को आधारभूत शिक्षण केन्द्र, २००९ मा प्राथमिक तहका विभिन्न पुस्तकका साथै शिक्षकलाई लालिम दिइयो । २०१६ मा त्रिभुवन विश्वविद्यालय स्थापनापछि नेपाली विषयमा उच्चतम तहमा पढाइ हुन थाल्यो ।
नेपालले एकीकरण अभियान अन्तर्गत वि.सं. १८४५ मा टिस्टा नदीसम्म आफ्नो क्षेत्र विस्तार गर्यो । सुगौली सन्धि नहुँदासम्म ती क्षेत्रमा नेपाली भाषाको औपचारिक विस्तार भएको पाइन्छ । भारतका दार्जिलिङ, कालेकुङ, खरसाङ, सिक्किम, असाम, मेघालय, उत्तरखण्ड र हिमाचल बनारस र सीमा क्षेत्रमा प्रदेशमा नेपाली भाषाको विस्तार हुनुमा नेपाल एकीकरणको इतिहास जोडिन्छ । वर्तमान अवस्थामा भारतका विभिन्न १३ विश्वविद्यालयमा नेपाली भाषा साहित्यको उच्च शिक्षा (स्नातक, स्नातकोत्तर, विद्यावारिधि) को पढाइ हुन्छ । तीमध्ये बनारस हिन्दु विश्वविद्यालय (उत्तरप्रदेश) उत्तर बङ्ग (पश्चिम बङ्गाल), सिक्किम केन्द्रीय विश्वविद्यालय (सिक्किम राज्य) मा नेपाली भाषा, साहित्यमा विद्यावारिधि तहको पढाइ हुन्छ । भारतमा कक्षा १–४ प्राथमिक तह, ५–१० माध्यमिक, ११–१२ उच्च मावि, तीन वर्षे स्नातक, दुई वर्षे स्नातकोत्तर र दर्शनाचार्य (एमफिल) तथा विद्यावारिधि तहको पढाइ हुँदैछ ।
अहिले नेपाल, भारतका अतिरिक्त विश्वका अन्य मुलुकमा पनि नेपाली र संस्कृत भाषाको औपचारिक पढाइ हुने गरेको छ । चीनको बेइजिङस्थिति कम्युनिकेसन युनिभर्सिटी अफ चीनमा चिनियाँ विद्यार्थीका लागि नेपाली भाषामा स्नातक तहको पढाइ हुन्छ । यस्तै युनान नेसनलिटिज् युनिभर्सिटी, कुनमिङमा दक्षिण एसियाका अन्य देशका भाषाजस्तै नेपाली भाषाको चार वर्षे स्नातक तहमा अध्ययन, अध्यापन हुन्छ ।
अमेरिकाको कोर्नेल विश्वविद्यालय, युनिभर्सिटी अफ वासिङ्टन, युनिभर्सिटी अफ क्यालिफोर्नियालगायत प्रतिष्ठित विश्वविद्यालयमा नेपाली भाषाको उच्चतम तहमा पढाइ हुन्छ । बेलायतको लन्डन विश्वविद्यालय अन्तर्गत स्कुल अफ ओरिएन्ट एण्ड अफ्रिकनमा (-SOAs\ University of London_) स्नातक तहको पढाइ गरिन्छ । नेपालीहरू व्यापकरूपमा अष्ट्रेलिया पुगेपछि त्यहाँका विभिन्न विद्यालयस्तरमा नेपाली विषय पढाइन थालिएको छ । भुटान र म्यानमारमा त धेरै पहिलेदेखि नेपाली विषयको पढाइ हुने गरेको थियो । यसका अतिरिक्त जर्मनी, जापान, दक्षिण कोरिया, हङ्कङ, सिंगापुर, क्यानडामा नेपालीहरूको सङ्ख्या बढेसँगै नेपाली विद्यालय खुलेका छन्, जहाँ नेपाली भाषा तथा संस्कृतिको अध्यापन हुन्छ ।
… तर अभिभावकको अभाव
विश्वका राजनीतिक मान्यता प्राप्त १९५ देशमध्ये १८० देशमा नेपाली पुगेका अध्यागमन विभाग र गैरआवासीय नेपाली संघका तथ्याङ्कले स्पष्ट गर्छन् । त्यो हो भने, नेपालको भावनात्मक भूगोल विश्वभर फैलिँदो छ । राष्ट्र र राष्ट्रियता भन्नु फगत माटोको आकार मात्र होइन, भावना पनि हो, र त मुटु छाम्दा धड्कने अक्षाशं र देशान्तरभरि नेपाल फैलिएको पाइन्छ तर नेपाललाई बोकेर विश्वभर फैलाउने नेपाली भाषा/संस्कृति अभिभावक विहीन छन् ।
चैतका आखिरी दुई दिन २८ र २९ गते (२०८२) आँखा अगाडि एउटा पर्दा थियो– ‘नइ एकेडेमी, नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ लेखिएको । त्यहाँबाट नेपाली भाषा, नेपाल र नेपाली जातिलाई चिहाउँदा लाग्थ्यो– नेपाल सानो छैन, अवश्य सानो छैन, महाकवि देवकोटाले भनेजस्तै ! तर नेपाली भाषा, संस्कृतिको विकासमा तल्लिन हुनुपर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको चिर निद्राले नेपाललाई विशाल हुनै दिएन ।
नइ एकेडेमीले नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन (चैत २७–२९) मार्फत नेपाल–भारतमा नेपाली शिक्षा/शिक्षणको विकासबारे विस्तृत रूपरेखा तयार गरेको छ । सम्मेलनको अन्त्यमा प्रकाशित ग्रन्थ ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नेपाली साहित्यको इतिहास लेख्ने/पढ्ने विद्यार्थीका लागि विशद सामग्री हुने भएको छ । यसका अतिरिक्त नेपाल र भारतमा नेपाली भाषाको शिक्षण इतिहासको आधिकारिक दस्तावेज तयार भएको छ । नेपाली साहित्यको इतिहास अभिलेखीकरण भएको छ । प्रश्न, उठ्छ यो काम कसले, कहिले गर्नुपर्ने थियो ? स्वाभाविक रूपमा विषयको गम्भीरता हेर्दा नेपाल सरकार वा नेपाल प्रज्ञा प्रतिष्ठान गर्नुपर्ने थियो तर गरेनन् उनीहरूले । नइद्वारा आयोजित तीन दिने व्यवस्थित कार्यक्रम, भारतका नौ र नेपालका १७ जना प्राध्यापकलाई जनही ५० हजार रुपियाँको ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गरिएको थियो । पुरस्कृत हुनेहरूमा प्राडा. ऋषिराम शर्मा, प्राडा. कपिलदेव लामिछाने, प्राडा. कविता लामा, प्रा. केशव सुवेदी, प्राडा. कृष्णराज घतानी, प्रा. खेमराज जोशी (मरणोपरान्त), प्राडा. चक्रपाणि खनाल, प्राडा. चूडामणि बन्धु, प्राडा. जङ्गब चौहान, डा. टेकबहादुर छेत्री, प्राडा. दयाराम श्रेष्ठ, प्राडा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्राडा. पुष्प शर्मा, प्राडा. भरतकुमार भट्टराई, प्राडा. महादेव अवस्थी, डा. रजनी काफ्ले ढकाल, डा.राजकुमार क्षत्री, प्राडा. लक्ष्मणप्रसाद गौतम, प्राडा. लेखप्रसाद निरौला, प्रा. शिवगोपाल रिसाल, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.हर्कबहादुर शाही र संयुक्त रूपमा डा.सञ्जय राई तथा डा. अरुणा राई हुनुहुन्छ । यसैगरी, डा.अम्बिका अर्याल र डा.त्रिभुवन बरईलाई जनही पच्चीस हजार रुपियाँ राशिको नइ कपिल प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो ।
साथै नइकर्मी आयुष्मान शाक्य, लवप्रसाद भण्डारी र सुमन कार्कीलाई जनही दश दश हजार रुपियाँ राशि सहित ‘नइ सेवा पुरस्कार’ समर्पण गरिएको छ । ८७२ पृष्ठको सम्मेलन ग्रन्थ प्रकाशन, सो ग्रन्थ निःशुल्क वितरण गरेर नइ एकेडेमीले राष्ट्रिय दायित्व निर्वाह गरेको छ मानौँ ऊ वैकल्पिक सरकार हो ।
नेपाली भाषा, भारतको भाषा
भारतीय संविधानको ७१ औँ संशोधन (१९९२ अगष्ट २०) ले नेपालीलाई भारतको आधिकारिक भाषाको मान्यता दिएर संविधानको अनुसूची आठमा समावेश गरिएको निर्णय आमनेपाली र नेपालीभाषीका लागि सुखद् उपलब्धि हो तर यस्ता निर्णयले केही व्यवहारिक कठिनाइ ल्याएका छन्, त्यस्ता समस्याको गाँठो फुकाउने अभिभावकीय पहल नेपालका सम्बद्ध निकायले गर्नुपर्ने थियो, गर्न सकेनन् । नेपाली भाषा भारतको आधिकारिक भाषा भएपछि त्यहाँ विगतदेखि प्रचलित ‘वैदेशिक भाषा’ पढ्नेले जस्तै नेपालको (नेपाली) भाषा पढ्दा चर्को शुल्क तिर्नुपर्ने भयो तर त्यही नेपाली भाषालाई वैदेशिक भाषा नभनेर अर्थात् भारतीय भाषा भनेर पढ्दा कम शुल्कमा पढ्न पाइने भयो । यस्ता विविध व्यवहारिक समस्या फुकाउनु पर्ने नेपाल प्रज्ञा प्रतिष्ठान सम्भवतः बेखबर छ ।
हो, नेपाल सानो छैन
हो, देवकोटाजी म नेपाल सानो देख्दिनँ, म किसानीमा जन्मेको, मैले हलोको सियोमा मकै रोपेको छु र मनग्य सपना उमारेको छु । मैले असारको कोमल मृतिकामा मन रोपेको छु र मन फुलाएको छु सुगन्धित मङ्सिरमा । तपाईँसँग सहमत छु देवकोटाजी, ‘नेपाल सानो छैन ।’ मेरा पनि कान छन्– तपाईँले सुनेजस्तै सुन्न– ‘धत् नेपाली पनि पढ्ने !’ मेरा पनि पीडित आँखा छन्, तपाईँले जस्तै ‘नाकठाडे अङ्ग्रेजी मिजास’ देख्ने । तपाईँकै शब्दमा नेपाल सानो तर स्वर्ग हो । स्वर्ग किन सानो हुन्छ ? स्वर्गबाट देख्नु भएकै होला, कुनै दिन निश्चित बारीटारीमा बोलिने नेपाली भाषा विश्वभर फैलिएको छ, जहाँ भाषाको सुन्दर पछ्यौरी भित्रबाट एक नवकुमारी बोल्छिन् भने त्यो नेपाली भाषा हुनेछ । बाँचिबसेको भए देख्नुहुँदो हो, कालिङपोङमा आमा र रेलको गीत गाउने धर्मराज थापाहरू क्यानाडामा नेपाली काव्य र कथाको लय हालिरहेका हुन्थे । नेपालीले विश्वलाई खेत बनाएर नेपाली भाषा, संस्कृति, पहिचानको खेती गरिरहेका छन् । र त म तपाईँसँग सहमत छु– खेतको आकार उसको माटोले होइन, उब्जनीले निर्धारण गर्छ । नेपालीले जहाँ जहाँ नेपालीत्वको खेती गरेर नेपाली फसल फलाइरहेका छन् त्यही खेत ठूलो नेपाल हो । हो, नेपाल सानो छैन ।
….
त्यो पर्सिको बिहीबार आउँदै आएन : वारिष्ठ साहित्य साधक, प्रसाईं
नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन किन गर्नुभयो ?
नेपाली भाषा साहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्च शिक्षाका कतिपय अनिर्णीत सवालहरूको परिपूर्तिका निम्ति नै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्नुपरेको हो ।
सम्मेलनका लागि ठूलो धनराशि खर्च भएको देखिन्छ । सरकार र कुटनीतिक नियोगले सहयोग गरे कि ?
नेपाल सरकार, कुनै पनि कुटनीतिक नियोग र दातृ संस्थाबाट एक पैसा नै नलिई नइ एकेडेमीले यो बृहत् यज्ञ गर्यो । २०७२ सालमा प्रधानमन्त्री खड्गप्रसाद वलीसित हामीले सहयोग मागेका थियौँ । त्यति बेला उनले हामीलाई भनेका थिए— ‘राज्यले गर्नुपर्ने, प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयले गर्नुपर्ने यति ठूलो काम नइले गर्दैछ । पैँतीस लाख रुपियाँ राज्यका लागि केही होइन । यो रकम पर्सि बिहीबारको क्याविनेटबाट निकासा हुन्छ ।’ अन्ततः सातआठ महीनासम्म बालुवाटारदेखि सिंहदरबारसम्म धाउँदा पनि त्यो पर्सिको बिहीबार हाम्रा सामु देखा नै परेन । त्यसपछिका दिनहरूमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै पनि नेतालाई हामीले भेटेका पनि छैनौँ र नजिकैबाट तिनका अनुहार देखेकै पनि छैनौँ ।
यस्तो काम त नेपाल सरकार वा नेपाल प्रज्ञाप्रतिष्ठानले गर्नुपर्ने थियो, तपाईँहरूले किन गर्नुभयो, राज्यको काम आफैंले गरिदिन हुन्छ त ?
विगतका सरकारमा रहेकालाई नेपाली भाषासाहित्य कुन चराको नाउँ हो भन्ने थाहा छैन नै होला भन्ने हामीलाई लागेकै थियो । यदि उनीहरूभित्र पनि नेपाली भाषा साहित्यप्रतिको मोह हुन्थ्यो र उनीहरूको मनमा नेपाली भाषा साहित्यको छाप परेको हुन्थ्यो भने नेपालका विश्वविद्यालयहरूको यो हविगत हेर्नुपर्ने थियो र ? अनि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको ‘राजकीय’ नै मेटेर त्यसलाई दलबलको जागिर खाने भाँडो बनाएपछि यिनीहरूको नेपाली भाषाप्रतिको धर्म छर्लङ्गै देखिँदैन र ? त्यसैले हामी पनि मौन बस्नुको अर्थ तिनीहरूसँगै धुरिएर नेपाली भाषालाई लात्ती हानेको ठहरिँदैन र ?
सम्मेलन गर्नुपर्छ भन्ने सोचाइ कहिले र कसरी आयो ?
नेपाली भाषा, साहित्य उच्चशिक्षा र अनुसन्धानको विषय बन्दै जानु हाम्रा निम्ति गौरवको विषय हो । तर आजसम्म यससम्बन्धी एउटा भरपर्दो अभिलेख कतै देखिएन । त्यसैको परिपूर्तिका लागि ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को आवश्यकता बोध भएको हो ।
तपाईँ जस्तो मानिसलाई कहिले काहीँ नेपाल प्रज्ञा प्रतिष्ठानमा गएर यस्ता रचनात्मक काम गर्न इच्छा लाग्दैन ?
श्री ५ महेन्द्रको दूरदर्शितापूर्ण राष्ट्रिय दृष्टिकोणबाट नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान स्थापना भएको ७० वर्ष भयो । राजाको नेतृत्व भइन्जेल यो संस्था गरिमाले चुलिएको थियो तर यसलाई दलबलका अक्षम नेताले चपाएर निलिदिए । नेपाली वाङ्मयको यस पवित्र मन्दिरलाई खास गरेर गणतान्त्रिक सरकार प्रमुखहरूले रछ्यान नै बनाइदिए । अहिले यो संस्था पार्टीको अघोषित भातृसंस्थामा रूपान्तरण भएको छ ।

