साहित्यपोस्ट डट कम

पेन्सिल्भेनियामा INLA–SKS को दोस्रो वार्षिक सम्मेलन सम्पन्न, स्रष्टा सम्मानित

पेन्सिल्भेनियामा INLA–SKS को दोस्रो वार्षिक सम्मेलन सम्पन्न, स्रष्टा सम्मानित

अर्जुन प्रधान, अमेरिका ।

पेन्सिल्भेनिया,अमेरिका । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) र साहित्य कला संगम (SKS) को संयुक्त आयोजनामा दोस्रो वार्षिक सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मिलर्सभिल युनिभर्सिटीस्थित स्टुडेन्ट मेमोरियल सेन्टरमा आयोजित कार्यक्रम विविध साहित्यिक, सांगीतिक र सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भएको हो ।

INLA का संस्थापक अध्यक्ष डा. हरि उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा NASeA की अध्यक्ष विद्या गुरुङ प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा डा. ज्ञानेन्द्र गदाल, प्रेमराजा महत, डा. शिव गौतम, राजा घले, नारायण पुरी, सरला श्रेष्ठ, डा. ह्यारी भण्डारी, गंगाराम लामिटारे र डा. प्रदीप बस्तोला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली साहित्य र संगीत क्षेत्रमा योगदान पुर्‍याउनुभएकाे विभिन्न स्रष्टाहरूलाई सम्मान गरिएको छ । कवि तथा गीतकार दिनेश अधिकारीलाई ‘INLA ज्ञानेन्द्र गदाल गीत सम्मान’ नगद १ हजार १ डलरसहित प्रदान गरिएको छ । गायिका यशोदा पराजुली, साहित्यकार तथा गीतकार पुरुषोत्तम लम्साल, साबु गदाल कार्की, डम्बर खापुङ सुब्बा, अगम गुरुङ र त्रिप्ती खड्का गुरुङलाई विभिन्न विधामा नगद ५ सय १ डलरसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मानित स्रष्टाहरूले नेपाली भाषा, साहित्य र संगीतको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएकाे थियाे । कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले गीत, संगीत र साहित्य नेपाली पहिचानको आधार भएको उल्लेख गर्दै विश्वभरका स्रष्टालाई एउटै मञ्चमा जोड्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, बालबालिकाको विशेष प्रस्तुति तथा सृजना वाचन समेत गरिएको थियो । साथै डा. हरि उप्रेतीका ‘छुटेको बाटो’ (उपन्यास) र ‘घामपानीको पाठशाला’ (कथासंग्रह) तथा डा. ज्ञानेन्द्र गदालका ‘कुमुदिनी’ (उपन्यास) र ‘भोलिको आशा उज्यालो प्रकाश’ (बालगीत संग्रह) कृतिहरू लोकार्पण गरिएको थियो ।

साहित्य कला संगमका संस्थापक कार्यकारी निर्देशक त्रिविक्रम न्यौपानेका अनुसार कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणसँगै विदेशमा हुर्कँदै गरेका नयाँ पुस्तामा यसको हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी तथा नेपाली समुदायप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विश्वभर रहेका नेपाली स्रष्टाबीच सहकार्य र सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.