समालोचक प्रा. नवीन पौड्याललाई नेपाली साहित्यमा चिनाउन मैले शब्दहरूको फूलमाला जोडेर परिचय दिइरहनु पर्ने कुनै आवश्यकता छैन । उनका हालसम्म प्रकाशित कृतिहरूले नै उनको असली परिचय दिएकै छ र भविष्यमा पनि दिइरहने नै छ । उनका हालसम्म प्रकाशित सिर्जनात्मक र समालोचनात्मक कृतिहरूले एक दर्जनको संख्या टेकिसकेको देखिन्छ भने आधादर्जन अधिक विभिन्न साहित्यिक पुस्तक, जर्नल र साहित्यिक पत्रिकाहरूको पनि कुशलतापूर्वक सम्पादन कार्य गरिसकेका छन् । प्रा. पौड्यालले नेसनल बुक ट्रस्टको अनुबन्धमा बालसाहित्य शृङ्खलाअन्तर्गत सोनपरीसित मित्रता(सचित्र बालसाहित्य)हिन्दीबाट नेपालीमा अनुवाद समेत गरिसकेका छन् ।
भारतीय नेपाली साहित्यमा विशेष गरी समालोचना लेखनमा जोश र जाँगरका साथ नौलो सम्भावना बोकेर लागेको देखेरै हुनपर्छ मित्र राष्ट्र नेपालको काठमाण्डौबाट प्रकाशित हुने स्वर द्वयमासिक पत्रिकाले आफ्नो अङ्क-४, वर्ष-२२, पूर्णाङ्क-५५, पुस-माघ-२०८२ अङ्कलाई नवीन पौड्याल समालोचना विशेष अङ्कको रूपमा प्रकाशित गरेर उनको उचित सम्मान गरेको देखिन्छ । यसपल्ट यो बाह्रौं कृतिको रूपमा साहित्यमा ऐजेरू नाम लिई नौलो स्वरूप र धार बोकेर प्रकाशनमा आएको छ । समीक्षात्मक चेतले लेखिएका यी अठारवटा विविध विषयक समीक्षात्मक निबन्धहरूको एउटा भरलाग्दो र ठुङ्मर्दो सङ्ग्रह बनेको छ भन्ने कुरो म विश्वस्त छु ।
प्रस्तुत सङ्ग्रहमा पुस्तकको नामसमेत बोकेको साहित्यमा ऐजेरू निबन्धलगायत २०० वर्षअघिका भानुभक्तको अहिले पानीखेदो, अङ्ग्रेजी स्कुल पढाएको परिणाम, लगायत अठारवटा निबन्धहरू सङ्कलित छन् । सङ्गृहीत निबन्धहरू समकालीन भारतीय-नेपाली बौद्धिक परिवेशमा विकसित वैचारिक द्वन्द्व, सांस्कृतिक संक्रमण, साहित्यिक मूल्यबोधको विचलन तथा ऐतिहासिक चेतनाको पुनर्मूल्याङ्कन जस्ता बहुआयामिक प्रश्नहरूलाई केन्द्रमा राखेर लेखिएका छन् । यिनलाई समष्टिगत रूपमा हेर्दा, यी निबन्धहरू केवल सूचना वा विचार प्रस्तुत गर्ने प्रयत्न मात्र होइनन्, बरु एउटा गहिरो मूल्याङ्कनात्मक चेतना, आलोचनात्मक दृष्टि र सांस्कृतिक चिन्ताको अभिव्यक्ति हुन् । सङ्ग्रहका प्रत्येक समीक्षाधर्मी यी निबन्धहरूको वस्तुतात्त्विक र शैली-शिल्प-संरचनागत आधारमा सङ्क्षेपमा अध्ययन-अनुशीलन गर्ने धृष्टता गरेको छु ।
दुई सय वर्षअघिका भानुभक्तको अहिले पानीखेदो-शीर्षक निबन्ध मूलतः ऐतिहासिक व्यक्तित्वको समकालीन पुनर्पाठमा केन्द्रित छ । यसमा भानुभक्त आचार्यलाई लिएर चलिरहेको वैचारिक ध्रुवीकरण विशेषतः प्रगतिवादी बनाम परम्परावादी दृष्टिकोण राखी आलोचनात्मक रूपमा विश्लेषण गरिएको छ । निबन्धकार पौड्यालले एउटा महत्वपूर्ण सैद्धान्तिक त्रुटि औंल्याएका छन्- त्यो के कुरो हो कालसापेक्षताको अवहेलना । कार्ल मार्क्स प्रेरित समालोचकहरूले भानुभक्तलाई आधुनिक राजनीतिक मापदण्डले जाँच्नु ऐतिहासिक दृष्टिले असङ्गत ठहरिन्छ । यहाँ निबन्धकारको बलियो पक्ष भनेको भानुभक्तको योगदानलाई भाषिक-सांस्कृतिक पुनर्जागरणका सन्दर्भमा पुनर्स्थापित गर्नु हो । यद्यपि, प्रस्तुत निबन्धमा मार्क्सवादप्रतिको अस्वीकृति केही हदसम्म एकपक्षीय र भावनात्मक रहेको देखिन्छ । वस्तुनिष्ठ समालोचनात्मक सन्तुलनको अपेक्षा गरिने ठाउँमा निबन्धकारले विचारधारात्मक प्रतिक्रियात्मकता देखाएका छन् । त्यसैले यो निबन्ध तर्कप्रधान भए पनि आंशिक रूपमा पक्षधर रहेको देखिन्छ ।
अङ्ग्रेजी स्कुल पढाएको नयाँ पुस्ता र नेपाली साहित्य– शीर्षक निबन्ध सांस्कृतिक विमर्शका दृष्टिले अत्यन्त सशक्त रहेको देखिन्छ । यसले भाषिक उपनिवेशवाद, सांस्कृतिक विमुखता र शिक्षाको औपचारिकता बनाम जीवनानुभवको अन्तरलाई गहिरो रूपमा उठाएको छ । निबन्धकारले आधुनिक शिक्षा प्रणालीलाई सूचनामूलक तर संवेदनाहीन प्रणालीका रूपमा चित्रण गरेका छन् । लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् सर्जकहरूको साहित्य बुझ्न नसक्ने नयाँ पुस्ताको अवस्था यहाँ सांस्कृतिक सङ्कटको रूपमा प्रस्तुत गरिएको छ । यस निबन्धको प्रमुख शक्ति यसको अनुभवजन्य यथार्थचित्रण हो-गाउँ, परम्परा, लोकज्ञान र जीवनशैलीसँगको विच्छेदलाई अत्यन्त जीवन्त उदाहरणसहित प्रस्तुत गरिएको छ । तथापि यस निबन्धमा एक प्रकारको अतिशयोक्ति र सामान्यीकरण पाइन्छ, सम्पूर्ण अङ्ग्रेजी शिक्षित पुस्तालाई एउटै फ्रेममा राख्ने प्रवृत्तिले विश्लेषणलाई केही हदसम्म सीमित बनाउन खोजेको स्पष्ट छ ।
अभिनन्दन ग्रन्थको बिगबिगी– शीर्षक व्यङ्ग्यात्मक शैलीको निबन्धमा समकालीन साहित्यिक संस्कृतिमा देखा परेको संस्थागत विकृतिको तीक्ष्ण आलोचना गरिएको छ भन्न सकिन्छ । यसमा अभिनन्दन ग्रन्थको मूल उद्देश्य तथा योगदानको सम्मान र यसको वर्तमान प्रयोग चाकरी, चापलुसी र आर्थिक लेनदेनबीचको विरोधाभासलाई देखाउन खोजेको छ । यस निबन्धमा अचाहिँदो अभिनन्दन ग्रन्थहरू प्रकाशन गरिएको र गरिँदै आएको वर्तमान स्थितिप्रति पेचिलो व्यङ्ग्य प्रहार गरिएको छ । पारसमणि प्रधान जस्ता व्यक्तित्वसँग सम्बन्धित प्रारम्भिक अभिनन्दन ग्रन्थलाई आदर्श मानेर वर्तमानको तुलना गर्नु विश्लेषणात्मक दृष्टिले सार्थक छ । निबन्धको सबल पक्ष यसको नैतिक आग्रह र साहित्यिक मूल्यप्रति प्रतिबद्धता जनाउनु रहेको भए पनि हो अभिनन्दन ग्रन्थहरूको प्रकाशन पक्ष अपेक्षाकृत कमजोर बन्दै गइरहेको आजको अवस्थाप्रति भने गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
उपनामधारी लेखक सम्मेलन!– मूलतः यो व्यङ्ग्यात्मक शैलीमा लेखिएको निबन्ध हो, जसले साहित्यिक संसारमा देखिएको कृत्रिम कीर्तिलिप्सा र नामधारी प्रवृत्तिलाई व्यङ्ग्यको माध्यमबाट उद्घाटन गरेको छ । यहाँ शिवप्रसाद ‘व्यथित’ जस्ता नामहरूको प्रयोग प्रतीकात्मक रूपमा गरिएको पाइन्छ । उपनामहरूको विविधता र हास्यास्पद सम्मेलनको चित्रणले साहित्यिक सतहीपनमाथि प्रहार गरेको छ । यस निबन्धको प्रमुख शक्ति भनेको यसको शिल्पगत कौशल हो । उपनामधारी लेखक सम्मेलनप्रति हास्यसहित व्यङ्ग्यभाव, अतिशयोक्ति र विडम्बनाको सफल संयोजन भएको देखिन्छ । तथापि, व्यङ्ग्यात्मक अतिरञ्जनका कारण कतिपय ठाउँमा यथार्थभन्दा बढी कार्टूनाइजेशन हुनपुगेको अवस्था पनि देखिन्छ ।
कहाँ गए ती इन्कलाबी नाराहरू? शीर्षक व्यङ्ग्यात्मक शैलीमा लेखिएको यो निबन्ध राजनीतिक इतिहास, विचारधारा र यथार्थबीचको द्वन्द्वको विश्लेषण पनि हो । यसमा ज्योति बसु जस्ता नेताहरूको सन्दर्भमा बामपन्थी आन्दोलनको उत्कर्ष र पतनलाई चित्रण गरिएको छ । निबन्धले स्पष्ट रूपमा के देखाउँछ भने विचारधाराको जीवनचक्र हुन्छ- उत्थान, प्रभुत्व र पतन पनि हुन्छ भन्ने हो । यस निबन्धमा पारिजातको उपन्यासिक सन्दर्भ प्रयोग गरेर आदर्श र यथार्थबीचको दूरीलाई प्रमाणित गर्न खोजिएको छ । यस निबन्धको विशेषता यसको द्वन्द्वात्मक दृष्टिकोण हो । निबन्धमा एकातिर साम्यवादको आवश्यकता स्वीकार गरिएको छ भने अर्कोतिर यसको व्यावहारिक असफलतामाथि प्रश्न उठाइएको छ । तर निबन्धको अन्त्यतिर निबन्धकारको निष्कर्ष केही निराशावादी र नियतिवादी रहेको स्पष्ट देखिन्छ ।
डिसेम्बरको अन्तको डुवर्सको साहित्यिक महोत्सव- यो निबन्ध मूलतः वृत्तान्तप्रधान (reportage) र अनुभवात्मक शैलीमा लेखिएको छ । लेखकले डुवर्समा सम्पन्न स्वर्णजयन्ती समारोहलाई अत्यन्त सूक्ष्म रूपमा अभिलेखीकरण गरेका छन्, जसले यस निबन्धलाई केवल वर्णनात्मक लेखोट मात्र नभई सांस्कृतिक दस्तावेजको स्तरमा उभ्याउन खोजिएको प्रष्ट देखिन्छ । समालोचनात्मक दृष्टिले हेर्दा प्रस्तुत निबन्धमा वर्णनको अत्यधिकता रहेको छ, जसले विश्लेषणात्मक गहिराइ केही ओझेलमा पारेको देखिन्छ । कार्यक्रमको भव्यता, सहभागिता र व्यवस्थापनको प्रशंसा प्रशस्त भए पनि साहित्यिक गुणस्तर, विमर्शको परिणाम र दीर्घकालीन प्रभावबारे तुलनात्मक वा आलोचनात्मक विश्लेषण अझ सघन हुन सक्थ्यो भन्ने सचेत जो कोही पाठकलाई लाग्नै सक्छ ।यद्यपि, कविगोष्ठीको स्तर, लम्बाइ र श्रोताको प्रतिक्रिया जस्ता पक्षमा गरिएको सूक्ष्म टिप्पणीले लेखकको समालोचनात्मक सजगता प्रकट गर्छ । यसैले यो निबन्ध आलोचनात्मक वृत्तान्त (critical reportage) को सफल दृष्टान्त बनेको छ ।
नेपाली उर्दू शब्दकोश, उर्दू प्रयोगाधिक्य र दिवाकर प्रधानको दोस्रो झर्रोवादी आन्दोलन- शीर्षक निबन्ध वैचारिक रूपमा अत्यन्त गहकिलो, तर्कप्रधान र विमर्शपरक रहेको देखिन्छ । भाषिक संरचना, इतिहास र शब्दस्रोतको सैद्धान्तिक आधारमा लेखकले नेपाली भाषामा उर्दू-अरबी शब्दको प्रभावलाई विश्लेषण गरेका छन् । यसको मुख्य शक्ति भनेको दृष्टिकोणको द्वन्द्वात्मकता हो- एकातिर भाषाको उदार ग्रहणशीलता स्वीकारिन्छ भने अर्कातिर अत्यधिक परनिर्भरताप्रति सचेत आलोचना समेत गरिन्छ । दिवाकर प्रधानको अभियानप्रति लेखकको दृष्टि पनि न त अन्धसमर्थनात्मक छ न पूर्ण अस्वीकारात्मक, बरु समन्वयवादी आलोचना प्रस्तुत गरिएको छ । कतिपय ठाउँमा निबन्ध भावनात्मक आग्रहतर्फ ढल्किएको हो कि भन्ने बोध हुन्छ, जसले भाषिक वैज्ञानिकताको निष्पक्षतालाई केही कमजोर बनाउन खोजेको छ । तथापि, समग्रमा मूल्याङ्कन गर्दा यो वैचारिक निबन्ध भाषिक राजनीति र सांस्कृतिक धरातलबारे गम्भीर बहस उठाउने भाषा विषयक एउटा सशक्त लेख हो ।
नेपाली साहित्य अनि डुवर्स- शीर्षक निबन्ध वास्तवमा डुवर्स क्षेत्रको नेपाली साहित्यिक अवस्थाको इतिहास, संरचना र प्रवृत्तिको सर्वेक्षणात्मक अध्ययन र सूक्ष्म अनुशीलन पनि हो । निबन्धकारले संस्था, स्रष्टा, विधा र आन्दोलनलाई समेट्दै क्षेत्रीय साहित्यको समग्र मानचित्र कोरेका छन् । यसको प्रमुख उपलब्धि भनेको डुवर्सलाई नेपाली साहित्यको पृथक् केन्द्रका रूपमा स्थापित गर्ने प्रयास हो । साहित्य-परिक्रमा, संस्थागत गतिविधि, प्रगतिवाद र स्रष्टा-परम्पराको सर्वेक्षणात्मक अध्ययनले प्रस्तुत निबन्धलाई अर्द्ध-अनुसन्धानात्मकस्वरूप दिएको छ । संरचनागत रूपमा अवलोकन गर्दा यो निबन्ध अलि सूचीकृत र विवरणप्रधान बन्न पुगेको छ, जसले विश्लेषणात्मक एकसूत्रता केही हदसम्म कमजोर बनाउन खोजेको छ । अतः समालोचनात्मक मूल्याङ्कनभन्दा सूचनाको सङ्कलन बढी देखिन्छ । यद्यपि, सामग्रीको व्यापकता र दृष्टिकोणको स्पष्टताका कारण यो निबन्ध डुवर्सेली साहित्य अध्ययनका लागि आधारग्रन्थीय महत्वको देखिन्छ ।
परिस्थितिको साङ्लीमा बाँधिएर– प्रस्तुत निबन्ध मूलतः दार्शनिक-मनोवैज्ञानिक प्रकृतिको छ । निबन्धमा मानव जीवन, मनोसंरचना (इद, पराअहम् आदि) र नैतिक द्वन्द्वको विश्लेषण गर्दै निबन्धकार पौड्यालले मानव अस्तित्वको जटिलता उद्घाटन गरेका छन् । यस निबन्धको शक्ति विचारको गहिराइ र उदाहरणको जीवन्ततामा रहेको देखिन्छ । लोकउखान, व्यवहारिक सन्दर्भ र मनोवैज्ञानिक सिद्धान्तको संयोजनले यसलाई लोकबोध र शास्त्रीयता बीचको सेतु समान बनाएको छ । कतिपय खण्डहरूमा भने दोहोरो विचार, अनावश्यक विस्तार र पुनरुक्ति देखिन्छ, जसले छरितोपन घटाएको छ । तथापि, समग्रमा हेर्दा प्रस्तुत निबन्ध मानव मनको द्वन्द्व र सामाजिक बन्धनको गहिरो दार्शनिक विवेचना गर्ने एउटा सफल निबन्धरचना हो भन्न सकिन्छ ।
अर्द्ध-साहित्यिक वाहिनी-यो निबन्ध तीव्र व्यङ्ग्यात्मक-समालोचनात्मक शैलीमा लेखिएको छ । साहित्यिक क्षेत्रभित्रका ‘अर्ध-साहित्यकार’हरूको चित्रण गर्दै लेखकले संस्थागत विकृति, गुटबन्दी र आडम्बरी प्रवृत्तिमाथि कडा प्रहार गरेका छन् । यसको प्रमुख विशेषता भनेको रूपकात्मक संरचना (अर्द्धसैनिक बलसँग तुलना) हो, जसले निबन्धलाई कलात्मक र प्रभावशाली बनाएको छ । भाषा चोटिलो र धारिलो, व्यङ्ग्यात्मक शैलीमा निबन्धको प्रस्तुति अत्यन्त प्रभावोत्पादक रहेको देखिन्छ । आलोचनाको तीव्रताका कारण कतिपय ठाउँमा अतिरञ्जना र एकाङ्गी दृष्टिकोण रहेको देखिन्छ, जसले सन्तुलनमा कमी ल्याउन खोजेको छ । तथापि, यसले साहित्यिक क्षेत्रभित्रको यथार्थलाई निर्भीक रूपमा प्रकाश पार्दै सचेतनात्मक झट्का दिने व्यङ्ग्यात्मक निबन्धको रूपमा उच्च स्थान ओगट्न सफल बनेको छ ।
असमको अभरिलो यात्रा- यो निबन्ध मूलतः संस्मरणात्मक यात्रा-वृत्तान्त हो, जसमा व्यक्तिगत अनुभव, शारीरिक पीडा र मानवीय सहानुभूतिको त्रिवेणी भेटिन्छ । अतःअनुभवको यथार्थ र संवेदनात्मक शक्ति यस निबन्धको लोभलाग्दो कथ्यस्वरूप र शिल्पसौन्दर्य हो भन्ने स्पष्ट हुन्छ । लेखनको प्रमुख शक्ति यसको प्रामाणिकता र जीवन्तता पनि हो । साधारण यात्रालाई असाधारण बनाउने तत्व भनेकै लेखकको रोग-पीडासँगको सङ्घर्ष र ग्रामीण आतिथ्यको आत्मीय चित्रण हो । यद्यपि, निबन्ध केही स्थानमा अनावश्यक विवरणले केही लम्बिएको छ, जसले संरचनात्मक कसिलोपनमा कमी ल्याएको देखिन्छ । तर अन्ततः यसले मानवता सङ्कटको घड़ीमा झन् उज्यालो हुन्छभन्ने सन्देश प्रभावकारी रूपमा स्थापित गरेको छ ।
साहित्यमा ऐजेरू-प्रस्तुत सङ्ग्रहको शीर्षक समेत रहेकोयो निबन्ध स्पष्ट रूपमा वैचारिक र आलोचनात्मक प्रकृतिको छ । अन्तर्विषयकतामाथि तीक्ष्ण विमर्श गरिएको यस निबन्धमा निबन्धकार पौड्यालले आधुनिक साहित्यमा बढ्दो अन्तर्विषयात्मक जटिलतालाई ‘ऐजेरू’ (parasite) का रूपमा रूपक प्रयोग गरी व्याख्या गरेका छन्, जुन रूपकको प्रयोग गरेका छन् त्यो निकै सशक्त र सन्दर्भोचित पनि भएको छ । यसको प्रमुख विशेषता भनेको- साहित्यको स्वायत्तता र रसात्मकता बचाउनुपर्ने आग्रह । अत्यधिक बौद्धिकताको कारण साहित्य अलोकप्रिय बन्दै गएको विश्लेषण गरिएको छ । तर कतिपय ठाउँमा भने लेखकको दृष्टिकोण अतिशय एकपक्षीय रहेको देखिन्छ, किनकि अन्तर्विषयकता साहित्यको विकासको अनिवार्य पक्ष पनि हो ।
साहित्यमा गुटबन्दी- प्रस्तुत निबन्ध साहित्यिक समाजभित्रको गुटीय प्रवृत्तिमाथि केन्द्रित रहेको छ । यथार्थको निर्भीक उद्घाटनमा निबन्धकारले गुटबन्दीलाई साहित्यको नैतिक पतनको कारक तत्त्व मानेर तीक्ष्ण आलोचना गरेका छन् । यस निबन्धको बलियो पक्ष भनेको व्यावहारिक उदाहरण र यथार्थपरक विश्लेषण, समालोचनात्मक भाषाको स्पष्टता र निर्भीकता नै हो । तर कतिपय स्थानमा भावनात्मक आक्रोशको मात्रा केही बढी भएको देखिन्छ । तथापि, यसको सामाजिक प्रासङ्गिकता भने अत्यन्त उच्च रहेको देखिन्छ । वस्तुतः व्यङ्ग्यात्मक चेत भएको यस निबन्धलाई निबन्धकार पौड्यालका सफल निबन्धहरूमध्ये यो एक हो भनी मान्न सकिन्छ ।
साहित्यमा पुरस्कारको तरङ्ग- यस निबन्धमा लेखकले साहित्यिक पुरस्कारको द्वैध चरित्र-प्रेरणा र विकृति-दुवै पक्षलाई उधिनेका छन् । मुख्य रूपमामूल्य र विकृतिको द्वन्द्व यस निबन्धमा देखिन्छ । पुरस्कारलाई सम्मानको माध्यम मान्दै पनि यसको राजनीतिकरण, स्वार्थीकरण र व्यापारीकरणप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । निबन्धको विशेषता- सैद्धान्तिक र व्यावहारिक पक्षको संयोजन, पुरस्कार प्रणालीप्रति नैतिक दृष्टिकोण रहेको देखिन्छ । यद्यपि, कतिपय तर्कहरू भने पुनरावृत्तिपूर्ण छन् । समग्रमा हेर्दा यो निबन्ध चेतनामूलक र विमर्शात्मक रूपमा प्रभावकारी रहेको देखिन्छ ।
नेपाली साहित्य अध्ययन समिति- प्रस्तुत निबन्ध उनका अन्य निबन्धहरू भन्दा भिन्न रूपमा तथ्यप्रधान र इतिहासपरक बनेको छ । वास्तवमा यो निबन्ध संस्थागत इतिहासको दस्तावेजीकरण बनेको स्पष्ट देखिन्छ । साहित्यिक संस्थाको रूपमा नेसाअस कालेबुङको स्थापना तथा यसको गतिविधि र योगदानको विस्तृत विवरणले यसलाई एक प्रकारको दस्तावेजी अध्ययन बनाएको छ । यस निबन्धको प्रमुख शक्ति भनेकोतथ्यगत समृद्धि र अनुसन्धानपरक दृष्टि अनि संस्थागत योगदानको समुचित मूल्याङ्कन गर्नु पनि हो । प्रस्तुत निबन्ध समकालीन भारतीय नेपाली साहित्यिक परिवेशका दुई भिन्न तर परस्पर सम्बन्धित आयामलाई दृष्टिगोचर गर्न पुगेको छ । जसमा एकातिर समसामयिक साहित्यिक अन्तरक्रिया र सांस्कृतिक संवादको जीवन्त परिदृश्यको चित्रण पाइन्छ भने अर्कोतिर संस्थागत इतिहास, उपलब्धि तथा वर्तमान सङ्कटलाई समेट्दै अघि बढेको इतिवृत्त प्रस्तुत छ ।
नेपाल भारत साहित्य उत्सवबाट उब्जेका केही कुरा- प्रस्तुत निबन्ध मूलतः एउटा आँखाले देखेको, मनले भोगेको साहित्यिक महोत्सवको संस्मरणात्मक-विश्लेषणात्मक दस्तावेज हो । निबन्धकारले केवल कार्यक्रमको विवरण मात्र दिएका छैनन्, बरु त्यसबाट उब्जिएका गम्भीर साहित्यिक, सांस्कृतिक र संरचनात्मक प्रश्नहरूलाई पनि उठाएका छन् । यस निबन्धको विषयवस्तु बहुआयामिक प्रकृतिको छ । नेपाल-भारतबीचको साहित्यिक आदानप्रदानको आवश्यकता, अनुवादको अपरिहार्यता र सहकार्यका सम्भावनाहरूलाई स्पष्ट रूपमा उल्लेख गरिएको छ । संस्थागत कमजोरी र संरचनात्मक समस्या विशेषतः पुस्तक वितरण, भन्सार अवरोध, बजार व्यवस्थापनको अभाव जस्ता यथार्थ समस्याहरूलाई अनुभवजन्य ढङ्गले प्रस्तुत गरिएको छ । विशेष गरी साहित्यकार तथा कार्यक्रम संयोजक श्री एल. बी. छेत्रीको योगदानलाई यस निबन्धले केन्द्रिय भावभूमिमा राखेको छ । निबन्धले श्री छेत्रीको साहित्यप्रतिको व्यक्तिगत प्रतिबद्धता बनाम संस्थागत निष्क्रियतालाई पनि विमर्शमा ल्याएको छ । साहित्यिक विमर्शका मुद्दाहरू नारी लेखन, समालोचना, अनुवाद र पाठक-बजार सम्बन्ध जस्ता विषयहरूलाई सघन रूपमा उठाइएको छ । अतः यो निबन्ध केवल विवरणात्मक किसिमको मात्र छैन, यसले समीक्षात्मक चेतना पनि बोकेको छ । शिल्पका दृष्टिले यो निबन्ध संस्मरणात्मक, विवरणात्मक र आलोचनात्मक शैलीको मिश्रण हो भन्न सकिन्छ । यस निबन्धका मुख्य शक्ति र विशेषता भनेको प्रत्यक्ष अनुभवको भाषा“म आफैंले भोगेको छु”जस्ता अभिव्यक्तिले निबन्धलाई विश्वसनीय र जीवन्त बनाएको छ । पाठकसँग प्रत्यक्ष संवाद गर्ने शैलीले निबन्धलाई औपचारिकभन्दा बढी जीवन्त बनाएको देखिन्छ । भन्सार प्रसङ्ग वा संस्थागत कमजोरीमाथिको टिप्पणीमा सूक्ष्म व्यङ्ग्य भेटिन्छ, जसले आलोचनात्मक धारलाई अझ तीक्ष्ण बनाएको छ ।
शताब्दीको यात्रा पार गरिसकेको नेपाली साहित्य सम्मेलन, दार्जिलिङ- प्रस्तुत निबन्ध ऐतिहासिक-विश्लेषणमा आधारित रहेको आलोचनात्मक प्रकृतिको छ । जसले एक शताब्दी पुरानो संस्थाको यात्रा, योगदानर वर्तमान अवस्थाको आलोचनात्मक पुनर्मूल्याङ्कन गर्दछ । सन् १९२४ मा स्थापना भएको नेपाली साहित्य सम्मेलनको पृष्ठभूमि र त्यसबेलाको भारतीय भाषिक-सांस्कृतिक आन्दोलनसँगको सम्बन्धलाई राम्रोसँग देखाइएको छ । हिन्दी, बङ्गला, असमिया आदि भाषाका संस्थाहरूसँग तुलना गर्दै नेपाली साहित्यिक संस्थाको स्थान निर्धारण गरिएको छ । साहित्यिक प्रकाशन, भाषा आन्दोलन, सांस्कृतिक कार्यक्रम आदिमा सम्मेलनको योगदानलाई मूल्याङ्कनपरक ढङ्गमा समेट्न खोजिएको छ । यस निबन्धको सबैभन्दा बलियो पक्ष भनेको यसको आत्मालोचनात्मक स्वर हो । निबन्धकार पौड्यालले सम्मेलनको निष्क्रियता, गुटबन्दी, जडता र नेतृत्व सङ्कटलाई समेत स्पष्ट रूपमा औंल्याएका छन् । यसका साथै नेपाली साहित्यको संरचनात्मक समस्या र संस्थागत सक्रियताको कमी जस्ता केन्द्रीय मुद्दाहरू पनि उठाएका छन् । अनुसन्धान परियोजना, अनुवाद, विश्वकोश निर्माण, डिजिटल भाषिक विकास आदि सम्भावित कार्यक्षेत्रहरूको प्रस्तावले निबन्धलाई दूरदर्शी बनाएको छ । अतः प्रस्तुत निबन्धको विषयवस्तु अत्यन्त समृद्ध, सन्तुलित र इतिहासचेत र समालोचना चेतनाको त्रिवेणीमा आधारित रहेको देखिन्छ ।
शिल्पका दृष्टिले यो निबन्ध बढी निबन्धात्मक, विश्लेषणप्रधान र तर्कसङ्गत छ । यस निबन्धमा तर्कप्रधान भाषाको प्रयोग गरिएको छ । यो भावनात्मक आवेगभन्दा बढी तथ्य र तर्कमा आधारित छ ।“अकर्मण्यको थलो?”जस्तो उपशीर्षकले निबन्धको आलोचनात्मक धारलाई अझ तीव्र बनाएको छ ।“मेरो बाजेले घिउ खाएका थिए…”जस्ता लोकोक्तिपरक र रूपकात्मक अभिव्यक्तिले आलोचनात्मक व्यङ्ग्यशैलीलाई निकै प्रभावकारी बनाएको छ । वस्तुतः यो निबन्ध एक गम्भीर संस्थागत पुर्नमूल्याङ्कन हो, जसले इतिहासको पुनर्पाठ गर्दै वर्तमानको कमजोरी र भविष्यको दिशालाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ । शिल्पगत रूपमा यो निबन्ध अपेक्षाकृत परिपक्व, सन्तुलित र तर्कनिष्ठ किसिमको छ । यस निबन्धमा सङ्गठित र विश्लेषणात्मक किसिमको शिल्प पाइन्छ ।
असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती- असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती केवल एउटा औपचारिक उत्सव मात्र नभई भारतीय नेपाली भाषिक समुदायको सांस्कृतिक, साहित्यिक तथा जातीय चेतनाको विराट समागमका रूपमा देखापरिएको घटना हो । यस साहित्यिक संस्थाले पचास वर्षको यात्रा पूरा गर्नु भनेको कुनै सामान्य र चानचुने उपलब्धि होइन ।यस निबन्धले एउटा सक्रिय साहित्यिक संस्थाको ऐतिहासिक उत्तरदायित्व, सङ्घर्ष, सामाजिक प्रतिबद्धता तथा भाषिक अस्तित्वको संरक्षणमा निभाएको भूमिकालाई प्रमाणित गर्दछ । गोलाघाट जिल्लाको सरूपथारमा सम्पन्न यस चारदिने महोत्सवले असमका नेपालीभाषी समाजको सामूहिक आत्मविश्वास, सांस्कृतिक उन्मेषलाई एकैसाथ प्रस्तुत गरेको देखिन्छ । निबन्धकार पौड्यालले नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङको प्रतिनिधि टोलीको रूपमा सहभागी हुँदा लेखकले देखेका, भोगेका र अनुभव गरेका पक्षहरूलाई केवल वर्णनात्मक शैलीमा नभई विश्लेषणात्मक दृष्टिले प्रस्तुत गरेका छन् । रेलवे स्टेशनकै छेउमा विशाल पाण्डाल निर्माण गरी कार्यक्रमलाई सहज, सुलभ र जनसुलभ बनाइएको थियो भन्नेकार्यक्रमको भव्यताको उल्लेख छ । । सांस्कृतिक झाँकी, नौमती बाजा, खुकुरी नृत्य, जातीय पोशाक, गोर्खा टोपी, पारम्परिक गहना तथा खाद्य संस्कृतिको प्रदर्शनले सम्पूर्ण वातावरणलाई गोर्खाली अस्मिताको उत्सवमा परिणत गरिएको कुरोको उल्लेख छ । अतः यसले के कुरोको सङ्केत गर्छ भने कार्यक्रमलाई केवल साहित्यिक सम्मेलन नभई जातीय पहिचानको सार्वजनिक प्रदर्शनमा रूपान्तरण गरेको थाहा लाग्छ । विशेषतः हजारौंको जनसहभागिता, मुख्यमन्त्रीको उपस्थिति, “जय गोर्खा”-को नारासहितको साहित्यिक महोत्सवले यो सभालाई उच्च साहित्यिक, सांस्कृतिक-सामाजिक तथा राजनैतिक महत्वसमेत प्रदान गरेको बुझिन्छ ।
यस अधिवेशनका ठोस उपलब्धिमध्ये सयवटा जति पुस्तकहरूको लोकार्पण अत्यन्त ऐतिहासिक मान्न सकिन्छ । असमेली नेपाली कथा, एकाङ्की, समीक्षा, नाटक, निबन्ध आदि विधाका पुस्तकहरूको सामूहिक विमोचनले असमेली नेपाली साहित्यको सृजनात्मक उर्वरता प्रमाणित गरेको छ । यसले साहित्यिक उत्पादनको मात्रा मात्र होइन, संस्थागत संरक्षणको स्तर पनि देखाउँछ । त्यसैगरी विभिन्न सर्जकलाई विभिन्न पुरस्कारद्वारा पुरस्कृत गरी प्रतिभाको उचित सम्मान गर्नु सकारात्मक रहेको देखिन्छ । प्रतिभा र योगदानको संस्थागत स्वीकृति साहित्यिक संस्कृतिको स्वस्थ पक्ष हो । यहीं बिन्दुबाट यस निबन्धको आलोचनात्मक चेतना प्रखर बन्छ । निबन्धकारले स्पष्ट रूपमा के कुरो पनि औंल्याउन खोजेका छन् भने साहित्यिक अधिवेशनमा साहित्यभन्दा बढी अन्य कुरोको ‘रमझम’ हावी भएको प्रसङ्ग उल्लेख गरेका छन् । यसमा गीत, नृत्य, रात्रिकालीन मनोरञ्जन, बाहिरी मेलाजस्तो बजार र सांस्कृतिक प्रदर्शनले साहित्यिक विमर्शलाई ओझेलमा पारेको अनुभूति व्यक्त गरिएको छ । कवि गोष्ठी, पुस्तक लोकार्पण र पुरस्कार वितरणबाहेक गहिरो वैचारिक बहस, भाषिक नीति, साहित्यिक दिशा, अनुवाद, राष्ट्रिय मान्यता, ज्ञानपीठ वा सरस्वती सम्मानजस्ता विषयमा कुनै गम्भीर गोष्ठी नहुनु एउटा ठूलो अभावका रूपमा देखाइएको छ । वास्तवमा, यस्तो स्वर्ण जयन्ती अधिवेशनले भारतीय नेपाली साहित्यको भावी दिशा निर्धारण गर्ने वैचारिक मञ्च बन्नुपर्ने थियो,तर त्यो अवसर पर्याप्त रूपमा उपयोग हुन सकेन ।विशेषतः डा. गोविन्दराज भट्टराई, डा. कुमारप्रसाद कोइराला जस्ता विद्वानहरूको उपस्थिति भएर पनि उनीहरूको बौद्धिक योगदानलाई संस्थागत रूपमा उपयोग नगरिनु साहित्यिक दृष्टिले क्षतिको विषय हो । यस्ता हस्तीहरू केवल सम्मानका पात्र मात्र होइनन्, विचार निर्माणका केन्द्र हुन् । उनीहरूबाट विमर्श, कार्यपत्र, गोष्ठी वा नीति-निर्देशन गराउन नसक्नु आयोजकीय कमजोरी मान्नुपर्छ भन्ने निष्कर्ष रहेको बुझिन्छ ।
निबन्धमा अर्को महत्वपूर्ण आलोचना पक्ष के रहेको छ भने भारतीय नेपाली साहित्यिक संस्थाहरूको न्यून उपस्थिति । नेपाली साहित्यको भारतीय सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा भारतीय संस्थाहरूको न्यूनता र नेपालमुखी आकर्षणले“असमले अब नेपालमोह त्याग्नुपर्छ”भन्ने लेखकको टिप्पणीलाई गम्भीर बनाउँछ । भाषिक पक्षमा लेखकको चिन्ता अझ गहिरो छ । नेपाली साहित्यिक कार्यक्रममा नेपाली वक्ताहरूले असमिया भाषा मिसाएर बोल्नुपर्ने बाध्यता किन आयो भन्ने प्रश्नले भाषिक अस्मिताको संवेदनशील पक्षलाई अझ गहिरोसँग प्रकाश पार्छ । वास्तवमा यो केवल भाषिक प्रयोगको प्रश्न होइन, आत्मपहिचान र सांस्कृतिक आत्मविश्वासको प्रश्न पनि हो । आफ्नो साहित्यिक मञ्चमा आफ्नो भाषाको गरिमा स्थापित गर्न नसक्नु दीर्घकालीन चिन्ताको विषय हुन सक्छ । नवनिर्वाचित अध्यक्ष डा. चिन्तामणि शर्माले मुख्यमन्त्रीसमक्ष राखेका मागहरू साहित्यिक भन्दा पनि अस्तित्वमूलक आवश्यकतासँग सम्बन्धित छन् । यसले भाषा र साहित्यको प्रश्न अन्ततः शिक्षानीति र राज्यसत्तासँग गाँसिएको विषय हो भन्ने देखाउँछ ।
निबन्धको शैलीगत विशेषता मूल्याङ्कन गर्दा यसको निर्भीकता, स्पष्टवादिता र रूपकात्मक व्यञ्जनामा निहित रहेको देखिन्छ । “चार दिनको अधिवेशन सिमेन्टको बोरा जस्तो नभएर मुरैको डल्लो जस्तो भयो”अथवा “पुराणमा कथा सुन्नुभन्दा भजनको नाचगान र भोजनको चक्करमा रहेको जस्तो” जस्ता उपमानहरूले निबन्धकारको आलोचनात्मक दृष्टिलाई अझ प्रभावशाली बनाएको देखिन्छ । यहाँ भावनात्मक आक्रोशभन्दा पनि विवेकपूर्ण असन्तोष बढी छ । समग्रमा हेर्दा, यो निबन्ध एउटा संस्थागत उत्सवको साधारण विवरण होइन मात्र, यो त भारतीय नेपाली साहित्यिक संस्थाहरूको वर्तमान अवस्थामाथिको आत्मालोचनात्मक खबरदारी पनि हो । यस निबन्धले साहित्य, सङ्गठन, भाषा, राजनीति र जातीय चेतनालाई एकै सूत्रमा बाँधेर मूल्याङ्कन गरेको छ । असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती सफल थियो, तर त्यो सफलता केवल भीड, भव्यता र मुख्यमन्त्रीको उपस्थितिमा होइन, सय पुस्तकको लोकार्पण, नयाँ नेतृत्वको उदय र भावी सम्भावनामा निहित छ । अब चुनौती भनेको त्यो सम्भावनालाई वास्तविक साहित्यिक उपलब्धिमा रूपान्तरण गर्नु हो भन्ने उनको मान्यता रहेको देखिन्छ ।
वास्तवमा यी निबन्धहरू समकालीन नेपाली साहित्यिक-सांस्कृतिक विमर्शका सशक्त दस्तावेज हुन् । यिनले केवल समस्या मात्र उठाएका छैनन् तर पाठक-समाजलाई सोंच्न समेत बाध्य पारेका छन् । यी निबन्धहरूलाई समष्टिगत रूपमा हेर्दा निम्न विशेषताहरू स्पष्ट रूपमा देखिन्छन्-
आलोचनात्मक चेतना– प्रस्तुत सङ्ग्रहका प्रायः सबै निबन्धहरूमा स्थापित मान्यता र संरचनामाथि प्रश्न उठाउने प्रवृत्ति निकै सशक्त रहेको देखिन्छ । निबन्धमा नेपाली भाषा, साहित्य, सांस्कृतिक परम्परा र पहिचानको संरक्षणप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ । परम्परा बनाम आधुनिकता, साम्यवाद बनाम पुँजीवाद जस्ता विचारधारात्मक द्वन्द्वहरू केन्द्रीय पृष्ठभूमिमा रहेका देखिन्छन् ।
शैलीगत विविधता– समग्रमा यी निबन्धहरू हेर्दा लेखनमा विषयगत विविधता जस्तो साहित्यिक कार्यक्रमदेखि भाषाविज्ञान, क्षेत्रीय अध्ययन, मनोविज्ञान र व्यङ्ग्यसम्म रहेको देखिन्छ । निबन्धमा नेपाली समाज र साहित्यप्रतिको गहिरो सरोकार र समालोचनात्मक चेतना प्रष्ट रूपमा देखा पर्छ । यद्यपि, केही ठाउँमा निबन्धगत संरचनात्मक अनुशासनको कमी, भावनात्मक आग्रह वा पुनरुक्ति र विश्लेषणभन्दा विवरणको अधिकता पनि नपाइने भने होइन । यी निबन्धहरू आधुनिक भारतीय नेपाली साहित्यिक चिन्तनका जीवित दस्तावेजका रूपमा मूल्यवान् छन् । निबन्धकारको दृष्टि सजग, चिन्तनशील र आलोचनात्मक प्रकृतिको भएकाले यी निबन्धहरूले साहित्यिक विमर्शलाई नवीन ढङ्गबाट सिर्जनात्मक आयाम प्रदान गर्ने क्षमता र लक्ष्य राख्छन् ।
आलोचनात्मक बौद्धिकता- निबन्धकार नवीन पौड्यालको निबन्ध शैलीको केन्द्रीय विशेषता भनेको आलोचनात्मक चेतनाको तीव्र उपस्थिति हो । उनका अधिकांश निबन्धहरू स्थापित मान्यता, परम्परा, विचारधारा वा संस्थागत संरचनामाथि प्रश्न उठाउने स्वभावका छन् । ‘भानुभक्त’ सम्बन्धी निबन्धमा ऐतिहासिक पुनर्पाठ, ‘साहित्यमा ऐजेरू’ मा अन्तर्विषयक जटिलताको आलोचना, ‘साहित्यमा गुटबन्दी’ र ‘पुरस्कारको तरङ्ग’ शीर्षक निबन्धमा संस्थागत विकृतिको उद्घाटन गरिएको छ । यस किसिमको आलोचनात्मक निबन्धचेतले उनको निबन्धलेखनलाई अझ विचारधारात्मक र विमर्शात्मकबनाएका छन् ।
विषयवस्तुको व्यापकता र अन्तर्विषयक चेत-उनका निबन्धहरूमा विषयगत क्षेत्रनिकै फराकिलो छ । नेपाली भाषासाहित्य, सांस्कृतिक परिचय,शिक्षा प्रणाली, राजनीतिक विचारधारा, मनोविज्ञान र जीवन दर्शन तथा संस्थागत इतिहासलाई उनले निबन्धगत कथ्यविषयको रूपमा ग्रहण गरेको देखिन्छ । यसैले उनले आफ्नो निबन्धलेखनलाई अन्तर्विषयिक (interdisciplinary) बनाएका छन् । ‘उर्दू शब्दकोश’ सम्बन्धी निबन्ध वा ‘परिस्थितिको साङ्लीमा बाँधिएर’ जस्ता लेखहरूमा भाषाविज्ञान, मनोविज्ञान र दर्शनको समायोजनले उनको बौद्धिक गहिराइ देखाउँछ ।
शिल्पगत विविधता: नवीन पौड्यालको निबन्धगत शिल्पमा एकरूपतानभएरबरु यसमा उल्लेखनीय विविधता रहेको पाइन्छ । वृत्तान्तात्मक-संस्मरणात्मक शिल्प,विश्लेषणात्मक-वैचारिक शिल्प,व्यङ्ग्यात्मक शिल्प, रिपोर्टाज शिल्प-शैलीलाई दृष्टान्तका स्वरूप अघि सार्न सकिन्छ ।
वृत्तान्तात्मक-संस्मरणात्मक शिल्प-‘असमको अभरिलो यात्रा’ जस्ता निबन्धमा अनुभवको जीवन्तता, संवेदनशीलता र आत्मीयता प्रमुख हुन्छ । यथार्थ चित्रण र भावनात्मक संलग्नताले पाठकलाई प्रत्यक्ष अनुभवमा सहभागी गराउँछ ।
विश्लेषणात्मक-वैचारिक शिल्प-‘साहित्यमा ऐजेरू’, ‘पुरस्कारको तरङ्ग’, ‘साहित्यमा गुटबन्दी’ आदि निबन्धहरूमा तर्क, उदाहरण र सैद्धान्तिक सन्दर्भको प्रयोग गरी गहिरो विश्लेषणात्मक संरचना निर्माण गरिएको छ ।
व्यङ्ग्यात्मक शिल्प– ‘उपनामधारी लेखक सम्मेलन’ र ‘अर्द्ध-साहित्यिक वाहिनी’ जस्ता निबन्धहरूमा हास्य, व्यङ्ग्य, विडम्बना र अतिरञ्जनाको कुशल प्रयोगले गम्भीर विषयलाई प्रभावकारी बनाएको छ ।
रिपोर्टाज शिल्प– ‘डुवर्सको साहित्यिक महोत्सव’ र ‘नेपाली साहित्य अध्ययन समिति’, ‘असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती’ शीर्षक निबन्धहरूमा तथ्य सङ्कलन, अभिलेखीकरण र विवरणात्मक प्रस्तुति प्रमुख छन् । यसरी, उनको शिल्प बहुविध (multi-modal) र लचिलो छ, जुन उनको लेखकीय सामर्थ्यको प्रमाण हो भन्न सकिन्छ
भाषाशैली: स्पष्टता, प्रवाह र रूपकात्मकता- उनको भाषा सामान्यतया-सरल तर प्रभावकारी, प्रवाहमय र रूपक, प्रतीक तथा लोकप्रयोगले समृद्ध छ । ‘साहित्यमा ऐजेरू’ जस्तो रूपक, वा व्यङ्ग्यात्मक निबन्धमा प्रयोग गरिएका नाम-संरचनाहरूले उनको शब्दशिल्पप्रति सजगता देखाउँछन् ।
संरचनागत विशेषता- उनका निबन्धहरूको एक प्रमुख समस्या भनेको वर्णनात्मक विस्तारको अधिकता हो । विवरण र उदाहरणहरू प्रशस्त छन् तर ती सधैँ संरचनागत अनुशासनभित्र सीमित हुँदैनन् । यसका कारण- निबन्ध कहिलेकाहीँ लम्बिन्छ, मुख्य तर्क ओझेलमा पर्न सक्छ । यद्यपि, यही विस्तारले कतिपय निबन्धलाई दस्तावेजी समृद्धि पनि प्रदान गरेको छ ।
वैचारिक स्वर- पौड्यालका निबन्धहरूको अन्तःस्वर स्पष्ट रूपमा सांस्कृतिक संरक्षणप्रति चिन्तित, साहित्यिक मूल्यप्रति प्रतिबद्ध र नैतिक दृष्टिले सजग रहेको देखिन्छ । उनले भाषिक विमुखता, साहित्यिक विकृति, गुटबन्दी, पुरस्कारको अवमूल्यन जस्ता समस्यालाई गम्भीर रूपमा उठाएका छन् । अतः उनका प्रायः सबैजसो निबन्धमा सांस्कृतिक चिन्ता र नैतिक आग्रह राखिएको पाइन्छ ।
मूल्याङ्कन एवम् निष्कर्ष- नवीन पौड्याल एकजना सचेत वैचारिक समालोचक, संस्मरणकार, सामाजिक यथार्थका साक्षी तथा कतिपय साहित्यिक र सामाजिक संस्थागत इतिहासका अभिलेखकका रूपमा देखिन्छन् । लेखनको मूल प्रवृत्ति यथार्थपरकता, स्पष्टवादिता र बौद्धिक संलग्नता हो । उनको लेखनमा वैचारिक गहिराइ र सामाजिक प्रासङ्गिकता उल्लेखनीय पक्षको रूपमा देखा पर्दछ । यी सामान्य टिपोट र टिप्पणीहरूको आधारमा निबन्धकार पौड्यालका निबन्धहरूलाई समष्टिगत रूपमा मूल्याङ्कन गर्दा उनको निबन्धशैली र शिल्प बहुआयामिक, चिन्तनप्रधान र आलोचनात्मक ऊर्जाले भरिएको देखिन्छ । उनको निबन्धमा गहिरो आलोचनात्मक चेतना, विषयगत विविधता र बौद्धिक विस्तार, शिल्पगत बहुलता (संस्मरण, विश्लेषण, व्यङ्ग्य, रिपोर्टाज), सांस्कृतिक र साहित्यिक सरोकारप्रति प्रतिबद्धता, जीवन्त, स्पष्ट र प्रभावकारी भाषा रहेको स्पष्ट देखिन्छ । निबन्धकार प्रा. नवीन पौड्यालको निबन्धशैली समकालीन भारतीय-नेपाली साहित्यमा चिन्तनशील, प्रश्नोन्मुख र बहसउन्मुख लेखनको प्रतिनिधि रूप हो । उनका निबन्धहरू केवल अभिव्यक्ति होइनन्, बरु बौद्धिक हस्तक्षेप (intellectual intervention) पनि हुन्, जसले पाठकलाई सोंच्न, असहमत हुन र पुनर्विचार गर्न बाध्य बनाउँछन् । उनको निबन्धकला समकालीन नेपाली साहित्यिक विमर्शमा उत्तेजक, जीवन्त र महत्वपूर्ण योगदानका रूपमा स्थापित हुन्छ । उनी केवल निबन्धकार मात्र होइनन्, एकैसाथ सांस्कृतिक विश्लेषक, वैचारिक समालोचक, संस्मरणकार र दस्तावेजकारका रूपमा उभिन्छन् ।

