बिर्तामोड । एक विशेष कार्यक्रमबीच ‘पठन संस्कृति वर्ष–२०२६’ को औपचारिक घोषणा गरिएको छ। ‘रिडर्स अभियान, नेपाल’, ‘अभियानका लागि अभियन्ता’, ‘वीरता रिडर्स’ र ‘झापाली साहित्य समाज’को संयुक्त आयोजनामा तथा ईशा बुक्स सेन्टर बिर्तामोड र मिडिया रिसर्च सेन्टरको संयोजनमा बिर्तामोडस्थित होटल हेवन ग्रान्डमा घोषणा कार्यक्रम सम्पन्न भएको हो।
‘अभियानका लागि अभियन्ता’का अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता लीला उदासी, सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी र पत्रकार–लेखक केदार शर्माले संयुक्त रूपमा ‘पठन संस्कृति वर्ष–२०२६’को व्यानर उघारेर अभियानको शुभारम्भ गर्नुभएकाे थियाे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहसंयोजक ईशा बुक्स सेन्टर बिर्तामोडका सञ्चालक तथा पठन अभियन्ता केशव मैनालीले पठन अभियान केवल व्यक्तिगत अभ्यास नभई सामाजिक र सामुदायिक अभियान भएको उल्लेख गर्दै यसलाई सामूहिक प्रयासबाट राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे ।
सो अवसरमा पत्रकार तथा लेखक तीर्थ सिग्देलको पुस्तक ‘त्यो झापा’ र उपन्यासकार हेम गुरागाईंको उपन्यास ‘दिगो समाधान’ को पनि लोकार्पण गरिएको थियो। कृतिहरूको लोकार्पण परमानन्द मिश्र, दुर्गा राजवंशी, प्रेमसागर खनाल, कुलप्रसाद नेउपाने, दयानन्द गोस्वामी तथा साहित्यकार पुण्यप्रसाद खरेल, केशव आचार्य र तारा राईलगायतले संयुक्त रूपमा गर्नुभएकाे थियाे ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै लेखक तीर्थ सिग्देलले सन् २०२६ लाई पठन संस्कृति वर्षका रूपमा मनाउन सामाजिक तहबाट अभियान सुरु गरिएको र यसलाई सरकारी कार्यक्रमका रूपमा स्थापित गर्न सरकारसमक्ष ज्ञापनपत्र बुझाइने बताउनुभयाे । उहाँका अनुसार संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व र विद्यार्थीहरूलाई लक्षित गर्दै सन्देशमूलक तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
अभियानअन्तर्गत स्थानीय तह तथा सरोकारवाला संस्थाको सहभागितामा शैक्षिक सरोकार समिति गठन, विभिन्न संघसंस्थासँग सहकार्य, र समाजमा पठन संस्कृतिको प्रभाव विस्तार गर्ने कार्ययोजना रहेको जनाइएको छ।
कार्यक्रममा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले झापाका अस्पतालहरूमा बिरामीका कुरुवाका लागि पुस्तक पढ्ने स्थानको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयाे । उहाँले साहित्य, कला र संस्कृतिलाई समेट्ने कार्यक्रमका लागि एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्न अभियान चलाउनुपर्ने, हरेक कार्यक्रममा मायाको चिनोका रूपमा पुस्तक उपहार दिने, बच्चाको मुख हेर्न जाँदा पुस्तक लैजाने र यात्रामा पुस्तक बोक्ने संस्कृतिलाई फेशनका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयाे ।
वरिष्ठ अधिवक्ता लीला उदासीले ‘त्यो झापा’ पुस्तकको ऐतिहासिक महत्व, सन्देश र सीमामाथि समीक्षात्मक धारणा प्रस्तुत गर्नुभयाे भने लेखक केदार शर्माले पठन संस्कृतिले समाजमा पार्ने सकारात्मक प्रभाव, आलोचनात्मक चेतको विकास र पुस्तक पढ्दा पैदा हुन सक्ने अहंकारलाई जित्नुपर्ने विषयमा विचार राख्नुभयाे।
कार्यक्रमअघि तथा कार्यक्रममा गीता सुवेदी नेपाल, दीपा दाहाल, राजेश ढुङ्गाना, सुनीता तामाङ, मायामितु नेउपाने, रञ्जिता खड्का, केशव आचार्य, भगवती ढुङ्गेल, हरिनारायण भट्टराई, डिल्लीरमण नेपाल, कृष्ण बराल, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, केदार शर्मा, रश्मिशेखर सुवेदी, लीला अनमोल, राजकुमार विश्वकर्मा, पुण्यप्रसाद खरेल, कृष्णप्रसाद मिश्र, रेखा सापकोटा, नमुना निरौला दाहाल, दीपेन्द्र आचार्य, लक्ष्मी अच्युत ढुङ्गाना र पुष्प शाहलगायत स्रष्टाहरूले कविता, गजल र अन्य रचनाहरू वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रममा झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाका प्रतिनिधि, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको पहिलो साहित्यिक शृङ्खलाको सञ्चालन साहित्यकार खगेन्द्रा खुसीले र घोषणा कार्यक्रमको सञ्चालन मिडिया रिसर्च सेन्टरका संयोजक तथा पत्रकार सन्तोष आचार्यले गर्नुभएको थियो। उक्त कार्यक्रमको मिडिया पार्टनर साहित्यपोस्ट रहेको थियो।

