साहित्यपोस्ट डट कम

‘पासपोर्ट’को प्रेम

‘पासपोर्ट’को प्रेम

बुबाआमा बुढाबुढी हिमाल जस्तो केश

आफ्नो घर देशजस्तो हुँदैन परदेश

मनभित्र घर मेरो सगरमाथानेर

जननीको ममताले छुन्छ मुटुनेर

—परदेशमा तिम्रो सन्तान

परदेशमा मूलघर सम्झेर नेपाली रुने मात्र हैन आँसुले मन धुन्छ । आफ्नो पूर्वभूमि जस्तो हुँदैन नवभूमि । नयाँ राष्ट्रमा जति भौतिक सुख भए पनि आफन्तको मायाममता पराईको कहाँ हुन्छ र ? यो पीडा नेपालीको नियति भनौँ भने अफ्रिकाली डायस्पोरा, भारतेली डायस्पोरा, भुटानी डायस्पोरा, पाकिस्तानी डायस्पोरा र दक्षिण अमेरिकाली डायस्पोराको पनि यही नियति छ र यही डायस्पोरिक पीडाको अध्ययन र अध्यापन आज विभिन्न विश्वविद्यालयहरूमा गराइएको छ । यो ज्यान आतिथेय भूमिमा नै भए पनि मन त मूलभूमिमा नै रहिरहन्छ । यही बाध्यताको बाबजुद पनि यौटा पहिचान र उभय पहिचान पनि लिएर यौटा राष्ट्रबाट अर्को राष्ट्रमा भौँतारिने मानव मात्रको चिन्ह हो ‘पासपोर्ट’ । यो हिजको डायस्पोरा होइन आजको सञ्चार र यातायातमा विकसित नयाँ डायस्पोरा, अनेक डायस्पोराको प्रतिबिम्ब हो ‘पासपोर्ट’ ।

हामीकहाँ पहिले पहिले शिशु जन्मँदासाथ उसको कुण्डली बनाइन्थ्यो त्यस्तै आजभोलि जन्मँदासाथ उसको ‘पासपोर्ट’ बनाइन्छ र आमाको काख छोडेर शुकदेव जस्तै परदेश लाग्छ । यो आज अल्पविकसित सबै राष्ट्रमा छ । हाम्रो नेपालमा त झन् जति जन्मन्छन् अतिशयोक्ति होला प्रायः सबै गर्भदेखि नै पासपोर्ट बनाएर आउँछन् र देशान्तर लाग्छन् । यही परिवेशको पहिचानको सेतु हो यो ‘पासपोर्ट’ । हाम्रो पहिचान यसमा छ । यसलाई यो ‘पासपोर्ट’ले बोकेको छ । त्यो ‘पासपोर्ट’ हो कि हामी आफै हौँ यो छुटाउन कठिन छ ।

भाषा सरल, घटना मजदूर, महिला र अल्पसङ्ख्यकका, शैली तुकान्तक गद्य, बस्तु घरदेश र परदेशको ‘पासपोर्ट’ को विशेषता हो । कविको आत्मस्वीकृति छ ‘कविता सृजना आफ्नै मनको गहिराइमा उठेका छालहरूलाई शब्दहरूमा अभिव्यक्त गर्ने यौटा माध्यम हो ।’ अमेरिका आएर सन् २००० पछि यहाँ बस्दा यहाँ देखेका समस्या र सम्झना आएको मूलभूमिको कथा लेखेका छन् । परदेश जहाँ कवि बसेको छ त्यहाँ र त्यस परिवेशमा आएका समस्या लेख्दा चाहेर वा नचाहेर कसैले माने पनि र नमाने पनि धेरैजसो यी कविता यथार्थमा आप्रवासीयतावादी समालोचनाका वस्तुभित्र पनि पर्दछन् ।

प्रेम संग्रौलाको जन्म सन् २०५८, तेह्रथुम, आठराई, ईबा, भदौरेमा भएको हो । उनले कोलम्बिया विश्वविद्यालय, न्युयोर्कबाट स्नातकोत्तर गरेका छन् । कवि प्रेम संग्रौलाका प्रकाशित कृति यी हुन्— सुकी धुपी (खण्डकाव्य), पासपोर्ट (कवितासंग्रह) । उनी नेपालमा वि.सं २०४८ देखि २०५३ सम्म तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत थिए । विश्वबैङ्कमा अर्थशास्त्रीको रूपमा २००० सन् देखि २०२२सम्म काम गरी हाल उनी सेवानिवृत्त जीवन बिताइरहेका छन् । उनको यो नेपालभित्र र बाहिरको अर्थशास्त्रीय दृष्टिकोण नै पासपोर्ट कवितासंग्रह हो । त्यसैले गृहस्मृति, सङ्घात, द्वैध मनस्थिति, द्रव्यमुखी प्रवृत्ति, सीमान्तकृत, नारीचेतना आदि नै यसका प्रमुख विषयवस्तु हुन् ।

गृहस्मृति—

स्वच्छन्द भाकामा गाइरहने लालीगुराँस

मैले सुस्ताएको देखेँ

नेपालको सम्झनामा उसले

आफैँलाई खुम्च्याएको भेटेँ

उसको अनुहारमा मैले

प्रवासी नेपालीको पीडा देखेँ

सपना फलाउन अमेरिका आएका

आप्रवासीहरूको पिरलो भेटेँ ।

—लालीगुराँसको व्यथा

यस कवितामा आप्रवासी पीडालाई उजागर गरिएको छ ।

द्वैध मनस्थिति—

आप्रवासीको मन मूलभूमिमा हुन्छ तर शरीर भने चाहेर वा नचाहेर परभूमिमा राख्नुपरेको हुन्छ । यो द्वैधमन स्थितिको पीडा सहन अति कठिन हुन्छ । कविले त्यो पीडा पासपोर्ट कवितामा संग्रहमा उजागर गरेका छन् । यस कृतिको नाम रहेको पासपोर्ट कविताले मन र शरीरको विभाजन रेखा खिचेको छ । त्यसको यौटा अंश—

आमाको छातीमा, मातृभूमिको आँखामा

विदेशिएको सन्तान हुनुको नाम पासपोर्ट हो

आफू जन्मिएको देशमा बाँच्न नपाउनुको नाम पासपोर्ट हो

आफू बाँचेको देशलाई गर्वसाथ

आफ्नो देश भन्न नसक्नुको नाम पासपोर्ट हो ।

हो, मेरो परिचय नै पासपोर्ट हो ।

—पासपोर्ट

मुटुमा छुरा रोपे जस्तै कविले पासपोर्टलाई घोचिरहन्छन् कि त्यो पासपोर्ट नै अपराधी हो जसले मलाई आप्रवासतिर लगिरहेछ । कवि को हो ? पासपोर्ट हो । हाम्रो परिचय के हो ? पासपोर्ट हो । यो कृतिको पासपोर्ट कवितासंग्रहको नायक

को हो ? ऊ म मात्र हैन हामी हो, ऊ मात्र हैन उनीहरू पनि हो, ऊ तिमी हौ र तिमीहरू पनि हौ । ऊ एक होइन, अनेक हो । आत्मनेपदमा आएको यो अनाम नायक हो । यो नायक यस कृतिभरि परिव्याप्त छ । ऊ एक नेपाली हैन समग्र नेपाली हो, उनको पीडा हो, आप्रवासी नेपाली मात्र हैन यसले अनेक डायस्पोरा हिजआज र भोलिका र भौगोलिक (अफ्रिकन डायस्पोरा, इन्डियन डायस्पोरा, चाइनिज डायस्पोरा आदि) तथा विविध साँस्कृतिक नयाँ डायस्पोराको पीडालाई उजागर गर्दछ । यो द्वैधमस्थितिको पीडा हरेक पासपोर्टधारीमा हुन्छ तर कलाकारले कलात्मक रूपले त्यसलाई अभिव्यक्त गर्दछ र त्यसलाई सबैमा साधारणीकरण गराउँदछ । यसमा संग्रौलालाई सफलता मिलेको छ ।

नारीचेतना

‘दिदीको चिठी परदेशी भाइलाई’ यस कवितामा यद्यपि मात्र मूलभूमिमा नै छन् तापनि अप्रत्यक्ष पात्र जो परदेश छ धेरैसम्म फर्केको छैन, यस्तो धेरैको भएको छ र परदेशी पात्रको चिन्तामा यो कविता लेखिएको छ र यसमा अगिल्लो पिँढीको नारीको बालविवाह र अशिक्षाले हुनगएको नारीको पीडा र नवयुवतीहरूमा आएको अधिकार र स्वतन्त्रताको चेतनाको पनि कविताले उजागर गरेको छ । छोरीले भनेको कविताको यौटा अंश—

अब विहे गर्नुपर्छ छोरी भन्दा

आफ्नै बाबुको उदाहरण दिन्छे

मैले गरेका दुःखहरूको लाम–लस्कर लगाइदिन्छे

जागिरे छे, मजस्तो अनपढ छैन

मजस्तो निरीह पनि छैन

तिम्रा छोरीहरूको कुरा गरिरहन्छे

म त कुरा पनि बुझ्दिन

स्वतन्त्रता र मुक्तिका कुरा गर्छे

अधिकार र आधा आकाशका कुरा गर्छे

म अवाक् भएर

छोरीलाई सुनिरहन्छु ।

—दिदीको चिठी परदेशी भाइलाई

यस कविताले सरल भाषामा यौटा तीरले चारतिर हानेको छ —परदेश, स्वदेश, पुराना नारी र नयाँ नारी चेतना । हिजो बालविवाह गर्ने समस्या थियो त्यसको विरोध गर्नु त उत्तम हो तर नयाँ चेतना वा स्वतन्त्रता भनेर ३५, ४० वर्षसम्म विवाह गर्न तयार नहुनु पनि यौटा विकृति हो ।

‘विदेशको यात्रामा छ देश’ कविताको शीर्षक नै बिम्बमय छ । देशको दुर्गति र विदेश जानुको बाध्यतामाथि सुन्दर व्यङ्ग्य छ — देश त हिँड्दैन तर ऊ यात्रामा छ । त्यसको यौटा अंश—

गाउँका बुढा बाआमालाई सोधेँ

देशको खबर

उनीहरू भन्छन्

देश पैसा कमाउन विदेश गएको छ

हामी देश रुंग्न बसेका छौं ।

पराया देशमा बस्नेलाई देश फर्केर सेवा गर्ने रहर त छ तर बाध्यताले त्यो इच्छा पूरा हुन्न ।

‘पासपोर्ट’जस्तै ‘सुकी धुपी’ (खण्डकाव्य)मा पनि गुँडबाट परदेश लाग्ने पात्र र फर्केला भन्ने अशापासमा मरेकी जीवन सँगी र सँगिनीमा वियोगान्त कथा बुनेका छन् ।

गृहस्मृति, सङ्घात, द्वैध मनस्थिति, द्रव्यमुखी प्रवृत्ति, सीमान्तकृत, नारीचेतना आदिका स्मरणीय नमूना यो कविता सङ्ग्रहमा छन् । यसबाहेक पनि धेरै कुरा यसभित्र छन् । जति व्याख्या गर्‍यो उति कम हुन्छ । ऐलेलाई यत्ति मात्र ।

संस्थापक अध्यक्ष, अनेसास केन्द्र,

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.