गमलामा मायाले रोपेको
गुलाफको बुटोलाई सधैँ पानी हाल्छु
जैविक मल दिइरहन्छु
पर्याप्त घाम पनि नियमित पाइरहेको छ
तर पनि यो बढेको छैन
जसरी गाँजिन्छ माटोमा रोप्दा ।
एकदिन साउती मार्दै सोधेँ "तँ किन बढ्दैनस् ?
केही थप दिनुपर्छ कि
जसरी साहबहरूले टेबलमुनिबाट लिने गर्छन्, त्यस्तै केही ?"
यसले जवाफ फर्कायो "मलाई गमलाबाट मुक्त गर,
मलाई चाहिन्छ खुला सास ।"
हाम्रो जस्तै यो पनि जीव हो
चाहन्छ खुला आकाश
निर्मल चङ्गा हावा ।
अब कहाँबाट ल्याइदिऊँ यसका आवश्यकताहरू ?
मानिसका लागि पृथ्वी सानो भइसक्यो ।
यो भूमिबाट गमलामा बस्यो
तर हामी चन्द्रमातिर लम्कँदै छौँ ।
म जाने दिन यसलाई पनि सँगै लैजानेछु ।
मूल असमीया कविता: मनिका टेरनपी
अनुवाद: डा. देवेन सापकोटा

