साहित्यपोस्ट डट कम

पर्या-कविता : दोहन

पर्या-कविता : दोहन

चिथोरेर-

पहाडका छातीहरू

दोहनमा अभ्यस्त छन्

भोका हातहरू

निमोठेर-

ताल, तलैया र सिमसारका जरा

रोपिएको छ कङ्क्रिटको जङ्गल,

जहाँ माटोले सास फेर्न पाउँदैन

माइकेनिया झारझैँ

उम्रिएका छन्

लोभी आकाङ्क्षाहरू ।

खडेरीले चिरा–चिरा परेर रोइरहेछ्न्

काकाकुल खेतका गराहरू

बाटो बिराएर उन्मत्त साँढेझैँ

दौडिन्छन् नदीहरू

नाफा–घाटाको नक्सा हेर्दै

क्लाउड कन्ट्रोल सेन्टरबाट

कृत्रिम वर्षा गराउँछ

एउटा बहुराष्ट्रिय कम्पनी

डिजिटल स्क्रिनमा गाडेर आँखा

नाप्छ पानी, हेर्छ हावाको गति

मौसम विज्ञान ।

कला, साहित्य र दर्शनका बाजा

एल्गोरिदमले बजाइरहेछ

बोकेर डाटाको भकारी

दिन्छ अर्ती,

कृत्रिम बुद्धिजीवी

कब्जा गरेर प्रकृतिका खजाना

उत्सव मनाइरहेछ पुँजीवाद ।

रित्तो छ, क्यानभासको आकाश

सङ्गीतमा मुटुको धड्कन छैन

फूलमा सुगन्ध हराएको छ,

छैन प्रेममा आत्मिक गहिराई

नशाभित्र बगेको छ रसायन,

ओइलाएको छ,

अक्सिटोसिनको फूल,

टुटेको छ

सेरोटोनिनको धागो,

डोपामाइनको इन्जेक्सनले

फिस्स मुस्कुराएर

भर्चुअल दुनियाँमा रमाउँदै

हिँडिरहेका छन्

अर्ध–यान्त्रिक मान्छेहरू।

हामीले कहिल्यै बुझेनौँ

कर्‍याङकुरुङका भाषा,

भ्यागुताको सङ्गीत

कुन दिशातिर बसाइँ सरे

चमेराका बथानहरू

हामीले ख्यालै गरेनौँ ।

न्यानो काख खोज्दै

दूर देशबाट

आकाश नाप्दै आउने

साइबेरियन पाहुनाहरू

आजकल किन आउँदैनन्

बास बस्न

मेरो घरको मझेरीमा ?

जुनकिरीले आँगनमा

गीत गाउन छोडेको छ,

आँखा जुधाउन आउँदैनन्

लाटोकोसेरोका जोडीहरू

प्रविधिको विजयसँगै

हराएको छ प्रकृतिको लय

ताराहरूको बाटो खनेर

ग्रहमा अवतरण गर्नु मात्र

विजय होइन-

जोगाउनु छ

आकाशको नीलोपन,

समुद्रको नुनिलो पानी

बनाउनु छ पृथ्वीलाई न्यानो घर ।

याद राख-

जब खलबलिन्छ प्रकृतिको लय

विनाश बोकेर एक दिन आउने छ प्रलय

गाउने छ मृत्युको गीत ।

हेटौंडा , राष्ट्रिय पर्याकविता उत्सव-२०८२ मा प्रथम पुरस्कार प्राप्त कविता ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.