साहित्यपोस्ट डट कम

पर्या कविता : वृक्ष बकुल

पर्या कविता : वृक्ष बकुल

‘कविता लेखेर
के रुखलाई जीवित राख्न
सकिन्छ र ?’ 

भन्दै कुर्सीले मलाई
कोमलतापूर्वक काखमा
राख्यो
अनि धूम्रपान गर्न लाग्यो सुस्केराको बिँडी ।
भावनामा भताभुङ्ग भएको छ शरीर
मानौँ सङ्गी गुमाएको प्राचीन क्रौञ्च पक्षी हो ऊ
निस्तब्ध मौन सनातनी
प्रकृति ।

भोकको भातभन्दा पनि
प्रिय रङको चोलोभन्दा पनि
नजिक
वेदको मन्त्रभन्दा पनि
पवित्र

आमाको सारीमा कुँदिएको नक्षत्र
जुन सर्वश्रेष्ठ हातको सुगन्धित आशीर्वाद
बकुलको वृक्षले जीवनको बहुभुजी मेलामा
फेर्न पाएन सास ।
त्यसअघि नै
इँटाभट्टाको जिब्रोले
चाटेर बनायो समाधिस्थल।
तैपनि प्रतिवादमुखी भएनन्
जङ्गलका गोरेटाहरू
साना-ठूला मानिसका स्वागत कक्षहरू
चोट खाएको ढुकुर जसरी केवल सोच्ने गर्छु
रूपकथाका देवीका जसरी
दुईभन्दा बढी हात भएका भए
जराले गुमाउने थिएन होला रूप-सुवासको सुरक्षा
जसको कण्ठमा थियो केवल प्रार्थना ।

ऊ मेरो गर्भको भूगोल हो
श्वासको पितृ ।
नर-नारीको परम्परागत
धारणाको सट्टा
समलिङ्गी श्वासमा पालन
गरेको थियो
उत्तरपुस्ताको अरण्य-सुगन्ध ।

जहाँबाट उभिँदा सूरज देखिन्थ्यो
त्यसैको एक पङ्क्तिमा
थियो ऊ
घर-गृहस्थी, हतुवा-पतुवा दुई-चार लिई
आँखामा सूरजको बराबर
उज्यालो
ऊ थियो करङे हड्डीमाथिबाट उम्रिएको
यातना भूमिमा ढिस्काहरूको
सञ्जीवनी औषधि
पृथ्वीको बुभुक्षा अक्सिजन
शून्यतामा खेप्ने भूमिको काखमा खेलिरहने सान्त्वना ।
आफूले नलिई मलाई दिएको
थियो पूजाका फूल

गाँसैप्रति अमृत
त्यसैले बिदाइको विरहमा पलङ
माथि लम्पसार म
स्मृति र झ्याल सम्मुखमा इच्छाको एक ओठ ।
मलिलोपन गुमेको मरुतीरमा
मेघदूतका हातले फेरि रोपी
जाऊन्
पङ्क्तिबद्ध आशीर्वादका
बकुलहरू

पढिरहेको छु वर्षाको
वर्णमाला
अनि कीर्ति नाश गर्ने कीट वधको
श्लोक !

 

मूल असमिया पर्या कविता: मिन्टुल हाजरिका

अनुवाद: डा. देवेन सापकोटा

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.