साहित्यपोस्ट डट कम

पार्वती भट्टको ‘शीतको समुद्र’ लोकार्पण

पार्वती भट्टको ‘शीतको समुद्र’ लोकार्पण

काठमाडौं । मुक्तककार पार्वती भट्टको दोस्रो कृति ‘शीतको समुद्र’ लोकार्पण गरिएको छ ।

साहित्यिक पत्रकार सङ्घले अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा कृति लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. तुलसीप्रसाद भट्टराईलगायतले कृति सार्वजनिक गर्नुभएको थियो ।

लोकार्पित कृतिमाथि समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै सङ्ग्रहमा समेटिएका मुक्तक प्रभावशाली रहेको बताउनुभयो । मुक्तक विधामा निरन्तर साधनारत भट्टलाई यस कृतिका आधारमा नेपाली साहित्यकी महत्त्वपूर्ण मुक्तककारका रूपमा लिन सकिने उहाँको धारणा थियो । उहाँले नेपाली मुक्तकको विकासक्रमबारे पनि चर्चा गर्नुभयो ।

मुक्तककार भट्टले साहित्यप्रतिको रुचि आफूमा वंशानुगत रूपमा आएको बताउँदै परिवार, आफन्त तथा साहित्यकारहरूबाट प्राप्त ऊर्जा र उत्प्रेरणाका लागि आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, सङ्घका अध्यक्ष लेकाली, विशिष्ट अतिथि ज्ञानुवाकर पौडेल, प्राज्ञ विवश पोखरेल, सङ्घका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठ तथा कृतिकार भट्टले मन्तव्य राख्नुभएको थियो ।

कृतिकी प्रकाशक तथा क्यानडाबासी रेडियोकर्मी प्रीति भट्टले भरतनाट्यम नृत्य प्रस्तुत गर्नुका साथै ‘आमा’ शीर्षक कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा कृतिकारका दाजु केशवराज भट्ट र श्रीमान् डा. मोहनप्रसाद भट्टले पनि मन्तव्य राख्नुभएको थियो ।

कवि गोकुल अधिकारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा कवि सीता आस्था ढुङ्गेल र मीना चौलागाईंले ‘शीतको समुद्र’बाट दुई–दुई मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण कवि मुरारि सिग्देलले गर्नुभएको थियो ।

कार्यक्रममा सांसद मनु विश्वकर्मा, साहित्यकार पुष्कर लोहनी, हिरण्यकुमारी पाठक, भागीरथी श्रेष्ठ, कलानिधि दाहाल, शंकर भारती, शेखर ढुङ्गेल, डा. भरत भट्टराई, सुनिल अधिकारी, ममता मृदुल, राजेन्द्र के.सी., बादल घिमिरे, उषा के.सी., रमेश दाहाल, ज्ञाननिष्ठ ज्ञवाली, पवन बुढाथोकी, निलाञ्जना भारद्वाज, दिलानन्द जोशी, डी.आर. राई, नीरा श्रेष्ठ, दुर्गाकिरण तिवारी, तारा सुवेदी, सानुराजा अञ्जान, सरला पोखरेल ‘सरु’, अविकेशर ओली, रेणुका भट्ट र करिष्मा कुँवरलगायतको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.