साहित्यपोस्ट डट कम

‘परिधि’को परिधि मापन सम्भव छ ?

‘परिधि’को परिधि मापन सम्भव छ ?

नेपाली साहित्यको भीडमा ‘परिधि’लाई जति चर्चा मिल्नुपर्ने थियो, त्यति हुन नसक्नु आफैँमा एउटा साहित्यिक सिन्डिकेटको पक्षपातको उदाहरण हो । किनकि साहित्यिक संसारमा अझै पनि पुरुषवादी दृष्टिकोणको सिन्डिकेट देखिँदो, नदेखिँदो, दुवै स्वरूपमा बलियो छ । असली साहित्यिक मूल्याङ्कनभन्दा सामाजिक संरचना ,साहित्यिक संस्थाका नाइकेहरू अनि शक्ति–केन्द्रको प्रभाव अझै प्रबल रहको यथार्थलाई फेरि एकपटक उजागर गरिदिन्छ ।

१. लेखन र संरचनाको स्तर– परिधि एक नाट्य अनुभव

उमा सुवेदीको लेखनले सृजना गरेको संसार सिर्फ कथानक होइन, एक नाट्य–अनुभूतिको जीवन्त मञ्च हो । पढ्दै जाँदा पाठक कुनै पुस्तकसँग होइन, एक थिएटरमा बसेर थिएटरभित्र चलिरहेको सामाजिक मनो–नाटक हेरे झैँ अनुभूति गर्छ ।

कथाको लय,दृश्य र संवादको उचाइ— जोन ल क्यारे र डोना टार्टको थ्रिलर शैलीको उपन्यासहरूको सूक्ष्म बिम्बलाई सम्झाइदिन्छ ।

यसरी परिधिले अंग्रेजी र हिन्दी साहित्यमा पहिल्यै परिपक्व भइसकेको आधुनिक शिल्प नेपाली भाषामा स्थापित गरेको आभास दिन्छ ।

२. पात्रहरू ‘मान्छे’ भित्रको मान्छेको उद्घाटन

आर्या र अस्मिता नाट्यकर्मी र न्यायाधीश यी दुई पात्रहरूको वरिपरि कथा भरिएर बग्छ । पूर्वा, बिम्ब, सोफिया, सारा, अभयसुन्दर आकस्मिक रूपमा देखा पर्ने तर अर्थपूर्ण तरिकाले मिसिने पात्रहरूले जीवनको विखण्डित सत्यलाई जोडेर एक सम्पूर्णता दिन्छन् ।

उमा सुवेदीले अन्तर्मन र बाह्य स्वरूप, दुवै तहलाई अत्यन्त कलात्मक रूपमा उजागर गरेकी छन् । पात्रहरूको सांस्कृतिक, मानसिक र संवेदनात्मक परत यति सूक्ष्म छ कि पाठक आफैँ भित्रको परतसँग टकरिन्छ ।

३. सामाजिक यथार्थ र वर्ग चेत – पैसा, शक्ति र कला

पुस्तकले कठोर सत्य उजागर गर्छ । धनाढ्य वर्गले पैसाको आडमा कविता, साहित्य, चित्रकला सबैलाई ‘पहुँचको खेल’ बनाइदिएको विकृति । जब कला साधना नभई सामाजिक प्रतिष्ठाको लालची बन्छ, त्यो समाज सृजनात्मक रूपमा खोक्रो बन्छ । अहिले पनि पैसाको भरमा अरूले लेखेको पुस्तक निकाल्नेहरूको भीड छ बजारमा भन्दा अनौठो मान्न छाडिसकेको छ समाज ।

यसै विरुद्ध परिधि ले प्रस्तुत गरेको प्रश्न गरीबको भागमा उज्यालो किन पर्दैन ? न्याय किन पर्दैन ? न्याय किन वर्गीय प्राथमिकताको विषय बन्छ ? यी प्रश्नहरू सिर्फ साहित्यिक, न्यायिक होइनन्, अस्तित्ववादी पनि छन् ।

४. न्याय र न्यायालय— अस्तित्वको अँध्यारो गल्ली

पुस्तकले उठाएको सबैभन्दा तिखो, दार्शनिक र राजनीतिक प्रश्न— न्याय किन पीडितको पक्षमा हुन सक्दैन ? न्यायको कुर्सीमा बस्ने मान्छे किन निर्मम बन्छ ? संविधानका धाराहरू किन मौन रहन्छन् ? अदालतको ढोकासम्म पुग्दा अन्याय बोध गर्ने मान्छे भित्र छिरेपछि किन कठपुतली बन्छन् ?

यी प्रश्नहरू सिर्फ कथाका प्रश्न होइनन् मानव सभ्यताको सबैभन्दा पुराना र गहिरा गहकिला अनि कठोर प्रश्न हुन् । न्याय र सत्ताको सम्बन्ध सधैँ प्रश्नको गर्भमै हुर्किन्छ, र परिधि यही गर्भको अँध्यारो उजागर गर्न खोज्छ ।

५. शैलीगत बल— शब्दजाल, द्वन्द्व, प्रवाह

उमा सुवेदीको लेखन शब्दजालमा मात्र होइन, प्रतिकथाहरूको गहिरो संयोजनमा बलियो छ । घटनाहरू एकअर्कालाई टक्कर दिँदै फेरि जोडिन्छन्, र पाठकलाई निरन्तर ‘अब के हुन्छ ?’ भन्ने मानसिक यात्रामा धकेलिरहन्छ ।

पहिलो–दोस्रो अध्यायमा अलिक द्विविधा लागे पनि झैँ–झैँ त्यही तपाईँको मनो–इन्द्रिय लेखकले सिर्जना गरेको सतह भेटेर भित्र पसिसकेपछि किताब छोड्न सकिँदैन ।

६. पुरुषवादी समाज र स्त्री विमर्श— शब्दमा विद्रोह

लेखकले पुरुषवादी ढाँचामा गहिरो व्यंग्य वा प्रश्न उठाएकी छन् । यहाँ स्त्री पहिचान ‘शिकायत’ होइन, चेतना बनेर प्रस्तुत हुन्छ । यस कारण ‘परिधि’ नारीवादको चिच्याहट होइन— नारी अनुभूतिको गहिरो, दृढ र शान्त प्रतिरोध बन्न पुगेको छ ।

७. निष्कर्ष— परिधिको परिधि मापन सम्भव छ ?

कमर्शियल प्रेमकथामा रमाउने पाठकलाई शायद परिधि गहिरो नलाग्न सक्छ । किनकि यो पुस्तक मनोरञ्जन अनि व्यावसायिक सफलताका लागि मात्र लेखिएको होइन भन्ने समीक्षकको धारणा छ । पुस्तक व्यथा, न्याय, अस्तित्व, वर्ग र पहिचानको जटिल खोजमा यात्रारत छ । तर प्रश्न उभिन्छ – नेपाली साहित्य जगतले परिधिको परिधि मापन गर्न सक्ला कि नसक्ला ? एक नारी सर्जकको लेखनलाई सही मूल्याङ्कन गर्न सक्ला कि नसक्ला ?

मेरा दृष्टिमा यो पुस्तक लेखन, संरचना, पात्र–निर्माण र दार्शनिक तत्त्व बोधका आधारमा सर्वोत्कृष्ट पुरस्कारको दाबेदार बन्न योग्य छ । यसको लेखन कलात्मकताले नेपाली साहित्यको सिमाना विस्तार गर्ने सामर्थ्य राख्दछ ।

‘परिधि’ केवल पुस्तक होइन यो एक सामाजिक, दार्शनिक र मनोवैज्ञानिक लडाइँ हो, जसले पाठकलाई आफ्नै जीवनका अदृश्य परिधिहरूतिर डोर्‍याउँदै मथिङ्गलमा साहित्यिक भूकम्प महसूस गराउँछ । नेपाली साहित्यमा उनको कलम चलिरहोस्—ब्रह्माण्डझैँ, अन्तहीन ।

लेखकको कृतिले ब्रह्माण्ड घुमोस् । नेपाली साहित्यको जय होस् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.