काठमाडौं । साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको नवीनतम कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ लोकार्पण गरिएको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधान, डा. हरिप्रसाद सिलवाल, श्रीरामसिंह बस्नेत, केशव पराजुली, छविरमण सिलवाल, शंकर भारती तथा स्रष्टा पराजुलीलगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।
कृतिमाथि टिप्पणी गर्दै प्रमुख वक्ता प्रमोद प्रधानले पराजुलीका कथाले हिमाली जनजीवन, भूगोल र सामाजिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पराजुलीका कथाले हिमाली क्षेत्रका मानिसका दुःख र जीवनलाई समेटेका छन् । कथाले भूगोल र त्यहाँको अवस्था बुझ्न सघाउँछ ।”
समालोचक डा. हरिप्रसाद सिलवालले कथासङ्ग्रहले पराजुली नियात्रामा मात्र नभई कथामा पनि सशक्त सिर्जना गर्न सक्षम रहेको पुष्टि गरेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कथासिद्धान्तको कसीमा हेर्दा पनि कथाहरू दमदार छन् ।”
सञ्चारकर्मी तथा लेखक श्रीरामसिंह बस्नेतले पराजुलीका कथाको मूल आधार यात्रा रहेको उल्लेख गर्दै उहाँका कथामा आञ्चलिकता प्रभावकारी रूपमा आएको बताउनुभयो ।
कार्यक्रममा कथाकार पराजुलीले कथा लेखनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कथा लेखनप्रतिको आफ्नो दृष्टिकोणबारे उहाँले भन्नुभयो, “कथा पढ्दा त्यसमा परिवेश, भूगोल, जनजीवन र संस्कृतिजस्ता पक्षहरू आउनुपर्छ ।”
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव प्रदीप सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

