स्याङ्जा । युवा लेखक तथा पत्रकार वसन्त पराजुली को ‘बखान’ उपन्यासमाथि स्याङ्जाको वालिङ मा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट, वालिङ बजारमा आयोजित कार्यक्रममा उपन्यासको विषयवस्तु र ऐतिहासिक सन्दर्भमाथि गहन छलफल गरिएको थियो । ‘बखान’ उपन्यास प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङ को जीवनमा आधारित रहेको छ । उपन्यासले चितवन क्षेत्रको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक यथार्थलाई सशक्त ढङ्गले प्रस्तुत गरेको छ ।
कृतिमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीर ले ‘बखान’ केवल जीवनीमूलक कृति मात्र नभई एउटा ऐतिहासिक कालखण्डको दस्तावेज भएको बताउनुभयाे । उहाँका अनुसार उपन्यासमा सात सालको क्रान्ति, त्यस समयको जनजीवन, सहकारी आन्दोलन, चितवनको बस्ती विकास र नेपाली कांग्रेस को इतिहासलाई समेत समेटिएको छ । साथै कृतिमा पर्यावरणीय चेतनाको पक्ष पनि उजागर गरिएको उहाँले उल्लेख गर्नुभयाे ।
कार्यक्रममा लेखक पराजुलीले ऐतिहासिक तथ्य र घटनाक्रमलाई आधार बनाएर जोखिम उठाउँदै उपन्यास तयार पारेको बताउनुभयाे । उहाँले चितवनको विकास, सहकारी स्थापना तथा त्यहाँको राजनीतिक परिवर्तनमा बखानसिंह गुरुङले पुर्याएको योगदानलाई कृतिमा समेट्ने प्रयास गरेको बताउनुभयाे ।
त्यसैगरी यामबहादुर कुँवर ले बखानसिंह गुरुङको योगदानको चर्चा गर्दै त्यस्तो व्यक्तित्वलाई साहित्यमा उतारेकोमा लेखकलाई धन्यवाद दिनुभएकाे थियाे ।
कार्यक्रमको सहजीकरण कवि तथा निबन्धकार शम्भु अर्याल ले गर्नुभएकाे थियाे ।
पत्रकारिता क्षेत्रमा सक्रिय पराजुली नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्षसमेत हुनुहुन्छ । उहाँका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रीमी आइज’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

