ऋषि वस्ताकोटी समकालीन नेपाली कवि, गजलकार र मुक्तककार हुन् । क्यानडाको क्यालगेरी विश्वविद्यालयबाट क्यानडा सरकारको प्रतिष्ठित भ्यानियर छात्रवृत्तिसहित वातावरणीय नीति विषयमा विद्यावारिधि गरेका बस्ताकोटी हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञका रूपमा कार्यरत छन् । सरल भाषामा सुन्दर बिम्बहरूको प्रयोग गरी गम्भीर विषय उठाउनु बस्ताकोटीको लेखनको प्रमुख विशेषता हो । जीवन दर्शन, प्रकृतिप्रेम, प्रवास, विसङ्गतिप्रतिको व्यङ्ग्य र सामाजिक न्याय उनका कविताका मूल स्वर हुन् ।
कवि ऋषि बस्ताकोटीको पानीको रङ (२०८१) लोकप्रिय कवितासङ्ग्रह हो । वस्ताकोटीका कवितामा प्रकृतिप्रेम, पर्यावरणीय चेतना र मानवीय अनुभूति देखिन्छ । यस सङ्ग्रहमा प्रकृतिका सुन्दर पक्षको चित्रण गरिएको छ । उनको यो कृतिमा प्रकृति, जीवनदर्शन, सामाजिक विसङ्गति र मानवीय संवेदनाका विषयहरू प्रमुख रूपमा प्रस्तुत भएका छन् । पर्यावरणीय चेतनालाई कवितामार्फत व्यक्त गर्ने नेपाली सर्जकहरूलाई “पर्या कवि” भनिन्छ । यस सन्दर्भमा ऋषि बस्ताकोटीलाई समकालीन नेपाली साहित्यमा प्रकृति र पर्यावरणप्रतिको संवेदनशील आवाजका एक प्रतिनिधि कविका रूपमा चिनिन्छ । उनका कविताहरूमा प्रकृतिप्रेम, पर्यावरण संरक्षणको चेतना र मानव–प्रकृति सम्बन्धको गहिरो अनुभूति पाइन्छ । उनका काव्यमा प्रकृति, जैविक विविधता, पृथ्वीको संरक्षण, तथा मानवीय लोभका कारण भइरहेको वातावरणीय विनाशप्रति चिन्ता व्यक्त गरिएको हुन्छ । विदेशी भूमिलाई लामो समयदेखि कर्मथलो बनाइरहेका ऋषि बस्ताकोटीको यो पहिलो कवितासङ्ग्रह हो ।
कवितासङ्ग्रहभित्र छिर्दा शीर्षकले नै पर्या, प्रकृति र जराप्रतिको प्रेमले ओतप्रोत भएका कवि हुन् भन्ने अनुभूति दिलाउँछ । यस कृतिभित्र चालीस वटा कविता संग्रिहित छन् । जसमा कविताक्रममा पहिरो, बादलका बुट्टाहरू, मेरो चेपे खोला, हामी बलरामहरू, फूलमायाको गाउँमा, झिँगाहरू, उदाउँदै गरेको जूनको कुरा, भ्यागुताहरू, कर्फ्यू लागेको साँझ, उन्मुक्तिको गीत, म त अझै तपाईं जस्तै छु, सहिदको सम्झनामा, यसपालि वसन्तमा, किर्नाहरू, म्यादीमाइला, गतिशीलता, साँढेहरू, मेरा बा, मेरो छोरो, तिम्रो मायामा, तिम्रो जन्मदिनमा, समय–रेखामा हामी, आमा घर हो, मूल्यको उचाइ, पर्खाल, भित्ता र हामी, जिन्दगीमा, मृगतृष्णा, भर्याङ्: एक शब्दचित्र, यसपालिको युद्धमा, सूर्यबहादुर तामाङ, तिमी गएपछि, नामका कुरा नगर भाइ, आप्रवासी रामप्रसाद, पानीको रङ, शिल्पीले छोएपछि, मूर्ति, खोलासँग, एक्ले बर, बाका जुत्ता, गाउँको बाटो शीर्षकका रहेका छन् । पर्यावरणका विषयमा लेखिएका कविताहरूमा पहिरो, मेरो चेपे खोला, उदाउँदै गरेको जूनको कुरा भ्यागुताहरू, झिँगाहरू, यसपालि वसन्तमा, यसपालिको युद्धमा खोलासँग, एक्ले बर, बाका जुत्ता, गाउँको बाटो शीर्षकका रहेका छन् । ‘पानीको रङ’ कवितासङ्ग्रह आकारमा सानो छ तर यसले सूक्ष्म तरिकाले गहकिलो विषयवस्तु उठाएको छ । झिँगा, भ्यागुता, साँढे, किर्नालाई प्रतीक बनाएर कविले वर्तमानको अस्तव्यस्त अवस्था व्यवस्थामाथि प्रहार गरेका छन् ।
ऋषि बस्ताकोटीका कवितामा पर्यावरणीय चेतना – प्रकृति संरक्षणको सन्देश उनका कविताको मूल आधार हो । उनको पर्यावरणीय अधिक चेतना भएको कविताहरूमा पर्याप्रेमलाई यसरी अभिव्यक्त गरिएको छ:
पहिरो भनेको भत्कनु हो
यो विनाशको संसारमा पहिरो जहाँ पनि जान्छ
वनमा जान्छ,
मनमा जान्छ,
यौवनमा जान्छ
र जीवनमा जान्छ (पृ.१)
बादलका बुट्टाहरू
– कतै राक्षस बनेर उठ्थे
कतै देवता बनेर उठ्थे
बादलका बुट्टाहरू
पूर्वबाट उठून् कि पश्चिमबाट
उत्तरबाट फैलियून् या दक्षिणबाट
आपसमा मिले भने
रणसङ्ग्राम मच्चाउँथे–दुन्दुभि मच्चाउँथे । (पृ.३)
मेरो चेपे खोला
समयका अनन्त कालखण्डहरूमा
अविरल समयहरू बगेको छ
मेरो चेपे खोला (पृ.५)
पानीको मूल सुकेका बेला
जराले भुइँ टेके पनि
चिस्यान भेटेको छैन कुनै बोटले
जीवनमा हरियाली आउने गरी
तिर्खा मेटेको छैन कुनै बोटले ! (पृ.२७)
पर्यावरणीय चेतनाको अर्को पक्ष प्रकृतिप्रेम वन, नदी, पहाड, चराचुरुङ्गी आदिप्रति गहिरो आत्मीयता देखिन्छ । उनले पर्यावरणलाई हजुरआमाको संस्मरणसँग जोडेर यसरी प्रस्तुत गरेका छन्ः
उहिल्यै
हजुरआमा मायाले सुमसुम्याउँदै
‘ल है बाबा’ गाउनुहुन्थ्यो
घरी बादलका बुट्टाहरू देखाउनुहुन्थ्यो
बादलका बुट्टामा हजुरआमा
कहिले महाभारत बनाउनुहुन्थ्यो
कहिले रामायण सुनाउनुहुन्थ्यो ।(पृ.३)
समय आएपछि
फुल्न त फुल्लान् फूलहरू
प्रतिकूलतासँग पौठेजोरी खेल्दै
तर
पुराना सन्त–महन्तहरूको
नक्कली नयाँ गीतमा
खै कस्तो फूल मगमगाउला यसपालि
सुकेका जरामा उभिएर
कस्तो वसन्तको हरियाली छाउला यसपालि ! (पृ.२७)
मानव–प्रकृति सम्बन्धले मानिस र प्रकृतिबीचको सहअस्तित्वलाई जोड दिन्छ । कवि बस्ताकोटीका कवितामा प्रकृतिलाई जोगाएर नै मानवको विकास र जीवन रहने भएकाले तिनलाई परिपूरक वस्तुका रूपमा प्रस्तुत गरेका छन् :
समयका कल्र्याङकुर्लुङ धर्साहरूमा
अहिले आफ्नै आकृति हेर्दा यस्तो लाग्छ–
अब न तिमी, तिमी जस्तो रहिरह्यौ
न म नै, म जस्तो भइरहेँ
जीवनशास्त्रको अनौठो अङ्कगणितमा
एकमा एक जोडेर फेरि ‘एक’ भयौं
न तिमी, न म
हामी केवल ‘हामी’ भयौं
हामी आफ्नै मार्गमा
आफ्नै आदेशमा हिँडेका यात्रीहरू
हामी आफ्नै सीपमा
आफैँले कोरेका आकृतिहरू ।(पृ.५१)
जीवनको उज्यालोमा
रङ्गीन रहरहरू बोकेर
अझै म
घरभन्दा पर–पर हिँडिरहेछु
जहाँ गए पनि
जे भए पनि
त्यही आफ्नो थरले चिनिइरहेछु
त्यही घरले
त्यही थरले त
आज म ‘म’ भइरहेछु ।(पृ.५३)
प्राकृतिक विनाशप्रति विरोध र तिनको संरक्षणका बारेमा कवि निकै सचेत छन् । वन विनाश, प्रदूषण र विकासका नाममा भइरहेको प्रकृति दोहनप्रति कविको आलोचनात्मक चेत रहेको पाइन्छ ।
पहिरो भनेको भत्कनु हो
यो विनाशको संसारमा पहिरो जहाँ पनि जान्छ
वनमा जान्छ,
मनमा जान्छ,
यौवनमा जान्छ
र जीवनमा जान्छ (पृ.१)
पानीको मूल सुकेका बेला
जराले भुइँ टेके पनि
चिस्यान भेटेको छैन कुनै बोटले
जीवनमा हरियाली आउने गरी
तिर्खा मेटेको छैन कुनै बोटले ! (पृ.२७)
पानीको रङ– सङ्ग्रहको यो प्रतिनिधि कविताले पानीको रङमार्फत समाजको बदलिँदो स्थिति र पर्यावरणीय प्रदूषण दुवैको यसरी गहिरो चित्रण गरेको छ ।
पहिले–पहिले
बाका पालामा
बाजेका पालामा
मेरो गाउँको खोलामा
मेरो सहरको नदीमा
आज जस्तै गरी पानी त बग्थ्यो
माथिबाट तलतिरै बग्थ्यो
उति बेला पनि
अहिले जस्तै
बग्ने त पानी नै थियो
बग्ने त तलतिरै थियो
तर उति बेला पानीको रङ अर्कै थियो (पृ.७४) ।
कविले पानीको रङलाई समाजमा रहेका मानिसहरूको मानसिकता र विचारमा आएको विकृति र प्रदूषणसँग तुलना गरेका छन् । अहिलेको समयमा पानी र मान्छे दुवैमा देखापरेको अस्वाभाविक रङको चित्रण गरेका छन् । उनी एक मानवीय दृष्टिकोण र पर्यावरणविद्को दृष्टिकोणबाट पुराना दिनहरू जहाँ पानी र समाज दुवै निर्दोष र शुद्ध थिए, त्यो पुनर्स्थापना होस् भन्ने कामना गर्दछन् । सरल र भावपूर्ण भाषाका दृष्टिले हेर्दा उनका कविताहरू सामान्य पाठकले सजिलै बुझ्ने खालका हुन्छन् । ऋषि बस्ताकोटीका कविताले नेपाली साहित्यमा वातावरणीय चेतनालाई सशक्त बनाएको मानिन्छ । उनले कवितामार्फत् समाजलाई प्रकृतिप्रति जिम्मेवार बन्न प्रेरित गरेका छन् । त्यसैले उनी पर्यावरणीय साहित्यका महत्त्वपूर्ण प्रतिनिधि कवि मानिन्छन् । समग्रमा भन्नुपर्दा ऋषि बस्ताकोटी विषयवस्तुलाई निकै मिहिन ढङ्गले केलाएर लेख्ने संवेदनशील कवि हुन् । उनका कविता पर्या प्रेममा मात्र सीमित नभएर उच्च पर्या–संरक्षण चेतनाले ओतप्रोत कविता छन् ।

