साहित्यपोस्ट डट कम

पलेँटीमा यसपटक दुर्गा खरेल प्रस्तुत हुने

पलेँटीमा यसपटक दुर्गा खरेल प्रस्तुत हुने

काठमाडौं । नेपालयको ‘आर’शालामा हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा यसपटक दार्जिलिङका चर्चित गायक तथा संगीतकार दुर्गा खरेल प्रस्तुत हुनुहुने भएकाे छ ।

झन्डै दुई दशकदेखि सञ्चालन हुँदै आएको पलेँटी कार्यक्रम नेपाली साङ्गीतिक क्षेत्रमा लोकप्रिय लघु सांगीतिक मञ्चका रूपमा परिचित छ। ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ जस्ता चर्चित गीतमार्फत स्थापित खरेलले यसपटक बाल्यकालदेखि सुनेका र मनमा बसेका पुराना मेलोडीहरू प्रस्तुत गर्नेछन्। कार्यक्रममा पलेँटीकी कण्ठ–शिल्पी अभिज्ञा घिमिरेको पनि प्रस्तुति रहनेछ।

गोपाल योञ्जनको सान्निध्यमा हुर्किनुभएकाे खरेलले अम्बर गुरुङ, जितेन्द्र बर्देवा, शान्ति ठटाल र कर्म योञ्जनलगायत स्रष्टाहरूका सिर्जनाबाट प्रभावित संगीतहरू यसपटकको कार्यक्रममा समेट्ने बताउनुभएकाे छ ।

कार्यक्रम संयोजक आभासका अनुसार पुराना तर स्वरांकित हुन नसकेका साङ्गीतिक रचनालाई संरक्षण र प्रवर्द्धन गर्नु पलेँटीको मुख्य उद्देश्य हो। यसपटक दार्जिलिङका पुराना सृजनालाई विशेष रूपमा प्रस्तुत गरिनेछ।

खरेलले यसअघि पनि पलेँटीमा प्रस्तुति दिइसकेको स्मरण गर्दै यसपटकको कार्यक्रम आफ्नो व्यक्तिगत स्मृति र सांगीतिक यात्रासँग जोडिएको विशेष प्रस्तुति हुने बताउनुभएकाे छ ।

कार्यक्रम यही मार्च महिनाको अन्तिम शुक्रबार र शनिबार (२७ र २८ तारिख) आयोजना हुनेछ। कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्ने दर्शकका लागि अनलाइनमार्फत Pay-Per-View को व्यवस्था पनि गरिएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.