साहित्यपोस्ट डट कम

पलेँटीमा गीतकार शिवशंकर थापाका कालजयी गीत गुञ्जिने

पलेँटीमा गीतकार शिवशंकर थापाका कालजयी गीत गुञ्जिने

काठमाडौं । नेपालयको ‘आर’शालामा प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक अग्रज गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुनेभएकाे छ ।

करिब दुई दशकअघिदेखि सञ्चालन हुँदै आएको ‘पलेँटी’ कार्यक्रममा झापाको विर्तामोडमा बसोबास गर्दै आउनुभएकाे गीतकार थापाका चर्चित रचनाहरूलाई कण्ठ–शिल्पीहरूले मञ्चमा जीवन्त बनाउनुहुनेछ ।

थापाका शब्दमा गायक तथा सङ्गीतकार दीप श्रेष्ठले धुन भर्नुभएकाे ‘भन्थी मेरी उनी’, ‘विधुवाले सिन्दूरको रहर’, ‘म त आकाशको जून हुँ’, ‘मेरो आँखामा हरदम’ जस्ता गीतहरू लामो समयदेखि लोकप्रिय रहँदै आएका छन् । साथै ‘हावासँगै बगुँ भन्छ’, ‘मेरो रहर ब्यूँझिएर’ र ‘केही ल्याउन सकिनँ’ लगायतका गीतहरूमा सुवर्ण लिम्बू र प्रकाश गुरुङको सङ्गीत रहेको छ ।

यस कार्यक्रममार्फत थापाको नयाँ गीत ‘म त अक्षरको मान्छे हुँ’ पहिलोपटक मञ्चमा प्रस्तुत गरिनेछ । कार्यक्रममा सङ्गीतकार बलराम समाल, युवराज पोर्तेल र मणी बर्देवाका धुनहरूमा आधारित गीतहरू समेत समावेश गरिने आयोजकले जनाएको छ ।

यसपटक कण्ठ–शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले थापाका गीतहरू प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमका संयोजक आभासले थापासँगको पुरानो सांगीतिक सम्बन्धलाई पलेँटीमार्फत पुनः ताजा गर्न पाउँदा खुशी लागेको बताउनुभयाे ।

आफ्ना रचनाहरू पलेँटीमा प्रस्तुत हुन लागेकामा गीतकार थापाले जीवनको उत्तरार्धमा यस कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभएकाे छ ।

कार्यक्रम मे महिनाको २९ तारिख शुक्रबार नेपालय, कालिकास्थानमा आयोजना हुनेछ । कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्ने दर्शकका लागि अनलाइनमार्फत प्रत्यक्ष प्रसारणको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.