पोखरा । लेखक ओम रिजालको उपन्यास ‘पैकेलो’ माथि पोखरामा विमर्श गरिएको छ । नेपाली लेखक संघ गण्डकीद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले उपन्यासले ओझेलमा परेको खस सभ्यता, कर्णालीको इतिहास र लोकजीवनलाई साहित्यिक रूपमा प्रस्तुत गरेको बताएका थिए ।
कृतिमाथि समीक्षा गर्दै डा. भूमि बस्ताकोटीले उपन्यास युद्धकथामा मात्र सीमित नरहेको उल्लेख गर्दै भन्नुभयो, “यसले शान्ति, प्रेम र पहिचानको खोजीसँगै राज्यले उपेक्षा गरेको कर्णालीको लोकवाङ्मयलाई न्याय गरेको छ ।” उहाँले ‘बाला राजा’ काशीरामको लोकगाथालाई आख्यानीकरण गर्नु उपन्यासको उल्लेखनीय पक्ष रहेको बताउनुभयो ।
लेखक ओम रिजालले उपन्यास लेख्नुको उद्देश्य खस सभ्यताको जरा खोज्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खसहरूको पञ्चमूल र अन्य दुई गरी सातवटा मूलको अध्ययन गरेर मैले यो उपन्यास तयार पारेको हुँ ।” कर्णालीको संस्कृति र ओझेलमा परेका ऐतिहासिक पक्षलाई उजागर गर्ने प्रयासस्वरूप कृति लेखिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय निवर्तमान अध्यक्ष तीर्थ श्रेष्ठले नेपालको पहिचान खस, नेवार, मैथिल र मुन्धुम सभ्यतासँग जोडिएको उल्लेख गर्दै इतिहास र पहिचानबारे गम्भीर अध्ययन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो इतिहास तथ्य र सत्यमा कति आधारित छ भन्ने कुरामा हामी आफैंले विचार गर्नुपर्छ ।”
सल्लाहकार लक्ष्मीशरण अधिकारीले उपन्यासले खस जनजीवन र प्रकृतिसँगको सम्बन्धलाई प्रभावकारी रूपमा चित्रण गरेको धारणा राख्नुभयो ।
नेपाली लेखक संघ गण्डकीका अध्यक्ष दीपक समीपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव सञ्जीव पौडेलले सञ्चालन गर्नुभएको थियो ।

