पृष्ठभूमि
भारतवर्षको उत्तर पूर्वाञ्चलको असमबाट अप्रिल, २०२० बाट रम्बास कविता लेखन आरम्भ भएको थियो । रम्बास कविताको पहिलो कृति नै मिलन बोहोराको तानाबाना (२०२१) हो । यसपछि भने मिलन बोहोरा र देवीचरण सेडाइँको सम्पादनमा वरपीपल (सन् २०२२), गिरिधारी उपाध्यायको शालिग्राम (सन् २०२२), अर्जुन उप्रेती अप्रतिमको सयपत्री (सन् २०२२), जगन्नाथ उपाध्यायको कलनाद (सन् २०२२) र सिक्किमबाट गीताश्री शर्माको तिलस्मी (सन् २०२२), काव्याञ्जली (सम्पादन गीताश्री शर्मा, सन् २०२४) प्रकाशित भएका छन् ।
नेपालबाट शेषमणि आचार्यको डाली (वि.सं. २०७९), एल.पी. पराजुलीको काव्यसुधा (वि.सं. २०७९), ज्ञानबहादुर क्षेत्रीको अनुभूति (वि.सं. २०८०) र अनुभूति– २ (वि.सं. २०८२), शिवकुमार श्रेष्ठको नियात्रा (वि.सं. २०८१) प्रकाशित छन् भने कवि खेमलाल पोखरेलको परिघटना (वि.सं. २०८२) हालै प्रकाशित भएको छन् भने अजित आचार्य काठमाडौँ, गुरुदत्त ज्ञवाली बुटवल, टङ्क सिटौला र नारद भट्टराई आसाम, रूपनारायण तिम्सिना र लुइस विष्ट सिक्किमका कविहरूको रम्बास कवितासंग्रह प्रकाशनको सङ्घारमा रहेका छन् ।
विषय प्रवेश
कवि खेमलाल पोखरेलको रम्बास कवितासंग्रह परिघटना (वि.सं. २०८२) पहिलो हो । यसमा ६२ ओटा नेपाली, दुईवटा हिन्दी र तीनवटा रम्बास अंग्रेजीका गरी ६७ वटा कविता रहेका छन् । संरचनाबद्धताको एकसय अक्षरीय रूपमा एउटा शाब्दिक वर्णबाट शुरू गरेर क्रमशः दोस्रो, तेस्रो गर्दै दसौँ पङ्क्तिसम्म क्रमश दसओटा वर्ण र पुनः दश पछि नौ, आठ गर्दै अन्तिममा एक वर्ण प्रयोग गरी जम्मा उन्नाइसओटा पङ्क्तिमा रेखागणितको समलम्ब चतुर्भुज आकृतिमा लेखिने कवितालाई रम्बास कविता भनिन्छ । अक्षरको मात्रा मिलाएर दश हरफमा पूर्ण अभिव्यक्ति दिने कविता विधाको लघुरूप नै रम्बास हो । अक्षर गणनाका आधारमा लेखिने भएको हुँदा उच्चारणअनुसार रम्बासमा प्रयुक्त अक्षरहरूको गणना गरिनु पर्छ । तर नेपालीमा उच्चारण र लेखनमा भएको भिन्नता वा लेख्य र कथ्य रूपमा पाइने अन्तरले खेमलाल पोखरेलका रम्बास कविता दुई प्रकारका पाइन्छ ।
लिखित भाषा, भाषाको विशिष्ट रूप हो । यसलाई लेख्य पनि भनिन्छ । लेखेर विचार विनिमय गरिने भाषा नै लेख्य भाषा हो । लेख्य भाषा व्यवहारिक र साहित्यिक गरी दुई प्रकारका हुन्छन् । स्रष्टा एवम् द्रष्टा खेमलाल पोखरेलको रम्बास कवितासंग्रह परिघटनामा रहेका कविताहरूलाई हेर्दा लेखनका आधारमा अक्षर गणना गरेर पनि कविता लेखिएका पाइन्छन् ।
सर्पलेझैँ मेरो तन,
काम लागेन मन–
बाढीले लगेछ
मेरो सपना (पृ. १, म)
गर्वले सिंह जस्तै वनमा
होस् व्यवस्था गाँस–बासको
पूर्णिमाको प्रकाश होस्
झलमल्ल मुहार
नहोस् मारामार
मान्छे– मान्छेमा
ताना– तान (पृ. १६, रमौँ)
रमाउने यो याम
मधुर– मधुर गान
फूलफूलका कान कान
मधुशालाका निम्ति सोपान
प्रकृतिको उम्दा रुझान (पृ. ३२, शीतकाल)
यहाँ तन, मन, वन, बास, गान, कान, सोपान र रुझान नै लेखिन्छ । यहाँ अक्षरलाई लेख्यका आधारले गणना गरेर तन, मन, बास, गान र कान दुई अक्षर अनि सोपान र रुझानलाई तीन अक्षरका रूपमा प्रयोग गरिएको पनि छ । तर उच्चारण तन्, मन्, वन्, बास्, गान्, कान् अनि –सो.पान्, र सो.पान् यस्तो हुन्छ ।
मौखिक भाषा सामान्य भाषाको रूप हो भने यसलाई कथ्य भनिन्छ । कथ्य भाषा बोलीचालीको भाषा पनि हो । शब्द वा वाक्य निर्माणको मात्रै नभएर हरेक वर्णमा हुने आरोह अवरोहले कथ्य भाषा लेख्यभन्दा व्यापक हुन्छ । तर कथ्य भाषालाई लेख्य भाषाले समेट्न सक्दैन । यही कथ्य भाषालाई आधार बनाएर खेमलाल पोखरेलका रम्बास कविता पनि यसै संग्रहमा रहेका छन् ।
त्यसै गरी पुस्तकभित्र नत्र (पृ.२८), भेट (पृ.३५), बेला (पृ.४६) शीर्षकका कवितामा भै, थे, भो क्रमशः भई, थिए र भयोका रूपहरू प्रयोग गरिएको छ ।
यो
कुरा
बुझिद्यौ
देश मर्म
मनन गरी
प्रश्नै बिना तिमी (पृ. २१, सम्भाव्यता)
यस कवितामा प्रयोग गरिएको शब्द मनन अक्षर संरचनाका दृष्टिले दुई अक्षर हो । तर यहाँ तीन अक्षरको रूपमा प्रयोग गरिएको छ ।
मानव मनका
व्यथा पशुपन्छीका
उद्भिज रनबनका
रोदन मानव मनका (पृ. ५९, लेखौँ)
‘मन’ अक्षर संरचनाका दृष्टिले एकाक्षरी र रोदन दुई अक्षरी नै हो । तर यहाँ क्रमशः दुई र तीन अक्षरी बनाइएको छ ।
कविता प्रायः सरल र सहज बिम्बको प्रयोग पाइन्छ । कवितालाई रोचक बनाउन पद, पदावली, शब्द र वाक्यको पुनरावृत्तिका माध्यमबाट गद्यालयको सिर्जना गरिएको पाइन्छ । यसै गरी आफ्नो विचारलाई प्रभावकारी बनाउन प्रश्नवाचक र विस्मयादिबोधक चिन्हको माध्यमबाट जिज्ञासा, कौतुहलता र आलोचनात्मक भावलाई प्रभावकारी किसिमले प्रस्तुत गरिएको पाइन्छ । यस्तो लाग्छ, कवि खेमलाल इतिहासका तथ्यप्रति जानकार छन्, वर्तमानका घटना, पात्र र प्रवृत्तिसँग परिचित भएको हुनाले त्यससँग सम्बन्धित बिम्ब र प्रतीकको प्रयोग गर्नमा कुशल पनि छन् ।
नेपाली कवितामा क्लिष्टता एउटा पीडा भएर रहेको छ । तर सबै कविता क्लिष्ट हुँदैनन् । नबुझिनुको समस्याले पाठक ग्रस्त छन् । सबै कविता नबुझिने पनि हुँदैनन् । थोरै शब्दहरूले धेरै कुरा बोल्नु पर्ने भएको कारणले अलिक सन्दर्भ बुझ्न कठिन त होला । त्यसो त यो पनि भनिन्छ– ‘जसरी पाठकको स्तर हुन्छ त्यसरी नै कविताको पनि स्तर हुन्छ ।’ कविले कविताको बारेमा प्रकाश पारिरहनु पर्दैन ती आफैँमा मर्मशील हुन्छन् । कवितामा ठूलो शक्ति हुन्छ जसमा एउटा गहन विचार, अन्तर्निहित भावना र गतिलो सन्देश दिने शक्ति राख्दछ । कविता बुझ्न समयचेत र सान्दर्भिकतालाई मनन त गर्नै पर्ने हुन्छ ।
यो विकल्पको युग हो । कवि खेमलाललाई यही बहानामा भन्नैपर्छ– आजभोलि पाठकहरू कविता छाड्दै किन भागिरहेका छन् ? कवितामा विविधता हुँदाहुँदै पनि भावका खुराक बजारको मिसावटबाट भने किन जोगिन सकेनन् ? समय र समाजसँगै कविता परिवर्तनको बाटो हुँदै यहाँसम्म आइपुगेको छ । चेतनाले समय र समाजअनुसारको नयाँ अन्तर्वस्तु र शैलीको माग गर्छ, आविष्कार को माग गर्छ । यस्तो बेला आविष्कार को सट्टा पुनरावृत्ति बढी देखिनु काव्यलेखनमा सङ्कटको सूचक हो । यस कवितासङ्ग्रमा ऐठन ले (पृ. १, म), गृह की (पृ. ४, नारी), म भित्र (पृ. १२, चिनारी), कविता का (पृ. ३५, भेट) जस्ता पदयोगमा समस्याका रहेका छन् । त्यसै गरी अनार– दन्त, युुगौँ– युुग, कौरव– विनास, उच्चशैल– शैलमा, कतै– कतै, रिस– राग, ताना– तानलगायतका शब्दका बिचमा आकृति निर्माणको लागि जथाभावी योजक चिन्हको प्रयोग गरिएको छ ।
= = =
निष्कर्ष
असमेली नेपाली साहित्यबाट प्रारम्भ भएको रम्बास कविता लेखन दिन दुई गुणा, रात चार गुणा भएर बढिरहेको छ । तर पनि यसभित्र अझै आन्तरिक विरोधाभासहरू रहेका छन् । रम्बास कविता अक्षर गणना गरेर लेखिने भएकोले शब्दबाट अक्षर छुट्याउँदा शब्दको लेखाइलाई नभएर शब्दको उच्चारणलाई आधार मान्ने कि नमान्ने ? एक अक्षर आवश्यकता परेमा नामयोगीलाई नाम वा सर्वनामबाट छुट्याएर अर्को हरफमा लेख्ने कि नलेख्ने ? पाठकले यो पुस्तक पाउने बित्तिकै यस प्रश्नको उत्तर खोज्न सक्छन् । कविले आफू के बनेर बाँच्ने हो ? आफैँले सोच्नु पर्छ र कवि बनेर बाँच्ने हो भने कवितामै समर्पित हुनुपर्छ । कतै प्रशंसा पाए चर्किएर लेख्नुपर्छ र निन्दा पाए झन् इखिएर लेख्नुपर्छ । यसका लागि पहिचानको खोजीमा प्रयासरत कवि खेमलाल पोखरेल पाठकको प्रिय बनिरहून् निरन्तरताको शुभकामना

