टोरन्टो । क्यानाडाको व्यस्त सहर टोरन्टोस्थित Queen Elizabeth Theatre बाट सोमबार बेलुकी दर्शकहरू निस्कँदै गर्दा अनुहारमा खुसीको उज्यालो देखिन्थ्यो । तर त्यही भीडमा २२ वर्षीया रिया बस्नेतको अनुभूति भने सबैभन्दा फरक र गहिरो थियो ।
पाठेघरको क्यान्सरको चौथो चरणसँग जुधिरहेकी रियाले दुईपटक शल्यक्रिया र विभिन्न थेरापी पार गरिसक्नुभएकाे थियाे । यस्तो अवस्थामा आफ्नो मनपर्ने ब्यान्ड Nepathya को कन्सर्टमा सहभागी हुनु नै चुनौतीपूर्ण थियो । उभिएर हेर्न, नाच्न त झनै कठिन । तर उहाँ त्यहाँ आउनुभयाे, सिटबाट उठेर र आफ्ना सीमाहरूलाई चुनौती दिँदै नाचेरै छाड्नुभयाे ।
“शरीरको अवस्थाले म अरूभन्दा फरक थिएँ,” उहाँले भन्नुभयाे, “तर बाल्यकालदेखि देखेको सपना पूरा गर्न म आफैँसँगै संघर्ष गरिरहेकी थिएँ ।” क्यान्सरले मानसिक स्वास्थ्यमा पनि असर पारेपछि उहाँ हाल डिप्रेसनको औषधिसमेत लिइरहनुभएकाे छ । तैपनि त्यो साँझ उहाँले जीवनकै अमूल्य क्षणका रूपमा साँचेर राख्ने बताउनुभयाे ।
दुई साताअघि नै ‘सोल्डआउट’ भएको कन्सर्टमा हजारौँ दर्शकको उपस्थिति थियो । भीडभित्र हरेक दर्शकको कथा फरक भए पनि संगीतले सबैलाई एउटै भावनामा बाँधेको थियो ।
उत्तरी अमेरिकामै हुर्किएकी नेपाली मूलकी सोनिया तिवारीका लागि यो पहिलो नेपाली कन्सर्ट थियो । “घरमा सानैदेखि नेपथ्यका गीत सुन्दै हुर्किएकी हुँ,” उनले भनिन्, “तर स्टेजमा गायक अमृत गुरूङ ले दिने ऊर्जा र आत्मीयता कल्पना भन्दा धेरै रहेछ ।”
कार्यक्रमको व्यवस्थापन, समयपालन र प्रस्तुति शैलीले पनि उनलाई प्रभावित बनाएको थियो । कन्सर्ट सकिएपछि पनि दर्शकहरू हलबाट बाहिरिन हतारिएनन् । बरु ‘नेपथ्य, नेपथ्य’ भन्दै कलाकारलाई निरन्तर आह्वान गरिरहे । हलभरि नेपाली झन्डा फहराइरहेको दृश्यले विदेशमै पनि नेपाली पहिचानको भाव झल्काइरहेको थियो ।
गायक अमृत गुरुङले ‘गाउँ गाउँबाट उठ’ गीतअघि राखेको सन्देशले दर्शकमा थप ऊर्जा थप्यो । उहाँले नेपालका राजनीतिक परिवर्तन र जनआन्दोलनको सन्दर्भ जोड्दै नयाँ पुस्तालाई पनि त्यसको मर्म नबिर्सन आग्रह गर्नुभयाे । उक्त सन्देशसँगै दर्शकको समर्थन झन् चर्कियो ।
काठमाडौँबाट टोरन्टो आउनुभएकाे समीर श्रेष्ठले कन्सर्टलाई “लगातार बगिरहेको अनुभूति” भन्दै पुराना सम्झनासँग जोडिएको अनुभव सुनाउनुभयाे । भ्यानकुभरबाट आउनुभएकाे अनुप घिमिरेले पहिलोपटक नेपथ्यको कन्सर्ट अनुभव गर्दा दूरी नै महसुस नभएको बताउनुभयाे ।
Toronto मा भएको यस कार्यक्रममा विभिन्न ठाउँबाट दर्शकहरूको सहभागिता थियो। Vancouver लगायत टाढा–टाढाबाट आउनुभयाे नेपालीहरूका लागि यो कन्सर्ट भावनात्मक पुनर्मिलन जस्तै बनेको थियो ।
कन्सर्टको अन्त्य ‘रातो र चन्द्रसूर्य’ गीतबाट गरिएको थियो । मञ्चमा अमृत गुरुङलाई ध्रुव लामा (ड्रम), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड)ले साथ दिनुभएकाे थियाे ।
आयोजकका अनुसार अब टोली London, Ontario तर्फ प्रस्थान गर्नेछ, जहाँ अप्रिल १८ मा London Music Hall मा कन्सर्ट आयोजना हुनेछ ।
विदेशी भूमिमा नेपाली संगीतको यस्तो भव्य प्रस्तुति विरलै देख्न पाइने भन्दै आयोजकहरूले यसलाई गौरवपूर्ण उपलब्धि बताउनुभएकाे छ ।

