साहित्यपोस्ट डट कम

‘पद्मावतीमा कथा बुन्ने अद्भूत सिप छ’ – भागीरथी; ‘भागीरथी सशक्त आख्यानकार हुन्’- पद्मावती

‘पद्मावतीमा कथा बुन्ने अद्भूत सिप छ’ – भागीरथी; ‘भागीरथी सशक्त आख्यानकार हुन्’- पद्मावती

नेपाली साहित्यमा क्रियाशील दुई व्यक्तित्वले आफ्ना अन्तरङ्गलाई कसरी चिन्नु हुन्छ भन्ने पाठकका जिज्ञाशा मेट्न साहित्यपोस्टले ‘ऊ र म’ स्तम्भ प्रकाशन गर्ने सिलसिलामा यस पटक नेपाली साहित्यका सशक्त नारी हस्ताक्षर तथा वरिष्ठ आख्यानकार पद्मावती सिंह र भागीरथी श्रेष्ठलाई प्रस्तुत गरेका छौँ । यो स्तम्भमा आफ्ना सखी/साथीका बारेमा राखिने खुलस्त विचारले पाठकलाई न्याय दिनेछ । कति खुलस्त र कस्तो न्यायाधीश हुने सर्जककै जिम्मा ! लुकाउनै पर्ने सन्दर्भ पनि हुन सक्छन्, प्राकृतिक मानिसका । तर सर्जकहरू आमप्राकृतिक मानिस मात्र नभएर विशिष्ट स्रष्टा/द्रष्टा, जो सत्यको नजिक पुग्नुपर्ने हुन्छ र त लुकाउने, छिपाउने उहाँहरूकै स्वविवेक ! प्रस्तुत छ, साहित्यपोस्टका सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेको साथमा नेपाली साहित्यमा सैपाल उचाइ स्थापना गर्नुभएका अन्तरङ्गद्वय पद्मावती सिंह र भागीरथी श्रेष्ठको ऊ र म ।

===

भागीरथी सशक्त आख्यानकार हुन् : पद्मावती सिंह

व्यक्तिगत रूपमा भागीरथी श्रेष्ठलाई कसरी चिन्नुहुन्छ ?

व्यक्तिगत रूपमा भागीरथी श्रेष्ठ असल र मिलनसार मानिस हुन् । उनी सबैसँग मिल्न सक्ने स्वभावकी छन् । मेरा लागि त आमा समान हुन् उनी । उनको घरमा म जाँदा मलाई चियादेखि खानासम्म मिठो गरी थपीथपी दिने गर्छिन् । चियाको गिलाससम्म उठाउन नदिने, म उनको घरमा चार, पाँच दिन पाहुन बनेर जान्थेँ तर आजकल कम भएको छ, उनको माया त कति कति ।

सर्जकका रूपमा उहाँको उचाइ कस्तो छ ?

कथाकार भागीरथी श्रेष्ठ आख्यान विधाकी एक उज्ज्वल नक्षत्र हुन् । उनी कथाकार र उपन्यासकार मात्र होइनन् राम्रो कवि पनि हुन् । उनका कथाहरू मनोविश्लेषणात्मक र यथार्थपरक हुन्छन् । दुवै क्षेत्रमा उनको लेखन सशक्त छ । बीसको दशक कि उनी एक चर्चित र आख्यान लेखनमा आफ्नो विशिष्ट स्थान बनाउन सफल कथाकार तथा उपन्यासकार हुन् ।

उहाँलाई कथा र उपन्यासमा कहाँ बढी सफल पाउनु हुन्छ ?

हुन त उनका कथा र उपन्यास दुबै राम्रा छन् तर उनलाई बाहिर कथाकार कै रूपमा चिन्दछन् । उनको पहिचान कथाकार भनेर स्थापित छ । उनले लघुकथा, कविता, मुक्तक, नियात्रा पनि लेखेकी छन् तर पहिचान भने कथामै छ ।

उहाँका कथा/उपन्यास कस्ता छन् ?

उहाँका कथा उपन्यास धेरै जसो सामाजिक यथार्थपरक छन् । उहाँका कथाहरू मानवीय संवेदनाले भरिएका मनोविश्लेषणात्मक छन् ।

कुनै कथाले आकर्षित गरेको छ ?

उहाँका सबै कथाहरू मलाई मनपर्छ । भूमिगत, चाँदीको करुवा, पराई पाइला, रातो गुलाफ, मातृत्व आदि अझ बढी मनपर्छन् ।

उहाँको कुन बानी मन पर्छ ?

मलाई लाग्छ उहाँ एक असल सहयोगी सहृदयकी स्वभावकी हुनुहुन्छ । उहाँको सबैभन्दा राम्रो स्वभाव मिलनसार हो । सबै पुस्ताका साहित्यकारहरूसित उहाँको राम्रो सम्बन्ध छ । उहाँको मलाई यही बानी राम्रो लाग्दछ । उहाँले सबैलाई माया गर्नुहुन्छ ।

कुन बानी मन पर्दैन ?

नराम्रो बानी त खास त्यस्तो मैले पाए कि छैन तर बाटोमा सँगै हिँड्दा चाहिँ परिचित व्यक्ति भेटेमा कुरा गरिरहने बानी मलाई मन पर्दैन । जोसित पनि उभिएरै लामो कुरा गरिरहँदा सबै हिँडेको साथीलाई अलि अप्ठ्यारो अनुभव हुन्छ । खास गरी मलाई त्यसरी बाटोमा उभिएर कुरा गरिरहँदा गाह्रो अनुभव हुन्छ ।

उहाँसँग झगडा वा मनमुटाव भएको छ ?

उहाँ मेरो अभिन्न मित्र हुनुहुन्छ । तीसको दशकदेखि नै हाम्रो मित्रता कायम भएको हो । हामीमा कुनै वैमनस्य, रिस, द्वेष कहिल्यै भएन । हाम्रो मित्रतामा कहिल्यै मनमुटाब भएन, झगडाको त कुरै भएन । हो कहिले काहीँ वादविवाद चाहिँ भएको छ, जुन यत्रो लामो कालखण्डको मित्रतामा हुनु स्वाभाविक हो । मन नपरेको कुरा हामी एक अर्कालाई भन्ने गर्छौँ । यो मेरो विचारमा नकारात्मक नभई सकारात्मक नै हो । हामी हाम्रा विचार, अनुभव र सुखदुःख एक अर्कामा साट्ने गर्छौँ । दुई मित्रतामा यसो गर्नु स्वाभाविक नै हो । हाम्रो साथ २०३३ सालदेखि नै निरन्तर हातेमालो गर्दै आजसम्म अगाडि बढिरहेको छ । कुनै द्वेष, मनमुटाव र झगडाबिना हाम्रो सम्बन्ध निरन्तर र अटल छ ।

उहाँसँगको रोचक घटना ?

एक दिन मेरो निम्तामा भागीरथी मेरो घरमा आएकी थिइन् । त्यस दिन उनले मनीब्याग घरमै छाडेर आएकी रहेछन् । बसका कन्डक्टरले पैसा माग्न आउँदा उनी झसङ्ग भइछन् । मैले पैसा घरमै छाडेर आएछु, माफ गर्नुहोस् भन्दा पनि कन्डक्टरले मानेनछन् । उनी लाजले भुतुक्कै भइछन् । केही सिप नचल्ने भएपछि ‘हेर त भाइ, म लेखिका हुँ, म पैसा नदिई बस चढ्ने त्यस्तो मान्छे होइन’ भनेर आफूले लेखेको पुस्तक ब्यागबाट झिकेर देखाएउँदा पनि सहचालकले नमानेपछि सँगै बसेको एक यात्रीले पैसा तिरिदिएछन् । उनले यो घटना मेरो घरमा पुगेर सुनाउँदा म हाँसोले मर्नु, मर्नु भएकी थिएँ । उनी लाजले अझै रातोपिरो थिइन् ।

कथाकार भागीरथी चियाको पैसा तर्न गाह्रो मान्नु हुन्छ ?

पैसा झिक्न त्यस्तो गाह्रो छैन । हामी मिलाएर आवश्यक ठाउँमा मात्र खर्च गर्ने गर्छौँ । हामी बाहिर जानभन्दा घरमा खान रमाउँछौँ । उसको घरमा जाँदा मलाई के खान्छौँ भनेर सोधीसोधी विभिन्न परिकार खुवाउँछिन् । कहिले काहीँ पैसा झिक्नु पर्यो भने उनी उदार नै छन् ।

उहाँ र आफ्नो सम्बन्धको कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

एक अर्कालाई माया र सम्मान गरी यति लामो समय मित्रता कायम गर्नु निश्चय पनि उदाहरणीय छ । कसैले हामीबीच फाटो ल्याउन नखोजेको पनि होइन तर हामी बीचको प्रेममय मित्रता, सौहाद्र्य कति पनि टुटेन । अब हामी दुबैजना जीवनको उत्तरार्धमा पुगिसक्यौँ, हाम्रो मित्रता यसरी नै अनन्त बढिरहोस् । यही नै ईश्वरसित प्रार्थना छ ।

उहाँसँगका मीठा संस्मरणहरू छन् ?

लामो कालखण्डका विविध संस्मरण छन् । एकपटक उनीसँगै गुल्मी रिडीस्थित उनको माइती गएका थियौँ । हामीसँगै त्यहाँ दुई रात बसेका थियौँ । बजारमा सबै आफन्तहरूलाई मेरो परिचय गराइन्, आफन्त कहाँ मेजमानी खुवाउन लगेकी थिइन् । यसरी नै उनीसँग वुटबल, भैरहवा सँगै गएका छौँ । साथै हामी दुबैजना गुञ्जन नारी समुहमा आबद्ध भएपछि धेरै ठाउँमा सँगै साहित्यिक यात्रा भएका छन् । सँगै गएका छौँ । यस क्रममा हामीबीच धेरै रमाइला क्षणहरू हामीले अनुभव गरेका छौँ । गुञ्जनको संस्थापनामा उनको पनि योगदान छ । एउटा कुरा भन्न चाहन्छु, हामी दुबै ७७ वर्ष पार गरे पनि गीत गाउन, हिँडडुल गर्न र साहित्यिक भेला तथा भेटघाट गर्न उत्तिकै उत्सुक हुन्छौँ ।

सर्जक भागीरथी श्रेष्ठको घर परिवारसँग सम्पर्क छ ?

हाम्रो पारिवारिक सम्बन्ध अति निकट छ । मलाई भागीरथीले पटक पटक घरमा बस्ने गरी बोलाउँछिन् । उनका छोरी, छोराबुहारी, नातिनातिना सबैसँग घरायसी सम्बन्ध छ । म पनि उनलाई मेरोे घरमा बोलाउछु । अहिलेदेखि होइन, पहिलैदेखि यस्तो चल्दै छ तर अब उमेरले पनि क्रमशः कम हुँदैछ । हुन त थोरैधेरै अहिले पनि चल्दै छ । हाम्रो सम्बन्ध राम्रो हुनुमा पारिवारिक सम्बन्धले पनि सहयोग गरेको छ ।

उहाँको साथी शैली कस्तो लाग्छ ?

उनको साथी शैली नमूना र उदाहरणीय छ । सबैसँग मिल्ने सहनशील बानी छ भागीरथीमा । केही भन्यो कि हाँस्ने बानी छ । सबैसित मित्रवत व्यवहार गर्ने हुनाले सबै साथीहरूले उनलाई मन पराउँछन् । सायद मलाई पनि उनीलाई जस्तै अग्रज र अनुज पुस्ताले मन पराउँछन् । किनभने हामीमा कुनै दम्भ छैन । सबैसित हामी समान व्यवहार गछौँ । हामीबीच प्रतिस्पर्धा पनि छैन । एकले अर्कालाई सहयोग गर्ने गरेका छौँ । आफ्ना रचनाहरू एकअर्कासित साटासाट गरेर सुनाउने र सल्लाह सुझाव लिनेदिने पनि गर्छौँ ।

उहाँको कम्तिमा पनि एउटा बदमासी भनिदिनुहोस् न !

उनको कुनै बदमासी मैले पाएको छैन । त्यसैले कुनै बदमासीका कुरा म भन्न सक्दिनँ । हामी बीचको समानताको केही कुरा चाहिँ रोचक लाग्छ । मेरो र उनको जन्म एउटै २००५ साल हो । म उनीभन्दा छ महिनाले जेठी छु । हाम्रो लेखन यात्रा पनि सँगसँगै भएको रहेछ । उनको र मेरो पहिलो रचना पनि एकै सालमा प्रकाशित भएको रहेछ २०२२ सालमा । उनको र मेरो प्रिय विधा कथा हो । हामी दुबैले लेखन यात्रालाई आजसम्म निरन्तर राखेका छौँ ।

पद्मावतीमा कथा बुन्ने अद्भूत सिप छ : भागीरथी श्रेष्ठ

पद्मावती सिंहलाई व्यक्तिगत रूपमा कसरी चिन्नुहुन्छ ?

पद्मा र मेरो भेटघाट २०३२ तिर पोखरामा भएको हो कि ? उषा शेरचन यसको कारण थिइन् । उनीहरूले पोखरामा मुक्तक कार्यक्रम राखेका थिए । त्यसमा सहभागी हुन म भैरहवाबाट गएकी थिएँ । पद्मा काठमाडाैंबाट गएकी थिइन् । व्यक्तिगत रूपमा उनी औसत महिला हुन् । खुसी भएर बाँच्न चाहने पद्मावती सबैसँग मिल्न सक्ने स्वभावकी छन् । उनी विशिष्ट सर्जक भए पनि व्यक्तिगत जीवनमा आफूलाई अति सामान्यसँग प्रस्तुत गर्छिन् । ज्येष्ठदेखि कनिष्टसम्म मिल्न सक्ने उनले नाती, नातिनालाई पनि साथी बनाउन सक्छिन् । बाहिरबाट हेर्दा उनी यति विशिष्ट कथाकार वा उपन्यासकार हुन् भन्ने लाग्दैन । उनी गीत लेख्छिन्, गाउछिन् र हलुङ्गोसँग नाच्छिन् । त्यो पनि सानासाना बच्चासँगै ।

पद्मावती सिंहलाई सर्जकका रूपमा कसरी चिन्नुहुन्छ ?

ऊ इमान्दार लेखक हो । उसले कथाका विषय र पात्र आफ्नै परिवेशबाट सिर्जना गर्छे । उपन्यास र कथाका विषयवस्तु तथा शैलीमा पद्माको भिन्न पहिचान छ । घटनालाई सुन्दरसँग बुनेर कथा बनाउने अनौठो क्षमता पद्मामा छ । उनका कथा अनावश्यक लामा छैनन् तर अति स्वाभाविक र यथार्थपरक छन् । उनलाई नयाँ नयाँ ठाउँमा पुगेर त्यहाँको परिवेशमा लेख्न मन पर्छ । मौलिक लेखनमा पद्माले आफूलाई अब्बल सावित गरेकी छन् ।

उहाँलाई कथा र उपन्यासमा कहाँ बढी सफल पाउनु हुन्छ ?

कथा र उपन्यास दुबैमा पद्मा सफल छन् तर आमरूपमा भने उनलाई कथाकार पद्मा भनिन्छ । कथामा उनी निकै सफल छन् ।

उहाँका कथा/उपन्यास कस्ता छन् ?

पद्माका अधिकांश कथा र उपन्यासले नेपाली समाज, खासगरी महिलाका विषयलाई उजागर गरेका छन् । उनले समाजको चेतानस्तरलाई झक्झक्याएकी छन् । सामान्यजस्तो घटनालाई पनि पद्मा सुन्दर तरिकाले कथा बुन्छिन् । सरल लेखन तर मिठो प्रस्तुति क्षमता छ उनमा ।

उहाँका कुनै रचनाले मन छोएको छ ?

पद्माको समानान्तर आकाश उपन्यासले मलाई निकै छोएको हो । ‘आरुको बोट’ कथामा एक युवतीको यौवनावस्थालाई सुन्दर तरिकाले चित्रण गरिएको छ । रमणीया जस्ता सुन्दर कथाकी सर्जक हुन् उनी । सपनाको सहर काठमाडौँ भन्ने कथा कति शक्तिशाली र चर्चित छ । मौन स्वीकृति, एक झुल्का घाम उनका राम्रा कथा हुन् । पद्मा सहरबासी भएकाले उनका कथामा सहरको चित्र पाइन्छ तर आम मध्यमवर्गीय चरित्र चित्रणमा पद्मा सफल छन् । उनका कथा लामा हुँदैनन् । चट्ट मिलेका हुन्छन् । अनावश्यक वर्णन व्याख्या हुँदैन् ।

उहाँको कुन बानी मन पर्छ ?

उनका धेरै बानी मन पर्छन् । उनी रमाइलो गर्नु पर्ने मानिस हुन् । कथा, गीत, कविता लेख्ने, रमाउने सबैलाई समान व्यवहार गर्ने, लाउने, खाने कुरामा धेरै ध्यान नदिने तर खानको सौखिन छ पद्मा । उसमा कुनै दिन थकान र निराशा देखिदैन । सँधै हँसिली । अति सरल पद्मा, जटिल छैन । मान खोज्ने बानी छैन । घुलमिल हुन सक्ने, सबैसँग मिल्न सक्ने ऊ बिन्दास छ । निर्धक्क, निडर निसङ्कोच, दुनियाले के भन्छ, के गर्छ पद्मालाई वास्ता हुँदैन । यस्तो विशेषता उसको लेखनमा पनि पाइन्छ । काम थालेपछि सकेर मात्रै छाड्ने उनको राम्रो बानी छ ।

कुन बानी मन पर्दैन ?

उसले नयाँ बहिनीहरू वा पुस्ताका भाइ, बहिनीसँग भेटघाट गर्न थाली भने हामीलाई बिर्सन्छे उसको एकोहोर बानी छ । एउटा कुरामा लागेपछि हामीलाई बिर्सेको जस्ता गर्छे । यस्तो बानी राम्रो भएन भनेर म उसलाई बेलाबेलमा टोक्छु ।

उहाँसँग झगडा वा मनमुटाव भएको छ ?

त्यस्तो ठूलो मनमुटाव भएको छैन । कहिले कहीँ सानोतिनो कुरा नमिले पनि तुरुन्तै मिलिहाल्छ । लामो समयसम्म सम्झेर बस्ने बानी उसको छैन । हामी त दुबै जना हाँसिखुसी आफ्ना असहमति राख्छौँ । तर ती उतिखेरै मेटिन्छन् । मनमुटाव होइन एक प्रकारको सकारात्मक प्रतिस्पर्धा वा इष्र्या भने हुन्छ । लेखनमा उसले राम्रो लेख्यो भने म पनि त्योभन्दा राम्रो लेख्छु भन्ने प्रतिस्पर्धा हुन्छ ।

सर्जक पद्मावती चियाको पैसा झिक्न गाह्रो मान्नु हुन्छ ?

हामी होटल रेस्टुरेन्टमा गएर खादैनौँ । आ आफ्नै घरमा बनाएर खाने हो । उनी आफ्ना लागि पैसा खर्च गर्न डराउन्नन् । हीरा फोर्छ आफ्नो लागि तर सामुहिक रूपमा पैसा खर्च गर्न त्यति खुला छैन । छुचो भनेको होइन । पैसा चिनेकी छन् उनले । हत्तपत्त पैसा निकाल्ने बानी छैन । यसको मतलव कन्जुस छ भनेको होइन । पैसा चिनेकी छन् उनले । हामी दुबै मितव्ययी नै छाैं तर गुञ्जनको अध्यक्ष हुँदा आफ्नो पनि केही खर्च गर्नै पर्ने हुन्छ । त्यस्तोमा खर्च गर्न पद्मा हिच्कच्याउन्नन् ।

सर्जक पद्मावतीको घर परिवारसँग सम्पर्क छ ?

उनका घर परिवारका सबै सदस्य, उसका श्रीमान्, छोराछोरी, बुहारीसँग पारिवारिक सम्बन्ध थियो र छ पनि । घर परिवार र छोरा बुहारीको सन्दर्भमा भन्ने हो भने पद्मा अति भाग्यमानी छ । बुहारीहरूले नमूना सेवा गर्छन् । अति माया गर्छन् । छोरा, बुहारी, छोरी सबैको हिसावमा ऊ भाग्यमानी मानिस हो । अनि बुहारीहरूलाई नचाहिने कुरामा कचकच गर्ने बानी पद्मा पनि छैन । बुहारीलाई पनि छोराछोरी जस्तै गर्छिन् । नातिनातिनासँग खेल्ने, नाच्ने, रमाइलोे गर्ने बानी छ पद्माको । हामी पद्माको घरमा जाँदा बुहारीहरूले काम गरेको देखेर सबै खुसी हुन्छौँ ।

उहाँसँगको रोचक घटना ?

ऊ र म पोखरा, गुल्मी, बुटबल, बन्दीपुर सँगै गएका छौँ । उसलाई नयाँ ठाउँमा जाँदा धरै कुरा सिक्ने रहर हुन्छ । एकपटक हामी माया ठकुरी लगायत मन्थली गएका थियौँ । त्यहाँ खुब रमाइलो भयो । फर्कदा एक जना पुरुष साहित्यकार जो पद्मासँग त्रिचन्द्र कलेजमा सँगै आईएस्सी पढेका रहेछन्, उनले पद्मालाई विगतको कुरा सुनाए । उनीहरू पद्माको निकै पछि लाग्थे अरे । पद्मा राम्री थिइन् रे तर पद्माले आफूहरूलाई वास्ता नगरेको गुनासो ती साहित्यकार लगायत पद्माका अन्य केटा साथीमा रहेछ । पद्माका ती साथीले विगतका यस्ता घटना सुनाउँदा हामी हाँसेर मर्ने ।

क्याम्पसमा केटाहरू पद्माको अघिपछि लागेका, पद्माले वास्ता नगरेका घटना ती साहित्यकारले मन्थलीबाट फर्कंदा हात हल्लाउँदै, रोचक हाउभाउका साथ सुनाउँदा हामीलाई निकै अचम्म भयो । उतिखेर अहिलेको जस्तो केटासँग बोल्ने चलन पनि थिएन तर ती बुढा साहित्यकारले पद्मालाई ‘तपाईंले हामीलाई टेरपुच्छर नलगाउने’ भनेका छन्, हँसाएका छन् । पद्मा पनि किन तपाईंहरूले आफ्ना कुरा मलाई भन्न नसकेको त ? भनेर हसाउँथिन् । यस्तै रमाइलो मन पर्छ पद्मालाई । यस्तै हो उनको बानी । आफूलाई कसले के भन्छ पद्मालाई मतलब हुँदैन । वास्तै गर्दिनन् । बिन्दास मानिस ।

उहाँको साथी शैली कस्तो लाग्छ ?

खुला र निर्धक शैलीमा साथी बनाउने र बन्ने उनको बानी छ । पहिला आफ्ना विचार राखे पनि पछि सबैले यसो गरौँ भनेपछि मानिहाल्छिन् । जिद्दी छैनन् । सबैको सहमति भएपछि पद्मा पनि सहमत हुन्छिन् । कसैको पनि कुभलो चिताउँदिनन् ।

उहाँको कम्तिमा एउटा बदमासी भनिदिनुहोस् ।

त्यस्तो बदमासी त केही थाह छैन । कहिले कहीँ हामी पुराना साथीलाई उपेक्षा गर्छे, हराउँछे । वास्ता गर्दिन । अनि किन यस्तो गरेको भनेर हामी रिसाएपछि हाँस्छे । एउटा यस्तो काममा व्यस्त थिएँ भन्छे र कुरा मिलाउँछे ।

मीठा केही संस्मरण ?

कहिले म उसकोमा, कहिले ऊ मेरो घरमा सुत्न जाने ४/५ दिन बस्ने गरिन्थ्यो । अहिले दुबैको स्वास्थ्य र शारीरिक अवस्थाले यस्तो क्रम कम छ तर हामी एउटै ठाउँमा बसेर कति दिन, रात बिताएका छौँ । रातभर गफ गरेर बिताएका छौँ । रातभर हाँस्यो बस्यो । कहिले साथीका कुरा कहिले साहित्यकारसँगका प्रसङ् । कहिले सासू, अमाजू छोराछोरीका कुरा गर्यो हाँस्यो । कहिले कहीँ हामीले फोन गरेर पद्मा खोइ भन्यो भने उनका श्रीमान् राजबहादुर सिंहले ‘ऊ हावामा उँडिरहिछ, उसलाई हावाले उँडाउँदै छ’ भन्नुहुन्थ्यो तर राजबहादुरले पद्माको लेखनमा कुनै बाधा दिनुभएन होला । साझा प्रकाशनले पद्मावतीलाई पुरस्कृत गरेको अवसरमा उनका श्रीमान्ले ‘म पनि पद्मालाई ५० हजार रुपियाँको पुरस्कार थपिहिन्छु’ भनेर कत्रो सम्मान र हौसला दिनुभयो । पद्मालाई घरपरिवारबाट लेखनमा ठुलो सहयोग थियो । पद्मावती पैसा, परिवार, प्रतिभा, श्रीमान्, छोरोछोरी, बुहारी सबै कोणबाट भाग्यमानी मानिस हो । पद्माले सेभ द चिल्ड्रेन र परिवार नियोजन संघजस्ता संस्थामा जारिर गरिन् । ऊ टेबुल टेनिसको राम्रो खेलाडी हो । नृत्य त्यति नै राम्रो छ । समग्रमा भन्नुपर्दा ऊ बहुमुखी प्रतिभा सम्पन्न महिला हो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.