साहित्यपोस्ट डट कम

पद्मश्री विजेता केशवराज ज्ञवालीको ‘अज्ञात’ सार्वजनिक

पद्मश्री विजेता केशवराज ज्ञवालीको ‘अज्ञात’ सार्वजनिक

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार विजेता लेखक केशवराज ज्ञवालीको दोस्रो उपन्यास ‘अज्ञात’ सार्वजनिक भएको छ । सोमबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा मदन पुरस्कार विजेता लेखक तथा पत्रकार मोहन मैनाली र लेखक ज्ञवालीले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएकाे हाे । कार्यक्रममा मैनाली र ज्ञवालीबीच अन्तरसंवादसमेत गरिएको थियो ।

लोकार्पणपछि बोल्दै मोहन मैनालीले उपन्यासको मुख्य पात्र मन्याको यात्राले पाठकलाई भावनात्मक रूपमा समेट्ने बताउनुभयाे । “मन्याले हिँडेको बाटो पाठकले पनि सँगसँगै यात्रा गर्न चाहन्छ,” उहाँले भन्नुभयाे, “उपन्यासमा रहेका फुटनोटहरूले यसलाई इतिहासका विद्यार्थीका लागि समेत उपयोगी बनाएको छ ।” उहाँले कृतिको लालित्यपूर्ण भाषा र जीवन्त वर्णनलाई विशेष उपलब्धि माने ।

लेखक केशवराज ज्ञवालीले गोर्खा राज्य विस्तार नेपालको वर्तमान भूगोल निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक घटना भएको उल्लेख गर्दै त्यस क्रममा योगदान गरेका तर इतिहासमा गुमनाम रहेका ‘भुइँमान्छे’हरूको कथा उजागर गर्ने प्रयास स्वरूप उपन्यास लेखिएको बताउनुभयाे । “इतिहासमा प्रायः राजा र सेनानायकको चर्चा हुन्छ, तर आम मानिसका कथा ओझेलमा पर्छन्,” उहाँले भन्नुभयाे, “त्यही गुमनाम इतिहासलाई ‘अज्ञात’मार्फत लेख्न खोजिएको हो।”

उपन्यासले गोर्खा राज्यको विस्तारको पृष्ठभूमिमा आम मानिसको संघर्ष, पीडा र अस्तित्वको कथा प्रस्तुत गर्छ । कथाको केन्द्रमा रहेको पात्र मन्या आफ्ना बाबुको खोजीमा घरबाट भाग्दै युद्ध, विस्थापन र सामाजिक अन्यायको साक्षी बन्छ । कथानक क्रमशः नालापानीको युद्धसम्म पुग्छ, जहाँ बलभद्र कुँवर नेतृत्वको सानो नेपाली फौजले अङ्ग्रेजी सेनाविरुद्ध प्रतिरोध गरेको थियो ।

उपन्यासमा युद्धबीच अंकुरिएको प्रेम, मानव पीडा र युद्धको निरर्थकतालाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ। ऐतिहासिक तथ्य, स्थलगत अध्ययन र अनुसन्धानको आधारमा लेखिएको कृतिले इतिहासका गुमनाम पात्रहरूको जीवनलाई केन्द्रमा राख्दै नयाँ दृष्टिकोण प्रस्तुत गरेको लेखकको दाबी छ ।

‘अज्ञात’ फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.