ब्रिटानी लोरीले सन् २०२४ भरि ८० वटा किताब पढिसिध्याइन् । क्यानडा, अल्बर्टा निवासी लोरी सामाजिक सञ्जालमा किताबमाथि चर्चा चलाउँछिन् ।
३४ वर्षीया लोरी भन्छिन्, ‘मैले पढेका किताब भनेर गर्वसाथ भन्न सक्छु । जब भाँडा माझ्दै म किताब पढिरहेकी छु भने मैले त्यसमा गर्व किन नगर्ने ?’
तर केही पढाकू भने उनलाई पुस्तकको पाठक मान्दैनन् । उनलाई खपतकर्ता मान्छन् । त्यसको मुख्य कारण चाहिँ किताब पढ्नुमा जुन आनन्द छ, त्यो सुन्दामा छैन भन्ने केहीको विश्वास छ । किताब पढ्दा कुनै पंक्ति छाडिदैन, सुन्दा भने धेरै कुरा छुट्ने केहीको दाबी छ ।
यस्तो दाबी गर्नेबाट वाक्क भएकी नर्थ क्यारोलाइनाको चार्लोटी निवासी ३८ वर्षीया थेरेसा सटन दिक्क भइन् र गत महिना उनले सामाजिक सञ्जाल ब्लु स्काईमा लेखिन्, ‘अडियो बुक पनि किताब नै हो । त्यो सुन्नु पनि पढ्नु नै हो ।’
एक पटक मात्र लेखेकी भए केही थिएन, कसैले वास्ता पनि गर्दैनथे होला तर उनले सात पटक त्यही लेखेपछि भने सबैको ध्यानाकर्षण भयो । उनले ६२ हजार लाइक र झन्डै चार हजार कमेन्ट पाइन् ।
सटन भन्छिन्, ‘अडियो बुक पढ्नु किताब पढ्नुजस्तै हो कि होइन भनेर अनेक तर्क, वितर्क र कुतर्क गर्न सकिन्छ । यो कहिल्यै पनि नसकिने बहस हो । केही पठन विशुद्धीकरणमा लागिपरेकाहरू भने हदै गर्छन् र किताबबाहेक अरू चिजलाई पठन नै मान्दैनन् ।’
पठन विशुद्धीकरणका हिमायतीहरू भने हिँड्दै र काम गर्दै किताब पढ्नुलाई पढेको मान्दैनन् । कुनै एक ठाउँमा मुग्ध भएर सुन्दर दृश्यको आनन्द लिँदै किताब पढ्नुलाई मात्र उनीहरूले वास्तविक पठन मान्छन् ।
सटनले सन् २०२४ भरि ९० पुस्तक सुन्न (पढ्न) भ्याइन् । उनको योजना भने सय किताब पढिसिध्याउनु थियो । अडियो बुक नभएको भए उनले यति पनि पढ्न भ्याउने थिइनन् ।
विशुद्ध पठनमा विश्वास गर्ने केटलिन ओबिएन थम्सन भने अडियोबुकलाई पढ्नुको रत्ति पनि छेउमा राख्न नमिल्ने तर्क गर्छिन् । २९ वर्षीया केटलिन एउटा बुक पडकास्ट चलाउँछिन् । उनले विशुद्ध पठनका बारेमा निकै चर्चा चलाउने गर्छिन् । कानले पढिदैन भन्ने उनको मुख्य तर्क छ ।
कारमा हिँड्दा वा खाना पकाउँदै गर्दा सुनिएका अडियोबुकले पर्याप्त ध्यान खिँच्दैनन् । कतिसम्म भने किताबका मुख्य कुरा नै कामको चटारोले चिप्लिन्छन् ।
केहीका लागि अचेल पढ्नु भनेको प्रतिस्पर्धात्मक खेल साबित भइरहेको छ । गुडरिड्स नामक वेबसाइटले त त्यहाँका सदस्यहरूलाई आफ्नै पठन चुनौती दिन्छन् र वर्षभरि कति पढिसिध्याइयो भनेर गणना गर्छन् ।
अडियो बुकका कारण आफूले पढ्न चाहेका किताबहरू पढ्न सजिलो भएको छ । भाँडा माझ्दै गर्दा होस् या पकाउँदै होस् या ड्राइभिङ गर्दा किताबका कुरा पनि सुनिसकिने भएकाले केही युवामाझ अडियो बुक निकै लोकप्रिय छ । त्यसलाई केही टिकटकरले नियमित रूपमा बुक पोस्ट गरेर चर्चा बटुलिरहेका हुन्छन् ।
ती चर्चासँगै केहीले सोध्न थालेका छन्, अडियो बुक सुन्नु किताब पढ्नु हो कि होइन ?
अमेरिकाको न्यूयोर्कस्थित किताब पसल म्यानहट्टन मिस्टिरियस बुक सपका मालिक ओटो पेन्जलर भन्छन्, ‘अडियो बुक सुनेर किताब पढेँ भन्नु कुनै नराम्रो वा अनैतिक कुरा होइन । अनि, अर्कोतर्फ कुनै पुस्तकमा आधारित फिल्म तपाईंले हेर्नुभयो भने किताब पढेँ भन्नु हुन्न । तपाईंले फिल्म नै हेरेँ भन्नुहुन्छ ।’
सन् २०२४ को ९ महिनामा प्रकाशन उद्योगले लगभग ८० करोड डलर बराबरको अडियो बुक बेच्यो । अघिल्लो वर्षको तुलनामा यो २७ प्रतिशत बढी थियो । अडियो बुकले त इबुकको व्यापार नै घटाइदिएको छ ।
अडियो बुक सुन्दा सूचना ठ्याक्कै प्राप्त गर्न सकिन्न भन्ने विश्वास शुद्धपठनका हिमायतीको हो । स्पोटीफाईकी अडियो बुकतर्फकी वरिष्ठ सम्पादक रोश्नी राडिया भन्छिन्, ‘मल्टी टास्क गर्नु कुनै अपराध होइन । कसैको क्षमता छ भने किताब सुन्दै काम पनि गर्न सक्छ ।’
क्रिस्टल ड्यान्ड्रिज भने यसमा विमति राख्छन् । अडियो बुक पढ्दा कुनै पनि कुरामा ध्यान दिनु कठिन हुने उनको तर्क छ । २६ वर्षे डेलिभरी कम्पनीका कामदार क्रिस्टल भन्छन्, ‘जब मलाई गम्भीर सूचनाहरू लिनुपर्ने हुन्छ, म सारा कुरा छाडेर पढ्न बस्छु । काम गर्दै सूचना लिन म सक्दिनँ । म अन्य काम गर्दै अडियो बुक सुन्दा त्यो मज्जा लिन सक्दिनँ, जुन पढ्दा लिन सक्छु ।’
एक अध्ययनअनुसार छापिएका अक्षर पढ्दा सर्वसाधारणहरूमा बढी लामो समयसम्म दिमागमा अंकित हुन्छ । तर कहिल्यै नपढ्नु भन्दा पढिएका कुराहरू ५० प्रतिशतसम्म बुझ्नु निकै राम्रो भएको सिकागोस्थित इलिनोइस विश्वविद्यालयका तिमोथी शानाहनको धारणा छ ।

