काठमाडौं । उपन्यासकार पदम काफ्ले को भुटानी नेपालीभाषीहरूको कथाव्यथा समेटिएको उपन्यास ‘युग यात्रा’ डालो रेस्टुरेन्ट मा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ ।
कृतिको लोकार्पण कार्यक्रममा साहित्यकारहरू कृष्ण धराबासी, डा. शैलेन्दु नेपाल, राधेश्याम लेकाली, डा. कविता लामा, मीना पौडेल, शेखर खरेल, डा. तारालाल श्रेष्ठ, सञ्जय बान्तवा तथा अस्मिना रञ्जित लगायतले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।
साहित्यकार एवं सम्पादक पारशप्रकाश नेपाल द्वारा सहजीकरण गरिएको कार्यक्रममा साहित्यकार कृष्ण धराबासी ले भुटानी नेपालीभाषीहरू जन्मभूमिबाट विस्थापित भई पूर्वी नेपालमा आइपुगेको अवस्थादेखि आफूले उनीहरूको मुद्दा उठाउँदै आएको स्मरण गर्दै ‘युग यात्रा’ ले उक्त कालखण्डलाई प्रभावकारी रूपमा अभिलेखीकरण गरेको बताउनुभयो ।
त्यसैगरी राधेश्याम लेकाली ले भाषा–साहित्यले जातीय पहिचान जोगाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै काफ्लेले उपन्यासमार्फत भुटानी शरणार्थीहरूको पहिचानको सवाल उठाएको धारणा व्यक्त गर्नुभयो ।
साहित्यकार डा. शैलेन्दु नेपाल ले कृतिको भाषा प्रवाहमय र कथा भावनात्मक रूपमा प्रभावकारी रहेको उल्लेख गर्दै केही प्रसङ्गले आफूलाई भावुक बनाएको बताउनुभयो । उपप्राध्यापक डा. तारालाल श्रेष्ठ ले शरणार्थी जीवनदेखि तेस्रो देश पुनःस्थापनासम्मको यात्रालाई उपन्यासले समेटेको बताउनुभयाे ।
समाजशास्त्री मीना पौडेल ले पुनःस्थापनापछि पनि भुटानी नेपालीभाषीहरूले आफ्नो पहिचान नबिर्सिएको उल्लेख गर्दै कृतिले त्यही यथार्थलाई प्रतिबिम्बित गरेको धारणा राख्नुभयो । पत्रकार शेखर खरेल ले जीवनका कतिपय अनुभूति सिधै भन्न नसकिने भएकाले आख्यानको आवश्यकता पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा कृतिकार पदम काफ्ले ले आफूले अग्रजहरूको सुझाव र समीक्षा शिक्षाका रूपमा ग्रहण गर्ने बताउनुभयो । विगत १७ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका काफ्लेले सिर्जनात्मक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
‘युग यात्रा’ खुम्बिला बुक्स द्वारा प्रकाशित कृति हो। कार्यक्रममा साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

