साहित्यपोस्ट डट कम

ओशोका तीन अनुवाद कथा

ओशोका तीन अनुवाद कथा

घृणा र प्रेम

एकजना फकिर एउटा गाउँमा आए । गाउँका धेरै मानिस उनका विरोधी भएका थिए । उनीहरू रिसको आवेगमा आएर उनलाई जुत्ताको माला लगाइदिए । ती फकिर खुब खिलखिलाएर हाँस्न थाले ।

उनले जुत्तालाई गहिरोसित हेरे । त्यो माला समालेर राखे । छातीमा टाँसे । गाउँका मानिसले सोधे– तिमी के गरिरहेका छौ ? यो त जुत्ता हो त । फकिरले भने– मेरो जुत्ता फाटिसकेको थियो । प्रार्थना गरेको थिएँ । मेरो प्रार्थना सुनेछन् । हिजो राति मात्र मैले परमात्मालाई भनेको थिए कि मलाई जुत्ता दिलाइदिनुस् प्रभु ! तर मैले यति धेरै दिलाइदिन्छन् भन्ने सोचेको थिइन । मैले त दुइटा जुत्ताको आशा गरेको थिएँ ।

त्यो पनि मेरो प्रार्थना कहिलेकाहीँ सुन्छन् प्रभुले । सुन्छन् भन्ने पक्का पनि थिएन । तर बिहानै यति धेरै जुत्ता ! हे मालिक ! तिम्रो धेरै ठूलो कृपा छ ।

रह्यो तपाईंहरूको कुरा ! म यो कुरा जानेर खुशी छु कि तपाईँहरूको पासमा जे थियो, त्यो ल्याएर दिनु भो ! केही गाउँ त यस्ता छन् कि मानिसहरू केही पनि ल्याउँदैनन् । जस्तो जुत्ता पनि ल्याउँदैनन् । यस्तो लाग्छ उनीहरूको साथमा केही पनि छैन । फेरि जसको साथमा जे छ त्यही दिने हुन् । मालीको गाउँमा गएँ भने फूल दिन्छन् । लाग्छ यो बस्ती चमारको बस्ती हुनुपर्छ । जुत्ताको मालाले पुष्टि गर्छ । यो बस्ती चमारकै हुनुपर्छ । चमार भाइहरू ! तिमीहरूको ठूलो कृपा छ । जो सित जे आफ्नो पासमा छ त्यही न दिन्छ ! चमार भाइ ! तिम्रो ठूला कृपा ।

कसैले जहर फर्काउन खोज्छ भने फर्काउन देऊ । जहर फर्काउँदा फर्काउँदा कुनै दिन त होश आउला ! गाली दिँदा दिँदा कहिले त चेत आउला !

यदि उनीहरूले मलाई आफ्नो दुष्मनै सम्झे भने पनि आफ्नो मान्छेको लागि थोरै भए पनि ठाउँ त दिए । त्यहीँबाट काम सुरु हुन्छ । त्यति जग्गा नै काफी छ । थोरै खुट्टा राख्न ठाउँ मिल्यो भने फेरि बिस्तारी बिस्तारी औँला हातमा आउँछ । र जो घृणाले भरिन्छ, ऊ कुनै दिन प्रेमले पनि भरिन्छ किनकि घृणा र प्रेम एउटै सिक्काका दुई पाटा हुन् ।

(ज्योति से ज्योति जलेबाट)

= = =

एक्लोपन–एकाङ्कीपन

एकराजाले एउटा सामान्य, स्वस्थ र सन्तुलित मानिसलाई कैदी बनायो । कैद गर्नुको कारण थियो – एकाङ्कीपनले मानिसमाथि कस्तो प्रभाव पार्छ ? मानिसलाई एक्लो राख्ता त्यसको असर के देखिन्छ ? त्यसको अध्ययनको लागि थुनेको थियो ।

त्यो मानिस केही समयसम्म त चिच्याइरह्यो, कराइरह्यो । बाहिर निस्किनलाई रुन्थ्यो, टाउको ठोक्थ्यो । उसको सारा सत्ता जति थियो, त्यो बाहिरै थियो । सारा जीवन “पर” बाट बाँधिएको थियो । आफूमा त ऊ केही पनि थिएन । एक्लो हुनु, नहुनु दुइटै बराबर थियो ।

विस्तारी विस्तारी ऊ टुट्न थाल्यो । ऊ भित्र ऊ विलीन हुन लाग्यो । चुपचाप स्थितिमा आयो । रोदनले पनि बिदा लियो । आँसु पनि सुकेर गए । आँखा यस्तो देखिन थाले जस्तो ढुङ्गा छ । उसले आँखा हेर्दाको अवस्था पनि यस्तो लाग्थ्यो कि मानौँ ऊ केही देखिरहेको छैन ।

दिन बिते, वर्ष बिते । उसलाई सुख सुविधाको सबै व्यवस्था थियो । जुन उसलाई बाहिर उपलब्ध थिए । त्यो सबै चिज कैदमा उपलब्ध थियो । ऊ शाही आतिथ्यका रूपमा थियो । तर वर्षदिन पुगेपछि विशेषज्ञले भने– यो मानिस पागल भैसक्यो ।

माथिबाट त ऊ त्यस्तै नै थियो, सायद बढी नै स्वस्थ थियो । तर भित्र ?

भित्र एक अर्थमा ऊ मरी नै सकेको थियो । म सोध्न चाहन्छु – के एक्लोपनले कसैलाई पागल बनाउन सक्तछ ? एक्लोपनले कसरी पागल बनाउला ? बस्तुतः पागल त पूर्ववत अवस्थामै थियो । बाहिरी सम्बन्धले त्यसलाई लुकाएर राखेको थियो । एक्लोपनले त्यसलाई अनावृत्त गरिदिन्छ ।

प्रत्येक व्यक्ति यसैकारण स्वयम् देखि पलायन भएको छ । तर यो पलायनलाई स्वस्थ भन्न सकिँदैन । तथ्यलाई नदेख्नु त्यसबाट मुक्त हुनु होइन । जो नितान्त एक्लोपनमा स्वस्थ र सन्तुलित हुँदैन, ऊ धोकामा छ । त्यो आत्मवचना काहीँ न काहीँ खण्डित हुन्छ नै र जे चिज भित्र छ त्यसलाई त्यसको परिपूर्ण नग्नतामा जान्नुपर्दछ । यो आफ से आफ अनयास भयो भने व्यक्तित्व छिन्न भिन्न र विक्षिप्त बन्दछ । जे चिज दमित छ । त्यो कुनै न कुनै समयमा विस्फोट हुनेछ ।

धर्म यही एकाङ्कीपनमा स्वयं उत्रिने विज्ञान हो । क्रमशः एकएक पत्र उघार्दै अद्भुत सत्यसित साक्षात्कार हुन्छ । विस्तारी विस्तारी ज्ञात हुन थाल्छ कि बस्तुतः हामी नितान्त एक्लो नै छौँ । गहिराइमा, आन्तरिकताको केन्द्रमा प्रत्येक व्यक्ति एकाङ्कीपन छ । त्यससित परिचित हुने हो भने भयको ठाउँमा अभय र आनन्दले आशन लिन्छ । एकांकीपनको घेरामा स्वयं सच्चिदानन्द विराजमान छ ।

आफैँ भित्र उत्रेर स्वयम् प्रभुलाई प्राप्त गर्दछ ।

त्यसैले भन्दछु – एक्लोपनबाट, आफूबाट नभाग, बरु आफूमा डुब । सागरमा डुबेर नै मोती पाउन सकिन्छ ।

===

सुनको सन्दुकमा कछुवा

चीनका एक महाज्ञानी भारतीय भाषामा भन्ने हो भने अवतारतुल्य च्वाङ्गत्सु एक नदीको किनारमा मस्तीसित बसेर नदीमा उठेका लहरहरु हेरिरहेका थिए ।

बिहानीको सूर्य निक्लिँदैथ्यो । फूल खिलिरहेको थियो । पंक्षी गीत गाइरहेका थिए ।

माछाहरू बिहानीको ताजा रोशनीमा छलाङ मारिरहेका थिए ।

सोही समयमा सम्राटका दुईजना मन्त्रीहरू च्वाङ्गत्सुलाई खोज्देै आए । उनीहरूले च्वाङ्गत्सुसित प्रार्थना गरे कि सम्राटले तपाईंको प्रतिभाको विषयमा धेरै कुरा सुन्नु भएको छ अनि सम्राट तपाईंसित भेट्न अति उत्सुक हुनुहुन्छ । उहाँ चाहनुहुन्छ कि तपाई उहाँको प्रधानमन्त्री बनिदिनुस् ।

च्वाङ्गत्सु खुब हाँसे । ती मन्त्रीहरू थोरै हतप्रभ पनि बने ।

उनीहरूले सोधे – तपाई किन यस प्रकारले हाँसिरहनु भएको छ, कुरा के हो ? तपाईंले हुन्छ भनिदिनुस् । यो त तपाईंको लागि बडा सौभाग्यको क्षण पनि हो । मानिस त पदको लागि पागलै हुन्छन् ।

जिन्दगीभर मेहनत गर्दा पनि पद पाइरहेका हुन्नन् । हामी पनि प्रयास गर्दा गर्दा थाकिसकेका छौं र पनि अहिलेसम्म प्रधानमन्त्री हुन पाइएको छैन । तपाईँको लागि भने यो सौभाग्य आफ से आफ आएको छ । यो त वरदान हो ।

तपाईंको हाँसोले हामीलाई शक भएको छ ।

च्वाङ्गत्सुले भने – एउटा कुराको मलाई उत्तर देऊ । देखिरहेका छौँ । सामुन्नेको हिलो आहालमा एउटा कछुवा मस्तीसित आफ्नो पुच्छर हल्लाइरहेको छ । हिलोको मजा लिइरहेको छ ।

च्वाङ्गत्सुले फेरि सोधे – देख्यौ, यो कछुवा हिलोमा मस्त रहेको ? मैले सुनेको छु , सम्राटको महलमा पनि एक कछुवा छ । ती मन्त्रीहरूले भने निश्चित रूपमा छ । त्यो अति प्राचीन कछुवा हो – त्यो तीन हजार वर्ष पुरानो समयदेखि छ । सुनको सन्दुकमा त्यो बन्द छ । हिरा जवाहरत जडिएको छ । वर्षको एकदिन त्यसको पूजा गरिन्छ । त्यो बडा पवित्र कछुवा हो । त्यो दरबारको धरोहर हो । जब पहिलो चोटि यी सम्राटका पूर्वजहरू राजा बनेका थिए, त्यतिखेर देखि त्यो दरबारमा रहिआएको छ ।

च्वाङ्गत्सुले सोधे – म तिमीहरूसित सोध्छु, यदि त्यो हिलोमा मजा लिइरहेको कछुवालाई तिमी सुनको सन्दुकमा बन्द रहन चाहन्छौ भन्यो भने, हिरा जवाहरात जडिएको त्यो ठाउँमा बसेर वर्षको एकदिन पुजिन पनि चाहन्छौ भनेर सोध्यो भने, त्यो सुनको सन्दुकमा बन्द हुन राजी होला ? या यसै हिलोमा मजासित पुच्छर हल्लाएर खेल्नमा खुशी होला ?

मन्त्रीहरूले भने – कछुवाको कुरा गर्नुहुन्छ भने त त्यो हिलोमै पुच्छर हल्लाउनमा खुशी होला । कछुवा त सुनको महल र सुनको सन्दुकमा बन्द हुन अस्वीकारै गर्ला ।

च्वाङ्गत्सुले भने–तिमीहरू मलाई कछुवा भन्दा बढी मूर्ख सम्झिन्छौ ? तिमीहरू मलाई कछुवा भन्दा ज्यादा बुद्धू ठान्छौ ? यहाँबाट फर्किहाल, अब आइन्दा यस ठाउँमा आउँदै नआउनू । म आफ्नै हिलोमा मस्त छु । मलाई राजमहल चाहिँदैन ।

भनिन्छ कि च्वाङ्गत्सुले त्यो गाउँ छोडेर हिँडे । उनले त्यो राज्य नै त्यागिदिए किनभने राजाले उनलाई घरी न घरी पिछा गरिरहे ।

(भक्ति ध्यान कि मधुशालाबाट)

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.