साहित्यपोस्ट डट कम

ओशोका पाँच अनूदित कथा

ओशोका पाँच अनूदित कथा

गुरुको बाटो

एकजना सूफी फकिरलाई कारागारमा थुनियो । ऊसित सम्राट रिसाएका थिए । ऊमाथि आरोप थियो कि उसले केही खजना लुकाएर राखेको छ । उसको साथमा बहुमूल्य हिरा छ जुन राजालाई दिन मानिरहेको छैन ।

त्यो फकिर अक्सर अरू मानिसलाई भन्ने गर्थ्यो – “मेरो पासमा हिरा छ । आओ ! यसलाई लैजाओ ।”

ऊ कुनै अर्कै हिराको विषयमा कुरा गरिरहेको थियो । ऊ संसारको हिराको विषयमा कुरा गरिरहेको थिएन । तर राजालाई मानिसहरूले पोल लगाइदिए – यो मानिस आफूसित हिरा भएको कुरा गर्छ । अरूलाई आएर त्यो लिन उक्साउँछ ।

त्यसैले राजाले उसलाई पक्रे । राजाले उसलाई धेरै सताए । उसले धेरै पटक आफ्नो तर्फबाट कुरा स्पष्ट पार्न खोज्यो – “मैले त कुनै अर्कै हिराका कुरा गरेको हुँ ।”

राजाले भने – “जुनसुकै हिरा होस् तर त्यसलाई तैँले देखाउनुपर्छ । जुनसुकै ढङ्गको हिरा भए पनि त्यसलाई नहेरीकन म तँलाई छोड्दिनँ ।”

उसले भन्यो, “यो हिरा यस्तो छ जुन बाहिरी आँखाले देख्न सकिन्न ।”

राजाले भने, “ज्यादा चलाखी नगर । हेर्न नमिल्ने हिरा पनि हुन्छ भन्ने कुरा मैले सुनेकै छैन । अब तँ पिटिनेछस् । कुटिनेछस् । अनि मात्र ठीक ठाउँमा आउनेछस् ।”

ऊमाथि धेरै कुटपिट गरियो ।

उसको साथमा एक सानो खेत थियो । बाली लगाउने समय आइसकेको थियो । उसले आफ्नी पत्नीलाई एउटा पत्र लेख्यो – हेर, कसैलाई नबताउनू खेतमा मैले हिरा गाडेको छु भन्ने कुरा । जेलबाट पत्र बाहिर पठाइयो । राजालाई यी सब थाहा थियो ।

राजाले हजार जना मानिस खेत खन्न पठाए । उनीहरूले पूरै खेत खने । त्यहाँ त कुनै हिरा सिरा त थिएन । पत्नी छक्क परिन्, चिठीमा किन यस्तो कुरा लेखेका हुन् ? के मेरा पति पनि त्यही बाहिरी हिराको चक्करमा परेका हुन् ? मैले जानेको कुरा त त्यो हिरा, अध्यात्मको कुरा थियो । यो कुरा के हो ?

फेरि पतिको दोस्रो पत्र आयो, त्यसमा लेखिएको थियो – अब बीउ छरिदेऊ । यो त सिर्फ खेत खनाउने तरिका थियो ।

गुरुले बाटो खोज्नेछन् प्रत्यक्ष या परोक्ष रूपमा ।

(दिया तले अँधेराबाट)

= = =

तीन यात्री

एक सूफी कथा छ ।

एक लामो अनि थकाइ लाग्दो यात्रामा, तीन जना यात्री साथसाथै हिँडेका थिए । उनीहरूले आफ्नो यात्रा पथमा सुख दुःख सबै चीज बाँडचुँड गरेका थिए ।

यात्राको केही दिनपछि उनीहरूलाई थाहा भयो कि उनीहरूसित अलिकति रोटी र पानी मात्र बाँकी रहेको छ । र यसै चीजमा उनीहरू झगडा गर्न लागे कि यो भोजन कसले लिने भनेर । कसै गर्दा पनि कुरा मिलेन । उनीहरूले रोटी र पानी बाँड्ने विषयमा अनेक चोटि विचार विमर्ष गरे । फेरि पनि उनीहरू कुनै निष्कर्षमा पुग्न सकेनन् ।

जब रात पर्‍यो । एकजनाले उपाय झिक्यो, अब सुतौं, जसले सबभन्दा राम्रो सपना देख्छ, भोलि उठेपछि, उसैले रोटी पानी खाने ।

दोस्रो दिन सबेरै सूर्याेदयसँगै तीनैजना यात्री उठे ।

पहिलोले भन्यो – “मेरो सपना यस्तो छ । म यस्तो ठाउँमा पुगेछु, जसको वर्णन गर्नै सकिँदैन । त्यो ठाउँ यति अपूर्व, अद्भुत अनि प्रशान्त थियो । र मैले त्यहाँ एकजना ज्ञानी पुरुष भेटेँ । जसले मलाई भने कि त्यो भोजनको हकदार तिमी नै हौ । किनकि तिमीले व्यतीत गरेको जीवन र तिम्रो भावी जीवन त्यसको लागि योग्य र सह्रानीय छ ।”

दोस्रोले भन्यो – “आश्चर्यको कुरा छ, सपनामा मैले आफ्नो पूरै अतीत र भविष्यलाई देखेँ । र मेरो सपनामा मैले एक सर्वज्ञ पुरुष भेटेँ । उनले भने कि आफ्ना मित्रहरूभन्दा अघि बढेर तिमी नै रोटीको हकदार हुनसक्छौ । किनकि तिमी नै विद्वान र धैर्यवान छौ । तिम्रो पोषण ठीकसित हुनुपर्दछ । किनकि तिमी निश्चित रूपमा मानिसहरूको नेता बन्नेवाला छौ ।”

तेस्रो यात्रीले भन्यो – “मैले आफ्नो सपनामा न केही देखेँ, न केही सुनेँ, अनि कसैले न केही भने । मैले एक दुर्विक्ष्यले भरिएको वर्तमानको अनुभव गरेँ । जसले मलाई वाध्य पारिदियो कि म उठूँ अनि रोटी पानीको खोजी गरूँ र तत्क्षण त्यसको भोग गरूँ । र मैले त्यही गरेँ ।”

(दीया तले अँधेराबाट)

‍‍‍= = =

मूल्यहीन छ शिर

अकबरको आदत थियो, जनुसुकै भिखारी फकिर आए पनि उसको सामुन्नेमा शिर झुकाएर नमस्कार गर्ने । मन्त्रीहरूलाई यो कुरा नराम्रो लाग्थ्यो । ठाउँ ठेगाना नभएका ऐरेगैरे फकिरको सामु सम्राट जस्तो मानिसले सिर झुकाउनु शोभा दिने कुरा थिएन ।

आखिरमा उनको ठूलो मन्त्रीले भन्यो – “तपाईंको यस कार्यले तपाईंलाई शोभा दिएको छैन, तपाईं त सम्राट हो नि । यो काम तपाईंको प्रतिष्ठा अनुकूल छैन । यस्ता ऐरेगैरे भिखमंगाका अगाडि शिर झुकाउनु अशोभनकारी कार्य हो ।”

अकबरले भने – “तिमी एक काम गर । आज एउटा मानिसलाई फाँसी लगाउनु पर्नेछ । उसको शिर काटिए पछि, तिमी त्यो शिर लिएर बजार जाऊ । त्यो किन्ने मानिस भेटिन्छ, भेटिन्न । भेटियो भने कति पैसा हाल्न तयार हुन्छन्, त्यस विषयमा मलाई खबर गर ।”

राजाबाट आज्ञा भएपछि जानैपर्थ्यो । शिर लिएर बजार गयो । पूरै बजार घुम्यो । जहाँजहाँ गयो, गुप्त भेषमा गयो । किनकि रूप नबदलीकन गएको हुन्थ्यो भने शायद चाकरी गर्ने मानिसहरूले लाखौँ रुपैयाँ हालेर तुरुन्तै लिन्थे पनि होला । आफ्नो मतलब पूरा गर्न त्यसो गर्न पनि सक्थे । त्यसैकारण ऊ आफ्नो रूप छिपाएर गएको थियो ।

जुनजुन दोकानमा गएर त्यो टाउको किनिदिन आग्रह गर्थ्यो । मानिसहरू भन्थे – “भाग यहाँबाट । यस्तो चीज यहाँ ल्याउँछस् । यसको के काम छ र किन्नु ? तँ पागल भएको छस् ?”

साँझमा ऊ दरवारमा फर्क्यो र उसले राजासित भन्यो – “क्षमा गर्नुस् । कोही किन्ने मानिस भेटिएन । उल्टै मानिसहरू मसित रिसाए । जतिलाई मैले भने – भाइ किनिदेऊ । जति दिन्छौ देऊ दुईचार पैसामा म दिइदिन्छु । उनीहरू सबैले भने – यहाँबाट भाग्, यस्तो चीज यहाँ ल्याउँदै नले । यो चीज हामीले के गर्नु ?”

त्यसपछि अकबरले भने – “मेरो शिरको हालत पनि यस्तै हुनेछ । कोही किन्ने मानिस भेटिनेछैन । चार पैसा दिनलाई कोही राजी हुन्नन् । अनि त म यसलाई झुकाउँछु । तर, तिमी नाराज बन्छौ । नाराज बन्ने कुनै कारण छैन किनकि यसको कुनै मूल्य नै छैन ।”

(दीया तले अँधेराबाट)

‍‍= = =

विभूतिपाद

मेरो पासमा मानिसहरू आउँछन् । उनीहरूलाई ध्यानमा थोरै गति मिल्छ, तब उपद्रव शुरू हुन थाल्छ । उनीहरू भन्छन्, यसो गर्दा यसो भयो …।

एकजना युवक मेरो पासमा आए । साँचोमा उनी हिम्मतवाल युवक थिए । बडा साहसका साथ उनले ध्यानको प्रयोग गरेका थिए । उनी म नजिक आए । उनी एक यात्रामा गएका रहेछन् । बसमा बसिरहेका थिए । केही गर्नु थिएन । तर, जुन मन्त्रको उनी साधना गरिरहेका थिए, त्यही मन्त्र रटिरहेका थिए । उनी चौबीसै घण्टा, जब जब त्यसको याद आउँथ्यो, त्यही रटिरहेका थिए ।

सामुन्नेमा एउटा मानिस बसको हुडमा बसेको थियो ।

अचानक त्यो मन्त्र रट्तारट्तै उसलाई यस्तो लाग्यो कि कतै यो मानिस बसबाट नगिरोस् । गाडी पहाडी बाटोमा उकालो चढिरहेको थियो । बसलाई धक्का लागिरहेको थियो । यही बेला उसलाई ख्याल आयो– कतै त्यो मानिस नगिरोस् । जतिखेर उसलाई यो कुराको ख्याल आयो, त्यो मानिस गर्लम्मै भुइँमा खस्यो । ऊ थोरै चक्करायो र उसलाई लाग्यो, कतै मैले त्यस्तो सोचाइ गरेको कारणले यो मानिस गिरेको हो कि या सिर्फ संयोगको कुरा हो ?

त्यसपछि उसले दोस्रो मानिस उपर प्रयोग गरेर हेर्‍यो । जस्तो उसले सोच्यो कि यो मानिस कतै नगिरोस् । त्यो दोस्रो मानिस पनि लड्यो । तब ऊ धेरै हडबडायो । ऊ हडबडाउनु स्वाभाविक पनि थियो । र उसले सोच्यो, यो कुरा संयोगको कुरा पक्कै होइन । तर, फेरि उसलाई यस्तो लाग्यो, हुनसक्छ यो घटना पनि संयोग मात्र हो । अझै एउटा प्रयोग गरेर हेरूँ । त्यसपछि उसले अर्को तेस्रो व्यक्ति माथि प्रयोग गरिहेर्‍यो । त्यो मानिस बिलकुल सहीसलामत बसेको थियो । जुन मानिस त्यहाँबाट गिर्ने कुनै सम्भावना नै थिएन । उसले सोच्यो, कतै यो मानिस गिर्‍यो भने…। उसले सोचेपछि त्यो मानिस पनि बसबाट गिर्‍यो ।

उनी यात्रा बीचमै रद्द गरेर कुद्दै मेरो पासमा आए । उसले सबै बेलिबिस्तार लगाएर घटनाहरू सुनाए । र मलाई सोधे – यो त कल्पना बाहिरको कुरा भयो, अब म के गरूँ ? यदि मानिस गिर्न सक्छ भन्ने कुरा साफ छ मेरो सोचाइले अरू पनि केही काम हुनसक्छ ? जस्तो कुनै मानिस बिमारी छ, र उसलाई मैले भनिदिऊँ – ठीक भइहालोस् । यस्तो कुरामा त जनताको सेवा नै होला । र यस्ता कुराले कुनै खराब त गर्दैन । यस कुराले त अरूलाई लाभै मिल्ला ।

मैले ऊसित सोधेँ – “जब ती तीन जना मानिस बसबाट लडे । त्यसपछि तिमी भित्र के भयो ? त्यो मलाई बताऊ । तिमीभित्र कस्तो रस आयो ।”

उसले भन्यो – “मलाई लाग्यो कि अब मैले सिद्धि प्राप्त गर्न लागिरहेको छु र अब बाटो धेरै टाढा छैन । मञ्जिलसम्म पुग्ने बाटो नजिकै छ ।”

बस मैले भनें – असली कुरा यो छ सेवा । अर्कोलाई ठीक गर्ने कुराको तिमी चिन्ता नगर । जबसम्म तिमी रहन्छौ, तबसम्म तिमी जे जे गर्छाै त्यो सेवा हुन सक्दैन । जुन दिन तिमी मेटिनेछौ, त्यस दिन हुनेछ सेवा ।

‘म’लाई बचाएर कसरी हुन्छ सेवा ? ‘म’ले त सिर्फ शोषण गर्न सक्दछ, सेवा गर्न सक्तैन । ‘म’ले सिर्फ अरूलाई चुस्न सक्तछ, दोस्रोलाई सहारा दिन सक्तैन । सहाराको नाममा पनि चुस्ने काम नै गर्छ ।

त मानिस जतिजति साधनामा लाग्दछ आखिरी घडीहरूमा मनका सूक्ष्म शक्तिहरू जाग्न शुरू हुन्छन् । विभूति पैदा हुन्छन् । तर त्यो विभूति सिद्धि होइन । त्यो मञ्जिल होइन । त्यो विश्राम लिने ठाउँ पनि होइन । त्यसतर्फ उपेक्षाका नजर फाल्दै अगाडि गुज्रिनु पर्छ । त्यसैले पतञ्जलीले विभूतिपाद लेखे पूरा एक अध्याय । सिर्फ साधकहरूलाई सावधान गर्नको लागि ।

(दीया तले अँधेराबाट)

= = =

परिग्रह

मैले सुनेको छु, एउटा कन्जुस मान्छे दोकान बन्द गरेर घर आयो । त्यो समयमा बिजुली बत्तीको आविष्कार भएको थिएन । माटोको दियो जलाउने चलन थियो । उसको घरमा दियोको ज्योति मजाले लप्लपाइरहेको छ ।

उसले पत्नीलाई भन्यो – “देख्दिनस् दियोको लप्का ! कति तेजिका साथ बलिरहको छ ? कति धेरै तेल व्यर्थैमा खर्च भैरहेको छ ।”

त्यही बखत उसलाई याद आयो कि दोकान बन्द गर्ने बेलामा उसले एउटा मात्र ताला लगाएको थियो । अर्को ताला त लगाएकै थिएन । ऊ हडबडायो – कतै सबै दोकान नलुटियोस् । ऊ दोकानतिर कुद्यो ।

बाटोमा जाँदाजाँदै उसको मनमा विचार आयो कि त्यस्तो कुन ठूलो आपत आई नै सकेको थियो र ? आखिर दोकानमा एउटा ताला त लगाएकै छु । दोस्रो ताला अलि पछाडि पनि लाउन सकिन्छ । पहिले दियोको ज्वाला त अलि सानो पारेर आऊँ । दोकान पुगेर फर्किँदा ओर्दा कति तेल व्यर्थै जल्छ । यति सोचेर ऊ फेरि घर फर्क्यो ।

घरमा आउँदा देख्यो, दियोको ज्वाला सानो पारिएको थियो ।

पत्नीले भनी– “मैले दियोको ज्वाला सियोको टुप्पाले सानो पारेकी छु । अनि सियोमा जुन तेल लागेको थियो । त्यो पनि मैले कपालमा लगाएँ । तपाईंले चिन्ता गर्नुपर्दैन । तपाईंलाई तेलको त खूब ध्यान आयो तर आफ्ना जुत्ताको ध्यान आएन । यहाँबाट जानु भयो फेरि बाटैबाट फर्किनु भयो अब फेरि दोकानमा ताला लगाउन जानुहुन्छ, त्यहाँबाट फेरि फर्किनुहुन्छ यसो गर्दा व्यर्थमा जुत्ता कति खिइन्छ ?”

त्यो कन्जुस मानिस बोल्यो – “यहाँ हेर, जुत्ता म खुट्टामा कहिले लगाउन्न । काँधैको झोलामा राखेको हुन्छु ।”

जहाँ परिग्रह छ, त्यहाँ कृपणता हुन्छ ।

(मृत्योर्मा अमृतं गमयबाट)

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.