साहित्यपोस्ट डट कम

ओशोका दुई आध्यात्मिक कथा

ओशोका दुई आध्यात्मिक कथा

चामल कुट्दाकुट्दै बुद्धत्व !

एक जना युवक गुरुको पासमा पुग्यो । र उसले गुरुसित भन्यो कि मैले पनि जान्नु छ, मैले पनि सत्यलाई जान्नु छ ।

गुरुले  भने, “सत्यलाई जान्ने हो कि सत्यको सम्बन्धमा जान्ने हो ?”

शिष्यले क्षणभर सोच्यो, गुरुका खुट्टा पक्रेर भन्यो, “जब तपाईं सामु आई नै सकेपछि सत्यको सम्बन्धमा के जान्नु, सत्यलाई नै जान्नेछु ।“

फेरि गुरुले भने, “बात थोरै कठिन छ । सत्यको सम्बन्धमा जान्न सजिलो छ । सत्यलाई जान्न चाहिँ कठिन छ । किनभने सत्यको सम्बन्धमा जान्नु भनेको त सिर्फ जानकारी हो, पाण्डित्य प्रदर्शन हो । सत्यलाई जान्नु भनेको त प्रज्ञाको दियो प्रज्वलित गर्नु हो, त्यो भनेको जीवनलाई रूपान्तरित गर्नु हो । फेरि तिमी सोच, सत्यको सम्बन्धमा जान्ने हो या सत्यलाई नै जान्ने हो ?”

त्यस युवकले भन्यो, “अहिलेसम्म त मैले यस विषयमा विचारै गरेको थिइनँ कि यी दुइटाको बीचमा भेद छ । अहिले तपाईंलाई देखेर भेद साफ भयो । मैले पण्डित धेरै देखेको छु । सत्यको सम्बन्धमा जान्नेवाला बहुत देखेको छु । र अहिलेसम्म त यही सोचेको थिएँ, कि मैले पनि यही जान्नु छ । आज तपाईंलाई देखेर यी सारा भ्रान्तिहरू  टुटेर गएका छन् । आज रोशनी (उज्यालो) पहिलो चोटि देखेँ । अहिलेसम्म त अँध्यारो देखेको रहेछु । अब त सत्यलाई नै जान्ने हो । जुन तपाईंले जान्नु भयो त्यही जान्ने हो । र त्यसका लागि जति मूल्य  चुकाउनु पर्ने हो, त्यो चुकाउन म तयार छु । मेरो यो प्राण लिने हो भने पनि लिनुहोस् ।

गुरुले भने, “त्यसो भए तिमी यसो गर, आश्रममा पाँचसय भिक्षु छन्, चामल कुट्ने काम तिमीले समाल । र अब दोस्रो चोटि मेरो सामु नआउनू । चामल कुट्नु बिहानदेखि बेलुकासम्मै । थाक्यौ भने सुत्नू । बिहान निद खुलेपछि फेरि चामल कुट्नू । चामलै कुटिरहनू । न अरू कुरा सोच्नू, न कुनै कुरा विचार गर्नू, न कुनै वादविवादमा पर्नू । तिम्रो यही साधना । र फर्केर मेरो पासमा आउँदै नआउनू । जब जरूरत पर्ला म खुद तिमी सामु आउँछु ।“

यसरी नै बाह्र वर्ष बितेर गए ।  युवक चामलै कुटिरह्यो । चामल कुटी नै रह्यो । रोज बिहानै उठ्नु, अँध्यारो अँध्यारो मै कोही जागा हुनु अगाडि नै चामल कुट्नमा व्यस्त हुनु === । किनकि छिट्टै भिक्षुहरू जाग्नेछन् । उनीहरूको लागि नास्ता तयार गर्नु छ । अनि अबेर रातिसम्म चामलै कुटिराख्नु । ठूलो आश्रम थियो । पाँचसय भिक्षुको निम्ति चामलको इन्तिजाम गर्नु थियो । जब ऊ थाक्थ्यो त्यहीँ नै सुत्थ्यो, त्यसै कोठामा जहाँ ऊ चामल कुट्थ्यो ।

अनि सबेरै जब उसको आँखा खुल्थ्यो उठेर त्यही चामल कुट्ने काम शुरू गर्थ्यो । थोरै दिनसम्म पुराना विचारहरू चलिरहे । तर जब विचारलाई रोजरोज नयाँनयाँ भोजन नमिले पछि आफ से आफ क्षीण हुँदै जान्छन् । आफू आफैँमा दुर्बल हुँदै जान्छन् । आफू आफैँमा निष्प्राण हुँदै जान्छन् । चामलै कुटी राख्नु, चामलै कुटी राख्नु……… विचार गर्ने सुविधा पनि कहाँ थियो र ? विस्तारी विस्तारी विचार क्षीण हुँदै गयो, ऊ लीन हुँदै गयो । वर्ष, दुई वर्ष पछि त बस चुपचाप चामल कुट्ने काम मात्र बाँकी रह्यो । मौन भयो, चित्त विलीन भएर गयो । बाह्र वर्ष बिते । बाह्र वर्ष बितेपछि गुरुले एकदिन घोषणा गरे, अब मेरो मृत्यु नजिक आइरहेको छ । र अब मलाई एउटा व्यक्ति चुन्नु छ– जो यस आश्रमको प्रधान बनोस् मेरो सेखपछि । त्यसका लागि मैले यस्तो व्यवस्था खोजेको छु । जुन व्यक्तिलाई त्यो अनुभूति मिलेको छ, उसले मेरो ढोकामा राति आएर चार पंक्ति लेखिदेओस्‌– यस्तो पंक्ति लेखोस् जसमा उसका सारा अनुभव समाहित होऊन् ।

धेरै मानिसले सोचे, जो प्रधान पण्डित थियो आश्रमको, उसले पनि गएर चारपंक्ति लेख्यो । प्यारा पंक्तिहरू लेख्यो । पण्डितहरू शब्दका धनी हुन्छन् । शास्त्रमा ज्ञाता हुन्छन् । उसले बडा सार कुरा लेखिदिएको थियो । उसले लेखेको थियो कि मन एक दर्पण हो, जसमाथि विचारको, विकारको, वासनाको धुलो जम्दछ । धुलो झारिदिनु ध्यान हो । र जसको धुलो झरिसक्यो, त्यो दर्पण निर्मल बनेर गयो । उसैलाई मोक्ष उपलब्ध हुन्छ ।

कुरा त थाहा पाए जस्तो नै थियो । कुरा त भन्न योग्य नै थियो । तर जब गुरु सबेरै उठे र ढोकामा यी पंक्तिहरू लेखेको उनले देखे । त्यसपछि उनले भने–  यो कुन नासमझ व्यक्तिले लेखेर मेरो भित्तो बिगारेको हो ? पण्डितले पनि डरको कारणले दस्तखत गरेको थिएन । उसले पनि होशियारी अपनाएको थियो । होशियारी राख्नु नै थियो । थाहा त उसलाई पनि थियो कि मलाई अहिलेसम्म केही थाहा छैन । यो कुरा त सबै शास्त्रको निचोड थियो । यस्तो दर्पण जस्तो चित्त उसको अहिलेसम्म पनि हुन सकेको थिएन । अझै धुलो जमिरहेको थियो । जमेको मात्र थिएन । मजाले नै टाँसिएको थियो । जति शास्त्र बढ्दै थिए, त्यति नै धुलो जम्दै थियो । दर्पण त धुलोको डङ्गुर भित्रै कतै पुरिएको थियो । त्यो त उसले शास्त्रको सार लेखेको थियो । यो आफ्नो  प्रतीति थिएन । आफ्नो साक्षात् अनुभूति थिएन । यो आफ्नो अस्तित्वगत अनुभव थिएन । ऊ स्वयं त्यस चीजको गवाह थिएन । यो त ज्ञानीहरूले भनेको कुरा थियो । पढेलेखेको मानिस थियो । सुगा जस्तो रटन्ते थियो । सुन्दर शब्द जानेको थियो । सुन्दर पंक्तिहरू रचेको थियो उसले । डरको कारणले दस्तखत गरेको थिएन । उसले सोचेको  थियो – मन त चालबाज हुन्छ, चलाख हुन्छ ।

उसले यो पनि सोच्यो – यदि गुरुले प्रशंसा गर्नु भयो भने म घोषणा गरिदिन्छु कि यो मैले नै लेखेको हुँ, यदि गुरुले मन पराएनन् भने, यो पंक्ति ठिक छैन भने म चुपचाप बस्नेछु, मैले लेखेको हुँ भनेर भन्दै भन्दिन ।

मन सदा बेइमान हुन्छ । र मन जति जति पण्डित हुँदै जान्छ उति नै ज्यादा बेइमान हुँदै जान्छ । साधारण मानिसले यस जगतमा साधारणै किसिमको बेइमानी गर्दछ । पण्डितको चित्त भने परमात्मासामु सम्म बेइमानी गर्दछ । पण्डित शिष्यले गुरुको साथमा पनि बेइमान गर्‍यो ।  सारा आश्रम चकित थियो । किनकि सारा आश्रमका मानिसहरूलाई लागेको थियो– पंक्तिहरू सुन्दर छन् । यसभन्दा श्रेष्ठ अरू कुन अभिव्यक्ति हुन्छ ! धर्मलाई सारमा बताइदिएको छ । भन्नुपर्ने कुरा चारै पंक्तिमा भनिएको छ । सारा शास्त्रको  नै निचोड राखिएको छ । सारा बुद्धहरूका वचनमा यही नै त छ, कि चित्त निर्मल बनोस्, निर्दोष बनोस् । चित्तको दर्पण धुलोरहित बनोस् ‍फेरि अर्को जान्ने कुरा के बाँकी रहन्छ र ? त्यसै दर्पणमा सत्यको प्रतिछवि बन्दछ । परमात्माको पहिचान हुन जान्छ ।

वचन त ठिकै हो, तर गुरु कठोर भए । र मानिसहरूलाई यो कुरा ठिक लागेन । किनकि अरू मानिस पनि पण्डित थिए । सानातिना  पण्डित बनेका थिए । ऊ ठूलो पण्डित थियो, बाँकी साना पण्डित थिए । गुरुका कुरा ती मानिसहरूलाई ठिक लागेन । कसैले त यतिसम्म भन्यो, कि बूढेसकालमा बूढो खुस्केछ । कसैले भन्यो कि जरूरत भन्दा ज्यादा अपेक्षा । बडा बडा बुद्धहरूले पनि यसभन्दा सुन्दर अरू के बताउन सक्छन् ? कुराकानी यसरी चलिरहेको थियो ।

ऊ भने चामल कुटिरहेको थियो, बाह्र वर्ष पहिले यो ठाउँमा आएको व्यक्ति थियो । दुई जना भिक्षु यही कुराको चर्चा गर्दै उसको अगाडिबाट गैरहेका थिए । उनीहरूका कुरा सुनेर ऊ हाँस्न लाग्यो । बाह्र वर्षको अवधिमा उसलाई कसैले पनि हाँसेको देखेका थिएनन् । ती दुइटै युवकले सोधे, “तिमी किन हाँसेको ?”

यसकारण सोधिएको थियो कि ऊ कहिल्यै हाँसेको थिएन । कसैसित केही बोलेको थिएन । मान्छेलाई त उसले भुली नै सकेको थियो । आश्रममा उसको कुनै गिन्ति नै थिएन । चामल कुट्ने काम गर्थ्यो । कसले उसको गिन्ती गर्ने ? त्यहाँ त बडा ज्ञानी थिए, बडापण्डित थिए । बडा साधक थिए, योगी थिए । कसले यो चामल कुट्नेलाई सोध्थे र ? उसको गन्ती कुनै साधुको रूपमा थिएन, भिक्षुको रूपमा पनि थिएन । ऊ नाम मात्रको भिक्षु थियो । उसको कुल काम चामल कुट्ने थियो । उसले न कहिल्यै शास्त्र पढेको देखे, न कहिल्यै ध्यान गरेको देखे । यी दुइटै उसको हाँसो सुनेर हैरान भए र उसलाई भने – तिमी पागल त भएका छैनौ, तिमी किन हाँसेका ?

त्यो चामल कुट्नेवालाले भन्यो, “म हाँसे यस कारण कि गुरुले ठिक भनेका छन् । यी चार पंक्ति कुँडाकर्कट हुन् । यसको दुई कौडीको मूल्य छैन ।“

त्यसपछि ती युवकहरूले सोधे, “के तिमी भन्न सक्छौ अर्को चारपंक्ति जो यसभन्दा पनि श्रेष्ठ होस् ? के तिमी लेख्न सक्छौ ?”

उसले भन्यो, “लेख्न त म सक्तिन किनकि म पढेलेखेको मानिस हुइनँ । तर भन्न सक्त्तछु तिमीले यदि लेखिदिने हो भने म अहिले जान तयार छु ।“

त्यो युवक उनीहरूसित गयो । उसले चारपंक्ति बोल्यो । कोही अर्कोले भित्तामा लेखिदियो । उसले आफ्नो दस्तखत पनि गरिदियो । यद्यपि ऊ दस्तखत पनि गर्न सक्तैनथ्यो । उसले चारपंक्ति कस्तो लेख्यो ? उसका पंक्तिहरू बडा अद्भुत छन् । झेन साहित्यको इतिहासमा बेजोड छन् ।

उसले लेखाएको थियो : मनको कुनै दर्पण छैन, धुलो जम्छ कहाँ ? जसले यति कुरा जान्दछ उही व्यक्ति सिद्ध हुन्छ ।

मनको दर्पण नै छैन भने विचारको धुलो जम्दछ कहाँ ? जसले यति जान्यो, उसैले सत्य जान्यो ।

अनि उसले भन्यो– लेखिदेऊ मेरो नाम पनि । र जब गुरुले यी पंक्तिहरू देखे तब गुरु आधा रातमा त्यस युवक नजिक आए । उनले सुतिरहेको उसलाई जगाए र भने कि यसैले समाल्ने छ मेरो डन्डा ! झेन गुरु आफ्नो डन्डा नै वसियतमा दिन्छन्‌ र भन्छन् – लेऊ यो मेरो चोगा । तर भागिहाल । अहिले आधा रात भएको छ । जति टाढा निक्लिन सक्छस् निक्ली यस आश्रमबाट । तँ मेरो उत्तराधिकारी होस् । तर म जान्दछु यस आश्रममा यति धेरै पण्डित छन् तिनले तेरो हत्या गरिदिन सक्छन् । उनीहरूले स्वीकार गर्न सक्तैनन् कि चामल कुट्नेवाला पनि महाज्ञानी हुन सक्छ भनेर । तँ भागिहाल । जति टाढा भाग्न सक्छस् । निक्ली जा पहाडतिर । तेरो पासमा मेरो सम्पदा छ । तैँले पाइसकिस् । चामल कुट्दा कुट्दै पाइस् ।

चामल कुट्ता कुट्तै ध्यान जम्यो । कुनै पनि कृत्य ध्यान बन्न सक्तछ । यहाँ यस आश्रममा यस कुरालाई ख्याल राख्नू । तिल कुट्ता कुट्तै प्रज्ञाभद्र ‘सिद्ध तिलोपा’ बने । यहाँ यस आश्रममा जब सन्यासीहरूलाई कुनै काम दिइन्छ, त्यतिखेर यस कुराको स्मरण राख्नू : कुनै काम न त सानो हुन्छ, न त ठूलो हुन्छ । यहाँ कृष्णा छिन्, गहुँ केलाइरहेकी छिन् मञ्जु छिन्, चामल केलाइरहेकी छिन् । यिनीहरू कुनै बखत कोही तिलोपा भए भने आश्चर्य नमान्नू । यो नसोध्नू कि गहुँ केलाउने मान्छे पनि सिद्ध भयो ।

                     (सहजयोगबाट)

 = = =

 

समतल भूमि

एउटा सानो कथा छ । मैले सुनेको छु, एउटा मानिस पहाडको बाटोमा यात्रारत थियो । एक अँधेरी रातमा हिँड्दाहिँड्दै उसले बाटो हरायो । औँसीको रात थियो । नितान्त एक्लो थियो । बहुत रोइकराइ गर्‍यो तर सुन्नेवाला त्यहाँ कोही पनि थिएन । छामछाम छुमछुम गर्दै अगाडि बढिरहेको थियो । अचानक एउटा खाल्डोमा खसेजस्तो लाग्यो । हत्त न पत्त कुनै रूखको जरो समाउन भेट्यो ।

जरो समातेर तुर्लुङ्ग झुन्डिएको छ, रोइरहेको छ, कराइरहेको छ । सुन्नेवाला कोही मानिस छैनन् । जति कराउँछ, आफ्नै आवाज गुन्जिरहेको सुन्छ । त्यस कुराले वातावरण अझ भयानक बन्दछ ।  बिहानी हुन अझै धेरै टाढा छ । ठन्डी रात छ । हात ठन्डा हुँदै गएका छन् । लाग्छ हात विस्तारी विस्तारी अचेतन बन्दै गएका छन् । जुन जरोलाई पक्रेर ऊ झुन्डिएको छ, त्यहाँबाट ऊ छुट्न लागिरहेको छ । हात लकवा लागेजस्तो जड बन्दै गएका छन् । जरोलाई पक्रिरहने क्षमता हराउँदै गएको छ  ।

उसको कठिनाइलाई हामी सम्झिन सक्तछौं, त्यही कठिनाइ आइपर्छ साधक जीवनमा । जुन साधनाको आखिरी घडीमा आउँदछ । र आखिरमा उसले देख्यो कि जराबाट हात छुट्न लाग्यो । अब त हात बिलकुल ठन्डा बनिसक्यो । बरफ जस्तै जमिसक्यो खून । र अब पक्रिरहनलाई कुनै उपाय रहेन ।

उसले भन्यो– “हे भगवान ! अब म मरेँ, जराबाट हात खुस्किन लाग्यो ।”

त्यस निर्जन स्थलबाट जोडले खिलखिलाएर हाँसेको आवाज आयो । कुनै मानिस हाँसिरहको थियो । भएको यो थियो कि त्यहाँ कुनै खाल्डो नै थिएन । कुनै अनाकण्टर भीर थिएन । नाहकमा उसले यति लामो समयसम्म कष्ट झेलिरहेको थियो । तल त बिलकुल समतल जमिन मात्र थियो । जराबाट हात खुस्केर पनि ऊ समतल जग्गामा ठिङ्ग उभियो । तर, अँधेरी रातमा उसलाई खाल्डो छ जस्तो लाग्यो । अन्धकार समय थियो । जुन जराको सहारामा ऊ झुन्डिएको थियो । त्यसैले उसलाई यति लामो समयसम्म कष्ट र नर्कमा झुलाइरह्यो । जतिखेर  उसको हात छुट्यो, ऊ नर्कबाट बाहिर आयो ।

यस्तै स्थिति हुन्छ, ध्यानको आखिरी घडीमा, तिमी त्यस ठाउँमा पुग्दछौ जहाँ अनन्त खाल्डो छ । विचारको आखिरी जरालाई समातेर तिमी लट्केका हुन्छौ, अड्केका  हुन्छौ । तिमी चाहन्छौ, कुनै पनि प्रकारले ज्यान बचाइदेऊ । तिम्रो सारा प्रार्थना यति नै हुन्छ कि कुनै पनि प्रकारले घर पुगूँ । अब यो ध्यानस्यानको झन्झटमा नपरूँ ।

त्यसै समयमा चाहिन्छ गुरु, जसले तिमीलाई भनोस् कि छोडिदेऊ हात, तल तिमीलाई समाल्न म खडा छु । छोडिदेऊ हात, तल कुनै  खाल्डोसाल्डो छैन । त्यो तिम्रो मनको व्याख्या मात्र हो । मर्न लागेको मनले तिमीलाई खाल्डो देखाउँछ, डरछेरुवा मनले तिमीलाई मृत्यु देखाउँछ । त्यहाँ त अमृत छ, त्यहाँ त भूमि समतल छ ।

त्यही श्रद्धा आखिरमा परीक्षा हुन्छ श्रद्धाको । र, तिमीले छोडिदेऊ श्रद्धाको सहारामा । त्यहाँ त भूमि समतल छ । त्यसपछि तिमी त्यहाँ पुग्दछौ, जहाँबाट फेरि गिर्नुपर्दैन । तिमीले त्यस समतल भूमि प्राप्त गर्नेछौ, जुन तिम्रो अस्तित्व हो ।

                     (दीया तले अँधेराबाट)

 

साझा गर्नुहोस्:
पुण्य कार्की

लेखकको बारेमा

पुण्य कार्की

पुण्य कार्की कथाकार, लघुकथाकार र निबन्धकार हुनुहुन्छ । उहाँ लामो समयदेखि प्राध्यापन (शिक्षण) र पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उनका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् र विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा उहाँका रचनाहरू नियमित रूपमा छापिन्छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.