साहित्यपोस्ट डट कम

नूर–गङ्गा प्रतिभा पुरस्कार घोषणा, मुक्तिनाथ शर्मा र देवीप्रसाद वनबासीलाई बालसाहित्य पुरस्कार

नूर–गङ्गा प्रतिभा पुरस्कार घोषणा, मुक्तिनाथ शर्मा र देवीप्रसाद वनबासीलाई बालसाहित्य पुरस्कार

काठमाडौं । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले वि.सं. २०८३ का लागि विभिन्न विधाका राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गर्ने स्रष्टा र कलाकारहरूको घोषणा गरेको छ ।

गुठीका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको अध्यक्षतामा बसेको साधारणसभाले विभिन्न उपसमिति र गुठी प्रबन्ध समितिको सिफारिस अनुमोदन गर्दै पुरस्कार विजेताको चयन गरेको हो ।

यस वर्षको एक लाख रुपैयाँ राशिको ‘नूर–गङ्गा राष्ट्रिय स्थापित बालसाहित्य प्रतिभा पुरस्कार’ साहित्यकार मुक्तिनाथ शर्मा न्यौपाने (लमजुङ) र देवीप्रसाद वनबासी (स्याङ्जा)लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

त्यसैगरी ५० हजार रुपैयाँ राशिको ‘नूर–गङ्गा राष्ट्रिय स्थापित लोकगीत गायन प्रतिभा पुरस्कार’बाट क्षेत्रबहादुर गुरुङ (स्याङ्जा) र पूर्ण नेपाली (कास्की) सम्मानित हुनेछन् ।

‘नूर–गङ्गा क्षेत्रीय स्थापित साहित्य प्रतिभा पुरस्कार’बाट वनमाली निराकार (रूपन्देही) तथा ‘नूर–गङ्गा क्षेत्रीय स्थापित लोकगीत गायन प्रतिभा पुरस्कार’बाट पद्मध्वज केसी (नवलपरासी) पुरस्कृत हुने निर्णय गरिएको छ । यी दुवै पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

गुठीले ‘नूर–गङ्गा राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार’बाट आँचल श्रेष्ठ (ललितपुर) तथा ‘नूर–गङ्गा राष्ट्रिय नवप्रतिभा लोकगीत गायन पुरस्कार’बाट अर्जुन सापकोटा (नवलपुर)लाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यी दुवै पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ ।

गुठी प्रबन्ध समितिका सदस्य यादव भट्टराईका अनुसार पुरस्कार आगामी साउन महिनामा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिनेछ ।

साधारणसभामा गुठीका संरक्षक अमिरप्रताप ज.ब.रा., अध्यक्ष प्रा.डा. गोविन्द नेपाल, पूर्व अध्यक्ष प्रा.डा. चूडामणि बन्धु, उपाध्यक्ष प्रा.डा. भवेश्वर पंगेनी, सदस्य–सचिव यज्ञप्रसाद शर्मा, सल्लाहकार रामबाबु नेपाल तथा सदस्यहरू प्रा.डा. ध्रुव घिमिरे, यादव भट्टराई र सन्ध्या पहाडीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.