पेरिन ब्रिजको माझ अकस्मात् त्यो मान्छे पुलको बार लगाउने छडहरू (गार्ड रेल) माथि चढ्यो, अनि एउटा सानो टेक्ने फलेकमा झर्यो । त्यहाँ अरू पनि मान्छेहरू थिए, तर कोही पनि आत्तिएका वा कराएका थिएनन् । कुनै पनि मान्छे ऊतिर दौडेनन्, कोही पनि चिच्याएनन् । हेर्दाहेर्दै त्यो मान्छेले एउटा लामो सास फेर्यो र पुलबाट हामफाल्यो । म आत्तिएर श्वास फेर्न बिर्सेझैँ भएँ अनि मैले मेरी श्रीमतीतिर हेरेँ । उसको अनुहारमा पनि सबै रङ हराइसकेको थियो, अनि ऊ उफ्रिएर मेरो नजिक आई र मेरो हात कस्सेर समाती ।
अमेरिकाको पश्चिमी तटदेखि पूर्वी तटसम्मको लगभग ४,००० माइल (६,५०० कि.मी.) यात्राको क्रममा म र मेरी श्रीमती सुनिता ट्विन फल्स, आइडाहो (Twin Falls, Idaho) आइपुगेका थियौँ । शहर पुग्ने बित्तिकै हाम्रो पाइला आगन्तुक केन्द्रतिर मोडियो । त्यही आगन्तुक केन्द्रकै छेवैमा रहेको एउटा सुन्दर पुलमा वरिपरि दृश्यावलोकन गर्दै हामी सुस्तरी अगाडि बढ्यौँ । हिँड्दै-हिँड्दै जब हामी त्यस पुलको मध्य भागतिर पुग्यौँ, त्यति बेला त्यहाँको मनमोहक दृश्यभन्दा पहिले मैले अनुभव गरेको कुरा भनेको पुलको कम्पन थियो । पुलको मध्यभागबाट गाडीहरू कुदिरहेका थिए भने छेउको बार्दली जस्तो भागमा पैदलयात्रीहरू हिँड्ने रहेछन् ।
अमेरिकी राजमार्ग यु.एस.-९३ को ढलान गरेको कंक्रिटको बाटोबाट ठूलाठूला ट्रक गुड्दा कंक्रिटको त्यो विशाल संरचना एकाएक थर्किएर मजस्ता पैदलयात्रीको खुट्टा हुँदै मुटुसम्मै एउटा कम्पन सिर्जना गर्थ्यो । जमिनबाट ४८६ फिटमाथि उभिँदा त्यस कम्पनले मलाई असहज बनाइरहेको थियो— जेहोस्, ट्विन फल्स शहरको त्यो एउटा गजबको पुल ‘पेरिन ब्रिज’माथि हामी रमाइरहेका थियौँ । त्यही पुलमा फोटो खिच्ने क्रममा मुस्कुराइरहेको बेलामा अकस्मात् मेरो आँखा अलि परको एउटा मान्छेमा परेको थियो, जसको हाउभाउ केही अनौठो लागिरहेको थियो । त्यसपछि जे भयो, त्यसले हाम्रो यात्राकै दिशा बदलिदियो । 'हत्तेरिका...!' भन्ने शब्द मुखबाट निस्किन नपाउँदै त्यो मान्छे तलको गहिराइमा हराइसकेको थियो ।
अवाक् भएर, मैले पुलमुनि हेरेँ— त्यो हामफालेको मान्छे निकै तल पुगिसकेको रहेछ । घामको प्रकाशमा मुनिको स्नेक खोला (Snake River) को टलटलाउँदो पानी पन्ना जस्तै एकदमै चम्किलो-हरियो र मनमोहक देखिन्थ्यो । अनि त्यस स्नेक खोलाले ज्वालामुखीहरूबाट बनेका ती खोंचहरू (क्याननहरू), त्यहाँका ती कडा-कडा बसाल्ट ढुङ्गाहरूलाई काटेर, ताछेर मनपरी दायाँबायाँ गर्दै बगिरहेको थियो । “हेर त ! अघि हामफालेको मान्छे त प्यारासुट खोलेर सुरक्षित तरिकाले ल्यान्डिङ पनि गरिसकेको रहेछ,” म चिच्याएँ ।
“धन्य प्रभु !” भन्दै चिसो हावामा खुइअ गर्दै मैले एउटा लामो श्वास फेरेँ । तलबाट नदीको हरियो चमक आँखामा ठोक्किएर क्याननका रङहरू अझ मनमोहक देखिन्थे, तर अब हाम्रो दृश्यावलोकन गर्ने वा फोटो खिच्ने क्रम पूर्ण रूपमा गोलमाल भइसकेको थियो ।
पहिलो बेस जम्पर
मैले बल्ल बुझेँ कि त्यो फाल हान्ने मान्छे त एउटा ‘बेस जम्पर’ खेलाडी रहेछ । त्यसको एक छिनपछि अर्को एउटा अनुभवी बेस जम्पर फेरि आयो । अनुभवी बेस जम्परहरू चिच्याउने, कराउने गर्दा रहेनछन्, उनीहरूलाई दौडिन पनि पर्दैन रहेछ । ऊ झन् आत्मविश्वासका साथ पुलमाथि उक्लियो र एकछिन सुस्तरी श्वास फेरे जस्तो गर्यो । “ए, त्यो त डरायो कि क्या हो” भनेको जस्तो लाग्ने रहेछ, म जस्तो हेर्ने मान्छेहरूलाई । तर होइन, ऊ त हावाको दिशा, तलको क्याननबाट आएको तातो हावाको बहाव जस्ता आँखाले देख्न नसकिने कुराहरू पो नापिरहेको रहेछ । ५०० फिटभन्दा कमको यो हामफलाइमा सानोभन्दा सानो गल्ती भनेको ज्यान जाने जोखिम हो । हेर्दाहेर्दै ऊ पनि हाम फाल्यो, दुई या तीन सेकेन्डसम्म त ऊ सोझै तल झरिरहेको देखिन्थ्यो— गुरुत्वाकर्षणकै गतिमा । अनि एउटा ठूलो अजङ्गको आवाज आयो, प्यारासुट खुलेको रहेछ । त्यो रङ्गीन प्यारासुट तलको क्याननका विभिन्न रङका बसाल्ट ढुङ्गाहरूको रङसँग मिसिँदै, मुस्कुराउँदै सुस्तरी तल झरिरहेको थियो । ऊ पनि अन्ततः बिस्तारै सुरक्षित तरिकाले खोलाको किनारमा अवतरण गर्यो ।
बेस जम्पिङको संसार
बेस जम्पिङ यति नजिकबाट हेर्न पाएको यो मेरो पहिलो अनुभव थियो । केवल सुनेको र टेलिभिजनमा देखेको थिएँ, तर आफ्नै आँखाले देखेको थिइनँ । मैले पछि थाहा पाएँ— BASE शब्द आफैँमा चार प्रकारका हामफाल्ने स्थानको छोटकरी रहेछ । ‘बेस जम्पिङ’को ‘बी’ भनेको बिल्डिङ्स (Buildings), ‘ए’ भनेको एन्टिना (Antennas), ‘एस’ भनेको स्पान्स (Spans) अर्थात् पुल, अनि भनेको अर्थ (Earth) अर्थात् चट्टान/पहाड भन्ने अर्थ रहेछ । घुम्दाघुम्दै, थाहा नै नपाई, हामी यो प्रसिद्ध पुलमा पो आइपुगेका रहेछौँ, जहाँ यस्ता निडर बेस जम्पर खेलाडीहरू पुलबाट मजा लिनका लागि नै हाम फाल्छन् ।
साहसी बेस जम्परहरूले आफ्ना मनका डरहरूबाट आफैँलाई मुक्ति दिलाउने त्यो पुललाई ‘आइ बी पेरिन ब्रिज’ वा ‘पेरिन पुल’ भनेर चिनिँदो रहेछ । अघि पहिले पुलमा उभिएको बेलामा मैले अनुभव गरेको पुलको थर्कहाट, उचाइको डर लगायत यावत् कुराहरू त अब यो बेस जम्पिङको अगाडि पूर्ण रूपमा मैले भुलिसकेको थिएँ र उल्टो रोमाञ्चकताको एउटा नयाँ रक्तसञ्चार मभित्र भइरहेको थियो ।
विगतमा मैले पनि यस्तै केही साहसिक कार्यहरू नगरेको होइन । त्यही क्षणमा आफूले केही वर्ष अगाडि गरेको स्काई डाइभ सम्झेँ । स्काई डाइभमा उडिरहेको विमानबाट प्यारासुटका साथ हामफालिन्छ । तर कहाँको स्काई डाइभ र कहाँको यो बेस जम्प! स्काई डाइभमा मान्छे आकाशबाट लगभग पूरा एक मिनेट free fall मा झर्छ, उसँग मुख्य प्यारासुट हुन्छ अनि ब्याकअप प्यारासुट पनि हुन्छ । १० देखि १२ हजार फिटको उचाइबाट हाम फाल्नु एउटा साहसिक खेल पक्कै हो, तथापि यसरी बेस जम्पिङ गर्दा जम्मा ५०० फिटभन्दा पनि कमको उचाइबाट हाम फाल्नु धेरै नै त्रासमर्दो कार्य । यदि प्यारासुट खुलेन भने ५ सेकेन्डमा त्यो मान्छे त्यही स्नेक खोलाका बसाल्ट ढुङ्गाहरूमा बज्रिन पुग्छ— केवल ५ सेकेन्ड समय छ ऊसँग कीर्तिमान र मृत्युको बीचमा । स्काई डाइभमा सोच्ने, गल्ती मिलाउने केही समय त हुन्छ नि, तर बेस जम्पमा सानोभन्दा सानो गल्ती भनेको सिधै यमराजलाई निम्तो नै रहेछ, कस्तो डरमर्दो हगि ?
नेपालमा पनि त आजकल ‘बन्जी जम्पिङ’को निकै चर्चा हुन्छ । नेपालको बन्जी जम्प हेर्दा नै साहसको पराकाष्ठा त्यही होला जस्तो लाग्थ्यो । तर पेरिन ब्रिजमा बेस जम्प हेरेपछि भने बुझेँ— बन्जीमा डोरीले बचाउँछ, यहाँ भने आफ्नै प्यारासुटले । दुवैको समानता - उचाइ, डर, एड्रेनालाईन रश (adrenaline rush), अनि एउटा साहसिक कार्य गर्ने रहर ! अमेरिकाको ‘ट्विन फल्स, आइडाहो’ अवस्थित स्नेक खोलाको पेरिन पुल जानु भनेको नेपालको भोटे कोशीको ‘द लास्ट रिसोर्ट’ जानु जस्तै-जस्तै पो रहेछ । जय होस, यि आँटीहरूको !
सुरक्षा, कानून, र स्वतन्त्रता
अमेरिका जत्रो ठूलो देशमा यही एउटै मात्र मानव निर्मित पुल रहेछ जहाँबाट बेस जम्पिङ वर्षको ३६५ दिन नै गर्न पाइने रहेछ— त्यो पनि कुनै सरकारी अनुमति (परमिट) नै नलिईकन । मतलब, प्यारासुट प्याक गर्यो, पुलसम्म हिँडेर गयो, पुलबाट माथि चढ्यो र हाम फाल्यो, क्या गजब ! अमेरिकाको पश्चिमी तटदेखि पूर्वी तटसम्मको यस यात्रामा अचम्मसँग हामीले एउटा यस्तो ठाउँलाई आत्मसात् गर्न पुग्यौँ जहाँ बेस जम्पिङकै लागि खेलाडीहरू आइरहन्छन् । यसका लागि म ट्विन फल्स, आइडाहो भन्ने शहर र यो अपत्यारिलो पुललाई सदा सम्झिरहनेछु ।
फेरि दिमागमा लगत्तै अर्को प्रश्न उठ्यो— के यो अपत्यारिलो पुलले अमेरिकन कल्चरको एउटा रमाइलो पक्ष उजागर गर्छ त ? सोचौँ न, जुन देशमा व्यक्तिगत सुरक्षा र बिमा हरेक कदममा अति आवश्यक छ, त्यही देशमा यसरी खुला रूपमा बिना कुनै रोकतोक कसरी पुलबाट हाम फाल्न पाइन्छ ? शायद यसलाई अमेरिकाको व्यक्तिगत स्वतन्त्रताप्रतिको अत्यधिक जोश हो भनेर मानौँ कि ? यहाँ ‘पूर्ण स्वतन्त्रता’को अर्थ ‘पूर्ण व्यक्तिगत उत्तरदायित्व’ हुँदो रहेछ, अर्थात् केही भइहालेमा उद्धार गर्ने कानूनी कर्तव्य कसैको पनि छैन । बेस जम्पिङ समुदाय भित्रैबाट अनुभवीहरूले कम अनुभवीहरूलाई मार्गदर्शन चाहिँ गर्ने रहेछन्, बस त्यति नै हो । कानून त यस पुलमा मूकदर्शक भई बसेको पो रहेछ— आइडाहो राज्यको कानूनमा ‘प्रतिबन्ध लगाउनु’मा नै ‘प्रतिबन्ध’ लगाइएको रहेछ (Ban on Banning) !
टुनामुना लगाउने अनुभव कि स्थानीय अर्थतन्त्रको साँचो ?
बेस जम्पिङ एउटा एकदमै डरलाग्दो तर सुन्दर, अनि मन्त्रमुग्ध पार्ने खालको अनुभव पो रहेछ । मेरो मनभित्र पनि एकचोटि सिकारु बेस जम्प ‘ट्राइ’ गरौँ कि भन्ने इच्छा पो जागेर आयो— तर मैले मेरी श्रीमतीलाई त्यहाँ यो कुरा भनिनँ । बरु, मेरो आँखामा त्यो रहर देखेर होला— घाममा डढेर छाला पत्र-पत्र भएको त्यहीँको एउटा रैथाने मान्छेले मलाई भन्यो, “संसारका सबै ठाउँमा बनाइने पुल भनेको मान्छ खस्नबाट बचाउन हो । यो पुल चाहिँ किन फरक र प्रसिद्ध छ भने, मान्छेहरू टाढा-टाढाबाट यहाँ हामफाल्नका लागि नै पो आउँछन् !”
मेरी श्रीमतीको अनुहारमा हेरेँ, उसलाई पनि हाम्रो फोटोसुट गर्ने इच्छा पूर्ण रूपमा भङ्ग भइसकेको स्पष्टै देखिन्थ्यो । हामी एकअर्कामा हेराहेर मात्रै गरिरह्यौँ— अलिकति त्रास र अलिकति रोमाञ्चकता बोकेर । त्योभन्दा बढी मैले ऊसँग हामफाल्ने कुरा निकालिनँ र कुरा मोडेँ— “सुन न, भनेको मतलब यो पुल त मान्छेको चरा झैँ उड्ने आकाङ्क्षा र आफ्नो अनन्त डरलाई जित्ने एउटा तरिका पो रहेछ त, है ?” ऊ त त्यसै आधा स्तब्ध, आधा अलमल्लमा परेको अनुहार लिएर भनी— “लागौँ अब अर्को ठाउँतिर, शोसोन झरना हेरौँ न, अमेरिकाको पश्चिमको दोस्रो ‘नायगरा फल्स’ भन्छन्, अति सुन्दर पो छ रे नि त !”
ठिक हो भन्दै अगाडि बढ्दा अनि बल्ल मैले थाहा पाएँ कि यस पुलले ट्विन फल्सको पर्यटनमा कति ठूलो आर्थिक योगदान दिएको रहेछ । किनकि अरू बेस जम्परहरूको नयाँ समूह अति उत्साहित हुँदै फाल हाल्न ट्विन फल्सको यही भयानक पुलमा आइसकेको थियो र हाम्रै छेउबाट मुस्कुराउँदै, सुसेल्दै अघि बढिरहेको थियो । हामी पुलबाट बिस्तारै फर्कियौँ । पछाडि हेर्दा फेरि अर्को रङ्गीन प्यारासुट आकाशमा फुलेको थियो । कसैका लागि त्यो पाँच सेकेन्डको जोखिम थियो; मेरा लागि भने जीवनभर सम्झिने यात्रा !
पुनश्च (करिब २ हप्तापछि)
यात्राबाट फर्किएपछि मनको भूतले मानेन र मैले पछि ‘Snake River BASE Academy’ मा फोन गरेँ, जुन त्यहाँको एउटा प्रसिद्ध बेस-जम्पिङ प्रशिक्षण केन्द्र हो । उनीहरूले भने— पहिला प्लेनबाट कम्तीमा २०० पटक स्काई डाइभ गरेपछि मात्रै उनीहरूको केन्द्रमा बेस-जम्पिङका लागि भर्ना लिइन्छ रे ! आम्मै, समय लाग्ने पो भयो त !

