साहित्यपोस्ट डट कम

नियात्रा: सिद्धिचरण भेटिए खोटाङ यात्रामा

नियात्रा: सिद्धिचरण भेटिए खोटाङ यात्रामा

खोटाङ यात्रामा छौँ । बाटो सुगम छ । गाडी तुफान भएर गुडेको छ । पर पर देखिन्छ बग्दो कोशी । रामेछापको डाँडाले साथ छोडेको छैन । घरी फाँटै फाँट फराकिलो देखिन्छ, घरी बाटो बोकेर बडो कष्टले खस्दै गरेको पहरो देखिन्छ । हरियाली तहस नहस पारेर विकास बोक्न विवश डाँडाकाँडा लुटिएका युवती जस्तै देखिन्छन् । विद्रूप पहाडबाट आँखा हटाएर कोशी किनारतिर झर्छु । लोभ्याउन आउँछ कोशीको सेरोफेरो ।

ठाउँको नाम टिप्न भ्याउँदिनँ । बेलाबेला आँखा झ्याप झ्याप हुन्छ । सिन्धुलीको हावा प्रिय लाग्दैछ । यो हावा फगत वायु मात्र हैन । माया, प्रेम र स्नेह मिसिएको छ । तीव्र हावामा म सुन्दैछु मेरी आमाको लोरी । कानमा अतीत अनुगुञ्जित हुन्छ । आँखा उघ्रिएको बेला टिप्छु वलेनी, देउरालीटार..।

अलि तल पुगेपछि ग्वालटार लेखेको बोर्डले मेरो ध्यान खिच्यो । यो ठाउँ चिरपरिचित थियो बाल्यकालमा । सिन्धुलीको ग्वालटार आएकी थिइनँ । बडो सुन्दर टार रहेछ । घरहरू आधुनिक देखिएका छन् । ठूला ठूला घरहरू कुनै अफिसका हुन् कि भन्ने लाग्छन् । जेठी फुपूको घरमा आउँथे ग्वाल्टारबाट पाहुना । हाम्रो गाउँका बिहेबारी पनि ग्वाल्टारतिर भएको थियो । ग्वालटारदेखि गौरनटोल जन्ती आएको सम्झना धूमिल छ स्मृतिमा । हामी अझ पूर्वतिर हुइँकिएका छौँ ।

ट्याउँखोला लेखेको देखेपछि निता दिदी र मैले एकैचोटी भुइँमैया भाउजूलाई सम्झिन पुग्यौँ । छक्क लाग्यो ! दाजुको नाम स्मरणमा छैन । तर भुइँमैया भाउजूलाई यतिका वर्षपछि अचानक सम्झिएकी छु । अग्लो ज्यान कुप्रो थियो । हिँड्दा हिँड्दै ढाड सोझ्याउन कम्मरमा हात राखेर तनक्क तन्किनुहुन्थ्यो आकाशतिर । भुइँमैया भाउजूको विशेषता पनि ट्याउँ ट्याउँ बोलिरहने । शायद यो खोला पनि ट्याउँ ट्याउँ गरेर बग्थ्यो कि ! छक्क लाग्थ्यो उहाँलाई हेर्दा । बार्दलीमा बसेर आमासँग गफ गरिरहने । झमझम पानी परेको साँझ खोल्माबाट मकै ल्याएर मकै छोडाउने । केही दिन बसेर धान, मकै लिएर घर फर्किनुहुन्थ्यो । आमा र भाउजूको निकै कुराकानी हुन्थ्यो म बुझ्दिनथेँ उहाँहरूका कुरा ।

कहिलेकाहीँ चिने रिसाउँथी । त्यो पनि किन रिसाउँथी थाहा छैन । भाउजू अलि चाँडो चाँडो आउँदा चिनेलाई झोँक चल्थ्यो । हामीचाहिँ नक्कल गर्थ्यौँ भुइँमैयाँ भाउजूको हिँडाइको । चिने भन्थी, “यो अनिता पनि भुइँमैयाँ भाउजू जस्तै हौला है ! कुप्रो परेर नहिँड । फेरि बाटोघाटो ढाड सोझ्याउनु पर्ला । यी यसरी …।” भन्दै भाउजूको नक्कल गरेर देखाउँथी । मलाई डर लाग्थ्यो । ढाड कुप्रो हुन्छ कि भनेर । दाजुले भाउजूमाथि अन्याय गरेको कथा सुनाउनुहुन्थ्यो । म निकै सानी थिएँ । तर पनि मलाई रिस उठ्थ्यो दाजुसँग भाउजूको दुःख सुनेर । साना साना छोराछोरी लिएर आउनुहुन्थ्यो । आमा, सकेको माया खन्याउनु हुन्थ्यो । आफू जस्तै केटाकेटीको अनुहार हेरेर मलाई पिर पर्थ्यो । दाजुको गैरजिम्मेवारपूर्ण व्यवहार सम्झँदा भेटेदेखि कुट्थेँ भन्ने लाग्थ्यो । म टपलाउँछु अतीतको खाडलमा । अहो ! यात्रा त खन्ती पनि पो रहेछ । अतीतको माटोलाई खनेर अविस्मरणीय, अमूल्य र अतुलनीय स्मृतिका तरुलहरू झिक्दै छु ।

खोटाङको यो यात्रा मलाई निकै रमाइलो लाग्दैछ । नयाँ यात्राले पुरानो याद उघारेको छ । मलाई बडो रमाइलो लागेको छ अतीतको स्मृति । सिनेमा हेरेको झैँ देख्छु आफ्नै बाल्यकाल । चिसो हावा चल्दो छ निरन्तर । पहाडी हावाले शीतल पारेको छ गाडीको माहोल । हामी तीव्र गतिमा छौँ हुइँकिएका छौं ।

हामी त सिन्धुली छोडेर उदयपुरमा पो गुड्दै रहेछौँ । घुर्मी बजार लेखेको देख्छु । हेर्छु परपरसम्मका भीमकाय डाँडा । डाँडापाखा उजाड छन् । वैशाखको १५ लागिसक्दा पनि हरियो छैन । उजाड छ वनजङ्गल । कताकतै देखिन्छ नवीन पालुवा । रुखो छ पहाड । सडक र यातायातको विकासले हामी निमेषभरमा एक जिल्लाबाट अर्को जिल्लामा पुगिसकेका छौँ । विकासको आनन्द उठाउँदै छौँ । कोशीको पुल तरेर हामी अब ओखलढुङ्गाको हर्कपुरमा गुड्दै छौँ ।

आहा ! ओखलढुङ्गा टेक्नेबित्तिकै युग कवि सिद्धिचरण बा नजिकै आएर स्वागतमा हाँसेको भ्रान्ति भयो । झलझली सम्झिन्छु कविका ती कालजयी भावनाहरू ।

‘भाग्य लहरमा लहरी लहरी

पुगेँ म यस मरूस्थलमा कसरी

तर खेद छैन तिम्रो आकृति

लेखिएको छ यो हृदयभरि

मेरो प्यारो ओखलढुङ्गा …।‘

मेरा आँखामा कविप्रति अपार श्रद्धा मडारिएर आयो । सानै थिएँ, कता छ ओखलढुङ्गा थाहा थिएन तर कविको कवितामा म बग्थेँ । मलाई बडो मीठो लाग्थ्यो नारायण गोपालको आवाजमा यो कविता ।

बुझ्ने भएपछि मेरो भाग्यको लहराले पनि मलाई बेर्दै बेर्दै मरूस्थलतिर पुर्यायो । म आज पनि बारम्बार भावको डुङ्गा चढेर स्मृतिको प्रिय गङ्गामा स्नान गर्छु कविझैँ । सपनाको गगनमा पुगेर सुशीतल जलले निथ्रुक्क भिज्छु । मलाई पनि खेद छैन मरूस्थलमा आएर पनि मैले त सिङ्गो संसार सजाएर राखेकी छु । हृदयमा मेरो प्यारो भिमानको चित्र पूर्ण छ । जमिनलाई म आमा सम्झिन्छु । आमा भागबण्डाको विषय हैन । फेरि डर पनि लाग्छ मान्छे यति चलाख छ कि उसले मान्छेको भावना पनि खोस्न सक्छ । भाग लगाउन सक्छ । कतै मेरो हृदयभित्रको संसार पनि खोस्न आयो भने ! मेरो हृदयमा अपार आनन्द छ । मेरो आनन्द लुट्न कोही आयो भने ! मेरो मन मस्तिकबाट कदापि बिक्रीवितरण हुँदैन मेरो शैशवकालीन भूगोल । बाल्यकाल र शैशवकाल हुर्किएको भूमि । नक्सामा चिरा चिरा पारेर बेच्दा पनि सिङ्गो आकृति खडा हुने जादूनगरी छ मेरो स्मृतिलोकमा । म संसारकै धनी छु किनकि मसँग मेरो स्मृतिलोक छ । मेरो शैशवकाल बितेको भूगोललाई म अथाह प्रेम गर्छु । स्नेह गर्छु । श्रद्धा गर्छु ।

प्रेम र श्रद्धा व्यापार हैन । म देख्छु जमिनलाई सम्पत्ति मात्र देख्ने दुःखी आँखाहरू । जो सम्पन्न भएर पनि सधैँ गरिब छन् । हीरा जडित जीवनको तारले अभावको सारङ्गी रेट्छन् । भावना र श्रद्धाको तार चुँडालेर अलापिन्छन् । मलाई भाव प्रिय लाग्छ । भावना त कुवेरको खजाना हो । केही नहुँदा पनि आनन्दको शीतल सरोवरमा डुबुल्की मारेर सुखी हुन्छु । सन्तोषको सागर कहिलै सुक्दैन । तृष्णाको सागरमा रमाउनेहरूले कहिले पनि शान्तिको प्यास मेट्न सक्दैनन् । पानीको मीन भएर पानीकै तलासमा मृत्यु वरण गर्छन् । जसले लालपूर्जामा मात्र आफ्नो शैशवकाल बिताएको भूमिलाई राखेर हिँड्छ, ऊ सदैव निराश हुन्छ । प्यासी हुन्छ । अपूर्ण हुन्छ । अतृप्त हुन्छ । पुग्दैन उसलाई सिङ्गो संसार हातमा लिएर पनि । भौतिकतामा मात्र रमाउने मान्छे भिखारी बन्दै जान्छ । ब्रह्माण्ड बोकेर हिँडे पनि ऊ सदैव दरिद्र जस्तो व्यवहार गर्छ । म यतिबेला सुकरातलाई पनि स्मरण गर्दैछु । सुकरातको भावलाई सलाम गर्दैछु “म एथेन्सको मात्र हैन विश्वको नागरिक हुँ ।” के सुकरातसँग विश्वको लालपूर्जा थियो र हातमा ? कुन भावले भने विश्व मेरो हो भनेर । नक्सामा सीमित गरिएको भूगोलले आजसम्म कसलाई पुगेको छ र ? जति भए पनि अरू चाहन्छ लोभी मान्छेलाई । म मेरो अधिकारविहीन संसारमा एक्लै ढलिमली गरेकी छु । बेचेर पनि बिक्री हुँदैन मेरो भूगोल । बाढीले पनि बगाउन सक्दैन । पुर्न सक्दैन पहिरोले मेरो अमर भूमि । म भावको डुङ्गाबाट बुद्रुक्क उफ्रिएर गाडीको सीटमा थचक्क बस्छु ।

ठूला ठूला पहाड देखिएको छ । पहाड कोतरेर निर्माण गरिएको बाटो साँगुरो छ । तल हेर्दा मलाई डर पनि लाग्छ । कोशीलाई तल छोडेर हामी उक्लिँदै छौँ माथि माथि । मलाई भिडियो बनाउने रहरले छोप्छ म कविता वाचन गर्दै भिडियो बनाउन थाल्छु,

‘तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षस्थलमा

यो कविको शैशवकाल बित्यो

हाँस्यो खेल्यो वन-कुञ्ज घुम्यो

मेरो प्यारो ओखलढुङगा …।’

म पनि स्मृतिको डुङ्गामा चढेर अतीत यात्रामा निस्किन मन पराउँछु । कविको भावसँग म निकैबेर संवेदनशील हुन्छु । आफ्नो शैशवकाल बितेको ठाउँ कति प्यारो । यो संसारमा कुनै त्यस्तो ठाउँ छैन जसले बाल्यकाल र शैशवकाल बिताएको ठाउँलाई बिर्साउन सकोस् । म हेर्छु कविलाई चारैतिर । तर देख्दिनँ । निराश आँखा केहीबेर बन्द गर्छु । फेरि लता र लहरामा छन् कि कवि भनेर ओखलढुङ्गाको पहाडतिर खोज्छु । कतै देख्दिनँ कविलाई । शायद कवि यो उजाड धरामा आउन चाहँदैनन् । कविले कवितामा बयान गरेको भूमि आज कतै देख्दिनँ म । शायद मसँग आँखा जुधाउन सङ्कोच मान्दै छ्न् ।

कविलाई बोलाउन लय हालेर म कविता वाचन गर्छु ‘मेरो प्यारो ओखलढुङ्गा’ तर पनि कविले आएर मलाई स्याबास भन्दैनन् । अनि पुनः वन-कुसुमतिर भेटिन्छन् कि कवि भनेर फाल कुद्छन् मेरा भावहरू ।

हरियाली नदेखेर कवि कतै बसेर चिन्ताको हात च्यापुमा राखेर मलाई नै बोलाउँदैछन् ।

“ए अनिता हेर त उः त्यो बाटो भएर गइन्छ मेरो प्यारो ओखलढुङ्गा …। म पनि तिमीसँगै भूमिहीन भूगोलमा अब रमण गर्न चाहन्छु । स्मृतिको डुङ्गाबाट स्मृतिकै भूमिमा डुल्न चाहन्छु । मलाई पनि सिकाऊ न तिमी जसरी नै खुशी हुने कला । हृदयमा भूमिहीन भूमि राखेर मस्त हुने कला । जीवन जीउने सुन्दर कला । अब त म पनि थाकिसकेँ यो उजाड भूमिमा । विकासले खोस्यो मेरो प्यारो ओखलढुङ्गाको त्यो प्राकृतिक योवन, सौन्दर्य र रूप । मलाई त ओखलढुङ्गाको यो उजाड रूपले बारम्बार पीडा दिन्छ । व्याकुल पार्छ । अब म पनि तिमीसँगै जान्छु उही मरुस्थलमा । हृदयभरि रोप्छु मेरो स्मृतिलोकको सौन्दर्य । अमर राख्छु मेरो शैशवकालीन भूमि …।”

टाउको ठोकिन्छ झ्यालमा । कवि फुत्त मभित्र पसेर मुस्कुराउँछन् । टाउको सुमसुम्याउँदै म गीत गाउन थाल्छु, “म त लाली गुराँस भएछु । वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु ।

अब हामी झर्यौँ दूधकोशीतिर । रेग्मी भिनाजु मलाई बाटोको जानकारी दिनुहुन्छ । गाडी तल तल ओरालो झर्छ । अलि तल पुगेपछि गाडी टक्क अडिन्छ । बाटो बन्दै रहेछ । गर्मी खाएर के गाडीभित्र बस्नु भन्दै हामी बाहिर निस्किन्छौँ । हावा बडो वेगले बहेको छ । कोशीलाई पछाडि पारेर फोटो खिचाउँदै समय काट्छौँ ।

गाडी सुचारु हुन्छ, हामी किराँत लिम्बुवान प्रदेश ओखलढुङ्गाको किनारमा छौँ । गाडी दूघकोशी तर्छ । खोटाङ जिल्लामा गुड्न थाल्छौँ । अबको बाटो उकालो छ । डाँडै डाँडा छन् । बाटो सानो छ । घुमाउरो छ । डरको ढ्याङ्ग्रो बज्छ छातीमा । कतै गाडी चिप्लियो भने …? फेरि आँखा गाडीभित्र समेट्छु । हेर्न सक्दिनँ उकालोबाट तल ।

सेतो देखिन्छ कोशी । हामी उचाइमा पुगेका छौँ । घडीले समय घर्केको जनाउ दिँदैछ । निकैबेरपछि डाँडाको टुप्पामा आइपुग्यौँ । कान ढम्म भएर बन्द भएको छ । अमला बेच्ने साना साना भाइबहिनी सडकमा छन् । गाडी बढ्दो छ । देखिन्छ लस्सी खाने ठाउँ । आज केही नखाने मुडमा छौँ । फर्किँदा खाउँला भन्दै उत्साहको मन लिएर खोटाङ बजारतिर प्रवेश गर्छौं । पहाडको टुप्पामा फैलिएको बस्ती बडो सुन्दर देखिएको छ । चारैतिर पहाड बोकेर बसेको रहेछ हलेँसी । देख्छु पहाडको विचित्र रूप । तुवाँलो छ हल्का तर पनि देखिएको छ परपरसम्म पहाडको सुन्दर शृङ्खला । होटल हलेँसी भिलेजको आँगनमा गएर गाडी टक्क अडियो । आँखा भरि अटाएको छ हलेँसीको सुन्दर छवि । गाडीबाट झोलाझाम्टा टिपेर हामी आ-आफ्नो कोठाभित्र लाग्यौँ ।

तीनवटा कोठा बुक गरेका थियौँ । एक तले घर लहरै छन् । माथि डाँडामा देखिन्छ रङ्गीचङ्गी लुङ्दर । नौलो दृश्यले ध्यान सजिलै तान्यो । निकै परपरसम्म छन् झ्याम्म परेर हल्लिरहेका लुङ्दरहरू । मन पुगिस्यो लुङ्दरको सङ्गीतमा आनन्दविभोर हुन । ढोका खोलेर भित्र पस्दा कोठाको सौन्दर्यले मोहित पार्यो । मन शान्त भयो देखेर स्फटिक ओछ्यान । विश्वासले गरेको सौदा खेर गएन । गदगद भयो मन । सेतो तन्ना तनक्क पारेर ओछ्याएको दुईवटा खाट । निकै सफा देखिएको छ कोठा । सिरकको खोल पनि सेतै छन् । सिरानी पनि रानी जस्तै सुकसुकाउँदी । दराज छ उः पल्लोछेउतिर । टेवल छ अगाडि । टेबुल नजिकैको भित्तामा टिभि पनि छ झुण्डिएको । सँगै छ बाथरूम । खोलेर हेर्छु, सफा छ । ढुक्क लाग्यो । पङ्खा छ ढोकाछेउको भित्तामा । गीजर पनि रहेछ बाथरूममा । लुगा झिकेर दराजमा राखेँ । नुहाउन हतार भयो । चिसो पानीले खलखल नुहाएँ । स्याम्पु, साबुन केहीको कमी छैन । माइती आएको आभास हुँदैछ । सबैजना घुम्नलाई तयार हुँदैछौँ । पहेँलो लुगामा सजिएकी छु । घुम्न आएकी पो त ! सम्झनाको कोसेली लानु छ । फेसबुकको भित्ता रङ्ग्याउनु छ । लेख्नु छ हलेँसी अक्षरमा । अनि त हरेक क्षणलाई यादगार त पार्नै पर्यो नि !

सबैजना ठाँटिए बाहिर निस्किन्छौँ । चिया खाएर घुम्न जाने सल्लाह हुन्छ । चियाको तलतल मेट्न पस्छौँ होटलभित्र । मलाई त कफीको बास्नाले लोभ्याउँछ । अनि अडर लिन आएका भाइसँग कफी नै मगाउँछु । अब भने हामी चिया कफीले ऊर्जावान् भएका छौँ । बाहिर निस्किएर केहीबेर समय, सन्दर्भलाई ग्याजेटमा बाँध्न थाल्छौँ ।

“माथि जाने बाटो कता हो दाइ । त्यहाँ के छ विशेष ?” होटल अगाडि बसिरहेका दाइलाई सोध्छु । कुर्सीमा बसेका ती दाइ हातको इशाराले देखाउँछन् माथि डाँडातिर जाने बाटो । भन्छन्, “चट्टानभित्र गुफा छ । ध्यान गर्न जान्छन् मान्छेहरू । लामाहरू ध्यान गरेर बस्छन् भित्र गुफामा । बुद्धको मूर्ति पनि छ ।” धन्यवादको मुस्कान छोड्दै लाग्छौँ मास्तिर । उकालो आरम्भ हुन्छ । सबैको हातमा लौरोको साटो मोबाइल छ ।

गोविन्द भिनाजुले (रेग्मी) कताबाट हो भेट्नुभयो ठूलै लौरो । सिँढी सजाएर बसेको बाटो सहजै छ । माथिबाट देखिन्छ निकै परसम्म पहाडको अनन्त लहर । अद्भुत लाग्छ यहाँको भू-संरचना । खलनायक भएर छेकेको छ तुवाँलोले स्पष्टता । तर पनि हामी हेर्न छोड्दैनौँ यहाँको प्राकृतिक दृश्य ।

अब माथि पुगिसकेका छौँ । आहा ! अद्भुत छ यहाँको वातावरण । साना साना नानीबाबु बत्ती किन्न अनुरोध गर्छन्, “ए दिदी ! ए आन्टी आफ्नो परिवारको नाममा बत्ती बाल्नु न ! बीस ! तीस ! चालिस ! पचास ! जतिको बाले पनि हुन्छ ।” लहरै छन् बत्ती लिएर बसेका साना साना हातहरू । मलाई जम्मै बत्ती किनेर उज्यालो छर्न मन लाग्छ हलेँसीको डाँडामा तर भावनामा अङ्कुश लगाउँदै भन्छु, “सबै जनाले बेग्ला बेग्लै पसलबाट बत्ती किनौँ सबैको व्यापार हुन्छ ।” हामीले त्यसै गर्यौँ ।

अब फलामको ठाडो सिंढी चढेर माथि पहाडको छातीमा उक्लिएका छौँ । प्राकृतिक रूपमा निर्माण भएको गुफा नौलो छ । भर्याङमा छन् पर्यटकहरू । आन्तरिक पर्यटकहरू नै बढी छन् । कोही कोही मात्र छन् विदेशीहरू । मान्छे ओर्लिए पछि हामी पनि पालैपालो उक्लिन्छौँ । म त सबैभन्दा अगाडि पुगेँ । निता दिदी त अझ तलै छे । उर्मिला दिदी थरर काम्दै हुनुहुन्छ । म गुफाको भित्र पसेँ । अद्भुत छ चट्टानी स्वरूप । विभिन्न आकार प्रकारका आकृति छन् भित्ताभरि । लाग्छ कतै गाईका थुन छन् । ओसिलो देखिन्छ चट्टान । किन यो ढुङ्गाको आकार यस्तो भयो ! चुन ढुङ्गाबाट बनेको पहाड पो हो कि ? कस्तो चमत्कारी प्राकृतिक दृश्य । के हो यो पहाडको रहस्य ? पहाडको भित्र शायद खोक्रो छ । पहाडभित्र खुला ठाउँहरू छन् । म अगाडिको चेपबाट हेर्छु भित्ताभित्र साँगुरो बाटो देखिन्छ । म बसेको गुफाभन्दा परतिर अर्को ओडारतिर चिहाउँछु । परतिरको गुफाभित्र एकजना लामा ध्यानमा मग्न भएको देखेर श्वास पनि सुस्तरी फेर्छु । सबैजना आउँदै जाँदैछन् । सबैका आँखा विस्फारित छन् । अचम्मको आँखा चारैतिर फ्याँक्दैछन् । रहस्यको भेद भेट्न सक्दैनौँ ।

आ-आफ्नो आस्थामा हामी अडिएका छौँ । हिन्दु, बौद्ध र किराँतहरूको तीर्थस्थल रहेछ खोटाङ । म भने शान्तिको अनुभव गरेर बिस्तारै तल झर्छु । नेपालीहरूको हृदयलाई नमन गर्छु । कति सुन्दर छ नेपालीहरूको हृदय । साँच्चै हामी सबैसँग मिलेर बस्न सक्छौँ । सामाजिक, सांस्कृतिक साथै धार्मिक एकता कति लोभलाग्दो छ हाम्रो । कति सरल र उत्तम छ हाम्रो मन । अरूको अस्तित्वलाई पनि सम्मान गर्ने संस्कार कहिले नमेटियोस् नेपालीहरूको हृदयबाट । म नेत्र बन्द गरेर प्रार्थना गर्छु । तर्क, वादविवादले अशान्ति निम्त्याउँछ । मलाई अनावश्यक तर्क र बहस वाहियात लाग्छ । आस्था हाम्रो अमूल्य सम्पत्ति हो । सद्भाव छातीमा सजाएर हामी हिँडेका छौँ ।

साँच्चै हामी शान्त छौँ । सरल छौँ र त खुशी छौँ । आनन्द प्राप्त गर्न हामीलाई धेरै कुरा चाहिँदैन । थोरैमा हामी रमाउन सक्छौँ । खुशी हुन हामीलाई ठूलो उपलब्धि चाहिँदैन । उत्सव मनाउन हामीलाई संसार जित्नु पर्दैन । जीवन जिउने कलामा निपूर्ण लाग्दैछ मलाई नेपालीहरू । वैचारिक रूपमा हामी साँच्चै पवित्र छौँ । निर्मल छौँ । विश्वासको आँखामा अनिर्वचनीय शान्ति बोकेर विश्वलाई चकित पार्दैछौँ … हामीमा अहंकारले बास नगरोस् प्रार्थना गर्छु खोटाङ महादेशसँग ।

साझा गर्नुहोस्:
अनिता कोइराला

लेखकको बारेमा

अनिता कोइराला

अनिता कोइराला साहित्यका सबैजसो विधामा कलम चलाउँछिन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.