बाल्कनका चार देशहरू, उत्तर म्यासेडोनिया, कोसोभो, अल्बानिया र मोन्टेनेग्रो घुम्ने क्रममा स्कोप्जेमेरो एक रातको बिसौनी थियो । तर, इतिहासका पानाहरूमा पढेका दुई विपरित स्वभावका व्यक्तित्वहरू यही सहरसँग जोडिएका रहेछन् भन्ने थाहा पाएपछि यो सामान्य रोकाइ एउटा महत्वपूर्ण गन्तव्यमा परिणत भयो । एकातिर शक्ति, विजय र साम्राज्य विस्तारका प्रतीक अलेक्जेन्डर ‘द ग्रेट’को सांस्कृतिक विरासतको दाबी, अर्कोतिर दया, सेवा र निस्वार्थ जीवन समर्पण गर्ने मदर टेरेसाको जन्मभूमि । यस्ता विरोधाभासी दुई दर्शन एउटै सहरको आकाशमुनि भेटिनु आफैंमा एउटा गम्भीर दार्शनिक प्रश्न जस्तो लाग्थ्यो ।
स्कोप्जेमा पाइला राखेपछि मैले पहिलोपटक महसुस गरेँ, यो सहर कुनै शान्त र सरल इतिहास बोकेको ठाउँ होइन । यसको प्रत्येक गल्ली, सडक, भवन र पुलहरूमा विगतका सङ्घर्ष, पहिचानका विवाद, ओटोमन प्रभाव, युरोपेली चाहना र बाल्कनका आरोह अवरोहका कथाहरू लुकेका छन् । त्यहाँको पुरानो सहरले इतिहासका घाउहरू दर्शाउँथ्यो भने आधुनिक चोकमा ठडिएका विशाल प्रतिमाहरूले राष्ट्रिय गौरव र आत्मपहिचानको पुन:स्थापनाको प्रयासलाई चित्रण गर्थे ।
तर मेरो मनलाई सबैभन्दा बढी आकर्षित गर्ने ठाउँ चाहिँ म्यासेडोनिया स्क्वायर नै थियो, जहाँ अलेक्जेन्डर ‘द ग्रेट’को विशाल प्रतिमा आकाशतिर हेर्दै ठडिएको छ । यद्यपि इतिहासले उनको जन्म पेला (ग्रीस) मा भएको बताउँछ, तर उत्तर म्यासेडोनियाले उनलाई आफ्नो सांस्कृतिक विरासतको रूपमा निरन्तरता दिने प्रयास दशकौँदेखि गरिरहेको छ । मूर्तिको छेउमा उभिएर हेर्दा शक्ति र विजयको सुन्दरता जति देखिन्थ्यो, त्यति नै त्यसमा हिंसा, महत्वाकांक्षा र विस्तारवादका पर्दाहरू पनि अनुभव हुन्थ्यो । इतिहासकार रोबिन लेन फक्सले अलेक्जेन्डरलाई “सिमानाभन्दा पर सपना देख्ने तर एक योद्धाको क्रोधले बाँच्ने व्यक्ति” भनेको कुराको अर्थ त्यही क्षण स्पष्ट भयो । मानवीय शक्तिले कति ठूलो प्रभाव पार्न सक्छ भन्ने कुरा त्यो चोकमा उभिएर अनुभव गर्दा प्रष्टै महसुस हुन्थ्यो ।
त्यही सहरको केही गल्ली पर भने बिल्कुलै फरक ऊर्जा भएको अर्को स्थान थियो, मदर टेरेसाको जन्मस्थल स्मारक भवन । अलेक्जेन्डरको मूर्तिले दिएको गह्रौं, विजयी र बाहिरी अनुभवभन्दा यो ठाउँ ठीक विपरित, शान्त, स्थिर र भित्री रूपमा तान्ने खालको थियो । स्कोप्जेमा सन् १९१० मा जन्मिएकी अँजेझे गोंझे बोयाजियुलाई पछि विश्वले मदर टेरेसाको नामबाट चिन्यो, जसले आफ्नो जीवनभर गरिब, बिरामी र असहायहरूको सेवामा समर्पित गरिन् । स्मारक भवनमा प्रवेश गर्दा पहिलोपटक मलाई एउटा अनौठो अनुभूति भयो, यति सानो सहरले कसरी यति ठूला तर पूर्ण रूपमा विपरीत मानवीय दर्शनहरूलाई एकैसाथ व्याख्या गर्न सक्छ?
सिकन्दरले साम्राज्य विस्तार गरेर इतिहासको भूराजनीतिक नक्सा नै बदले, तर मदर टेरेसाले भने झुप्रोमा जीवन बिताएर मानवीय हृदयको स्वरूप परिवर्तन गरिदिइन् । एकले जितमा आफ्नो अर्थ देखे भने अर्कीले नम्रतामा । सिकन्दरले आफ्ना सैनिकहरूलाई पछिपछि डोर्याए, तर टेरेसाले दुःखीहरूको हात समातेर उनीहरूलाई उठाइन् । सिकन्दरको प्रतिमा देख्दा शरीर कडा भएर आउँथ्यो, छाती फुल्थ्यो, बल प्राप्त भएको जस्तो लाग्थ्यो, तर मदर टेरेसाको कोठाभित्र बस्दा मन पग्लिएर आँखा आफैँ रसाउँथे । मानवीय सम्भावनाका यी दुई विपरित पाटाहरू घृणा र प्रेम, विजय र दया यति नजिकबाट अनुभव गर्न पाउनु एउटा असाधारण क्षण थियो ।
स्कोप्जेको आकाशमुनि उभिएर मनमा जागेको पहिलो भाव यही थियो, मानव इतिहास जति देखिएको छ, त्योभन्दा धेरै विरोधाभासले भरिएको छ । शक्ति र दयाबीचको दूरीलाई मानिसले शताब्दीयौँदेखि बुझ्ने प्रयास गरिरहेको छ । दार्शनिक हाना अरेन्टले शक्ति र दयालाई यसरी परिभाषित गरेकी छन्, शक्ति भनेको “व्यवस्थित रूपमा सक्रिय हुने क्षमता” हो भने दया भनेको “अरूको पीडाप्रति भावनात्मक ऐक्यबद्धता” हो । स्कोप्जेमा यी दुवै विचारहरू एकै ठाउँबाट संसारभरि फैलिएको दृश्य मेरो मनमा एउटा ठूलो प्रतीक बनेर बस्यो । मान्छेले चाहेमा संसार जित्न पनि सक्छ, र चाहेमा एउटा दुःखीको आँसु पुछेर संसार बदल्न पनि सक्छ ।
स्कोप्जेपछि कोसोभो, अल्बेनिया र मोन्टेनेग्रोका डाँडाकाँडा, मस्जिद, गिर्जाघर, पुराना सहर, ताल र युद्धका गहिरा घाउहरूलाई नजिकबाट नियाल्ने मौका पाएँ । सात दिनको बसाइमा हामीले हिराका पसलहरू, हातले बुनेका गलैंचाहरू, ओटोमन शैलीका छालाका सामान पाइने पसलहरू, पुराना पुल, किल्ला, ऐतिहासिक गिर्जाघर र गुम्बा घुम्यौं । प्रत्येक देशको इतिहास आफ्नै दुःख, परिचय, पुनर्निर्माण र चाहनाको कथाले भरिएको थियो, तर स्कोप्जेको अनुभूति भने बारम्बार मेरो मनमा आइरहेको थियो, किनकि अरू ठाउँहरूले इतिहास देखाए, तर स्कोप्जेले इतिहासलाई ‘सोध्यो’ । त्यो सहरले मलाई शक्ति र दयाको सम्बन्धबारे पहिले कहिल्यै नसोचेको तरिकाले सोच्न बाध्य बनायो ।
म्यासेडोनिया नाम विवादले पनि यो राजधानी स्कोप्जे सहरको भित्री पहिचानको सङ्घर्ष बुझ्न मद्दत गर्यो । सन् २०१९ भन्दा अगाडि यो देशको नाम ‘म्यासेडोनिया’ थियो, तर ग्रीससँगको २७ वर्ष लामो विवादपछि अन्त्यमा ‘उत्तरी म्यासेडोनिया’ नाम स्वीकार गरियो । सिकन्दरप्रतिको अत्यधिक चाहना केवल इतिहास मात्र नभएर आफ्नो पहिचानको रक्षा गर्ने इच्छा पनि रहेछ भन्ने कुरा मैले बुझें । स्कोप्जेको चोकमा सिकन्दरको प्रतिमा राख्नु केवल एउटा मूर्ति बनाउनु मात्र नभएर आफ्नो सांस्कृतिक अस्तित्वलाई स्थापित गर्ने राष्ट्रको अठोट पनि हो । त्यही बेला मदर टेरेसाको जन्मस्थलमा देखिने सरलता र विनम्रताले भने म्यासेडोनियन आत्माको अर्को पक्ष सहकार्य, दया र साझा मानवतालाई उजागर गरिरहेको थियो । यी दुई एकअर्काका विरोधी विचारहरू एउटै समाजभित्र अटाउनु बाल्कन इतिहासको बहुपक्षीयता र जटिलताको प्रतिनिधित्व हो ।
सिकन्दर, एक दृढ विजेता थिए, जसले आफ्नो जीवन साम्राज्य विस्तार गर्ने क्रममा मरुभूमि, नदी र पहाडहरूमा बिताए । उनले सबैलाई आफ्नो शासन मान्न बाध्य पारेर “सभ्यता फैलाउने” अभियान चलाए । तर अचम्मको कुरा, उनले संसार जिते पनि मृत्युलाई जित्न सकेनन् । मात्र ३२ वर्षको उमेरमा उनको निधन भयो । यति कम उमेरमा पनि उनले धेरै लडाइँ जितेर एकछत्र शासन गरे । त्यसैले आजसम्म पनि उनको नाम युद्ध र विजयको पर्याय बनेको छ ।
मदर टेरेसा भन्ने गर्थिन , “हतियारले होइन, बरू मुस्कान, हातमा हात मिलाएर र सेवा गरेर सारा संसारलाई शान्तपूर्वक जित्न सकिन्छ ।” गरिब र बिरामीहरूको सेवामा उनले धेरै दशक बिताइन् । जति धेरै त्याग गरिन्, उति नै धेरै नाम, पुरस्कार र इतिहासमा सम्मान पाइन् ।
१८ वर्षको उमेरमा उनले आफ्नो घर छोडेर आयरल्यान्डको सिस्टर्स अफ लोरेटोमा प्रवेश गरिन् र त्यसपछि उनलाई आफ्नो बुबा, आमा र दिदीलाई भेट्ने मौका कहिल्यै मिलेन । सन् १९२९ मा उनी भारतको कोलकाता आइपुगिन्, जहाँ उनले आफ्नो पहिलो धार्मिक तालिम पूरा गरिन् र सेन्ट मेरी हाई स्कूलमा पढाउन थालिन् । सन् १९३७ मा उनले सधैँको लागि व्रत लिइन् र त्यसै दिनदेखि उनी मदर टेरेसाको नामले चिनिन थालिन् । लगभग २० वर्षसम्म उनले विद्यालयमा विशेष गरी गरीब परिवारका छात्राहरूलाई पढाइन्, किनकि उनको विचारमा शिक्षा नै वास्तविक रूपमा सशक्त बनाउने सबैभन्दा राम्रो उपाय थियो ।
स्कोप्जेले मलाई सिकाएको सबैभन्दा ठूलो कुरा भनेको मानव इतिहास केवल साम्राज्य खडा गर्नेहरूको कथा मात्र होइन, यो त दुःखी, सेवक, दानी, विनम्र र चुपचाप जीवन अर्पण गर्नेहरूको पनि कथा हो । सिकन्दरको पदचापले राष्ट्र निर्माणको महत्त्वलाई बुझायो भने मदर टेरेसाले मानवताको वास्तविक सार दयामा छ भन्ने कुरा फेरि एकपटक सम्झाइन् । यात्राको अन्तिम दिन, स्कोप्जेको नदी किनारमा बसेर साँझको हावामा मैले अनुभव गरेँ, मान्छेभित्र शक्ति पनि हुन्छ, दया पनि, विजय गर्ने इच्छाशक्ति पनि हुन्छ र अरूका लागि बाँच्ने हृदय पनि हुन्छ । आखिरमा यात्रा भनेको केवल नयाँ ठाउँहरू हेर्ने माध्यम मात्र होइन, यो त आफूभित्र रहेका चरित्र, विरोधाभास र सम्भावनाहरू पत्ता लगाउने एउटा प्रक्रिया पनि हो । स्कोप्जेमा बिताएको केही समयले यही सत्यलाई एकदमै स्पष्ट र प्रत्यक्ष रूपमा देखाइदियो ।

