साहित्यपोस्ट डट कम

नियात्रा : रेसी खोलाको सुसाइ

नियात्रा : रेसी खोलाको सुसाइ

रातभरिको अविरल वर्षाले यसरी निथ्रुक्क भिजेको थियो फेदेन बजार । मानौँ, असारे झरीमा दिनभरि धान रोपेर भिजेकी कुनै रोपार जस्तो । ग्रीष्मको त्यो शुरुआती बिहान त्रियासी जेठको दोस्रो दिनको कुरा हो । गाडीमा इन्धन भर्ने व्यग्रताका साथ दीपक मामा र म मेन रोडको पेट्रोल पम्पमा पुग्यौँ । तर, त्यहाँको कर्मचारीको एउटै वाक्यले हाम्रो उत्साहलाई साँझपखको सिरिसको पात बनाइ दियो ।

“तेल सर्टेज छ, आज पाइँदैन ।”

तब क्षणभरमै हाम्रो यात्रा अन्योलको भुमरीमा पर्‍यो । कसैले आफ्नो प्रयोजनको लागि राखेका छन् कि भनेर तिर्खाएको काकाकुल झैँ केही पसलहरू चहार्दा पनि निराशाको हुस्सु मात्र हात लाग्यो । तर, यात्राको प्यास यति सजिलै कहाँ मेटिन्थ्यो र ! आखिर जोरसालको पेट्रोल पम्पले हाम्रो तिर्खा मेटाइ छाड्यो ।

तेलको भाउ आकासिएको भए पनि गन्तव्यतिर अघि बढ्न पाउँदा मन चङ्गा भयो । त्यही बेला तेल अभावको यो सानो समस्या पनि विश्व राजनीति, अमेरिका र इरानबीचको तनावसँग कता कता जोडिएको अनुभूति भयो । विश्व बजारमा हुने उतारचढावले अन्ततः हाम्रो दैनिक जीवनलाई नै प्रभावित पार्दो रहेछ भन्ने सोच मनभरि खेल्न थाल्यो ।

गाडीमा तेल हालेपछि फेदेन बजारलाई पछाडि पार्दै नागबेली जस्ता सडकहरू हुँदै रमितेतिर उकालो चढ्यौँ । रमिते डाँडाबाट तल हेर्दा भुटेको एक थाल मकै जस्तै देखिन्थ्यो फेदेन बजार । फेदेन बजार ओझेल पार्दै, लालीखर्कको तेर्सो बाटोमा तेर्सियौँ । घरैपिच्छे सजाइएका अनेकौँ प्रजातिका फूलहरू देखिन्थे । ती मनोहारी फूलहरूसँग लुकामारी खेल्दै हामी कान्छी दोकान नाघेर एकैछिनमा पौवाभन्ज्याङ पुग्यौँ । पौवाभन्ज्याङ र गुम्बाडाँडा बादलको बर्की ओढेर बाटो ठम्याउनै नसकिने गरी चकमन्न रातझैँ निस्तब्ध उभिएका थिए ।

निबु खोला तरेर, राँकेको फेरो हुँदै अर्घेलीका तन्नेरी बुट्यान र सिरक ओढेर बसेका जुँगे कटुसहरूको छायाभित्रबाट गुज्रिँदै हामी बाकखोर बजार पुग्यौँ । हाम्रो सवारी साधनमा केही समस्या देखिएपछि बाकखोरको ग्यारेजमा मर्मत गर्न लगायौँ । त्यसपछि रक्से हुँदै नेपालटारको ओरालो झरेर पुवा खोला तर्दै बिब्ल्याँटे, इलाम बजार पुग्यौँ । इलाम बजारदेखि ओरालै ओरालो जाँदा खेत र बारीका गराहरूमा किसानहरूको पसिनाको मिठो बास्ना पाइयो । उनीहरूको खुशी र आशाको बतास चलिरहेको थियो मकै र सिमीका पातहरूमा । सालिन्दा भत्किरहने राजदुवालीको पहिरो मुस्किलले काटेर माई खोला पार गर्‍यौँ । मनमनै सम्झेँ– यो पहिरो प्रोमिथियसको कलेजो हो ।

झाँक्रीको गजो जस्तो गोदक र बाह्र गोलाइको उकालो चढ्ने क्रममा हामी झन्डै दुर्घटनामा पर्‍यौँ । तर, कुनै अप्रिय घटना हुन सकेन । बाह्र गोलाइ छिचोलेपछि तीनघरे हुँदै फिक्कल बजार पुगेर एउटा सानो खाजा घरमा पस्यौँ । लगभग अट्ठाइस–तीस हिउँद काटेकी जस्ती देखिने साहुनी थिइन् । उनको मुस्कान चियाभन्दा स्वादिलो, बोली खाजाभन्दा रसिलो । उनको सुशील स्वभावले कोमल मन छोइहाल्यो । क्षणभङ्गुर जीवनमा मीठो वचन र असल व्यवहार नै साँचो पुँजी रहेछ । त्यसैले भनिन्छ, मुस्कान नै मानिसको सबैभन्दा ठूलो गहना हो । उनको मुस्कानले अझै पनि उतै तानिरहेको छ मेरो मन ।

फिक्कल छोडेर चियाका बोटहरूसित संवाद गर्दै अघि बढिरह्यो हाम्रो यात्रा । कन्याममा विभिन्न पारम्परिक जातीय परिधानमा सजिएका, फोटो खिच्दै र घोडचढी गर्दै गरेका मानिसहरूको घुइँचो लागेको थियो । रङ्गीबिरङ्गी फूल झैँ मानिसको भीडलाई आँखाले स्पर्श गर्दे हामी हर्कटे पुग्यौँ । हर्कटेको कुहिरोले बेरिएको चिसो मौसम छिचोल्दै लेप्चा जातिको विशेष क्षेत्र रोङ गाउँपालिकाको ओरालो झर्दै हामी बिस्तारै तराईको फराकिलो फाँटमा पुग्यौँ । पहाडको चिसोमा सहज लागेको कपडा, तराईको तातो साससँगै एकाएक भारी महसूस हुन थाल्यो । दिनभरिको थकानसँगै चारआली मोतीबहादुर लोवाको निवासमा पुग्यौँ । केही क्षणपछि हरिराज लोवा र नरेन्द्र लोवा पनि आइपुग्नु भयो । बेलुकाको खानपिनपछि आराम गर्‍यौँ ।

“आबोग्बि हाउ ? लु अलि चाँडो गरूँ है ।”

घरको प्यासेजबाट आएको मोती काकाको आवाजले हामी ब्युँझियौँ । यतिबेला धरतीको काखमा बिहानीले पाइला टेक्दै थियो र जेठको तेस्रो दिन उदाउँदो घामसँगै किशोर भएर फक्रिँदै थियो ।

मोती, हरिराज, नरेन्द्र, दीपक हाङ्सरुम्बा र म पाँचै जना हस्याङफस्याङ गर्दै चारआली चोकमा निस्किएर पूर्व जाने बसमा चढ्यौँ । काँकडभिट्टा ओर्लिएपछि नेपाली पैसासँग गान्धीको तस्बिर अङ्कित नोट सटही गर्‍यौँ । त्यसपछि सिटी सफारीबाट मेची पुल तरेर पानी ट्याङ्कीतर्फ हानियौँ । पानी ट्याङ्कीमै सिङ्तामको टिकट काटेर हामी अघि बढ्यौँ । खास हाम्रो गन्तव्य सिक्किमसम्मको थियो । र, यो यात्रा केवल घुमघामका लागि मात्र नभई एउटा ऐतिहासिक महत्त्व बोकेको थियो ।

पानी ट्याङ्कीबाट ट्याक्सी चढेर एसियन हाइवे समात्दै नक्सालबारी, बागडोग्रा हुँदै सिलिगुडी पुग्यौँ । पानी ट्याङ्की, नक्सालबारी, बागडोग्रा र सिलिगुडीका बजार र चोकहरूमा बङ्गाली भाषाको वर्चस्व देखिन्थ्यो । कार्यालय, क्लिनिक, होटेल र कम्प्लेक्सहरूमा टाँसिएका साइनबोर्ड, होर्डिङ बोर्ड र डिस्प्ले बोर्डहरूमा देखिने बङ्गाली अक्षरहरूले पश्चिम बङ्गालको परिचयलाई झन् जीवन्त बनाइरहेका थिए । नेपालको १ नं. प्रदेशमा पनि लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने भाषा आयोगले सिफारिस गरे तापनि अहिलेसम्म व्यवहारिक रूपले कार्यान्वयन हुन सकेको छैन । यसको पछाडि पक्कै पनि केही बाधक तत्त्वहरू उभिएका होलान् तगारोझैँ । त्यसो त सांस्कृतिक चेत भएका व्यक्ति र समुदायहरूले आफ्नै जोडबल र लगानीमा आफ्नो टोल, बस्ती र चोकका नाम सिरिजङ्गा लिपिमा लेखी बोर्डहरू ठड्याएका छन् । मन न हो, कहाँ वशमा बस्थ्यो र ! ठीक यसै बेला नेपालमा यसरी सयर गरिरहेको थियो मन ।

अस्तव्यस्त सिलिगुडी बजारलाई छोडेर सुकुना हुँदै सेभोक पहाडको फेदीलाई न्यानो स्पर्श गर्दै टिस्टा नदीको किनारै–किनार समातेर अगाडि बढ्यौँ । उहिले गाउँघरमा भोजभतेर हुँदा बारीको छेउमा पराल बिछ्याएर भात खान बसेका मानिसझैँ रोडको किनारामा लहरै बसिरहेका र अश्लील हर्कत गरिरहेका केही बाँदरहरूलाई देखेर रीस पनि उठ्यो ।

“साथमा लट्ठी भएको भए गुरुजीलाई गाडी रोक्न लगाएर यिनीहरूलाई कुटी पो राख्थेँ ।” बाँदरलाई धारे हात लगाउँदै भनेँ ।

“तिमी त लाटा पो रहेछौ, कहाँ बाँदरलाई कुट्न सकिन्छ ?”, हाँस्दै हरि बाजेले भन्नुभयो ।

“यी बाँदरहरू अति अटेरी हुन्छन्, स्वयम्भू र पशुपतिमा त राज गर्न खोज्छन् । दार्जिलिङ र खरसाङ बजारमा पनि बिगबिगी देखेको छु ।” मैले भनेँ ।

“त्योभन्दा धेरै त किसानलाई समस्या छ, बाँदर आतङ्कले मानिस विस्थापित हुनुपर्ने अवस्था आइसकेको छ ।” हरि बाजेले थप्नुभयो ।

यसरी संवाद गर्दै हामी टिस्टा बजार पुग्यौँ । हुन त यो पृथ्वी कुनै एक प्राणीको स्वामित्व होइन, सबै प्राणीहरूको सहअस्तित्वमा टिकेको साझा संसार हो । पारिस्थितिक सन्तुलनका लागि प्रत्येकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । तर, मानिसले आफूलाई सर्वशक्तिमान् ठानेर प्रकृतिमाथि निरन्तर अतिक्रमण गर्दै आएको छ । त्यसैको परिणाम स्वरूप स्वतन्त्र रूपमा बग्नुपर्ने टिस्टा नदी आज कतै बाँधमा कैद त कतै शुरुङको अँध्यारोभित्र हराएको रहेछ । आजका आधुनिक मानिस नदीनालामाथि टेक्दै आवास खडा गर्ने होडमा दौडिरहेका छन् । मानव अतिक्रमणको चपेटामा परेर टिस्टा पनि निसास्सिएको रहेछ । प्रकृतिलाई आफू अनुकूल चल्न नदिएपछि, ऊ रिसाउनु स्वाभाविक हो । प्रकृति आक्रोशित भएपछि बाढी बग्छ, पहिरो लड्छ र मानवीय क्षति निम्त्याउँछ । त्यसैले त होला, केही वर्षअघि ‘टिस्टा नदीले धेरै धनजनको क्षति गर्‍यो’ भन्ने समाचार पढ्न र सुन्न पाइएको थियो । हामी बाँच्न चाहन्छौँ भने सबैभन्दा पहिलो कुरा पृथ्वीलाई बचाउन जरुरी छ । यसरी मनका अनेक तरङ्गहरूमा डुब्दै–उत्रिँदै, मल्ली, राङ्पो र माझीटार पार गरेर सिङ्ताम बजार आई पुगिसकेछौँ ।

पहाडको काखमा बसेको सिङ्ताम बजारले पनि गर्मीमा तराई झैँ पोल्छ, शायद खोँचको घेराभित्र परेर होला । उखरमाउलो गर्मीबीच सुनाखरी होटेलमा हामीले खाना खायौँ । खाना खाइसकेर पुल नजिकैको पार्कबाट टिस्टाको सुसाइ नियाली रहेका थियौँ । ठीक यसै बेला आफ्नै गाडी लिएर हामीलाई रिसिभ गर्न डाक्टर रुद्रकुमार लोवा आइपुग्नु भयो । उहाँ आइपुग्न साथ हामी गाडीमा चढेर आदर्श बस्तीतर्फ यात्राको अर्को अध्याय शुरु गर्‍यौँ ।

“ओहो ! धेरै वर्षपछि पो भेट भो त भतिज ।” स्टेरिङ चलाउँदै डाक्टर रुद्रले भन्नुभयो ।

“हो नि काका, तपाईँले ल्यापटप ल्याइदिनु भएपछि भेट भा’को छैन ।” मैले भनेँ ।

झन्डै दश वर्षअघि उहाँले दिनुभएको ल्यापटप उपहार सम्झिँदै उहाँसँगको यो भेट दशकपछि भएको पहिलो साक्षात्कार थियो । यसरी उकालीका केही घुम्तीहरू मोड्दै हामी दक्षिण सिक्किमको आदर्श बस्तीस्थित के.बी. लोवाको निवासमा पुग्यौँ । घरका सदस्यहरूसित आत्मीय भलाकुसारी गर्दै त्यहीँ बसेर त्यो रात यात्राको थकान बिसायौँ ।

कतै भाले बासेको सुरिलो स्वर गुन्जियो कानमा । शरीर नउठाईकन खिर्कीमा झुन्डिएको पर्दा बिस्तारै पन्छाएँ । बाहिर जेठको चौथो दिन ठिङ्ग उभिएको थियो आँखासामु ।

त्यो दिन भने लोरिङ्देन लोवा वंशावली प्रकाशन सम्बन्धी लोवा बन्धुहरूको बैठक थियो । सिक्किमका विभिन्न ठाउँमा छरिएर रहेका लोवा दाजुभाइहरू भेला भए आदर्श बस्तीमा । वंशावलीको महत्त्वलाई बेवास्ता गर्ने केही बन्धु भने यस भेलामा सहभागी भएनन् ।

“वंशावली खोज्नु र प्रकाशन गर्नु भनेको आफ्नो जरा र अस्तित्वलाई जोगाउने प्रयत्न हो । हामी नेपालबाट यहाँसम्म आयौँ तपाईँहरूलाई खोज्दै ।” मैले भनेँ ।

“मैले सप्पैलाई बोलाको हँ, नर्थमा बाटो प्रोबलेम छ भन्यो हँ, अन्त त्यै भएर नऔने कुरा गरे हँ ।” एम.के. बाजेले सिक्किमे लवजमा भन्नुभयो ।

“हामी याक्थुङहरू पृथ्वीको जुनसुकै कुनामा छरिएर बसे पनि पुर्ख्यौली थातथलो र माङ्गेन्ना यक् कहिल्यै बिर्सिनु हुँदैन रहेछ । कतिपय फेदाङ्मालाई सबै मुन्धुम् थाहा नहुन सक्छ । माङ्गेन्ना गर्दा होस् वा बिहेमा लगन गर्दा माङ्गेन्ना यक्कै इतिहास वर्णन गर्नुपर्छ । त्यसैले हाम्रा छोराछोरी र नातिनातिनाहरूलाई यसबारे ज्ञान दिइरहनु पर्दो रहेछ ।” मैले भनेँ ।

“हो तेसैले त यो हाम्रो वंशावली चाहिन्छ । वंशावलीमा यो सप्पै कुरा लेखिन्छ ।” सबैले भने ।

बैठक शुरु भयो । उपस्थित सबैले आआफ्नो राय र सुझाव राखे । उपस्थित सबैले सकारात्मक सुझाव राखे । पारित भएका निर्णयहरू लोरिङ्देन लोवा वंश प्रतिष्ठान सिक्किम समितिका सचिव के.बी. लोवाले वाचन गरेर सुनाउनु भयो ।

बैठक अनौपचारिक रूपमा सम्पन्न भयो । त्यसपछि उपस्थित सबै जना छुट्टिए । सोमबारे सिक्किम निवासी एम.आर. लोवा र हामी नेपालबाट गएका टोलीलाई आफ्नै गाडीमा हि­बर्मेक लैजाने निर्णय गर्नुभयो, एम.के. लोवाले । एम.के लोवाको निर्णयअनुसार हामी उहाँकै गाडीमा चढ्यौँ र पुनः सिङ्ताम झर्दै माझीटार पुग्यौँ । त्यहाँ पुगेपछि एम.आर सरले गौरव र वात्सल्य भरिएको हातको औँलाले गाडी भित्रैबाट सङ्केत गर्दै अगाडिको भव्य भवन देखाउनु भयो ।

“ऊ त्यै कलेजमा पढाउँछ तनुजा ।”

सिक्किम मनिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी (SMIT) मा लेक्चररका रूपमा प्राध्यापन गर्दै आएकी तनुजा लोवाले यसपटक मात्रै विद्यावारिधि उपाधि हासिल गरेर प्राज्ञिक उचाइ चुमेकी छिन् । बुबाको त्यो सङ्केतमा एउटी छोरीको सफलताको कथा र भित्रैदेखि मगमगाएको गर्व प्रस्टै महसूस हुन्थ्यो ।

“एउटी चेलीको सफलतामा हामी पनि धेरै खुशी छौँ ।” हामीले भन्यौँ ।

यसरी गफगाफ गर्दागर्दै राङ्पो र मल्ली चेक पोस्ट पार गरेर किताम फाटक हुँदै जोरथाङ्तर्फ लाग्यौँ ।

“यो त तमोर कोरिडोरको लोरिप्पा खोलाको बाटो जस्तै छ त ।” दीपक र नरेन्द्रले भने ।

किताम फाटकदेखि सुम्बुकसम्मको फेरो ठ्याक्कै चिम्टा जस्तो रहेछ । किताम–फाटक र सुम्बुक त आँखैअगाडि जति नजिक देखिन्थे । तर, एउटा सानो कमिला चिम्टाको एक टुप्पोबाट अर्को टुप्पोमा पुग्न पुरै घुम्नुपरेझैँ फेरो लगाउनु पर्दो रहेछ ।

“मान्छे मात्र कता कता अनुहार मिल्ने भेटिन्छन् भनेको त गाउँठाउँ पनि पो अनुहार मिल्ने भेटिँदो रहेछ नि ।” भन्दै सबै जना गलल हाँस्यौँ ।

रङ्गीतको मीठो सङ्गीतमा सधैँ डुबेको जोरथाङ बजार पुग्नासाथ म ‘थःत्थामा’ उपन्यासको पानाभित्र हराउँदै गएँ । रङ्गीत नदी तरेर जुमको उकालो हुँदै गेलिङ् डाँडा, च्याखुङ्, सोरेङ्, तातोपानी, श्रीबदाम, कलुक र साम्दोङ् पार गरेर बर्मेक पुग्दा झमक्क अँध्यारोले जमिन छोपिसकेको थियो । बर्मेकस्थित सन्जीप लोवाको घरमा बास भयो । त्यहाँ कहिल्यै नदेखिएका बन्धुहरूसित पनि भेट भयो । बेलुकाको खानपिन गरेर हामी सबै आराम गर्‍यौँ ।

सिक्किमका सरकारी विद्यालयहरूमा लिम्बू भाषाको पठनपाठन औपचारिक रूपमा सन् १९६८ देखि नै शुरु भएको हो । हाल विभिन्न विद्यालय, कलेज र विश्वविद्यालयहरूमा पठनपाठन भइरहेको भए तापनि यति लामो यात्रामा सिरिजङ्गा लिपिमा लेखिएको बोर्ड कतै पनि नदेखिनुको दुखेसो सिरानी लगाएर निदाइ गएँ म ।

बिहानको सखारै उज्यालो फैलिँदै गर्दा हामी उठिसकेका थियौँ । कोठेबारीभरि फैलिएको अलैँचीको हरियाली आँखाभरि भर्‍यौँ । केही वर्षयता निकै चर्चामा रहेको अलैँची सेरेम्ना प्रजातिको रहेछ । सेरेम्ना नामाङ्कन गर्ने व्यक्ति पनि पश्चिम सिक्किमकै एकजना लिम्बू रहेछन् । सेरेम्ना कोमल र नरम पात भएको भनेर अर्थ्याइएको रहेछ ।

घरबेटी बोजुको मोबाइलमा एक्कासि घण्टी बज्यो ।

“हेल्लो, अँ जान लाग्यो, इ नाति एता बोल त ।” कल रिसिभ गर्ने बित्तिकै बोजुले मोबाइल मलाई दिनुभयो । एरिना फुपूको कल आएको रहेछ ।

“भदा हिज पनि भनेको मेरो घरमा नआई जान पाउँदैन है ।” यति भनेपछि फुपूले फोन राख्नुभयो ।

सन्जीप काकाले हामीलाई लिएर अगाडि बढ्नुभयो । फुपूको घर एउटा सानो खोल्सापारि रहेछ । घना लिम्बू बस्ती भए पनि नेपालमा जस्तै सिक्किममा पनि पछिल्लो पुस्ताका केटाकेटीहरूले आफ्नो मातृभाषा बोल्ने बानी क्रमशः छाड्दै गएका रहेछन् । यसो हुनुको कारण के रहेछ भनेर मैले एकजना स्थानीयसँग जिज्ञासा राखेँ । उनको तर्क थियो ‘अन्तरजातीय विवाह नै यसको प्रमुख कारण’ हो । तर, कारण यतिमा मात्र सीमित नहुन सक्छ ।

युनेस्कोका अनुसार विश्वभरि करिब सात हजार जति भाषामध्ये ठूलो हिस्सा जोखिममा छ । तीमध्ये धेरैजसो आदिवासीसँग सम्बन्धित छन् । अनुमानतः हरेक दुई हप्तामा एउटा भाषा लोप हुने अवस्थामा पुगेको छ । यसको अर्थ भाषा मात्र हराउँदैन, भाषा सँगसँगै ज्ञान, इतिहास, संस्कृति र संसार हेर्ने दृष्टिकोण पनि हराउँछ । लिम्बू भाषा पनि अब वृद्धवृद्धा पुस्तामा मात्र सीमित हुँदै गएको छ । नयाँ पुस्ताले बुझ्न सके पनि बोल्ने अभ्यास हराउँदै गएको छ । भाषा बचाउने एउटा उपाय भाषिक पुस्तान्तरण अथवा परिवारमा नियमित प्रयोग गर्नु पनि हो । मैले मनमनै सम्झेँ ।

एरिना फुपूको हार्दिकता, सौहार्द्यता र आत्मीयता साँच्चिकै अविस्मरणीय थियो । फुपूको घरबाट बिदा मागेर हामी सिरिजङ्गा माङ्हिम् मार्तामतर्फ लाग्यौँ । अघिअघि सन्जीप काका र सुकबहादुर यङ्वागो फुपाजु, पछिपछि हामी । माङ्हिम् परिसरमा भवन निर्माण र मर्मत कार्य दुवै धमाधम भइरहेको थियो । माङ्हिम्को दर्शन गर्‍यौँ । माङ्हिम्भित्र लिम्बू भाषाका केही पुस्तकहरू असरल्ल छरिएका देखिन्थे । शायद माङ्हिमको मर्मत कार्य चलिरहेकोले होला । टङ्क वनेमको ‘पेन्जिरि पेम्मिक्हा?’ पुस्तक पनि देख्न पाएँ त्यहाँ । माङ्हिम्को दर्शन सकेर हामी सिधै रेसी खोलातिर झर्‍यौँ ।

गाडी पार्किङ गरेर पदयात्रा गर्दै ओरालै ओरालो जङ्गलको बाटो भएर झर्‍यौँ । बाटो लामो मात्र नभएर उत्तिकै विकट पनि रहेछ । केही तल पुगेपछि अनकन्टार घना जङ्गलभित्रबाट सुनियो रेसीको आवाज छङ्…छङ्… । चोकमरी र सिस्नुको झाडी चिर्दै मानिस हिँड्ने बाटो निकालिएको रहेछ । माथि हेर्दा सिरको टोपी भुइँमा खस्लाजस्तो, तल हेर्दा कहाली लागेर आङ जिरिङ्ग हुने भीर । यस्तो भीरबाट निरन्तर हाम फालिरहेको थियो रेसी झरना ।

यही रेसी र कालेझ खोलाको सुस्केरा सुन्दै गर्दा इतिहासको एउटा क्रूर पाना मेरो मानसपटलमा सजीव भएर आयो । आफ्नो भाषा र लिपिको प्रचारप्रसार गर्दा सिक्किमका शासकहरूबाट खतरा बढेपछि त्येअङ्सि सिरिजङ्गाले ज्यान जोगाउन यही विकट ओडार र झरनाको सहारा लिएको इतिहास स्मरण गर्दा म अत्यन्तै भावुक बनेँ । कस्तो कठिन परिस्थितिमा पनि उनले आफ्ना चेलाहरूलाई सिकाउने काम रोकेका रहेनछन् । अन्ततः शासकहरूले विषालु तीर बर्साएर सिरिजङ्गाको भौतिक शरीर त अन्त गरे रेसी र कालेझ खोलाको दोभानमा । तर, उनको रगतले सिँचिएको यही माटोबाट सिरिजङ्गा लिपि सधैँका लागि अमर बन्यो । आज यो झरनाको छङ्छङ् आवाजमा उनको चित्कार होइन, भाषा र लिपिको प्राण सञ्चार भइरहेझैँ आभास हुन्छ । तत्कालीन प्रतिबन्धको जगमा सिरिजङ्गाको सहादतले एउटा यस्तो इतिहास रचेको छ, जसले मेटिन लागेको अस्तित्वको रङ्ग सदाका लागि भरेरै छाड्यो । त्याग, सङ्घर्ष, बलिदान र जोखिमको धरातलबाट मात्र इतिहास निर्माण हुने रहेछ भन्ने गहिरो अनुभूति मनभरि बोकेर पाटे र डाँसको टोकाइले हैरान हुँदै हामी नाकै ठोकिने उकालो उक्लियौँ । रेसी खोला आफ्नै लयमा सुसाइरह्यो… सुसाइरह्यो …।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.