नमस्कार, म हजुरको ट्राभल एडभईजर भीम न्यौपाने ! हजुरलाई के सेवा गरौं – मैले रिङ्ग बज्दै गरेको फोनमा बोलेँ ।
हजुरहरूसँग कतै घुम्न जाने भ्रमणका प्याकेजहरू के के छन् भनेर कल गरेको – एक ग्राहकले सोध्नुभयो ।
मैले भनेँ– हजुरलाई कहाँ जानु पर्ने, कति जना हुनुहुन्छ र कहिले जाने योजना छ ।
ग्राहकको प्रश्न थियो – भन्नुस् न हजुरहरूसँग छ कि छैन ?
यो प्रश्न प्रायः हाम्रो ग्राहकको यस्तै नै हुनाले म नम्र र स्पष्ट हुन खोजें । र मैले सोधेँ– हजुरलाई कहाँ जान मन छ !
ग्राहकले भन्नु भो– छोटो विदा मिलेको छ । यसमा हामी स-परिवार यसो फ्रेशको लागि कतै जाऊँ कि भनेर हजुरलाई फोन गरेको । केही छ भने भन्नुहोस् नत्र म अन्तै किन्छु ।
मलाइै थाहा भो ग्राहकलाई अरू अप्सन पनि छन् र मलाई सोधेको इन्क्वयरीमा मिश्रित छनोट छ । त्यसैले मैले फ्याट्ट २–४ वटा प्याकेज बताएँ । त्यसपछि अलि नम्र स्वरमा ग्राहकको कुरा सुन्दै जाँदा बल्ल थाहा भयो, उहाँहरूलाई चाहिने प्याकेजको बारेमा ।
बुधवारको दिन थियो र उहाँहरूले शुक्रबारदेखि आइतबार सम्मको २ रात र ३ दिन बिताउने योजनामा हाम्रो ट्राभलमा फोन गर्नुभएको रहेछ । फेरि उहाँ हाम्रो रेगुलर ग्राहक हो । श्रीमान – श्रीमती र २ छोरा – छोरी ४ जनालाई एउटा प्याकेज बुक गरे । मेरो पूरै बिहानी यो ग्राहकको सेवा दिँदा नै बित्यो । यस्तै यस्तै सेवा र सुझाव दिँदादिँदा मेरा १७ वर्ष बितेछन् । तर मलाई आफ्ना ग्राहकलाई खुशी बनाउँदाको दिन मीठो निद्रा लाग्छ । निकै आनन्द आउँछ । म सेवामा समर्पित र आफ्नो बाचामा अर्पित व्यक्ति रहेछु भन्ने चाल बिस्तारै बुझ्दैछु । अहँ, मलाई कति पनि बोरिङ्ग र झर्को लाग्दैन आफ्ना ग्राहकलाई चित्त बुझाउँदा । शायद मैले सिर्जना गरेको हाम्रो व्यवसायमा यो वातावरण अक्सर हाम्रा ग्राहकले कतै पाउँदैनन् र त फर्कीफर्की हामीलाई नै खोज्दा रहेछन् । मलाई यसमा गर्व लाग्छ । म दृढ विश्वास राख्छु, व्यवसायमा इमान्दारिता र विश्वासले मात्र सीपलाई शक्त संकल्पसँग जोड्न सक्छ ।
व्यावसायको विस्तार र ग्राहकको रोजाइलाई म सधैँ सोच्ने गर्छु । अब कसरी नयाँ नयाँ कुराहरू यो पर्यटन व्यवसायमा जोड्न सकिन्छ । नयाँ ट्राभल प्याकेज ल्याउन सकिन्छ । समय र सिजन अनुसार अध्ययन गर्दै मैले हाम्रो ग्राहकलाई विभिन्न गन्तव्यका आकर्षणको बारेमा बताउने गरिरहन्छु । विशेष गरेर नेपाललाई पर्यटकीय गन्तव्यका प्याकेज बनाउँदा प्रख्यात र आकर्षित ठाउँहरू जस्तै चितवनको सौराहा, पोखरा, बन्दीपुर, नगरकोट, लुम्बिनी, इलाम, जनकपुर, पाथीभरा, ढोरपाटन, पाल्पा इत्यादिलाई नामाकरण गरी विस्तार र व्याख्या गर्ने गर्दछौँ । ट्रेकिङ रुटहरू, सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प र लाङटाङ इत्यादि ।
कहिलेकाहीँ त्यस्ता पर्यटकीय ठाउँहरूमा हामी आफैँ पनि पुगेर त्यसको अध्ययन र अनुभव सहित फर्कन्छौँ । शायद त्यो एयरलाइन्स होस्, पानीजहाज होस् या पर्यटकीय गन्तव्यका ठाउँहरू नै किन नहोस्, त्यसलाई आफूले अनुभव गरेर पाएका कुराहरू हाम्रा ग्राहकलाई शेयर गर्न र व्याख्या गर्न अति सजिलो र उत्तम किसिमले अर्थ दिन सकिन्छ । यसमा हाम्रो सधैँ यस्तै यस्तै प्रयास रहन्छन् ।
यस पटक नेपालको बसाइँमा हामी बागलुङको ढोरपाटन जाने निधो गर्यौँ । अहँ ! अहिलेसम्म धेरै किंवदन्ती सुनिरहेँ तर ढोरपाटन जाने दिन मलाई जुरेको थिएन । जिपलाई घरमाथितिरको तेस्रो कच्ची बाटोको छेउमा ३ दिनदेखि रोक्ने र यता उता भेटघाट गर्ने चलिराखेको छ । ससुरालीको मेजमानीमा मलाई आनन्द भइरहेको छ । माइती र मामा घरमा श्रीमती र छोराहरू पनि उस्तै दङ्ग नै छन् । मामा घर भन्दा मलाई अहिले पनि मेरो मामा घरको याद आउँछ । जब म सानो थिएँ, आमाले मामा घरको महत्त्व र आवश्यकताको बारेमा मलाई राम्ररी बुझाउनुभएकोले मलाई मामा घर सधैँ जाऊँ जाऊँ र उतै सधैँ बसौँ जस्तो लाग्ने गर्थ्यो । शायद छोराहरूलाई नि यस्तै यस्तै भएको होला, निकै खुशी र फुरुङ्ग छन् । भनिन्छ नि आमा कि मामा । ड्राइभर भाइ पनि हामीसँगसँगै नै हुन्थे । पुष महिना अक्सर हिउँ पर्ने र जाडो नै हुने महिना हो । हामी सानो हुँदा त यो महिनामा माथि धुरी धुरीमा सेतै हिउँ पर्थ्यो तर जमाना धेरै परिवर्तन भएछ । हिउँले पनि यही परिवर्तनको बाटो पछ्याएर होला, खै हिउँ ? म जन्मेको बिहुँकोट चिरपानीमा हो । चिरपानी र यो लेखानी जोडिएका साविकका गाउँ हुन् । दूरीका हिसाबले ३ किलोमिटर होला तर आत्मीयताको त कुनै दूरी नै रहेन । जब जीवन बिताउने बाँधामा हामी दुई एकअर्काका भयौँ । दुई गाउँले पनि गहिरो साइनो जोडे, सबै गाउँलेहरू आफ्ना लाग्न थाले ।
बिहान घरबाट आँखाले भ्याएसम्मको दृष्टि नजर लगाउँदा आहा ! हिमालले दिएको दन्ते मुस्कान र त्यसको तल वरिपरिबाट हेरिरहेका पहाडका टाकुरा र क्षितिजलाई सिमान्त रेखा कोर्दै सलल घुमाउरो आकृतिमा हाम्रा नजर परिरहन्थे । बिहान सूर्योदय र सूर्यास्तमा देखिने धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण र वरिपरिका मनमोहक दृश्यले हामी मोहित हुन्थ्यौँ । कैलाश र भिषेक हाम्रा छोराहरूलाई त यो दृश्यले कसरी चिन्यो कि चिनेन, जसरी उनीहरूले दर्शाउने भाव नजिकैबाट मलाई नियालिरहन मन पर्थ्यो । यो यस पटकको मात्र कुरा होइन र यही लेखानीको मात्र कुरा रहेन । यसअघि धेरै पटक उनीहरू नेपाल आउँदा यस्तै उल्लास, उत्सुकता, उमङ्ग र हर्षित भएको हामी देख्थ्यौँ । फोटो, सेल्फी, टिकटक र रिल इत्यादिमा कति कति ! लाग्छ, शायद हाम्रा पुर्खादेखिको स्पर्श यो माटोमा र प्रकृतिमा छ, जुन स्पर्शमा आफ्ना पुस्ताले पनि लामो सास मज्जाले खुलेर लिऊन् ।
१० डिसेम्बर २०२५ बागलुङको लेखानी गाउँबाट बिहान ११ बजे हामी ४ जना अब ढिला नगरी स्कोर्पियो जिपभित्र बस्यौँ । चालक भाइले जिपको गियर र क्लच ताने र एक्सिलेटरमा खुट्टाले दबाएपछि हामी अगाडि बढ्यौँ लेखानीको छ सय गाउँबाट उकालो थामको धुरीतिर । एउटा गन्तव्य उमङ्गसँगै । ढोरपाटन, आज ढोरपाटन पुग्ने र यहीँ एक रात बिताउने ।
ढोरपाटनलाई मैले त धेरै पहिलेदेखि, जुन बेला म काठमाडौंमा हुँदा नै, निकै सुन्दै आएको थिएँ । १९९७ सालतिर जुन बेलामा म कान्तिपुर चितवन बागलुङ गेष्ट हाउस सञ्चालन गरिरहेको थिएँ । मेरा पाहुना तथा ग्राहकहरू प्रायः बागलुङ र चितवनतिरकै बढी हुन्थे । हिम श्रीस, खीमबहादुर घर्ती मगर, राम छन्त्याल, विष्णु खड्का, भरत गैरे, रामलाल बिक इत्यादि जतिको मलाई नाम याद भयो अहिले । उहाँहरू बागलुङ बजारबाट रात्रि बस चढेर काठमाडौं आउँदा बिहानको ४–५ बज्थ्यो । बागबजारको गेष्टहाउसको च्यानलगेट छकछक गरी खोल्न भन्नुहुन्थ्यो । दुदीला भाँटी, नरेठाँटी, रेश, दरवार, काफलठुटा, अर्गल, गोलकोट, हटिया, हरिचौर, ताराखोला, तान, भिमगिठे, बडिगाउँ, बुर्तिबाङ, ढोरपाटन इत्यादि ठाउँहरूबाट अत्यधिक व्यक्तिहरू काठमाडौं जाँदा मैले भेट्ने गरेको थिएँ ।
जगन्नाथ आचार्य बुर्तिबाङ माध्यमिक स्कुलको प्रधानाध्यापक हुनुहुन्थ्यो र उहाँ काठमाडौं धेरै पटक आइराख्दा मसँग भेट हुन्थ्यो । हाम्रै गेष्टहाउसमा बस्नुहुन्थ्यो । दुर्गम ठाउँ छ भीम भाइ, बागलुङ बजारबाट दुई दिन पूरा हिँडेर जानुपर्छ । स्कुलको कामले हिँडिराख्नुपर्ने हुँदा निकै गाह्रो अप्ठ्यारो छन् । जगन्नाथ सर कहिले शिक्षकको खाजिमा त कहिले मन्त्रालयको कामले धाइराख्नुहुन्थ्यो । यस्तै त्यताबाट काठमाडौंमा आइराख्नेहरू प्रायः कार्यालयका काम, वैदेशिक रोजगारी र उपचारका लागि महिनौँ काठमाडौंमा बस्नुहुन्थ्यो । उहाँहरूको बसाइँमा मैले पनि धेरै कठिनाइ भएको अनुभव गर्थेँ । भनेको समयमा कार्यालयको काम नसकिनु, वैदेशिक रोजगारीका एजेन्टले समय लगाइ भकुल्लै दिनु, उपचारका लागि हस्पिटलमा भर्ना हुनु इत्यादिका कारण ती व्यक्तिहरूलाई काठमाडौं जस्तो महँगो सहरमा दिन व्यतीत गर्नुपर्थ्यो । उहाँहरू कुरा गर्नुहुन्थ्यो, आफ्ना भेगतिरका मिठा–नमिठा कथा सुनाउनुहुन्थ्यो । अहिले लाग्छ, हामी कुन समाजमा कसरी बाँचेका मानिस रहेछौँ ।
हामी एकआपसमा कुरा गर्थ्यौँ र भन्थ्यौँ, मोटरबाटो ढोरपाटनसम्म कहिल्यै पुग्ला कि नपुग्ला । ढोरपाटनसम्म यदि मोटरबाटो पुग्यो भने त हाम्रो बागलुङ र हामी बागलुङ्गेको मुहार फर्किन्थ्यो होला । त्यो पहाडी भेगमा मोटरबाटोको आकृतिले र त्यही आकृतिमा मोटरसाइकल, कार, बस, जिप गुड्दा कस्तो राम्रो र सुन्दर देखिएला भन्नेमा हामी कल्पित कुरा गर्दथ्यौँ । उहाँहरूले बागलुङ बजारदेखि ढोरपाटनसम्म पुग्दाखेरि बीचमा पर्ने ठाउँहरू, बजारहरू, जमिनको ढाँचा, नदी नाला, खोला कुल्सा, खेतका फाँटहरूको बस्ती र गाउँ अनि त्यहाँ फल्ने अन्न, जडीबुटी, वस्तुभाउ साथै बाह्र महिना आउँदै जाँदै गर्दाका मौसमहरू, विद्यालय, पानी पँधेरा, समाज, परिवार र व्यक्ति इत्यादिको निकै चाखलाग्दा गफ गरिरहन्थ्यौँ । म आफैँ त्यतातिर नगए पनि मेरो मनको भित्तामा सबै कुराको प्रतिबिम्ब चाहिँ खडा भइरहेको थियो । १०–११ वर्षको उमेरमा म मेहेलीसम्म गएको थिएँ, ढोरपाटन त धेरै परको कुरा रहेछ । हुन त मलाई लटेखोरियाको भिरालो चौरबाट पूर्व फर्केर हेर्दा देखिने दृश्य निकै रमाइलो लाग्थ्यो, घोडाबाँधेको धुरीमा पुगेर उतापट्टिका केही दृश्य पनि मैले नहेरेको होइन तर जुन उहाँहरूले बयान गरेको भेगतिर मेरो बाटो नै परेनछ ।
समयले मेरो जीवनलाई डोर्याउँदै डोर्याउँदै जताजता लग्यो, म त्यतैततै गएँ । समय बित्दै गए । वर्ष बित्दै गए । ५ वर्ष, १० वर्ष, २० वर्ष तर मलाई समयले कहिल्यै पनि ढोरपाटनसम्म पुर्याएको थिएन । आफू नमरी स्वर्ग देखिँदैन भनेझैँ अब आफैँ नगई ढोरपाटन पुगिन्न तर मनमा खडा भई बसेको इच्छाको प्रतिबिम्बमा कुनै कमी थिएन । बरु ममा जमेर बसेका ती तीव्र इच्छालाई समय समयमा घोच्घच्याइरहन्थ्यो, ढोरपाटन अब कहिले जाने ।
मोटरबाटो पनि बन्यो, मोटरगाडीहरू पनि गुड्न थालिसके । आज हामी हाम्रा जेन्जीहरू सहित हो त्यो ढोरपाटनको यात्रामा निस्किएका छौँ । हामी केहीबेरमै थामको धुरीमा पुगिसकेका थियौँ । कालोपत्रे पिच मोटरबाटोमा गुडिरहेका थियौँ । जिपको भित्रबाट बाहिर जतिजति र जेजे देखिन्छ र ती सबै हामी हेर्दै घुम्ती उकालो ओरालो पार गर्दै विस्तारै कल्पनाको गन्तव्यतिर बढिरहेका थियौँ, चोक भेटिन्थे, नाम पढ्थ्यौँ । ती नामसँगै म फेरि अतीतमा पुग्थेँ — झाक्रीथान, चौराहा, काफलठुटा, नरेठाँटी, गोलकोट, हटिया । तल जरौदी खोला आफ्नै सुरमा बगिरहेको थियो भने हामीहरू पनि भेटिएका नामसँगसँगै गुडिरहेका थियौँ । गोलकोट एउटा प्रसिद्ध कमाएको गोलकोटे राजाहरूको राज्य हो । र गोलकोटको हरिचौरमा ती गोलकोटे राजाहरूले बनाएको दरबार पनि हेर्यौँ ।
आहा ! यो ठाउँलाई त्यसै राजाहरूले आफ्नो राज्य बनाएका होइनन् भन्ने कुरा अवस्थित बजारले र वरिपरि घेरिएका सुन्दर पहाडका हरियाली वनजंगलले भकुल्ल दिन्थ्यो । लाग्थ्यो यो कुनै स्वर्गको सानो अंश हो मानौँ, स्वर्गकै कुनै सानो टुक्रा हनुमानजीले उचालेर ल्याउनुभयो र हरिचौर र गोलकोटका यी फाँटहरूमा स–सम्मान राखियो । बिस्तारै मानिसले आफ्नो बसाइँ विस्तार गर्दै गए । लाग्छ, यसमा प्रकृतिले यहाँ कुनै हतार गरेको छैन, हरेक बेँसी, हरेक खोँच, हरेक डाँडाको ढल्काइ सोचेर, मिहिनेतले कोरेको चित्रझैँ लाग्छ ।
यही कारणले होला, इतिहासले पनि यस भूमिलाई छुट्टै स्थान दिएको छ । भनिन्छ, गोलकोटका राजाले यही भूभागलाई आफ्नो दरबार बनाउने निर्णय गरेका थिए, र यहीँबाट आफ्नो राज्य सञ्चालन गरेका थिए । त्यो निर्णय केवल सत्ताको आवश्यकता मात्र थिएन, प्रकृतिले दिएको विविधता र सौन्दर्यप्रतिको विश्वास अनि मोह पनि थियो । दरबार हेर्न र राजा भेट्न आउनेले पनि यो सुन्दर स्थलको महसुस गर्न सकून् । र यहाँ स्वर्गका देवीदेवता र अप्सराहरू बस्छन् र वरिपरि कुनै बेला ती अप्सराहरू घुमफिर पनि गर्छन् जस्तो भान हुन्छ ।
समय जति बदलिए पनि, केही ठाउँहरू सधैँ उस्तै रहन्छन्, इतिहासलाई बोकेर बस्ने, र ती इतिहासका मौन दस्तावेज भइरहने कालान्तरसम्म, जहाँ आज वर्तमान र विगत एकैचोटि सँगै बगिरहेका र घुमफिर गरिरहेझैँ लाग्छ । मैले यो परिवेशको बयान गरी साध्य छैन र पुग्दैन पनि । हुन त गोलकोटे साथीलाई लाग्न सक्छ, इन्द्रको अगाडि स्वर्गको बयान ।
अलि अगाडि गाईघाट पर्ने भएकाले दरबारलाई एकछिन अवलोकन र तस्वीरहरू खिचेपछि दरबारको गेटबाट बाहिरिँदै लोभिएको मनलाई विस्तारै त्यहाँबाट अगाडि जाने निधो गर्यौँ र जिपको ढोकामा छिर्यौँ । यो ताराखोला र अर्गल जाने बाटो पनि रहेछ । दरमखोलाको किनारमा जिप रोकियो । हामी जिपबाट ओर्लियौँ र पैदलयात्रीको फलामे पुलबाट दरमखोला हेर्दै तर्यौँ । ठीक सामुन्ने पारिपट्टि झरनाले आफ्नो गति र गतिबाट निस्किएको आवाजमा स्वागत गरेको भान भयो । दरमखोला र यो झरनाले एकअर्कामा मिलेर आउने पर्यटकलाई जोडतोडका साथ आफ्नो आफ्नो कर्मको आभास दिलाएजस्तो लाग्थ्यो । झरना माथिबाट सिधै पत्थरलाई स्पर्श गर्दै तल तालमा परिणत भई दरमखोला किनारसित बिस्तारै मिलेको छ भने दरमखोलाले झरनालाई समातेर आफूसँगै बग्ने कस्तो मितेरी साइनोजस्तो भान मलाई भयो । यो अद्भुत गडगडाहट आवाजमा दुईवटा ठूला पहाडको बीच ठूला–ठूला ढुङ्गाका बीच आफूलाई तरल जलको रूपमा चलायमान गरिरहेको एक विशाल खोला हो भने यो दरमखोलाको चिनारीका प्रमाणहरू थिए ।
झरनालाई हेर्न आउने मान्छे जतिले टिकट लिएर मात्र हेर्न पाइने रहेछ । यसको लागि स्थानीय एक व्यक्तिले ‘टिकट लिनुस्’ भन्दै स्थानीय शब्दमा छेउबाट बोल्नुभयो । शायद उनी छेउको ढुङ्गामा घाम तापिरहेका थिए होलान् । हामीले ४ वटा २०० तिरेर टिकट लियौँ । पैसा दिएर उनले ४ वटा टिकटमा नाम लेखेर हामीलाई दिए भने, “यो सबै हिसाबकिताब उता लगेर दिनुपर्छ वडा अफिसमा ।”
“ठीक छ, राम्रो” भन्दै हामी झरनातिर बढ्यौँ । उनको स्थानीय भाषाको यो बोली हाम्रोलागि नौलो थिएन । यो मगर समुदायका स्थानीय मान्छेले बोल्ने गर्दछन् ।
गाईघाट झरनाको छेउमा भगवानको मूर्ति पनि राखिएका रहेछन् । एउटा ढकाल परिवारको स्मृतिमा राखिएको शिलालेख पनि पढ्न पाइन्छ । छेउबाट अलिमाथि सिँढी चढेर जाने हो भने छहराको गुफाभित्र पनि जान सकिने रहेछ । गुफा सानो भए पनि तर बडो मेहनतका साथ बनाइएको रहेछ । भक्ति भाव र आस्थाको लागि सानो भैरवथान भेट्न सकिन्छ । धजा, अबिर र फूलले छोपिएका भगवानको सानो गुफामा पनि दर्शन गर्न पाइँदो रहेछ । गाईघाटबाट हामी फेरि हरिचौर हुँदै गोलकोट हटिया बजारको चोकमा आयौँ र एक स्थानीय व्यक्तिलाई सोध्यौँ, “ए हजुर, ढोरपाटन जाने यतै होइन त ?” उहाँको जोसिलो र हँसिलो अनुहारबाट सही उत्तर पाएपछि जिप अगाडि बढ्यो ।
बाटो अहिलेसम्म पिच नै थियो र कहीँ कहीँ खाल्टाखुल्टी परेका थिए । सुन्दर र मनमोहक दृश्यसँगै अतीतलाई वर्तमानसित जोड्दै गरिरहँदा बाटो पार गर्न हामीलाई कुनै ख्याल नै भएको थिएन । हामी मल्म, वासखोला, रिडी, हाडीखोला, खरवाङ बजार, न्वार, धार, खाल, भिमगिठे हुँदै अब बुर्तिबाङको बजार पुगेर खाजा, चिया या कफी खाने कुरा गर्दै थियौँ र बुर्तिबाङ बजार आयो । बजार सानो तर व्यस्त देखिथ्यो । बुर्तिबाङ पश्चिम बागलुङको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र मात्र होइन, प्राकृतिक विविधता र भौगोलिक विशेषताले भरिएको क्षेत्र पनि हो । डाँडाकाँडा र अग्ला पहाडहरूले घेरिएको भए पनि बुर्तिबाङ बजार रहेको मुख्य उपत्यकाको भूभाग तुलनात्मक रूपमा होचो उचाइमा फैलिएको छ । ढोरपाटन नगरपालिका अन्तर्गत पर्ने बुर्तिबाङ बजार समुद्री सतहदेखि करीब १,०२० मिटर उचाइमा अवस्थित मानिन्छ ।
तर बुर्तिबाङको भौगोलिक स्वरूप केवल बजार क्षेत्रमा सीमित छैन । ढोरपाटन नगरपालिकाभित्र पर्ने बोबाङ, अधिकारीचौरजस्ता वरिपरिका क्षेत्रहरू भने चाहिँ उच्च उचाइमा फैलिएका छन्, जसले यस भूभागलाई भौगोलिक रूपमा विविध र आकर्षक बनाएको छ । बुर्तिबाङको मौसम सामान्यतया समशीतोष्ण प्रकृतिको मानिन्छ । यहाँ न अत्यधिक गर्मी हुन्छ, न अत्यधिक जाडो । त्यसैले यो क्षेत्र यात्रु, व्यापारी र प्रकृतिप्रेमीहरूका लागि सदियौँदेखि आकर्षणको केन्द्र बन्दै आएको छ । पहाड, खोला, हरियाली र खुला आकाशको संयोजनले बुर्तिबाङलाई पश्चिम नेपालमध्येको भूजीवन र भू–दृश्यको जीवन्त प्रतिनिधि बनाएको छ ।
जिपभित्रैबाट नियाल्दा विस्तारै जिप रोक्ने ठाउँको पनि खोजी गरिरहेका थियौँ । “आच्छु, कति चिसो रहेछ !” बाहिर करीब दिउँसोको ४ बज्दै थियो । जिपको झ्याल खोल्दा आएको चिसो हावामा हामी सबै एक पटक भिज्यौँ । अब खाजा के खाने, कहाँ खाने त ? केही बेर हामीलाई यो चुनौती नै भयो । अगाडि बढ्दै जाँदा बडिगाड खोलाको पुलको मुखमा “क्याफे” लेखेको देख्यौँ र हामी त्यहीँ गएर म:म र कफी खाएर निस्किँदै गर्दा बडिगाड खोलाको पुलमा परिवारको फोटो खिच्यौँ । प्रवेशद्वारको बोर्डमा लेखिएको थियो — “हार्दिक स्वागत गर्दछौँ — ढोरपाटन सिकार आरक्षण क्षेत्रको यात्रा सफल रहोस् — दूरी ३४ कि.मि.” । हामी गोलकोट हटियाबाट हामीसँगै बग्दै आएको जरौदी खोला अब बडिगाड खोलाको रूपमा परिणत भयो । बीचबीचमा ससाना खोल्सा र खोला मिसिएर होला, अब बडिगाड खोलाको ठूलो रूप थियो । अबको ३० कि.मि. बाटो ग्राभेल मात्र, विस्तारै उकालोतिर लाग्दो रहेछ । समुद्री सतहदेखि करीब २,८०० देखि ३,९०० मिटर उचाइसम्म फैलिएको ढोरपाटन अब यहाँबाट लगभग तेब्बर उचाइमा पर्ने भएकाले पनि उकालो बाटोको यात्रा हुन गइरहेको छ ।
करीब ५:३० बज्दै थियो, जिपले आफ्नो एक नम्बर गियरमा हामीलाई तानिरहेको थियो । लाग्थ्यो हामी जान मानिरहेका छैनौँ र जिपले हामीलाई घुच्याउँदै घुच्याउँदै लैजाने प्रयास गरिरहेको थियो । ग्राभेल बाटो भए पनि निकै फराकिलो र भविष्य राम्रो नै तय भएको आभास पाइन्थ्यो । ढोरपाटन नगरपालिका वडा नं. १ शुरू हुँदो रहेछ । नगरपालिकाको दर्जामा पर्नु पनि चाक्लो बाटोको दायरासँग शायद मेल खानुपर्ने भएर होला । अब हामी सही खोला, बोबाङ, दुनापँधेरा, दुलाह र रुदु ताल पार गर्दै थियौँ ।
बागलुङ बजारबाट शुरू भएको यो राजमार्ग मध्यपहाडी लोकमार्गको नामले बागलुङ, रुकुम, रोल्पा, म्याग्दी र गुल्मी जिल्लाका बासिन्दा र सहर, गाउँ र भञ्ज्याङलाई जोड्ने मार्ग हो । जसले यी विकट जिल्ला र गाउँलाई भविष्य दिने आशाको मार्ग भनेर पनि प्रचलित र प्रसिद्धि कमाएको छ । रुकुम, रोल्पा, गुल्मी जाने बाटोलाई हामी पार गर्दै निशीढोर गाउँबाट अगाडि बढ्दै थियौँ । समयले पनि आफ्नो गति लिइरहेको थियो । हामी जिपको गतिमा जिपभित्रै हल्लिँदै र हुइँकिँदै देउराली पुग्यौँ । देउराली चेकपोस्टमा ५ वटा टिकट रु. ५००।– मा तिरेर म फेरि जिपमा चढेँ । टिकट काट्ने काउन्टरको आर्मी कर्मचारीले मलाई झन् जाडो सारेजस्तो भयो । खुल्ला कोठामा बसेर यात्रुलाई टिकट दिने ती कर्मचारी खासमा जाडोले काम्दै लेख्दा टिकटमा हाम्रो नाम पनि पूरा लेख्न सकिरहेकी थिइनन् भने बोल्दा पनि जाडोले पूरा बोली आएको थिएन । तर जिपभित्र म बसेपछि मलाई विस्तारै न्यानो हुँदै गयो ।
मेरा मित्र खीमबहादुर घर्ती मगर अहिले ढोरपाटन नगरपालिका वडा नं. ९ का अध्यक्ष हुनुहुन्छ । खीमजीलाई मैले ३० वर्षअघि बागबजारको हाम्रो कान्तिपुर चितवन बागलुङ गेष्ट हाउसमा भेटेको थिएँ । त्यो बेला खीमजी ढोरपाटनबाट काठमाडौं अध्ययन गर्न र कार्यालयका कामले जानुहुन्थ्यो । ढोरपाटनको कुरा मैले त्यही बेला खीमजीबाट नै सुनेको हो । त्यसपछि मेरो स्मरणमा एउटा अखण्ड रूपमा मस्तिष्कमा बसिरह्यो यो ढोरपाटन । गत वर्ष २०२४ मा एउटा कार्यक्रम लिएर खीमजी मेलबर्न जाँदा हाम्रो धेरै वर्षपछि आश्चर्य भेट भएको थियो । हामी दुवै जना निकै खुशी भयौँ, एकअर्कामा विगत र वर्तमानलाई साट्यौँ । कार्यक्रम सकिएपछि खीमजी नेपाल फर्किँदा ढोरपाटन वडा अध्यक्षको तर्फबाट मलाई निम्ता दिनुभएको थियो, जुन निम्ता आज मैले मान्नलाई अहिले देउराली चेकपोस्टबाट पास लिएर जिपमा गुडिरहेको छु ।
खीमजीले हाम्रो लागि बस्ने होटल, खाने व्यवस्थालाई स्थानीय व्यक्तितर्फबाट गराइदिनुभएको थियो — तेन्जिङ तिब्बेटियन होटल नामको । मैले जिपबाट नै होटलमा सम्पर्क गरेँ । पासाङले फोन उठाउनुभयो । “खाना ५ जनालाई, बस्ने कोठा ३ वटा गरिदिनु” भनेँ ।
उहाँले सोध्नुभयो, “कहाँ आइपुग्यो तिमी ?”
भनेँ, “देउराली काट्यौँ ।”
“ए ल, अब हामी भात पकाउन शुरू गर्छौँ, हजुरलाई अब एक घण्टा त लाग्छ ।” भनेपछि अब आइयो ढोरपाटन भन्ने हामी सबैलाई लाग्यो ।
लाउडस्पीकरको स्वर हामी जिपका सबैले सुन्यौँ । साँझको ७ बजेको थियो । बाहिर अन्नमुष्टि अँध्यारो, घरहरू निकै पातला, कतिबेला देखिन्छन् भन्दै औँलाले गन्नुपर्ने, लेखमा पाइने रुखहरू, खोल्सा, घुम्ती र अति सुनसान । हामी पनि धेरै बोल्न छोडिसकेका थियौँ । दुई हातले जिपको सिटलाई समाएर हुन्छ कि सिटको आड लिएर हुन्छ, हामी आफ्नो शरीरलाई सन्तुलनमा राख्दा राख्दै थाकिसकेका थियौँ ।
खीमजी वडा अध्यक्ष भएकोले उहाँबाट ढोरपाटनको वर्तमान अवस्था, इतिहास र भविष्यबारे अझ नजिकबाट बुझ्न मन लाग्यो । कुराकानीको क्रममा थाहा भयो, ढोरपाटन साविक बोबाङ गाविसबाट विकसित हुँदै आज नगरपालिकामा परिणत भएको रहेछ । यो परिवर्तन केवल प्रशासनिक सीमाभित्रको फेरबदल मात्र होइन, यस दुर्लभ भूभागलाई अझ व्यवस्थित रूपमा विकास गर्दै विश्व पर्यटनको नक्सामा बलियो रूपमा स्थापित गर्ने दीर्घ सोचसँग पनि जोडिएको रहेछ ।
नगरपालिकाको संरचनाभित्र यस क्षेत्रका प्राकृतिक सम्पदा, उच्च पहाडी भूगोल, हिमाली जीवनशैली र प्रसिद्ध आरक्षण क्षेत्रलाई समेटेर भविष्यमा अझ सशक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको कुरा उहाँका भनाइबाट स्पष्ट महसुस हुन्थ्यो । प्रकृतिले आफैँ बनाएको जस्तो लाग्ने यो विशाल उपत्यका केवल स्थानीयका लागि मात्र होइन, विदेशी पर्यटकका लागि पनि अमूल्य सम्पत्ति रहेछ ।
हाल यस नगरपालिकाको कुल जनसंख्या करीब २८ हजारको हाराहारीमा रहेको र ९ वटा वडामा विभाजित रहेको जानकारी उहाँले दिनुभयो । ढोरपाटन वडा नं. ९ बाट खीमजी १४ मतको अन्तरले निर्वाचित हुनुभएको रहेछ । यहाँ करीब ६० प्रतिशत र ४० प्रतिशतको अनुपातमा विभिन्न समुदाय र स्थानीय बासिन्दाहरूको बसोबास रहेको रहेछ । पहाडी र हिमाली भूभागको मिश्रणमा बनेको यो नगरपालिका नेपालको नमुना नगरपालिकामध्ये एक मानिनुका पछाडि यसको प्राकृतिक स्वरूप, सांस्कृतिक विविधता र पर्यटन सम्भावनाले पनि ठूलो भूमिका खेलेको देखिन्छ । हाल नगरपालिकाको नेतृत्व मेयर श्री देवकुमार नेपालीले गरिरहनुभएको रहेछ ।
संसारकै नमुना र चर्चित सिकार आरक्षण क्षेत्रमध्ये एक मानिने Dhorpatan Hunting Reserve केवल नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै परिचित गन्तव्य रहेछ । यहाँ विशेषगरी नाउर (Blue Sheep) र झारल (Bharal) को नियन्त्रित सिकारका लागि देश–विदेशबाट मानिसहरू आउने गर्दारहेछन् । एउटा सिकार अनुमतिका लागि प्रतिव्यक्ति लाखौँ रुपैयाँदेखि करीब १२ लाख रुपैयाँसम्म शुल्क तिरेर साहसिक पर्यटक र शिकारीहरू यहाँ पुग्ने गरेको कुरा सुनाउँदा ढोरपाटनको विश्वव्यापी परिचयको अर्को पाटो खुल्दै गयो ।
तर ढोरपाटन केवल सिकारको कथा मात्र होइन । यसको पछाडि संरक्षण, अनुशासन र प्रकृतिसँगको सन्तुलनको अर्को संसार पनि रहेछ । सिकार आरक्षण क्षेत्रको सुरक्षा नेपाली सेनाले सम्हाल्ने भएकाले स्थानीय बासिन्दा र स्थानीय सरकार दुवैलाई सुरक्षाको ठूलो चिन्ता नहुने रहेछ । अति दुर्गम ठाउँ, कठिन भूगोल, हिमाली वातावरण र विशाल आरक्षण क्षेत्रबीच नेपाली सेनाले निरन्तर जिम्मेवारीका साथ काम गरिरहेको कुरा स्थानीयहरूले गर्वका साथ सुनाइरहेका थिए ।
हामी होटल पुग्दा बेलुकीको करीब साढे सात बजिसकेको थियो । लामो यात्राले शरीर थाकेको भए पनि मन भने नयाँ ठाउँको उत्साहले अझै जागै थियो । पासाङले हामीलाई ठूलो आत्मीयताका साथ स्वागत गरे । हाम्रा झोला, पोका-पुन्तुरा कोठासम्म पुर्याउँदै बास बस्ने कोठाको सबै व्यवस्था पनि मिलाइदिनुभयो ।
समुद्री सतहदेखि करीब ३,९०० मिटर उचाइमा, धौलागिरि हिमशृंखलाको काखमा फैलिएको ढोरपाटन केवल एउटा शिकार क्षेत्र मात्र नभई यो त संरक्षण, संस्कृति, हिमाली जीवनशैली र जैविक विविधताको जीवित पहिचानजस्तो लाग्यो । यहाँको खुला आकाश, चिसो हावा र चारैतिर फैलिएको मौनताले मानिसलाई आफैंभित्र डुबाइदिन्छ ।
त्यो रात भने हामीलाई धेरै कुरा सोच्नेभन्दा पनि तातो खाना खाएर सिरकभित्र पस्ने हतार थियो । जाडोको चिस्यानले शरीरको भित्री तहसम्म छोइसकेको थियो । प्रत्येकले आफ्ना ओछ्यानमा थप सिरक माग्यौं, अनि आ–आफ्नो बिस्तारा तताउँदै निद्राको न्यानोपन खोज्न थाल्यौं ।
बिहान हामी बिस्ताराबाट उठेर बाहिर निस्कँदै गर्दा सूर्यका किरणहरूले ढोरपाटनको विशाल बगरलाई सुनौलो बनाइसकेका थिए । त्यो बगर उत्तरगंगाले वर्षौँदेखि बग्दै-बग्दै बनाएको रहेछ । चारैतिर फैलिएका समथर ढुंगामय मैदान, बीचबाट शान्त स्वरमा बगिरहेकी उत्तरगंगा, र वरिपरि उभिएका हिमाली डाँडाहरू, त्यो दृश्यमा एउटा अनौठो शान्ति थियो । हिउँदको समय भएकाले होला, उत्तरगंगा चिच्याएर होइन, खुसुक्क आफ्नै लयमा बगिरहेकी थिइन् ।
हामीले एक रातको समय लिएर यात्रा गरेका थियौं, त्यसैले फर्किने समय पनि बिस्तारै नजिकिँदै थियो । होटलका पासाङ दाजुसँग बस्दा ढोरपाटन, यहाँको जीवन, पर्यटन र उहाँको व्यवसायका बारेमा धेरै कुरा गर्ने अवसर मिल्यो । उहाँका अनुभव सुन्दै गर्दा लाग्थ्यो— ढोरपाटनमा बस्ने मानिसहरू केवल दुःख मात्र गर्दैनन्, उनीहरू प्रकृतिसँगै जीवन बिताउँछन् ।
कुराकानीकै क्रममा थाहा भयो— प्रसिद्ध बुकीचौर पुग्न त्यहाँबाट करीब तीन घण्टा पैदल हिँड्नुपर्ने रहेछ । जाँदा तीन घण्टा, फर्किंदा तीन घण्टा— लगभग पूरा एक दिन लाग्ने यात्रा । समय अभावका कारण हामी त्यो यात्रामा जान सकेनौं । तर मनभित्र भने एउटा अधुरोपन बसिरह्यो, मानौं ढोरपाटनले अझै केही देखाउन बाँकी राखेको हो ?
अर्को यात्रामा अवश्य बुकीचौर पुग्ने वाचा गर्दै हामी तातो लन्चको स्वादसँगै बाहिरको घमाइलो मौसमको आनन्द लिइरहेका थियौं । चिसो हावाबीच घामको त्यो न्यानोपनले यात्रालाई अझ आत्मीय बनाइरहेको थियो । केही ठाउँहरू केवल घुमेर सकिँदैनन्, ती ठाउँहरू मनभित्र बसेर फेरि सल्बलाइरहन्छन् । खासमा ढोरपाटन पनि त्यस्तै एउटा ठाउँ रहेछ । हुन त जहाँ राम त्यही अयोध्या भनेझैँ यस्तो अनुभूति हुन्छ, मानौं यति राम्रा राम्रा ठाउँहरू प्रकृतिले नेपालभित्रै अर्को संसारलाई लुकाएर राखेको हो । फराकिला घाँसे मैदान, टाढासम्म फैलिएका खोँचहरू, बगरेल्ती ढुङ्गाहरू, शान्त हावा र हिमाली मौनताले मानिसलाई केहीबेर आफ्नै जीवनबाट टाढा लगेर फेरि आफ्नैभित्र फर्काइदिन्छ ।
पासाङ दाजुले हामीलाई भन्नुभयो, “अब तपाईंहरू फर्किने हो भने यहाँबाट घोडा चढेर उत्तरगंगा ढोर बराहथान मन्दिरसम्म जानुस् । त्यो मन्दिरमा शक्ति छ । मन्दिरको दर्शन पनि हुन्छ । मुक्तिनाथ मन्दिरका भाइझैँ मानिने यी मन्दिरमा दर्शन गर्दा मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ ।” उहाँको कुरा सुनेपछि हामीले चार वटा घोडाको व्यवस्था गर्यौं । एउटा घोडा चढेको रु. ८०० पर्ने रहेछ प्रति व्यक्ति ।
उत्तरगंगा नदी यही ढोरपाटनको काखबाट जन्मेर तवशेरा, सानोभरी, ठूलोभरी हुँदै कर्णालीमा मिसिने रहिछन् भने बडिगाड नदी गण्डकीतिर बग्दो रहिछिन् । हिमाल, खोला र आस्थाले जोडिएको यो भू–भाग केवल भूगोल होइन, इतिहास र कथाहरूको पनि संगमजस्तो लाग्थ्यो ।
हामीले चढेका घोडाका फरक फरक रंगका थिए र मालिकहरू बालकदेखि युवासम्मका केटाकेटी थिए । उनीहरूले हाम्रै मोबाइलबाट फोटो र भिडियो खिचिदिँदा यात्रामा अझ आत्मीयता थपियो । करीब बीस मिनेटको घोडायात्रापछि हामी ओर्लियौं र ती घोडावाल केटाकेटीहरूलाई धन्यवाद र सानो टिप्स दिँदै वराहथान मन्दिरतर्फ लाग्यौं । मन्दिर परिसरमा सहस्रधाराहरू रहेछन् । हामीले त्यही चिसो पानीले स्नान गर्यौं । मन्दिरमा छानो थिएन, खुला आकाशमुनि उभिएको थियो त्यो आस्था । हामीले दर्शन गर्यौं, परिक्रमा गर्यौं, र केहीबेर त्यहीँको मौनतामा हरायौं ।
अब त्यहाँबाट हामी लेखानी फर्किने समय थियो । बादलमुनि बागलुङ पुस्तकको गृह-विमोचनको कार्यक्रम भोलि तय गरेकोले पनि अब हामीले फेरि करीब ३० किलोमिटर ग्राभेल सडक पार गर्दै बुर्तिबाङ झर्नु थियो । यात्रामा सधैं जाँदाको बाटो लामो र फर्किने बाटो छोटो लाग्छ भन्छन्, शायद मन फर्किन तयार नहुने भएर होला । जिप अगाडि बढिरह्यो, अनि हामी ढोरपाटनमा बिताएका क्षणहरू, दृश्यहरू र अनुभूतिहरू सम्झँदै बाटोभरि बाँडिरह्यौं । वास्तवमा यो यात्रा ढोरपाटनका खुला फाँट र विशाल बगरजस्तै फराकिलो रह्यो । जीवनभर मनभित्र थुप्रिएका थकान, सम्झना र अधुरा अनुभूतिहरूलाई केहीबेर विश्राम दिने यात्रा । केही ठाउँहरू केवल घुमेर कहिल्यै सकिँदैनन्, ती ठाउँहरू मनभित्र बस्छन् र फर्किएपछि पनि लामो समयसम्म बोलाइरहन्छन् । केवल अतीत बनेर !

