साहित्यपोस्ट डट कम

नियात्रा: चित्लाङको चिरबिर

नियात्रा: चित्लाङको चिरबिर

हामीजस्तो लेख्न रहर गर्ने मान्छे भवानी भिक्षु र देवकोटा बसे हिँडेको र साहित्य सिर्जना गरेको ठाउँमा जान पाउनु कम खुसीको कुरा थिएन ।

===

“पृथ्वीनारायण शाहले उपत्यका हेरेर लोभिएको ठाउँ उः त्यै त हो सर ।” चोरी औँलाले आफ्नो पसलभन्दा उत्तर–पश्चिमतिरको ढिस्को देखाउँदै सानु लामाले भने । त्यस बेला उनी सानो निलो रङको प्लास्टिकको मगबाटै कुनै तरल पदार्थ पिइरहेका थिए ।

“पृथ्वीनारायण शाहका पालामा गोरखाबाट मकवानपुर जाने बाटो यही थियो रे ! गोरखाबाट थानकोट हुँदै यसै बाटो मकवानपुर जान्थे रे । पृथ्वीनारायण शाहले हिँड्दाहिँड्दै त्यही टुप्पोमा उभिएर काठमाडौँ उपत्यकामा हेरेका रे । उपत्यकाको मलिलो खेतमा पाक्न लागेको पहेँलपुर धानबाली देखेर उनको मन लोभियो अनि काठमाडौँ उपत्यकामाथि हमला गर्ने योजना बनाए ।” पृथ्वीनारायण शाहसँग सँगै यात्रा गरेजस्तै गरी सानु लामाले इतिहास सुनाए ।

खासमा पृथ्वीनारायण शाहले उपत्यकामा आँखा लगाएको ठाउँ यो होइन, अलि परको अग्लो डाँडो हो भन्ने सुनेको थिएँ । सानु लामाले यतै बताए । कसको कुरा मान्नु ! म अलमलमा परेँ । यस बेला पृथ्वीनारायण शाह भएका भए उनैलाई सोधेर यकिन गर्न हुन्थ्यो, उनी पनि छैनन् । मनमा द्विविधा बोकेर सानु लामाले देखाएको ढिस्कोमा चढेँ र काठमाडौँ उपत्यकातिर आँखा डुलाएँ । अचम्म, मेरा आँखाले उपत्यकाभरि कङ्क्रिटले बनेका घर बाहेक अरू केही देखेनन् । मनमनै विचार गरेँ, “यस समय पृथ्वीनारायण शाह भएका भए उनले पनि यस्तै त देख्दा हुन् ।” त्यसपछि सुनका दानाजस्तो धान फल्ने मलिलो भूमि मरुभूमिमा परिणत भएकोमा मेरो मन कुँडियो ।

हामी चित्लाङ जाँदैछौँ, आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न । मेरा साथमा छन्— विजयराज आचार्य, केके कर्माचार्य र एकाराम सिंह । दुई दिन पहिले चित्लाङ घुम्ने कार्यक्रम बनाउँदा विजयराज आचार्यले दश-बाह्रजनाको नाम सुनाएका थिए तर हिँड्ने बेला चारजना मात्रै भयौँ ।

चित्लाङ, सुनेको तर नदेखेको ठाउँ थियो मेरा लागि ।

“घुम्नैपर्ने ठाउँ हो चित्लाङ । प्रकृतिको अनुपम सुन्दरताले भरिएको ठाउँ । बस्न, खानको कुनै समस्या हुँदैन । होमस्टेको राम्रो व्यवस्था छ ।” विजयका कुरा सनेपछि मन लोभिएको थियो । अनि दिनभरि घुम्ने र एक रात उतै बस्ने योजना बनाएका थियौँ । खर्च आफूआफूले गर्ने अनि यात्राको चाँजोपाँजो विजयले मिलाउने सहमति भएको थियो । त्यही सहमति कार्यान्वयन गर्दै थियौँ हामी ।

कालिकास्थानमा रहेको विवेक सिर्जनशील प्रकाशन प्रा.लि.को बिक्रीकक्षदेखि गोदामचौरसम्म पुग्नका लागि गाडीको व्यवस्था केके कर्माचार्यले मिलाएका थिए । गोदामचौरदेखि माथि पैदलै हिँड्ने योजना बनेको थियो ।

२०६९ माघ १२ गते शुक्रवार दिउँसो ११ः०० बजेतिर कालिकास्थानमा जम्मा हुने कार्यक्रम थियो । विजय, एकाराम र म समयमै पुगेका थियौँ तर केके कर्माचार्य आउन ढिला गरे । उनी आउँदा दिउँसोको १२.३० बज्दै थियो । कर्माचार्य आएपछि कत्ति विलम्ब नगरी हामी गाडीमा बसेर पश्चिमतिर लागेका थियौँ ।

हामी गोदामचौर पुग्दा दिउँसो १३ः३० बज्दै थियो । गोदामचौर पुगेपछि गाडी चालक राजुकुमार जोशीलाई धन्यवादसहित बिदा गरी आ-आफ्ना झोलाझाम्टा बोकेर उकालो लाग्यौँ ।

काठमाडौँमा बसेर बसिखान पल्केका हामीलाई झोला बोकेर उकालो चढ्न सजिलो थिएन । एकैछिनमा सास बढेर र खुट्टा गलेर हैरान हुन थाल्यो, तैपनि आफूलाई सम्हाल्दै र साहस बटुल्दै उकालो बाटो उक्लिरह्यौँ ।

हिँड्दै थियौँ, बाटाका किनारमा एउटा मन्दिर देखियो । कम्मरमा हात राखेर उभिँदै मन्दिरतिर हेरिरहेको थिएँ, त्यस्तैमा एकारामले भने, “चुनदेवी मन्दिर हो । चुनदेवीलाई वनका जनावरको रक्षा गर्ने देवीका रूपमा चिनिन्छ ।”

नजिकै सैनिक क्याम्प थियो । २०५८ सालमा बम पड्केर केही मानिसहरूको मृत्यु भएको र नजिकका धेरै घर चर्केर क्षति भएको कुरा पनि एकारामले नै सुनाए ।

बाटाको दायाँबायाँ छिटफुट छरिएका घरहरू थिए । एकारामले नै भने, “तामाङ बस्ती हो यो । यो बस्तीसँग एउटा इतिहास जोडिएको छ ।”

इतिहासका कुरा सुनेपछि मेरा कान टाठा भए । चाख दिएर एकारामका कुरा सुन्न थालेँ । उनले भने, “लिच्छिविवंशी राजा नरेन्द्रदेव तिब्बत गएका बेला आफ्नो सुरक्षाका लागि केही तामाङहरूलाई साथमा ल्याएर उपत्यकाको वरिपरि राखेका हुन् रे ! पछि पृथ्वीनारायण शाहले पनि आफ्नो सुरक्षाका लागि काँठमा बस्ती बसाएका थिए ।”

हिँड्दै थियौँ, बाटाका किनारमा एउटी वृद्ध महिला गिट्टी कुटिरहेकी थिइन् । बसी खाने उमेरमा गिट्टी कुटेको देखेर मनमा दया पलायो र सोधेँ । माइली तामाङ रहेछ नाम र उमेर ७० वर्ष । दया लाग्यो । मैले दया गरेर के हुने थियो र ? केही समय गरिबीले व्यप्त हाम्रो समाज अनि यस्तो समाजलाई सरकारले माथि उठाउन कुनै पहल नगरेकोप्रति दुःख व्यक्त गर्दै अघि बढेँ ।

देशभरि खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियान सञ्चालन भइरहेको भए पनि यस क्षेत्रमा भने त्यसको प्रभाव नगन्य रहेछ । वरिपरि छरिएर रहेको मानव विष्टाले त्यो क्षेत्र दिसामुक्त क्षेत्रभन्दा पनि दिसायुक्त क्षेत्र भएको पुष्टि गर्थ्यो । राजधानीको नजिक रहेको थानकोट गाविसको यस्तो अवस्था देख्दा भने आश्चर्य लाग्यो ।

एउटा खोल्सीको बाटो पच्छ्याउँदै उँभो लागिरहेका थियौँ, बाटो बिरिएछ । नजिकै पूर्वतिर रहेको एउटा घरको आँगनमा उभिएकी एउटी नानीले जानकारी गराइन्— “माथितिर जान लाग्नुभएको जस्तो छ, तर यो बाटो होइन ।” उनी गोदामचौरमै रहेको चुनदेवी मा.वि., कक्षा ९ की छात्रा प्रभा लामा थिइन् । त्यसपछि उनले हामीलाई सक्कली बाटो देखाइन् । हामीले उनलाई धन्यवाद दियौँ र उनले सङ्केत गरेको बाटो पछ्याउँदै उँभो लाग्यौँ ।

त्यस बेला मलाई चिनियाँ यात्री ह्वेनसाङ (ह्गबलशबलन) को सम्झना भयो । आफ्नो यात्रा वर्णनमा एक ठाउँ उनले नेपालीहरूले गलत बाटो देखाइदिएको भनेर आलोचना गरेका छन् । मलाई लाग्छ, कुनै पनि नेपालीहरूले त्यसो गरेनन् होला । बरु ह्वेनसाङको भाषा नबुझेर त्यस्तो भएको हुन सक्छ । नेपालीहरू गलत बाटो बताउने स्वभावका भए प्रभा लामाले हामीलाई किन सही बाटो बताउँथिन् र !

केही माथि पुग्दै गर्दा जङ्गल क्षेत्र शुरु भयो । साना ठूला चरीहरू चिरबिर चिरबिर आवाज निकालेर हामीलाई जिस्क्याइरहेका थिए ।

वनको किनारमा एउटा चिया पसल थियो । कच्ची छाप्रे घरको माथि सानो टिनको पातामा नाम लेखिएको थियो— हिमचुली चिया पसल । शोभा लामा र तिलक लामा रहेछन् हिमचुली पसलका साहु साहुनी । नाम चिया पसल भए पनि बेलुकीपख भएर हो कि, तातो चियाभन्दा चिसो चिया बढी पाइँदो रहेछ । तैपनि शोभा लामाले हामीलाई दुध राखेको मिठो चिया पिलाइन् । महँगो होला भन्ने ठानेको थिएँ तर चलन चल्तीकै भाउ रहेछ प्रति कप दस रुपियाँ ।

हिमचुली चिया पसलदेखि जङ्गल क्षेत्र शुरु भयो । त्यस्तो भिरमा पनि गाडी चल्ने बाटो थियो । “माथि देउराली हुँदै चित्लाङसम्म र चित्लाङदेखि कुलेखानीसम्मै मोटर गुड्ने बाटो छ । काठमाडौँदेखि चित्लाङसम्म नियमित रूपमा गाडी चल्छन् ।” शोभाले जानकारी गराइन् ।

गोदामचौरदेखि चित्लाङसम्मको भाडा प्रति व्यक्ति एक सय रुपियाँ रे ! गाडी हिँड्ने सडक र मानिस हिँड्ने बाटो फरक थियो । यस सडकमा चार पाङ्ग्रे मोटर हिँडेको त खासै देखिएन, बरु दुई पाङ्ग्रे बाइकहरू भने कुद्दै थिए ।

मोटर बाटो घुमाउरो हुने हुनाले हामीले पैदल बाटो पछ्यायौँ । पैदल बाटो भने ठाडो र असजिलो थियो । ठ्याक्कै नाके उकालो । उकालो चढ्दै जाँदा खुट्टा पनि लुला हुँदै गए ।

यात्रामा केके कर्माचार्य र म सँगै थियौँ । कलाकार कर्माचार्य कलाको बारेमा चर्चा गर्दै थिए । “अमूर्त कला बुझ्न गाह्रो छ, बुझेपछि मजा आउँछ । साहित्य पनि त्यस्तै हो ।” कर्माचार्यको भनाइ ।

गोदामचौरबाट एक घण्टामा माथि भन्ज्याङ देउराली पुगिन्छ भन्दै थिए तलका साथीहरू तर हामीलाई माथि पुग्न करिब दुई घण्टा लाग्यो । देउरालीमा पुगेर घडी हेर्दा अपराह्न ४ः२० बज्दै थियो ।

चन्द्रागिरि भन्ज्याङ पुगेपछि आराम गर्ने र खाजा खाने कार्यक्रम शुरु भयो । सानु लामाको भट्टीमा सुकुटी देखेपछि भने सबैका मुखमा पानी रसायो । सुकुटी हेर्दा काठमाडौँमा पाक्ने मःमःको बिरादरी नै हो जस्तै लागेको थियो तैपनि सुकुटीको जातधर्म के हो भन्नेतिर नलागी फटाफट साँध्न लगायौँ ।

त्यै बेला नेपाल एफएमका पत्रकार सुरेन्द्र लामिछाने टुप्लुक्क आइपुगे । सानु लामा र सुरेन्द्र लामिछानेले त्यहाँको विशेषताबारे चर्चा गर्न थाले ।

मिनाले दिउँसो खानु भनी झोलामा हालिदिएका फिनी रोटी र सानु लामाले तयार गरेको सुकुटी पेटभित्र हुलेपछि भोको पेट शान्त भयो ।

अघिसम्म हाम्रो टाउको माथि ताता किरण फालिरहेको सूर्य आगोको कोइलाजस्तो रातो रङमा परिणत हुँदै पश्चिम क्षितिजबाट नेटो काट्ने तरखर गर्दै थियो । हामी पनि बिस्तारै चित्लाङतिर ओरालो लाग्यौँ ।

अघिसम्म सूर्य चम्किएको आकाशमा चन्द्रमाको राज शुरु भयो । सूर्यले दिने उज्यालो समाप्त भइसकेकाले चन्द्रमाको घुरमाइलो उज्यालोमा छामछाम र छुमछुम गर्दै र सडक किनारमा रहेका साना पोथ्रा समाउँदै ओरालो यात्रा जारी राख्यौँ । बाटो लामो त थिएन, तैपनि रातिको समय र थाकेको शरीर भएर पनि होला देउरालीबाट चित्लाङ बजारको सिरानमा पुग्न झन्डै आधा घण्टा लाग्यो ।

त्यही बेला मेरो फोनको घण्टी बज्यो । हेरेँ, कर्मचारी सङ्गठनका मित्र मोहन सरले गरेका रहेछन् । फोनमा उनले मेरो सरुवा गृह मन्त्रालयमा भएको जानकारी गराए । त्यसबेला म वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिएँ । मेरो मागबमोजिम गृह मन्त्रालयमा सरुवा भएको हुँदा खुसी लाग्यो । अब जिल्ला मिलाउने कसरी होला भन्ने पिरलोले घर गर्न थाल्यो ।

चित्लाङ बजारको सिरानमा रहेको गुर्जुधारा होम्स्टेमा पुगेपछि आज यसैमा बस्ने भनेर साथीहरूले आँगनमा उभ्याए । साँझको बेला आफ्ना आँगनमा अपरिचित मानिसहरू देखेपछि आशा र त्रास मिश्रित मन लिएर एकजना मानिस बाहिर निस्के । हामीले आफ्नो परिचय दिँदै आजको लागि बास बस्ने कुरा बताएपछि उनी खुसी देखिए अनि आफ्नो परिचय दिँदै भने, “म बुद्धरत्न मानन्धर ।” यस्तैमा भित्रबाट एउटी महिला पनि बाहिर आइन् अनि मुस्कुराउँदै बोलिन्, “म हिरा मानन्धर ।”

एकैछिनमा वरिपरि खुसीको लहर फैलियो । बुद्धरत्न भित्र पसेका थिए, बाहिर आउँदा उनका हातमा खादा थिए भने हिराका हातमा रातो टीकाको पिलेट र साना साना सिसाका गिलासहरू । घरमा आउने पाहुनालाई रातो टिका र खादामालाले स्वागत गर्ने अनि गिलासमा सगुन दिने चलन रहेछ ।

होमस्टे भनेको गाउँघरमा साँझ आउने पाहुनालाई स्वागत गरेजस्तै स्वागत गरी राख्ने व्यवस्था रहेछ । भित्र पसेपछि मानन्धर दम्पत्तिले पहिले खाजा खुवाए । केही समयपछि मकलमा आगो बाले र आगो ताप्ने व्यवस्था मिलाए । हिराले खाना बनाउन थालिन्, बुद्धरत्नले चित्लाङको विशेषता बताउन थाले ।

“यो ठाउँ ऐतिहासिक हिसाबले पनि महत्त्वपूर्ण छ । काठमाडौँमा मोटर बाटो नपुग्दासम्म काठमाडौँ जाने मानिसहरू यसै बाटो भएर हिँड्थे । तल भीमफेदीबाट माथि चढ्ने अनि कुलेखानी हुँदै चित्लाङ आउने र चन्द्रगिरि पहाड काटेर उपत्यका छिर्ने पुरानो बाटो यही हो ।”

बुद्धरत्नले भनेअनुसार भवानी भिक्षुले लेखेको “त्यो फेरि फर्कला ?” शीर्षक कथाको भौगोलिक परिवेश अनि लक्ष्मीप्रसाद देवकोटाले लेखेको “यात्री” शीर्षक कविताको भौगोलिक परिवेश पनि यहीँ थियो । बुद्धरत्नले थपे— देवकोटा यहाँ आएका बेला दक्षिणतिरको कुनै धनाढ्य व्यक्ति पाल्कीमा चढेर पशुपति दर्शन गर्न हिँडेको देखे । त्यस्तो दृष्य देखेपछि देवकोटाका मनमा भावना फुर्यो अनि लेखे—

“कुन मन्दिरमा जान्छौ यात्री ?

कुन मन्दिरमा जाने हो ?

कुन सामग्री पूजा गर्ने ?

साथ कसोरी लाने हो ?

मानिसहरूको काँध चढी कुन देवपुरीमा जाने हो ?”

बुद्धरत्नको कुराले हामीलाई सोच्न बाध्य बनायो । उनले भनेका कुरा होइनन् भन्न सक्ने आधार हामीसँग थिएन । यो कुरा मैले पहिले पनि कतै सुनेको थिएँ । सोही कुरा आज बुद्धरत्नको मुखबाट सुन्न पाउँदा खुसी लाग्यो । अर्को कुरा हामीजस्तो लेख्न रहर गर्ने मान्छे भवानी भिक्षु र देवकोटा बसे हिँडेको र साहित्य सिर्जना गरेको ठाउँमा जान पाउनु कम खुसीको कुरा थिएन ।

केही समयपछि खाना तयार भयो । ठ्याक्कै गाउँघरे पाराको खाना । आगाको वरिपरि सुकुलमाथि पलेटी बाँधेर बस्यौँ । अनि गाउँघरे शैलीमा खाना खायौँ ।

सुत्ने व्यवस्था पनि राम्रो थियो । केके कर्माचार्य र म एउटा कोठामा सुत्यौँ, विजय र एकाराम अर्को कोठामा ।

बिहान हामी नउठ्दै चिया तयार भइसकेको थियो । हिरा मानन्धरले कालो चियामा थोरै चिनी र धेरै माया घोलेर दिइन् । औधी मिठो भयो । सँगै उमालेको तातो पानी पनि थियो ।

दिउँसो तल बजार घुम्ने कार्यक्रम थियो । आठ बजेतिर हिँड्ने तयारी गर्दै थियौँ । टन्न चिया नास्ता खुवाएपछि मानन्धर दम्पत्तिले अघिल्लो साँझजस्तै रातो टीका लगाएर बिदा गरे । “दुःख भयो कि, केही पुगेन कि, हामीबाट केही कमीकमजोरी भएको भए माफी दिनुहोला, फेरि फेरि पनि पाल्नुहोला ।” यसो भन्दै दुवैजनाले आदरपूर्वक दुवै हात जोडे । हामीले धेरै धेरै धन्यवाद दियौँ ।

हामी हिँड्ने बेला घामका किरण माथि पखेरामा बहेली खेल्दै तल झर्दै थिए । काठमाडौँको तुलनामा चिसो पनि बढी नै थियो । बाहिर आँगनमा पुगेपछि आफ्ना घर अगाडि रहेको पानीको धारो र चौतारो देखाउँदै बुद्धरत्नले भने, “उः त्यही ढुङ्गामाथि बसेर लेखेका रे, देवकोटाले यात्री कविता ।”

घरबाट बिदा भए पनि बुद्धरत्नले हामीलाई चित्लाङ घुम्न सहयोग गर्ने भए । उनको सहयोगी भावना देखेर हामी खुसी भयौँ । अनि उनले टेकेका पाइला पछ्याउँदै चित्लाङ बजारतिर झर्यौं ।

तल गाउँको बिचमा अशोक चैत्य रहेछ, साथीहरूले देखाए । कतिपय गाउँलेहरूले यो राजा अशोकले नै बनाउन लगाएका हुन् भन्दै थिए, पछि उनीहरूमध्येबाटै कुरा बाझियो । एकजनाले भने, “यो अशोक चैत्य आकारको छ तर यो अशोकले नै बनाउन लगाएका हुन् भन्ने आधार प्रमाण भने छैन ।”

नजिकै झन्डै २०० वर्ष पुराना घरहरू थिए । घरको मूल ढोका सार्वजनिक रूपमा प्रयोग गर्ने चलन रहेछ । एउटा त्यस्तै घर देखाए । पाकेको इँटाको दिबाल भएको उक्त घरको छाना खरको थियो । पुरातत्त्व विभागले संरक्षण गरी राख्न भनेको रहेछ । नजिकै उदय मल्ल राजा भएको एउटा शिलालेख पनि थियो ।

गाउँको तल खोला किनारमा स्वच्छन्द भैरवको मन्दिर रहेछ । नजिकै नारायणहिटी नाम गरेको ऐतिहासिक धारो पनि थियो । त्यसै धाराको नामबाट त्यस ठाउँको नाम नारायणहिटी रहेको रहेछ । मन्दिरको वरिपरि पातलो वन थियो । त्यस क्षेत्रमा पनि सुन्दर चरीहरू चिरबिराइरहेका थिए । त्यहाँको वातावरण अत्यन्तै मनमोहक थियो ।

घुम्दै थियौँ, त्यस्तैमा एकजना स्थानीयले भने, “यहाँबाट केही तल बाख्रा फारम छ । यहाँ आएपछि हेर्नैपर्ने ठाउँ हो त्यो ।”

“सो ठाउँमा पहिले भेडा फारम थियो रे ! पछि बाख्रा फारम भएको हो ।” अर्काले थपे ।

यहाँसम्म आएपछि त्यहाँसम्म पुग्नुपर्छ भन्ने सबैको सुझाव मनन योग्य लाग्यो ।

पन्ध्रजना कर्मचारीको दरबन्दी भएको उक्त फारममा साना ठूला गरी १५० ओटा बाख्रा थिए । आम्दानीभन्दा खर्च धेरै भएकाले यस फारमको खासै औचित्य भएजस्तो लागेन । बाख्रा पनि खासै मोटाघाटा थिएनन् । हामीमध्ये कसैले भन्यो, “दुब्ला बाख्रा !” नजिकै एकजना स्थानीय थिए, उनले प्वाक्क भने, “बाख्राले खाने घाँस र दाना मान्छेले खान्छन् अनि कसरी मोटा हुन्छन् त ।”

हिँड्दाहिँड्दै खाना खाने बेला भइसकेको थियो । नारायणहिटीमा आएर खाना खायौँ । खानाको भाउ थियो प्रति व्यक्ति सत्तरी रूपियाँ । सादा खाना मिठै थियो ।

“केही तल कुलेखानी बाँध छ । यहाँ आएपछि त्यो पनि हेरेर जानोस् ।” स्थानीय एकजना व्यक्तिले सुझाउ दिए ।

बाँध हेर्दै त्यही बाटो फर्किने कि भन्ने विषयमा पनि छलफल भयो तर बाँध हेर्ने भन्दा नहेर्नेको बहुमत भएको हुनाले हिजो आएकै बाटो फर्किने सहमति भयो ।

हिँड्ने तयारी हुँदै थियो, त्यस्तैमा मैले चित्लाङ क्षेत्र भौगोलिक, प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, साहित्यिक, सांस्कृतिक हरेक हिसाबले महत्त्वपूर्ण रहेको; आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको र हामीले यस क्षेत्रको भ्रमण गरेर राम्रो काम गरको निष्कर्ष निकालेँ अनि काठमाडौँ उपत्यकाजस्तै बस्ती विकास भएर यहाँको सुन्दर धर्ती कङ्क्रिटमा परिणत नहोस्, यहाँका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा विकासमा सरोकारवालाहरूको ध्यान जाओस्, यहाँको मौलिकता सधैँ जीवित रहोस् र यहाँका चराचुरुङ्गीहरू सधैँ सुन्दर धुन निकालेर चिरबिराइरहन पाउन भन्ने कामनासमेत गरेँ ।

चित्लाङको भ्रमण सकेपछि नारायणहिटीदेखि देउरालीसम्म गाडीमा आयौँ । देउराली पुग्दा हामीसँग समय बाँकै नै थियो । अब कता जाने भन्ने विषयमा छलफल हुँदै थियो, त्यस्तैमा स्थानीय कमल राईले दक्षिणतिरको अग्लो पहाड देखाउँदै भने, “उः त्यो पहाडको टुप्पोमा लुङ महादेवको स्थान छ । हेर्दा राम्रै हुन्छ ।” त्यस स्थानलाई भालेश्वर महादेव पनि भनिँदो रहेछ । त्यसपछि हामी त्यतै मोडियौँ ।

भालेश्वर महादेव रहेको स्थान नजिकै होला भन्ने ठानेका थियौँ तर बाटो निकै लामो रहेछ । स्वयम्भूमा बनाएका जस्ता सिँढी थिए । ६३८ ओटा सिँढी उक्लिँदै टुप्पोमा पुग्यौँ । एकैछिन त अत्यासै लाग्यो । सिँढी उक्लिन गाह्रो भयो । जानु कि फर्कनु भन्ने पनि भयो तर फर्केनौँ । माथि पुगेपछि भने सगरमाथाको चुचुरोमा पुगेजस्तै भयो । त्यहाँबाट काठमाडौँ उपत्यकाको दृश्य साह्रै सुन्दर देखियो । सो स्थानमा भालेश्वर महादेवको ठूलै मन्दिर र मूर्ति होला भन्ने सोचेका थियौँ तर त्यस्तो केही थिएन (किनकि त्यहाँ अहिलेजस्तो संरचना बनेको थिएन )। जङ्गलको बिचमा दुईचार ओटा ढुङ्गालाई देवताको प्रतीकका रूपमा राखिएको थियो । तिनै ढुङ्गाका मूर्ति भएका हुनाले लुङ महादेव भनिएको रहेछ । कुन भाषामा हो ढुङ्गालाई लुङ भनिँदो रहेछ । बागलुङ नाम पनि यस्तै बाघ जस्तै ढुङ्गो भएको कारणले रहेको हो कि भन्ने लाग्यो । पहिले बाघलुङ भने होलान् बोल्दै जाँदा बाघलुङको ठाउँमा बागलुङ भयो होला । मेरो अनुमान ।

पहाडको टुप्पोमा पुगेपछि भने आनन्द महसुस भयो । केही समयका लागि थकाइ पनि हरायो ।

तल झर्ने अर्कै बाटो थियो, बिहान उक्लिएको जस्तै ओरालो । कहीँ कहीँ सिँढी बनाइएको थियो । केही समय हिँडेपछि अर्को देउराली भेटियो । त्यहाँ पाँच सातवटा घर पनि थिए । कुलेखानीको बिजुली काठमाडौँ लैजाने मुख्य बाटो यही रहेछ । बिजुलीका अग्ला खम्बा र तार झुन्डिएका थिए ।

त्यहाँ देखिएको एउटा दृश्यले मन कुटुक्क कुँडियो । विगतमा हेटौँडाबाट काठमाडौँ जाने रोपवेको मुख्य नाका त्यही रहेछ । रोपवेका लागि प्रयोग भएका खम्बा र तारहरू निरीह अवस्थामा झुन्डिरहेका थिए । त्यस दृश्यले मन कटक्क भयो । त्यसप्रति सरोकारवालाहरूको ध्यान नपुगेको देख्दा उनीहरूप्रति घृणा जाग्यो ।

हिँड्दै थियौँ, घुम्दै थियौँ, पहाडको टुप्पोबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्य हेर्दै रमाउँदै थियौँ तर समयले हामीलाई अत्याइरहेको थियो । नाडीमा बाँधेका घडीले साँझको पाँच बज्न लागेको सङ्केत दिँदै थियो । छिटो नझरे बाटैमा रात पर्न सक्थ्यो । त्यसैले भन्ज्याङको चिया पसलमा पाक्दै गरेको तातो चिया पनि नपिई ओरालो झर्यौं । हामी हिँडेको बाटो मातातीर्थ कुण्डमा आएर जोडियो ।

मातातीर्थ कुण्डमा आउँदा साँझको सात बजिसकेको थियो । केके कर्माचार्यले बोलाएको गाडी कुण्ड किनारमा बसेर हामीलाई कुरिरहेको थियो । विलम्ब नगरी गाडी चढ्यौँ अनि चित्लाङ यात्राको समीक्षा गर्दै काठमाडौँतिर प्रस्थान गर्यौं ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.