साहित्यपोस्ट डट कम

निस्तरङ्ग शान्ति

निस्तरङ्ग शान्ति

यतिखेर गहन शान्तिको निस्तरङ्ग मुडमा छु । अब मलाई कसैले छुन–छल्न सक्तैनन् । किनकि म अछुता भावमा डोलायमान भैसकेको छु । कसैले हल्लाउन–चलाउन सक्तैनन् किनकि म स्थीतप्रज्ञको आरोहण गर्न थालिसकेको छु । कसैले मलाई बोलाउन–बिथोल्न सक्तैनन् किनकि म अबोल अनन्तको लक्ष्य टाकुरी उक्लिसकेको छु । कसैले मलाई चिथोर्न–कोपर्न सक्तैनन् किनकि म तिनका स्पर्शबाट कोसौँ दूर भागिसकेको छु र म शून्य समाधिमा डुबेको छु ।

दिनदिनै चलिरहने कठोर हावाका झोँक्काहरूले मलाई छुन सक्दछन्, मेरा दैहिक अवयवहरूलाई हल्का स्पर्श गरेर जान सक्तछ । तर, मेरो मानस जगतलाई भने कदापि डाँवाडोल पार्न सक्तैन । मस्तिष्कमा खेल्ने–चल्ने विचारका झञ्जावातहरू यतिखेर विलकुल शान्त छन् । मनोजगतका तरङ्गहरू विलकुल मलिन छन् । सारा भित्री उफानहरू सेलाएका छन् । मनोद्वेगी तूफानहरू ओइलाएका छन् । उद्विग्नताहरू लोलाएका छन् ।

यतिखेर म सांसारिक उहापोहा र आपाधापीबाट हज्जारौँ माइल टाढा छु । यसको अर्थ म संसारबाट निवृत्त भई भागेको छैन । सांसारिक व्यवहारप्रति विरक्तबोध कहीँकतै गरेको छैन । चलिरहेको गृहस्थ जीवनलाई अलिकति पनि त्यागेको छैन । म त गृहस्थमै रमेर शान्तिको गुढ रहस्य फेला पार्न साधनाको सप्तद्वार चियाइरहेछु । संसारमै रहेर सन्यासको सुरुङभित्र तातेताते छिरिरहेछु । मैले बुझेको गृहस्थ–गरिमा कर्कला–पातको पानी बराबर छ । कर्कलामै छ पानी तर, पानीले कर्कलाको पातलाई रौँ बराबर पनि भिजाउन सकेको छैन । पानीले पातलाई रत्तिभर छुन सकेको छैन । पानीमा डुबेर पनि पानीदेखि अलिप्त छ कर्कलो । पानीकै स्पर्श पाएर पनि पानीदेखि अछुतो छ कर्कलो । त्यसैले, अलिप्तताको उदाहरण खोज्न कर्कलो आज मेरो गुरु बनेको छ ।

जलबिन्दुले यसको रगरेसालाई भिजाउन नसकेजस्तै संसारमा यसरी नभिजीकन पनि रहन सकिन्छ र ? प्रश्न उठ्न सक्छ र प्रश्न गर्न सकिन्छ । राजर्षि जनकको कथा कतै पढेको छु । उनी आफ्नै देहमा रहेर विदेही बने । राजसी सुखसयल र भोगविलासमा रहेरै त्यसप्रति अस्पर्शित हुन सके । भोगविलासप्रति अलिप्त रहन सके । त्यही कुरा पाउन बुद्धदेवले दरबार छोड्नु पर्यो । श्रीपेच दाउमा राख्नु पर्यो । तर, जनकलाई जंगल पस्नु पनि परेन । अनिद्रा र भोकलाई साक्षी राखी पट्टल कस्नु पनि परेन । शिरमा श्रीपेच धारण गरेरै अखण्ड शान्तिको स्रोत पहिल्याए । सिंहासनमा बसेरै निस्तरङ्ग चैतन्यको महाकाशलाई स्पर्श गरे ।

आनन्द दिन्छ मान्छेलाई; बाहिरको बकवासी शान्तिले होइन भित्रबाट उम्रिएको निख्खुर शान्तिले । साँचो आनन्द दिन्छ मान्छेलाई धन, पद र प्रतिष्ठाजन्य चिजबाट आर्जित सुख–वैभवले होइन भित्रबाट पलाएको समत्वको स्वरले । यस शान्तिले आभ्यन्तरिक आनन्दको अङ्कुरण गर्दछ । यसको उदय भए पछि जीवनका सारा वैर बिलाउँछन् । चित्तका चञ्चलता मेटिन्छन् । मान्छे नीरव निस्तब्धताको शिखर आरोहण गर्दछ ।

वास्तवमा मान्छे शब्द र निःशब्दताको दुई स्थितिमा बाँचेको हुन्छ । शब्दले दिन्छ तनाव र अशान्ति । शब्दको दुनियाँबाट नि:शब्द मौनमा प्रवेश गरेपछि शान्तिको भुलभुल जरुवा फेला पार्छ उसले । त्यो जरुवा पिउन थालेपछि देह मात्र होइन चित्त शितल बन्दछ । शब्दको पार छ मौन समाधिको सागर । त्यो असीम सागरमा जति पौडिन सक्यो, त्यति आनन्दका मोती बर्सिन्छन् । त्यहाँ जति गोता मार्न सक्यो, त्यति निःशब्दताको सुरापान गर्न सक्यो ।

एक दिन भोरभोरमा कलिलो घामको मृदुल न्यानो तापिरहेको डायोजनिजको दिव्यशान्ति बिथोल्न सिकन्दर नदीतट पुगेथ्यो । विश्व विजेता सिकन्दरको चित्तमा अशान्तिको आगो बलिरहेथ्यो । नङ्गा फकिर डायोजनिज बालुमा पल्टेर निर्वेद आनन्दको शान्ति–रसमा आकण्ठ डुबिरहेथे । डायोजनिजको आँखामा तैरिरहेको अखण्ड शान्तिका अगाडि सिकन्दरको विश्व बादशाही तेज गलेर लल्याकलुलुक बनेको थियो । चक्रवर्ती सम्राटको ओजलाई एउटा नङ्गा फकिरको मुहारको शान्ति–तेजले सजिलै पराजित गरिदिन सक्छ ।

शान्ति प्राप्ति, अप्राप्तिको खेलभन्दा कता हो कता दूर रहन्छ । सफलता–असफलताको दुष्चक्रभन्दा दूर कतै एकान्तमा लुकिबसेको हुन्छ शान्ति । निस्तरङ्ग, विना हलनचलन उभिएको रूखको शान्तिले आकर्षित गर्छ मलाई । अटल अविचल पहाडको शान्तिले आफूमा एकाकार गर्न पर्वतकै मुटुमा समाहित हुन आह्वान गर्छ । रातको निविड सन्नाटाले सुसेली हाली बोलाउँछ मलाई । आकाशको विराट छातीबाट मेरो आँगनमा पोखिएको जूनताराको उज्यालोमा छरिएको शान्तिले लठ्याउँछ मलाई ।

मान्छे जन्मेथ्यो गहन शान्तिमै बाँच्न । काश ! अहिले कहालीलाग्दो कोलाहलमा बाँच्न अभिशप्त छ । कोलाहलको हलाहल जहर पिएर कति लामो आयु बाँच्ला र मान्छले ! शान्तिको पियूषधारा सेवन नगरी चिरायु बन्नुपर्ने हो मनुज । तर शान्तिमा बाँच्ने बाटो भुलेको छ मान्छेले । दूर आकाशको ताराले पनि चमचम चम्किँदै भनिरहेछ– शान्तिमा बाँच !! शान्तिमा नाँच !!

मूलतः शान्ति मनको धीरता हो । शान्तिका दुई आयाम छन्– एउटा जीवन्त शान्ति, अर्को मुर्दा शान्ति । जीवन्त शान्ति हृदयको एक अखण्ड धारामा प्रवाहमान हुन्छ । यसलाई अर्को शब्दमा दिव्यशान्ति पनि भन्न सक्छौँ । यो निस्पृह भावको कर्मबाट आउँछ । गहन ध्यानको मर्मबाट आउँछ । शान्ति ज्ञानको गहिराइबाट आउँछ । निर्विचार चित्तको उचाइबाट आउँछ । शान्ति आकाशबाट असिना बर्सेजस्तो बाहिरबाट आउने चिज होइन, यो त विलकुल भित्रैबाट निसृत हुने चिज हो । त्यसैले, सुकर्मको सूक्ष्म किरण हो शान्ति ! ध्यानको आभा हो शान्ति । ज्ञानको शोभा हो शान्ति । यस शान्तिमा मनका विरोधहरू मेटिन्छन् । मान्छे मान्छेबीचका वैरवाफहरू बिलाउँछन् । रागको भाँडो रित्तिन्छ । विराग विलीन बन्दछ र त्यहीँबाट मौलाएर उठ्छ वितरागी भाव ।

मुर्दा शान्ति मसानघाटे शान्ति हो । यसलाई मृत शान्ति भन्दा कुनै फरक परोइन । हिटलरको राजमा थियो यो शान्ति । मुसोलिनी, बोकासा र इदिअमिनको राजमा थियो यो शान्ति । भयानक त्रासदिको कोखबाट जन्मेको हुन्छ मुर्दा शान्ति । आतङ्कको क्रुर समयमा छाउने मौनताबीच उद्भव हुन्छ यो शान्ति । भय र आतङ्कले पुरिएको तानाशाही राजमा मान्छे मुखका जिब्रो चेपेर सास फेरिरहेका हुन्छन् । अलिकति जिब्रो चलाइयो भने तातोगोली खाइने पूरा संभावना रहन्छ । त्यसैले, चरामुसासमेत चुपचाप चुपचाप समय काटिरहेका हुन्छन् । मानिस आफ्नै धड्कनको आवाजदेखि औधी डराइरहेको हुन्छ । उसले आफ्नो स्वासको सरगममा पनि त्रासदिकै चित्र भेट्छ । त्रासद आतङ्कको कालो छाया बीच फुल्ने यस्तो शान्तिलाई मुर्दा शान्तिको उपमा दिनु ठिकै हो । यस शान्तिमा अल्हड आनन्दको कुनै सौरभ हुन्न । यस शान्तिमा शान्तिदायिनी सुखद् भावको कुनै सौन्दर्य हुन्न ।

मलाई भाते निद्राको मृत शान्ति होइन, सदा जीवन्त जाग्रत शान्ति चाहिएको छ । मलाई मसानघाटको भूताह शान्ति होइन, मनुष्य मुहारमा मुस्कान फुलाउने सुगन्धमयी शान्ति चाहिएको छ । भोकोपेट र नाङ्गो आङबीच बनावटी मुस्कान लेपी तयार गरिएको खोक्रो शान्ति होइन, समता र वैभवमा उठेको भरिलो शान्ति चाहिएको छ । साँचो समृद्धि र विकासमा फुलेको रसिलो कसिलो शान्ति चाहिएको छ ।

यो शान्ति ढिँडौरा पिटेर आउँदैन । न त अनर्गल राग अलापेर आउँछ यो शान्ति । न त झोलीतुम्बा बोकेर चारचौरास खोज्दा आउँछ । आफैँभित्र अनन्तबार डुबुल्की लाउँदा अलि–अलि आकारमा आभासित हुन खोज्छ शान्ति । तर एउटा कुरा के सत्य हो भने, भोको पेट र नाङ्गो आङले शान्तिपाठको स्वर चिन्दैन । शान्तिको पहिलो शर्त हो: पेट पोटिलो हुनु । अन्नमय वस्त्रमय आङ दरिलो भरिलो बन्नुपर्छ ।

दोस्रो आन्द्रा भरिने बित्तिकै शान्तिको दीप जलिहाल्छ त्यो पनि होइन । उसलाई दरकार छ स्वराजको, उसलाई खाँचो हुन्छ स्वाधिनताको, त्यो स्वाधिनता उसलाई भित्रैबाट मिल्नुपर्छ । पेटभरि मीठो मसिनो खान पाएको छ तर कसैको अधिनमा टनटनी बाँधिएको छ भने उसले शान्तिको आवाज सुन्न सक्तैन । भौतिक देहका आवश्यकताको परिपूर्तिका जगमा साँचो शान्तिका मुना–मञ्जरी पलाउँछन् ।

सुख र शान्ति एकअर्कामा अभिन्नरूपमा गाँसिएका पदावली हुन् । जहाँ शान्ति छ, त्यहाँ सुख हुन्छ । फेरि जहाँ सुख छ, त्यहाँ शान्ति नै हुन्छ भन्ने चैँ छैन । जीवनका लागि भौतिक सुखसुविधाको प्रबन्धन एउटा कुरा हो । फेरि मानसिक या आत्मिक तलमा शान्तिको अनुभूति मिल्नु चैँ अर्कै कुरा हो । सुखसुविधाको रजगजमा रमेको मान्छे भित्रीरूपमा शान्तिमा बाँचेको छ भन्ने कुरा अक्सर झुटो ठहरिन सक्छ । सुख–वैभवमा रजगज गरेका धनीमानी जनको अशान्ति, छटपटी र अन्तरको कोलाहललाई मज्जाले देखेको छु । त्यसैले, भौतिक सुख हुने बित्तिकै शान्ति आइहाल्छ, यो कुरा पनि होइन रहेछ । बरु बिना सुखसुबिधा रुखोसुखो खाएर पर्णकुटीमा पट्टल मारेर दिव्य शान्तिको शिखर आरोहण गर्ने फकिरका कथाले मलाई लोभ्याउँछन् । सच्चा योगीका तपसहरू हेर्दा शान्ति हमेसा सुखको बाटोबाट मात्र आउने होइन, यो त शान्तिको बाटो छिचोलेर पनि सुखको द्वार भेट्न सकिने रहेछ ।

सर्वोच्च अदालतका एक पूर्व प्रधान न्यायागीशको जीवनचर्या पढ्दैथेँ । उनी अहिले अवकाशप्राप्त जीवन कुनै गौशालामा बसेर गाईको सेवामा बिताइरहेका छन् । उनको फोटो देख्ता उनले करिब करिब वस्त्र पनि त्यागिदिएछन् । नङ्गा बाबाको भेषमा गाईलाई घाँसपानी गर्नु, गोबर सोहर्नुमा उनले अपार आनन्द भेटे । वर्षौं न्यायसेवामा बिताएका मानिस सेवानिवृत्त भएपछि पनि राज्यबाट राम्रै सेवा सुविधा भेटेका हुन् । तर, त्यो भौतिक सुखले उनको मनलाई तृप्ति दिन सकेन । अनि लागे गौशालामा गाईको गोबर सोहर्नतिर । गोबर सोहर्नुले उनलाई जति सुख दियो । अन्य कुराले त्यो सुख दिन सकेन । त्यसैले, सुख भन्ने चिज भौतिक वस्तु र पैसाबाट मात्र बर्सिने चिज होइन रहेछ ।

धनका सुखीहरू मनका पनि सुखी हुन्छन् भन्ने कुरा शतप्रतिशत सत्य नहुने रहेछ । फेरि मनका सुखी धनमा पनि चुपीचल्ल डुबेकै हुन्छन्, यो कुरा पनि सत्य होइन । खरबपति विल्गेट्सभन्दा हाम्रै गाउँको बुकुने दर्जी परम शान्तिमा बाँचेको हुन सक्छ । संसारकै धनी इलन मस्क भन्दा सुनकोशी गडतिरको ओइमाने माझी आनन्दमा रमेको हुन सक्छ । बुकुने र ओइमाने माझीभित्रको शान्तिभावलाई कुनै डलरका गड्डीसित जोख्न तौलिन मिल्दैन ।

बुद्ध राजसी सुख त्यागेर किन किन तरुवरको छहारीमा विश्राम लिन पुगे ? उत्तर सरल छ– दरबारको सुखसयलले गाथलाई आराम त गरायो भित्री चित्तमा कुनै तृप्ति मिल्न सकेन । शान्तिको सुकुन आनन्दले हृदयलाई आलिङ्गन बेर्न सकेन । अनि त उनी घोर जङ्गलको एकान्तमा आँखा चिम्लिन पुगे । अर्थात् धन, पद ऐश्वर्यको परितापले जलाएको हृदयलाई तरुवरको छहारीले मात्र शीतल गरायो । त्यहीँ नै उनले अपूर्व शान्तिको निवास भेटे । ठूलो भूस्वामी जिम्दार खलकमा जन्मेका प्रख्यात रुसी लेखक लियो टाल्स्टायले जीवनको उत्तरार्धमा आफ्ना लुगा आफैँ सिलाएर लाए । आफ्ना जुत्ता आफैँ सिए । डोको बोकेर दाउरा काट्न जङ्गल गए । उनलाई नपुग्दो केही थिएन । भोगविलासको चरम सुखमा डुबेर जीवन बिताएका टाल्स्टायलाई त्यसले शान्ति दिएन । भोगविलासमा आनन्दको अनुभूति गर्न सकेनन् । शान्तिको अनुभूति गर्न सकेनन् । अनि त मानसिक शान्तिकै लागि स्वावलम्बनको दुःखी बाटो रोजे । यसरी संसारका अनेकन् मनिषिहरूले दैहिक सुखलाई तिलाञ्जली दिएर आत्मिक सुखको अर्को बाटो रोजेका छन् । त्यस बाटोमा हिँडेपछि साँचो शान्ति घटित भएको कुरा उनीहरूले बुझे ।

आहत ध्वनिमा अशान्ति छ । अनाहत ध्वनिमा शान्ति छ । आहत ध्वनि दुई वस्तुको टकरावबाट पैदा हुन्छ । द्वन्द्व र टक्करको घर्षणबाट यो जन्मिन्छ । अनाहत ध्वनि, विना घर्षण अनि विना टक्कर जन्मिने ध्वनि हो । यो निद्र्वन्द्व निर्धूम चेतनाबाट अविर्भूत हुन्छ । शान्तिको ध्वनिमा समताको स्वर गुन्जिएको हुन्छ । शान्तिले हमेसा भाइमारा नीति होइन भाइचारा नीति बोकेको हुन्छ । यसले भाइभाइलाई जोड्दछ । अर्थात् अशान्तिमा तोड्ने रसायन हुन्छ भने शान्तिमा जोड्ने रसायन हुन्छ । यसले अनन्त विशृङ्‌खलित मनहरू जोड्दछ । र विश्व भाइचाराको मधुमालामा सबैलाई उन्दछ ।

अम्बरको विराट तलमा आवेष्टित शान्ति श्वासबाट शरीरभित्र पस्तछ । भित्री आकाशको शान्ति श्वासबाटै बाहिर निक्लिने गर्दछ । त्यसैले, श्वासको धारामै शान्तिको निकेतन छ । त्यो मुकामसम्म पुग्न बाहिर भड्किनै पर्दैन । बाहिर मन्दिर गुम्बाको फेरो हाल्नै पर्दैन । शान्ति पाउन तीर्थ धाउनै पर्दैन । बस् चुपचाप निर्विकार भावले आफ्नै श्वास हेर्न थाल्यो भने यसको परम् अनुभूति मिल्दछ । श्वास हेर्ने वास्तवमा एक कला हो । यस कलामा जो निष्णात बन्छ, त्यसले आफैँभित्र दिव्यशान्तिको द्वार भेट्न सक्तछ । श्वास र शान्ति एकअर्काका परिपूरक अङ्ग हुन् । जो एकको अभावमा अर्को विकलाङ्ग बन्दछन् ।

शान्ति सेतीको गहिराइमा लुकेको जलप्रवाह जस्तो सुषुप्त चालमा बगिरहेको हुन्छ । यसलाई देख्ने चक्षु हुनुपर्छ । यसलाई श्रवण गर्ने कर्णविवर हुनुपर्छ । त्यसलाई भेट्न छुन कोमलतम हृदय चाहिन्छ । शान्तिको त्यस गहन सरोवरमा उत्रिनका लागि श्वासको सूत्री समात्नै पर्ला । आखिर यसकै आलम्बन टेकेर निस्तरङ्ग शान्तिको मुल भेट्न सकिन्छ ।

हाम्रा पूर्वजहरूले मृत्युलाई चीर विश्रान्ति किन भने होलान् ! मृत्युलाई चीर निद्रा किन भने होलान् ! अथवा मृत्युलाई चीर शान्ति किन भने होलान् ! मृत्युलाई चीर समाधि किन भने होलान् ! मनमा खुल्दुली उठिरहेको छ । उनीहरूले मृत्युउपर दिएका अनेक उपमा र दृष्टान्तहरूमा अर्थको अग्लो पहाड उठेको देख्छु ।

सारमा मृत्युले जीवनका सबै विरोधहरू मेट्तछ । मृत्युले जीवनका बह, व्यथा, वेदना र उफानहरू मेट्तछ । मृत्युले जीवनको उछलकुद आपाधापी ऐँचातानाहरू मेट्तछ । मृत्युले सकल दुनियाँलाई समत्वको एउटै रेखामा विलीन गर्दछ । गहन तलबाट उम्रिएको शान्तिले दिने समत्व पनि त्यही हो, जुन मृत्युबाट मिल्दछ । त्यसले मृत्युपछि चेतन ज्योतिको आकाशीय जीवन शुरु हुन्छ भने । अनि ज्ञानी पूर्वजले त्यो जीवनलाई चीरशान्तिको आशिरवचनमा प्रकट गरे । हाम्रा ग्रन्थहरूले मान्छेको मनमा शान्ति अवतरण गराउने कुरामात्र गरेनन्; पृथ्वीमा आकाशमा, जलमा, वनस्पतिमा जताततै शान्ति कायमको कामना गरे– द्यौः शान्तिः ! अन्तरिक्षंः शान्तिः ! पृथ्वीः शान्तिः ! वनस्पतयः शान्तिः !!

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.