साहित्यपोस्ट डट कम

निस्ट स्कुलमा ‘द ब्यूटिफुल ग्रे हेयर’ माथि परिचर्चा, प्रविधि र पठन संस्कृतिबारे विमर्श

निस्ट स्कुलमा ‘द ब्यूटिफुल ग्रे हेयर’ माथि परिचर्चा, प्रविधि र पठन संस्कृतिबारे विमर्श

काठमाडौं । निस्ट स्कुल, भक्तपुरमा कवितासङ्ग्रह ‘The Beautiful Grey Hair’ माथि परिचर्चा तथा प्रविधिमार्फत नेपाली भाषामा पठन संस्कृतिको विकाससम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लेखक तथा अतिथि वक्ता साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले ‘प्रविधिमार्फत नेपाली भाषामा पढ्ने संस्कृति र पढ्ने बानी’ विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँले डिजिटल युगमा प्रविधिले पठन संस्कृतिलाई कसरी प्रभाव पारिरहेको छ, भाषा सिकाइलाई कसरी सुदृढ बनाइरहेको छ तथा नेपाली साहित्यलाई युवा पुस्तामाझ कसरी पहुँचयोग्य बनाइरहेको छ भन्ने विषयमा विचार राख्नुभएको थियो ।

त्यस्तै, कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव तथा लेखक खगराज बरालले पठन संस्कृतिको महत्त्व, पढ्ने तरिका तथा त्यसले दिने फाइदाहरुका बारेमा विस्तृत रुपमा व्याख्या गर्नुभएको थियो ।

कार्यक्रमअन्तर्गत वैकुण्ठ आर. आचार्य ‘The Beautiful Grey Hair’ कवितासङ्ग्रहमाथि शिक्षकहरूबीच सामूहिक पठन तथा परिचर्चा पनि गरिएको थियो । सहभागीहरूले कृतिका विषयवस्तु, भावभूमि तथा अभिव्यक्तिशैलीबारे धारणा व्यक्त गरेका थिए ।

निस्ट स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा भाषा, संस्कृति र प्रविधिबीचको अन्तरसम्बन्धबारे समेत छलफल भएको थियो । वक्ता कोइरालाले प्रविधिको सही प्रयोगमार्फत नेपाली भाषामा पढ्ने बानीको विकास गर्न सकिने तथा नयाँ पुस्तालाई साहित्यसँग जोड्न सकिने धारणा व्यक्त गर्नुभयो ।

विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक तथा पाठक समुदायमा पठन संस्कृतिको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरेको छ ।

साहित्यपोस्ट (इ) दैनिकले पठन संस्कृतिमा आएको परिवर्तन र नयाँ युगको पठनबारे विद्यालय विद्यालयमा गएर अभियान सञ्चालन गरिरहेको साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.