मानव जीवनको रेखा सधैँ आफूले चाहेजस्तो सरल मार्गमा बहँदैन । कहिलेकाहीँ सीधा रेखामा हिँड्ने प्रयत्न गर्दागर्दै पनि जीवनले वक्र रेखा समात्न बाध्य हुन्छ, जुन जीवनयात्राको एउटा तीतो यथार्थ हो । समाजका कयौँ घटनाहरू ढुङ्गा र माटोझैँ जताततै छरिएका हुन्छन्, तर ती छरिएका कथालाई उजागर गर्ने फुर्सद र चासो कमैलाई मात्र हुन्छ । समयको कुन मोडले मानिसलाई कहाँ पुर्याएर उभ्याउँछ, त्यो अनिश्चित छ । नेपाली समाजभित्र धनी हुन् या गरिब, प्रत्येक परिवार र वर्गका आ–आफ्नै व्यथा छन् । कसैलाई धन व्यवस्थापनको चिन्ता छ त कसैलाई प्राण जोगाउने धपेडी । चिन्ताको प्रकृति फरक होला, तर यसको गहिराइ कति छ भन्ने कुरा व्यक्तिको आफ्नै भोगाइ र परिस्थितिमा निर्भर हुन्छ ।
यतिबेला शिखा बुक्सले प्रकाशन गरेको पुरु लम्सालको निऋति नाटकसङ्ग्रहले मेरो मन र मस्तिष्कलाई निकै उद्वेलित तुल्याएको छ । जब म यो नाटकभित्र छिरेँ, यसले मलाई कहिले रित्तिएको वर्तमान गाउँतिर पुर्यायो त कहिले सन्तानबाट पाउनुपर्ने व्यवहारमा आएको विचलनको सामना गरायो । एउटा सर्जकले भोग्नुपर्ने पारिवारिक र सामाजिक असहजताको पर्खालमा उभ्याउँदै गर्दा कतै भने मौनताभित्र लुकेका रङ्ग र चित्रका सङ्केतहरू बोलेको महसुस भयो । नाटकले महिलामाथि गरिने व्यवहार र त्यसको वर्तमान स्वरूपलाई अत्यन्तै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । जीवनका उतारचढावहरू सधैँ अनुकूलतामा मात्र हुँदैनन् भन्ने बोध यसले गराउँछ ।
लम्सालले नेपाली समाजलाई एउटा पाठशालाका रूपमा अध्ययन गरी गाउँघरका यथार्थ कथाहरूलाई यो कृतिमा बुनेका छन् । मेरो जागिरे जीवनका क्रममा पुगेका ती बस्तीहरू, जहाँका कथाहरू धेरैलाई काल्पनिक लाग्न सक्छन्, लेखकले तिनलाई यति जीवन्त रूपमा प्रस्तुत गरेका छन् कि म फेरि तिनै वृद्धाहरूको आश्रम र पारिवारिक व्यवस्थापन गर्न नसक्दाको पीडामा रुमल्लिएका पात्रहरूको बीचमा पुगेँ ।
पर्खनेहरू, नाटकभित्रको एउटा संवाद विशेष मार्मिक छ— राइटर काइँला बाको मृत्युपछि लास उठाउने मान्छे नहुँदा लास बासी रहेको प्रसङ्ग । चेतबहादुर र बाबुरामका संवादहरूले आजको गाउँको भयावह चित्र उतार्छन् । जब बाबुराम भन्छन्— हामी सबैको हविगत यस्तै हुने हो, हामी मरेपछि काँध थाप्ने कोही हुँदैन । यसले वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र एक्लिएका वृद्ध बा–आमाको सामूहिक पीडा ओकल्छ । हरिप्रसाद र सूर्यकुमारीको संवादमार्फत गाउँका बाँझा बारी, विकासको नाममा पुगेको बिजुली र बाटो तर हराउँदै गएको कृषि संस्कृति र बढ्दो विलासितामाथि कडा व्यङ्ग्य प्रहार गरिएको छ ।
नवपुस्ताले आफ्नो संस्कार र पहिचान भुल्दै गएकोमा चेतबहादुर जस्ता पात्रहरू चिन्तित छन् । पहिले पढ्ने मान्छे थिए गाउँमा बत्ती थिएन, अहिले उज्यालो छ तर पढ्ने मान्छे छैनन्, भन्ने भनाइले वर्तमान नेपाली ग्रामीण समाजको सजीव चित्रण गर्छ । पाखुरीमा बल हुने युवा मात्र होइन, विद्यालय जाने उमेरका बालबालिका समेत गाउँमा भेटिन छाडेका छन् । मुरली र मादलजस्ता लोक बाजाहरू लोप हुँदै जानु र विदेशिएका सन्तानको झिनो आशामा वृद्ध बा–आमाले प्राण धान्नु आजको राष्ट्रिय त्रासदी हो ।
नाटककारले वर्तमान नेपाली समाजको अत्यन्तै दयनीय र यथार्थपरक चित्रण गरेका छन् । गाउँमा कोही मर्दा लास उठाउने मान्छे नहुनु, बस्तीहरू थलिएका र अपाङ्गता भएका वृद्धवृद्धाहरूको मात्र आश्रयस्थल बन्नु र पौरखी पाखुरीहरू परदेश पलायन हुनु आजको राष्ट्रिय पीडा हो । परदेशिएका सन्तानको बाटो हेर्दाहेर्दै रित्तिएका यी गाउँहरूले नेपाली समाजको भत्किँदै गरेको संरचनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछन् । नाटकले प्रष्ट पारेको छ कि— विदेश पलायन हुनु केवल व्यक्तिगत प्रगति होइन, बरु आफ्नै गाउँको अस्तित्व र मौलिक संस्कृतिको विसर्जन पनि हो ।
आमालय नाटकले छोरा–बुहारीबाट उपेक्षित एक वृद्ध आमाको विदीर्ण हृदयको कथा बोकेको छ । मिना कुमारी एउटी यस्ती पात्र हुन्, जो सन्तानको सुखका लागि आफ्नो सर्वस्व दाउमा राख्छिन्, तर जीवनको उत्तरार्धमा वृद्धाश्रमको शरण लिन बाध्य हुन्छिन् । आफ्नै छोराले वृद्धाश्रममा ल्याएर छोड्दा पनि मिना कुमारी आफ्ना साथीहरू (पवित्रा, माया, लक्ष्मी) का अगाडि छोराको कुकर्मलाई ढाकछोप गर्छिन् । छोराले नयाँ सिरक ल्याइदिन्छु भनेको छ, म त झुक्किएर यहाँ आएकी हुँ भन्दै उनले बोलेको झुटभित्र एउटी आमाको ममता र सन्तानप्रतिको आशक्ति देखिन्छ । घरबास बेचेर आमालाई सडकमा पुर्याउने छोरा–बुहारीको व्यवहारले समाजमा मौलाउँदै गएको अमानवीयतालाई नङ्ग्याएको छ । नातिनी नेहासँगको अप्रत्याशित भेट र अन्ततः उनकै काखमा प्राण त्याग गर्दा नाटक वियोगान्त भए पनि मिना कुमारीले सन्तानकै काखमा मर्न पाउने तृप्ति प्राप्त गर्छिन् । बुहारीले आफ्नै सासूलाई बाटोको माग्ने बुढी भन्नुले आधुनिक समाजमा मानवीय संवेदना कति स्खलित भएको छ भन्ने प्रश्न खडा गरेको छ ।
यसैगरी कल्पान्तर नाटकले समाजमा सर्जक (साहित्यकार) को वास्तविक अवस्था र भोगाइलाई उजागर गरेको छ । सर्जकलाई सभ्यताको संवाहक मानिए पनि उसको निजी जीवन कति कष्टकर हुन्छ भन्ने कुरा कवि कृष्णप्रसादको पात्रमार्फत देखाइएको छ । आर्थिक अभावका कारण आफ्ना पाण्डुलिपि अर्कैको नाममा बेच्नुपर्ने विवशताले सर्जकको आत्मसम्मानमा पुगेको चोटलाई दर्शाउँछ । सिर्जनालाई व्यापारको रूपमा हेर्ने नितेश जस्ता पात्र र बाध्यताको फाइदा उठाउने विपिनहरूले साहित्यिक बजारको कुरुप पाटोलाई उजागर गरेका छन् । जानुका र कृष्णप्रसादबीचको संवादले एउटा सर्जकको घरभित्रको आर्थिक छटपटी र कला कि गाँस ? भन्ने द्वन्द्वलाई प्रस्ट्याउँछ । छोरीको स्कुल शूल्क तिर्न नसक्ने सर्जक जब मञ्चमा तालि पाउँछ, त्यो दृश्य निकै व्यङ्ग्यात्मक छ । अस्पतालमा मृत्युसँग जुधिरहँदा न त प्रशंसकहरू आउँछन्, न त उनीसँग मेडल र ट्रफीबाहेक केही बाँकी रहन्छ । अस्पतालको डाक्टर र प्रशासनले देखाएको संवेदनहीनता— जहाँ सम्मानपत्र र मेडल कौडीको भाउमा पनि बिक्दैनन् भन्दै उपचार रोकिन्छ— त्यसले हाम्रो राज्य र संयन्त्रको क्रूरता देखाउँछ । छोरी नम्रताले बाबुको लास पाउनका लागि आफ्नो कानको मुन्द्रा फुकालेर दिँदा पाठकको आँखा रसाउँछन् । अन्तमा, जानुकाको पश्चात्ताप र तपाईंको हरेक हरफमा हाम्रो भोकको कथा थियो भन्ने स्वीकारोक्तिले नाटकलाई अत्यन्तै मर्मस्पर्शी बनाएको छ ।
नाटककारले चित्रकला, सङ्गीत र काव्यलाई केवल मनोरञ्जनको साधन मात्र नमानी जीवनको गहिराइ नाप्ने माध्यमका रूपमा प्रस्तुत गरेका छन् मौनताका रङ्गहरू । किरण र नीरबीचको संवादले कलाका विभिन्न विधा कसरी एकअर्कासँग अन्तरसम्बन्धित छन् भन्ने प्रष्ट पार्छ । ग्यालरीलाई मौनता पनि बोल्ने ठाउँका रूपमा चित्रण गरिनुले कलाको शक्तिलाई उजागर गरेको छ । जब शब्दहरू अनुभूतिको भार थाम्न असमर्थ हुन्छन्, तब सङ्गीत र चित्रका रङ्गहरू बोल्न थाल्छन् भन्ने कुरा किरण र नीरको सामीप्यताले पुष्टि गर्छ ।
नीरका चित्रहरूमा देखिने उदासीलाई अनुराधाले आफ्नै रित्तिएको जीवनको ऐनाका रूपमा बुझ्न थाल्छिन् । नीरका अनुसार रङ्गहरूको आफ्नै भाषा हुन्छ— जहाँ कहिले उज्यालो सौन्दर्य हुन्छ त कहिले गाढा उदासी । जीवनका सबै रङ्गहरूमा उज्यालो मात्र कहाँ हुन्छ र ? भन्ने नीरको प्रश्नले कला र जीवनको यथार्थवादी पक्षलाई दर्साउँछ । तर, अनुराधाका लागि त्यो रङ्गको भाषा अभेद्य बन्छ । उनले नीरको स्पष्टता खोज्नु र नीरले भावनाको गहिराइमा लुक्नुले उनीहरूबीचको भावनात्मक पुल कमजोर रहेको सङ्केत गर्छ । नाटककारले एउटा गम्भीर दार्शनिक प्रश्न उठाएका छन्— के एउटै घरमा बस्नु, भौतिक अभाव पूरा गर्नु र कानुनी नाता गाँसिनु मात्रै जीवनको पूर्णता हो ? अनुराधा र नीरको सम्बन्धमा देखिएको रिक्तताले के पुष्टि गर्छ भने, भावनात्मक सम्बन्ध र वैचारिक लय नमिल्दासम्म सम्बन्ध केवल एउटा दायित्व मात्र बन्छ । नीरले अनुराधाबाट शब्दको साथ त पाए, तर उनले खोजेको मौनताको साथ भने शैलेजाबाट मात्र सम्भव देखिन्छ । नीरले शैलेजाको चित्र पूरा नगर्नुको पछाडि एउटा गहिरो मनोविज्ञान छ । उनलाई लाग्छ, चित्र पूरा गर्नु भनेको शैलेजालाई क्यानभासमा कैद गर्नु हो । उनी शैलेजालाई चित्रभन्दा पर एउटा स्वतन्त्र उडानको रूपमा हेर्न चाहन्छन् । तर, यहाँ नीरको स्वार्थ र कलाकारको एकाङ्कीपन पनि देखिन्छ । शैलेजाले नीरको मौनतालाई बुझिन्, तर नीरले शैलेजाको प्रतीक्षा र समर्पणलाई बुझ्न सकेनन् ।
अन्ततः नीर सधैँ आफ्नै रङ्ग र कल्पनाको संसारमा हराइरहने र बाहिर कुरिरहेकी शैलेजालाई बेवास्ता गर्ने भएपछि सम्बन्धमा विछोडको मोड आउँछ । शैलेजाले अब नीरलाई नपर्खने निर्णय गर्नु र अन्तिम पटक किरणको सारङ्गीको धुनसँगै कवितामार्फत बिदाई माग्नु नाटकको सबैभन्दा भावुक क्षण हो । यसले कलाकारको साधनाले कहिलेकाहीँ प्रिय मान्छेलाई कसरी टाढा पुर्याउँछ भन्ने मार्मिक यथार्थ ओकलेको छ । नाटकको अन्त्यमा आइपुग्दा पाठकको मनमा एउटा गम्भीर प्रश्न उब्जिन्छ— आखिर किन मौनतालाई प्रेम गर्ने शैलेजा र रङ्गहरूमा हराउने नीर सँगै हुन सकेनन् ? नाटककारले देखाउन खोजेका छन् कि रङ्ग, धुन र कलाले जीवनका नबोलिएका पीडालाई सुन्दर ढङ्गले अभिव्यक्त त गर्छन्, तर मानिस मौनताभित्र केवल शक्तिशाली मात्र हुँदैन, ऊभित्र एउटा भयावह शून्यता र एक्लोपन पनि लुकेको हुन्छ ।
नाटकको अन्तिम दृश्यमा अनुराधाको छटपटीले नारी मनोविज्ञानको एउटा पाटोलाई उजागर गर्छ । उनी नीरको मौनताको बन्दी बन्न चाहँदिनन् । उनको यो संवाद हृदयविदारक छ— तिमी बाँच्यौ आफ्ना रङ्गहरूमा, म मरेँ तिम्रो मौनतामा । म फेरि बाँच्न चाहन्छु, त्यो शरीरमा जहाँ जीवनको स्पर्श होस् ।
अनुराधाले नीरबाट कहिल्यै पूर्णता पाइनन् । फरक रङ्गका चित्रहरू एउटै फ्रेममा नअटाएझैँ उनीहरूका बाटाहरू अलग हुन्छन् । उनले खोजेको प्रेम केवल स्मृति मात्र थिएन, बरु एउटा जीवन्त स्पर्श र पूर्णता थियो । नाटककारले अनुराधाको माध्यमबाट यो प्रश्न उठाएका छन् कि के कलाकारको मौनताभित्र परेर अर्को एउटा जीवनले आफ्नो अस्तित्व मार्नुपर्ने हो ? अनुराधा बिदा भएपछि ग्यालरीमा देखिने नीरको गहिरो थकान र खालीपनले उनको आन्तरिक पराजयलाई सङ्केत गर्छ । ग्यालरीमा चित्र किन्न आएका कमललाई नीरले भन्छन्— किनेर होइन, रोजेर लैजाऊ, त्यस्तो चित्र जसमा मेरो केही अंश भेटियोस् । कला पैसाले तौलिने वस्तु होइन र सपनाहरूको कुनै मूल्य हुँदैन भन्ने नीरको विचारले कलाप्रतिको उनको निष्ठा देखाउँछ ।
कमलले अनुराधाको मुस्कुराएको चित्र रोज्नु र नीरले त्यसलाई छुटिने क्षणको स्वीकारोक्ति भन्नुले नाटकलाई थप मार्मिक बनाएको छ । त्यो मुस्कानमा बिदाई मात्र छैन, बरु एउटा नयाँ शुरुवातको सङ्केत पनि लुकेको छ । नाटकमा मौनतालाई एउटा तागतको रूपमा प्रस्तुत गरिएको छ । अनुराधाको विचारमा— विश्वास भाँच्न झुटो बोल्नु पर्दैन, मौनता नै काफी हुन्छ । उता शैलेजाले नीरको मौनतालाई बुझिन्, तर नीरले उनलाई पनि आफ्नो संसारमा स्थान दिन सकेनन् । नीरले प्रेम त पाए, तर भावनाको स्वीकृति पाएनन् । यहाँ एउटा गम्भीर प्रश्न उब्जिन्छ— के चित्रकार र कविहरू मौनताभित्रै मात्र रमाउनुपर्छ ? अनुराधाले पूर्णता खोज्नु के गलत थियो ? नीरले सधैँ संवेदना र मौनतालाई प्रेम गरे, तर त्यही मौनताले उनलाई अन्त्यमा एक्लो बनायो । नीर आफैँ स्वीकार्छन्— प्रेम र मौनता दुवैले कहिलेकाहीँ मान्छेलाई एक्लो बनाउँछ ।
किरणको संवादमार्फत नाटककारले कलाको परिभाषा दिएका छन्— सङ्गीत जीवनको आत्मा हो, जसले नदेखिने पीडाहरूलाई स्वर दिन्छ । तर ‘मौनताका रङ्गहरू’ नाटकले के पुष्टि गर्छ भने, जब शब्दहरूले अनुभूति व्यक्त गर्न सक्दैनन्, तब रङ्ग र धुनले कथा भन्न थाल्छन् । जीवन एउटा यस्तो ग्यालरी हो जहाँ चित्रहरू त छन्, तर दर्शक छैनन् । नीर आफ्नै रङ्गहरूको संसारमा हराएका छन्, तर उनीसँग न त अनुराधाको स्पर्श छ, न त शैलेजाको साथ । यो नाटकले पाठकलाई एउटा यस्तो मोडमा छाडिदिन्छ, जहाँ कलाको उचाइ त देखिन्छ, तर मानवीय सम्बन्धको अधुरोपनले मन भारी बनाउँछ ।
आजको आधुनिक भनिने समाजमा पनि पितृसत्तात्मक सोचले मानिसको मस्तिष्कलाई गाँज्न छाडेको छैन । निऋति नाटक यस्तै सोचको एउटा कुरुप प्रतिविम्ब हो । रणेन्द्र र प्रताप जस्ता पात्रहरूका माध्यमबाट नाटककारले अंश र वंशको उत्कट अभिलाषाले निम्त्याउने पारिवारिक विखण्डन र महिलामाथि हुने मानसिक हिंसाको गहिरो चिरफार गरेका छन् । रणेन्द्र आफ्ना ज्वाइँ प्रतापलाई छोराको दर्जा त दिन्छन्, तर त्यसको बदलामा उनलाई आफ्नो सम्पत्ति थाम्ने र वंश धान्ने नाति चाहिएको छ । यही पितृसत्तात्मक दबाबको केन्द्रमा छिन्— निऋति । प्रताप स्वयम् शारीरिक रूपमा सन्तान उत्पादनमा असमर्थ भए पनि उनमा रहेको पुरुष अहङ्कार र छोराकै चाहनाले सम्बन्धलाई जटिल बनाउँछ । छोरीमाथि सौता हालेर भए पनि नाति जन्माउनुपर्ने रणेन्द्रको ढिपीले नेपाली समाजमा अझै पनि छोरीलाई वंश नमान्ने सङ्कुचित सोचलाई उदाङ्गो पारेको छ ।
नाटकको मुख्य पात्र निऋति आजको युगकी एक सबल र विद्रोही नारीका रूपमा उभिएकी छिन् । उनी छोरा र छोरीबीचको भेदभावलाई अस्वीकार गर्छिन् । सम्पत्ति खाने नाति नै किन चाहियो ? गरिबलाई दान दिए हुन्छ भन्ने उनको तर्कले परम्परागत मान्यतालाई चुनौती दिन्छ । आफ्नै बाबुको इज्जतको मुकुण्डो उतार्दै उनले रौतहटको उखु खेतीमा गरिब किसानको पसिना चुसेर कमाएको धनलाई गरिबको मल खाएको संज्ञा दिनुले उनको वर्गीय चेतना र नैतिक साहसलाई पुष्टि गर्छ । नाटकमा मैया पात्रको कथा झनै हृदयविदारक छ । आफ्नो कोखबाट जन्मेकी छोरीलाई आफ्नो भन्न नसक्नु र वर्षौँसम्म अर्काको आश्रयमा बाँच्नुपर्ने उनको विवशताले धनी र गरिबबीचको भयावह खाडललाई देखाउँछ । एउटा सुरक्षित छत र दुई छाक गाँसका लागि आमाले भोग्नुपरेको यो पीडाले समाजको क्रूर यथार्थलाई प्रस्तुत गर्छ ।
निऋति नाटकसङ्ग्रहभित्रका सबै नाटकहरू— चाहे ती परदेशिएका सन्तानको पर्खाइमा रित्तिएका गाउँका कथा हुन्, चाहे सन्तानबाट उपेक्षित आमाको पीडा, कलाकारको मौन छटपटी वा सर्जकको आर्थिक अभाव र अपमान अथवा पुरुष सोच र मानसिकताको पर्खाल सबै नाटकले समाजको तीतो सत्यलाई ओकलेका छन् । नाटककारले शुरुमा आशा जगाए पनि अन्ततः पर्खिनेहरूबाहेक सबै नाटकलाई वियोगान्त मोडमा पुर्याएर टुङ्ग्याएका छन् । यसले के सङ्केत गर्छ भने, जबसम्म समाजमा पितृसत्तात्मक सोच, लैङ्गिक विभेद र मानवीय संवेदनाको कमी रहन्छ, तबसम्म जीवन सुखान्त हुन सक्दैन । समसामयिक चेतना, सामाजिक दृष्टिकोण र मौलिक नेपाली परिवेशलाई आधार बनाएर लेखिएको यो नाटक सङ्ग्रह नेपाली नाट्य साहित्यको एउटा सशक्त कृति हो । यसले पाठकलाई केवल कथा मात्र सुनाउँदैन, बरु भत्किँदै गरेको सामाजिक संरचना र हराउँदै गएको मानवीय कर्तव्यप्रति गम्भीर चिन्तन गर्न बाध्य बनाउँछ ।
मैले नाटकका पुस्तकहरू विरलै पढेको छु । साहित्यका अन्य विधामा जति खेल्ने अवसर मिल्यो, नाटकको पठन र मञ्चनको स्वाद लिने मौका उति मिलेन । अझ भन्नुपर्दा, लेखकका रूपमा पुरु लम्सालसँगको मेरो सामिप्यता पनि त्यति लामो र पुरानो होइन । उहाँका केही फुटकर कविता र पत्रपत्रिकामा छापिने लेखहरूबाहेक उहाँको सिर्जनात्मक संसारभित्र म धेरै पसेको थिइनँ । तर, जब उहाँको यो नाट्यकृति मेरो हातमा पर्यो, म केहीबेर निःशब्द भएँ ।
मलाई अचम्म लाग्छ— एउटा मान्छे नाटकमै यति लामो साधना र यति विघ्न गहिराइमा कसरी डुब्न सक्छ ? कसरी एउटै व्यक्तिले शब्दहरूमा रङ्गमञ्चको जीवन्तता यसरी भर्न सक्छ ? आजभोलि धेरैतिर एउटा गुनासो सुनिन्छ, “नेपालीमा स्तरीय नाटकहरू लेखिएकै छैनन् ।“ तर मलाई लाग्छ, त्यसो भन्नेहरूले शायद पुरु लम्साललाई पढेका छैनन् । यदि पढेका हुन्थे भने नेपाली नाट्य क्षेत्रको रिक्ततामा उहाँको कलमले भरेको यो ऊर्जालाई उनीहरूले नजरअन्दाज गर्नै सक्दैनथे । एउटै सङ्ग्रहभित्र लेखनको यस्तो विविधता, शिल्पको प्रखरता र समाजका सूक्ष्मभन्दा सूक्ष्म कथालाई टिपेर पात्रहरूमा प्राण भर्ने यो वैशिष्ठ्य साँच्चै विरलै पढेको छु मैले । के नेपाली नाटकको गरिमा जोगाउन र यसलाई नयाँ उचाइमा पुर्याउन पुरु लम्सालको यो साधना र लगावको मूल्य छैन र ?
मदनपुरस्कार विजेता कवि आदरणीय डा. नवराज लम्साल दाजुले विभिन्न साहित्यिक मञ्च र बौद्धिक विमर्शहरूमा नेपाली नाटकको वर्तमान अवस्थाबारे चर्चा गर्दा पुरु लम्सालको नाम जुन गर्व र भरोसाका साथ लिनुहुन्थ्यो, यो नाटकसङ्ग्रहका पानाहरू पल्टाउँदै गर्दा मेरा आँखामा ती दृश्यहरू झलझली नाचिरहेका छन् । दाजुले व्यक्त गर्नुभएको त्यो विश्वासको आधार के रहेछ भन्ने कुरा अहिले यी संवादहरू पढ्दा बोध हुँदैछ ।
म घोत्लिन्छु— एउटा मान्छेले आफ्नो जीवनको सबैभन्दा ऊर्जावान् समय, अर्थात् झन्डै तीन दशक लामो उर्वर कालखण्ड कसरी एउटै विधामा होम्न सक्छ ? मान्छेहरू एउटा सानो अवरोध आउँदा पनि बाटो मोड्न हतारिन्छन्, तर पुरु लम्साल झण्डै ३० वर्षदेखि नेपाली नाटक र रङ्गमञ्चमै छन् । के यो केवल समयको खर्च मात्र हो ? के यो एउटा साधकले नेपाली नाटक र रङ्गमञ्चको वेदीमा चढाएको आफ्नो जीवनकै सर्वश्रेष्ठ आहुति होइन ?

